कभर स्टोरी

दोहोरो बन्दुकले च्यापिएकाहरू-५

छोरालाई घिसार्दै सेना अघि-अघि, हारगुहार गर्दै आमा पछि-पछि

मर्‍यो भनेर फालिएका उमानाथ अहिले पनि सेना-प्रहरी देख्दा थरथर काम्छन्


काठमाडौं : लुगलुग कामेको शरीर। हातमा लौरी। शीरमा ढाका टोपी। भित्र थर्मकोट, बाहिर बाक्लो चेक सर्ट र खैरो रङको ट्राउजरमा कान्छा छोराका साथमा थिए उमानाथ ढुंगाना।

मंसिर २४ गते अन्तर्राष्ट्रिय मानव अधिकार दिवस परेको थियो। द्वन्द्वपीडितको विषयमा कार्यक्रम हुँदै थियो। प्रमुख अतिथि थिइन् महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री उमा रेग्मी। नेपाली कांग्रेसकी नेता समेत रहेकी रेग्मीको पार्टीको त्यही दिन १४औं महाधिवेशन उद्घाटन पनि थियो। 

उनी हतारमा थिइन्। द्वन्द्वपीडितको कार्यक्रम अवधिभर बस्न नपाउने जानकारी गराएपछि आयोजकले उनलाई छिट्टै बोल्ने पालो दिए। 

सरकारको सूचीमा नअटाएका द्वन्द्वपीडितहरुलाई मन्त्री रेग्मीले आशा जाग्ने शब्द बोल्लिन् भन्ने लागेको थियो। तर मन्त्रीले त उल्टो 'अपांग हुनु भाग्यको खेला हो' भनेर निराश पो बनाइदिइन्। ‘मलाई अध्यात्ममा पनि विश्वास लाग्छ। अपाङ्ग हुनु घटना मात्रै नभएर भाग्यको खेला पनि हो,’ मन्त्री रेग्मीले यसै भनिन्।

तर, यो स्थितीमा आइपुग्नु उमानाथको भाग्यको खेला थिएन। उनी त सरकार-माओवादीबीच भएको युद्धको पेलानमा परेका थिए। सशस्त्र द्वन्द्वपछि त हो, खेतबारीमा काम गर्ने, प्रष्ट बोल्ने, सक्रिय जीवन बिताइरहेका उमानाथ मान्छेदेखि डराउन थालेको। 

मर्‍यो भनेर फालेका थिए सेनाले
२०५२ सालमा माओवादी सशस्त्र संघर्ष सुरु भए पनि २०५८ सालदेखि जंगलमा रहेका माओवादी गाउँ छिरे। ब्यारेकमा रहेका सशस्त्र प्रहरी र सेना पनि क्रमैले मैदानमा उत्रिए। देश द्वन्द्वमा गयो। माओवादी र सरकार दुवै पक्षबाट पीडित थिए नेपाली नागरिक। दिनहुँको दोहोरो भिडन्तले वाक्क-दिक्क भइसकेका थिए। घरबाट निस्केर हिँडेको मान्छे साँझ फर्केर आउँछ कि आउँदैन भन्नुपर्ने थियो त्यतिबेला। 

गाउँमा माओवादी छिरे। खाना पकाएर नखुवाए कुटपिट गर्ने, हत्या समेत गर्ने माओवादीको गतिविधिले डर, त्रास र भयले आक्रान्त थिए जनता।

उता बेलाबेलामा हतियारसहित प्रहरी र सेना आउँथे। माओवादीलाई खाना किन दिइस् भनेर तर्साउँथे, कुट्थे। महिलाहरु बलात्कृत हुन्थे। दुवै पक्षबाट पीडित थिए नागरिक। 

त्यही चेपुवामा परे उमानाथ।

२०६० साल माघ १९ गते बिहान। उमानाथ काम गरिरहेका थिए। २ सय जतिको संख्यामा बन्दुक भिरेका सेना उनीहरुको गाउँमा छिरे। सेना उमानाथको घरमै आए। उनको कठालो समाते। ‘माओवादीलाई किन भात खुवाइस्?’ भन्दै बन्दुकको नालले ढाड र टाउकोमा हिर्काए। लछारपछार गर्दै ओरोलो झारे। आर्मीको बुटले हिर्काए। उनी रोए, कराए, चिच्चाए तर युद्धमा हिँडेको सेनाको मन के पग्लिन्थ्यो।

उमानाथकी आमा रुँदै सेनाको पछिपछि लागिन्। आँखैअघि छोरा कुटिएको सहिसक्नु भएन उनलाई। सेनाले जता-जता लान्छ, उतै-उतै गइन्। घरदेखि आधा घण्टा तल स्कुल र मन्दिर नजिकै थियो। सेनाले उमानाथलाई त्यहीँ छाडिदियो मर्‍यो भनेर।

रुँदै छोराको पछि-पछि लागेकि उमानाथकी आमाले हारगुहार गरिन्। गाउँले भेला भएर तत्काल पोखराको नेचर केयर अस्पताल पुर्‍याए। उनी बेहोस भएका रहेछन्। 

सेना-प्रहरी देख्दा थरथर काम्छन् उमानाथ
१५ दिनको अस्पताल बसाइपछि घर आए उमानाथ। ३४ वर्ष मात्रै पुगेका उनी केही महिनाअघि मात्रै साउदी अरबबाट फर्केका थिए। 

