कलम भनेर टिपेको बम पड्किँदा हात गुमाएकी अनिता

कलम भनेर टिपेको बम पड्किँदा हात गुमाएकी अनिता

काठमाडौं : २०६३ पुस ३० गते। माघीले छपक्कै छोपेको थियो। दाङकी सात वर्षीया अनिता चौधरी माघीको रमझममा रमाइरहेकी थिइन्।

थारु समुदायको महान पर्व माघीको मुख्य दिन माघ १ गते भए पनि अघिल्लो दिन अर्थात् पुस मसान्तमा अनिवार्य रुपमा सँगुर काट्नुपर्ने चलन हुन्छ।

घरभन्दा केही टाढा सुँगुर काटिएको थियो। अनिता हजुरआमा र हजुरबाको पछि लागेर त्यहाँ गइन्।

बाटोमा उनले केही वस्तु टल्किएको देखिन्। नजिक पुगेर हेरिन्, कलम रहेछ। स्कुलमा सबैले पेन्सिलले लेख्थे, उनले कलम फेला पारेकी थिइन्। तीन कक्षामा पढ्ने अनिताले खुसी हुँदै टिपिहालिन्।

कलमले लेख्ला या नलेख्ला परीक्षण गर्न अर्को हातमा केर्नै मात्र के लागेकी थिइन्, कलम अनिताको हातैमा पड्कियो, डम्म! नजिक उनकै घरको कुकुर थियो। त्यसलाई पनि छर्राले भेट्यो। उनका हजुरबुबा सधैंका लागि कान नसुन्ने भए। भविष्य कोर्ने कलम टिप्दा अनिताको भविष्य नै अन्धकार बन्न पुग्यो।

बेवारिसे बम पड्किएको आवाजले उनको वरपरका मानिस भेला हुन थाले। परिवारका सदस्यहरु दौडिँदै उनी नजिक आए। अस्पताल लैजाने कुरा भयो। अनितालाई आधा बाटोसम्म होस छ। त्यसपछि के भयो, कसो भयो केही थाहा छैन।

हातमै बम पड्किएपछि उनी झन्डै तीन महिना अस्पताल बसिन्। सुरुमा कोहलपुर अस्पताल लगिएको थियो अनितालाई। तर त्यहाँ उनको उपचार सम्भव भएन। सर्जरी गर्नुपर्थ्यो तर कोहलपुर अस्पतालमा प्रविधि थिएन। एक हप्ता उक्त अस्पतालमा बिताएपछि उनलाई नेपालगञ्ज अस्पताल लगियो। सर्जरी गरेको एक हप्तापछि मात्रै अनिता होसमा आइन्।

आर्थिक रुपमा उनको परिवार गरिब थियो। अनिताको उपचार गर्दा खेतबारी सकियो। धान्न नसकेपछि आधा जति खर्च विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरुले सहयोग गरे।

रातभर रुन्थें
अहिले अनिता २२ वर्षकी भइन्। उनी देउखुरी बहुमुखी क्याम्पसमा स्नातक दोस्रो वर्षमा अध्यनरत छिन्। जीवन के हो बुझ्न थालेकी छन्। तर पनि विगतको घटनाले उनलाई नराम्रोसँग झस्काइरहन्छ।

चकचक नगरी बस्नै नसक्ने अनिता दुर्घटनापछि भने हाँस्नै नसक्ने भइन्। दुर्घटनाकै कारण उनको चञ्चलता हरायो। ती दिनहरु सम्झँदै उनी भन्छिन्, ‘म घरबाटै ननिस्किने, कसैको घरमा नजाने, साथीभाइसँग नबोल्ने, एक्लै बस्न रुचाउने स्वभावकी हुन थालें।’ 

तीन कक्षासम्म उनी पढाइमा अब्बल थिइन्। राम्रो पढ्ने विद्यार्थीको सूचीमै उनको नाम आउँथ्यो। तर दुर्घटनापछि भने उनको मन पढाइमा गएन। भन्छिन्, ‘म अन्तिम सिटमा बस्ने, कसैले नदेखोस् जस्तो सोच्ने भएकी थिएँ। पढाइमा जानुपर्ने ध्यान, मानिसले मलाई किन हेरेको होला, के सोचेको होला जस्ता कुराहरुमा जान्थ्यो।’

हुन पनि उनी पहिलो दिन स्कुल जाँदा साथीहरुले अनौठो मानेर हेरेका थिए। नजिकका साथीहरुलाई कारण थाहा थियो, तर स्कुलभरका केटाकेटीहरु उनलाई जिज्ञासु नजरले हेर्थे। नजिकका साथीहरुले सहयोग गरे पनि अरुको अनौठो आँखाहरुले अनितालाई सधैं बाधा पुर्यािइरह्यो।

मानसिक असर त पर्ने नै भयो, त्यसैमाथि शारीरिक रुपमा पनि उनी अशक्त थिइन्। लेख्ने र हरेक काम गर्ने उनको दायाँ हात नै गुमेको थियो।

स्कुल जान थाल्ने बित्तिकै परीक्षा आएको थियो। हातले लेख्न नसकेर उनले परीक्षा दिन सकिनन्। आफूसँग पढेका साथीहरु माथिल्लो कक्षामा पुगेपछि झनै उनलाई अप्ठ्यारो महसुस हुन थाल्यो।

दोहोरो बन्दुकले च्यापिएकाहरू - १ : जब सेनाले २० मिनेटपछि मर्छस् भन्दै अस्पताल लैजान मानेन

दोहोरो बन्दुकले च्यापिएकाहरू- २ : एम्बुसमा परेर अपांग भएका कृष्ण बाजा बज्दा पनि तर्सिन्छन्

ती दिनहरुमा उनी रोएरै रात बिताउँथिन्। अनिताले रुन्चे हाँसो हाँस्दै भनिन्, ‘गाउँघरमा कति धेरै काम हुन्छ। घरका सबै सदस्य मरिमेटेर काम गरिरहेका हुन्थे। उनीहरुको थकित अनुहार देखेर निकै नरमाइलो लाग्थ्यो। उनीहरुको अगाडि रुन सक्दैनथें। त्यसैले रातभर रुन्थें।’

घटनापछि बम कसले छाडेको थियो भन्नेबारे व्यापक सोधिखोजी भयो। लामो समयसम्म पत्ता लाग्न सकेन। तर पछि एक जना गाउँकै मानिसले त्यसको जिम्मा लिए। ती मानिस माओवादीका नेता थिए। 

कसैले घटनाको जिम्मा त लिए। तर अनिता कतैको कोटामा पनि परिनन्। अहिलेसम्म सरकारको तर्फबाट उनले कुनै क्षतिपूर्ति पाएकी छैनन्। सरकारले द्वन्द्वपीडितको कोटामा समेत राखेको छैन। 

समाजसेवी बन्ने रहर छ
दुर्घटनापछि अनिताले परिवारको साथ पाइन्। घरमा उनको कुरालाई सबैले साथ दिए। अनिता भन्छिन्, ‘गाउँघरतिर भने कुरा काट्थे। तर परिवारको साथका अगाडि बाहिरका मान्छेको कुरा सामान्य लाग्दोरहेछ।’

दुर्घटनामा परेपछि भेट्न र हौसला दिन धेरै समाजसेवी उनको घरमा आए। उनीहरुलाई देखेर ठूलो भएपछि म पनि समाजसेवी बन्छु र म जस्तै पीडामा भएका मानिसहरुलाई सहयोग गर्छु भन्ने लागेको अनिताको बताउँछिन्।

उनी भन्छिन्, ‘अरु साथीहरुलाई जीवनको लक्ष्य सोध्दा, डाक्टर, पाइलट बन्छु भन्थे। मलाई पनि नर्स बन्छु भन्न मन लाग्थ्यो। तर हात छैन भनेर चुप बस्थें। हुर्कंदै जाँदा अनितालाई नर्स बन्नेतिर खासै चासो लागेन।

अनिताले स्नातकमा शिक्षा संकाय पढिन्। तर यो उनको चासोको क्षेत्र थिएन। ‘साथीहरुको लहलहैमा लागेर शिक्षा संकायमा भर्ना भएँ,’ उनले भनिन्, ‘अहिले सबैले शिक्षक बन्ने त होला नि भनेर सोध्छन्। तर त्यसमा मलाई कत्ति पनि रुचि छैन।’ 

समाजसेवी बन्नका लागि पनि पढ्न पाइन्छ या त्यस्ता कोर्स छन् भन्ने अनितालाई थाहै भएनछ। उनले लामो श्वास फेर्दै भनिन्, ‘नत्र त म समाजसेवी बन्ने विषय नै पढ्थें नि। संकाय रोज्दा गल्ती भयो।’

जे भए पनि अनिताले भविष्य उज्यालो देखेकी छन्। भन्छिन्, मिहिनेत गरेपछि त्यसको फल अवश्य पाइन्छ। हेरौं, भविष्य कसले पो देखेको छ र।’

दोहोरो बन्दुकले च्यापिएकाहरू

१३ पुस, २०७८, १३:११:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।