सानो आवाजमा उमानाथले भने, ‘गएको ऋण मात्रै तिर्न सकें। अब खेतीपाती गर्छु भनेर अरबबाट फर्केको थिएँ। मान्छे देख्दै डर लाग्ने बनाइदिए।’

उनको बोली निकै सानो छ। उकेराकर्मीसँग कुराकानी गर्न बाबुलाई सहयोग गरे उनका कान्छा छोरा गोविन्दले। गोविन्द बुबा कुटिदा  ६ महिनाका मात्रै थिए। उनले जहिलेदेखि बुबालाई देखे, सधैं कामेको र पिँढीमा बसेको मात्रै देखे।

‘आमाले धेरै दु:ख गरेर दाइलाई प्लस टुसम्म पढाउनुभयो। बुबा त एकोहोरो हेर्ने, बोल्न नसक्ने, बोले पनि सानो स्वरले बोल्ने, काम्ने हुनुभएको छ,’ आँखाभरि आँसु बनाउँदै गोविन्दले भने। 

उमानाथकी श्रीमती विष्णुमायाले ६ महिने काखे छोरा छाडेर मेलापात गरिन्। श्रीमानलाई स्याहारिन्। केही संस्थाले सरकारी विद्यालयमा पढ्दा चाहिने कापी-कलम किनिदिन्थे। त्यतिले मात्रै त के पुग्थ्यो र घर चलाउन। अरुको मेलापात नगरी धरै पाइनन् उनले। उमानाथले सधैं खाइरहनुपर्ने औषधि भने कोपिला भन्ने संस्थाले किनिदिने रहेछ।

उमानाथका जेठा छोरा २६ वर्षका भए। आर्थिक अभावले उनले प्लस टु मात्रै पढ्न पाए। कान्छा गोविन्द पनि अहिले १२ कक्षा पढ्दै छन्। दाजुको जस्तै बीचैमा पढाइ छाड्न पर्ने हो कि भन्ने चिन्तामा छन् उनी। ‘दाइले पनि पढ्न पाउनु भएन। मैले पनि पढ्न नपाउने हो कि भन्ने डर छ,’ उनले भने, ‘खानै अभाव छ कसरी पढ्ने?’

छोराको कुरा ध्यान दिएर सुनेका उमानाथले गहभरि आँसु बनाएर मेरो मुखमा पुलुक्क हेरे र भने, ‘अब यस्तो युद्ध कहिल्यै नहोस्। धेरै मान्छे देख्दा अहिले पनि डर लाग्छ मलाई । सेना-प्रहरी देख्दा त कहाँ भागौँ जस्तो हुन्छ।’

दोहोरो बन्दुकले च्यापिएकाहरू

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

नेपालले समात्नुपर्ने यस्ता छन् भारतीय सुटर, तर खोज्दैनन् कुनै निकायले

अर्का वीरगञ्ज-१५ का १९ वर्षका रेहान मियाँ। उनीमाथिको आरोप पनि हत्याको योजनाकार तथा हतियार व्यवस्थापनकै छ। तेस्रो व्यक्ति मकवानपुर-१ की २१ वर्षीया सुमी भन्ने सुस्मिता....

चर्को विवादपछि फेरिएको महाकवि देवकोटाको कविकुञ्ज, फुरुङ्ग छन् छोराछोरी 

फोटो पत्रकार कृष्पा श्रेष्ठ र म डराई–डराई माथि उक्लेर फोटो खिचेका थियौं। फोटो खिच्न केही बेर लाग्दा अम्बिकादेवीले तलबाट बोलाउँदै थिइन्, ‘छिटो झर्नुस् गेलुवा झरेर....

जाली भारूमा जोडिँदा थ्रेटमा पूर्व एआईजीदेखि खेलाडीसम्म, ज्यान जोगाउन युनुस र इल्ताफ जेलमा

जाली भारतीय रूपैयाँसहित युनुससँगै तीन जना नेपाली र तीन जना पाकिस्तानी नागरिक पक्राउ परे। अन्सारी, नसरुद्दिन अन्सारीसँगै सुजन रानाभाट, रोयल खान अनि पाकिस्तानी नागरिक मोहम्मद....

भारतीय कुख्यात अपराधीको हातमा नेपाली नागरिकता : मूल्य मात्र दुई लाख

किनकी नेपालको सुरक्षा संगठनको सूचीमा बब्लु श्रीवास्तब भारतीय नागरिक भनेर लेखिए पनि उनी भारतीय मात्र हैन नेपाली नागरिक समेत हुन्। भारतमा बब्लु श्रीवास्तब रहेका उनको....

जमिम हत्यापछि आयोगले जे-जे नगर्नु भनेको थियो सुरक्षाकर्मीले त्यही दोहोर्‍याउँदा सहजै भागे गोठाटार घटनामा सुटर र सहयोगी

समितिले अनुसन्धानको केस्राहरू केलाएर भएका सुरक्षा चुकहरू उल्लेख गर्‍यो। जमिम मारिएको १३ वर्षपछि गोठाटारमा लाल मोहम्मद मारिए उसै गरी। जमिम हत्याको अनुसन्धानमा प्रहरीबाट जेजस्ता चुक....