काठमाडौँमा डेंगुको जोखिम उस्तै, परीक्षण गर्न स्रोत छैन महाशाखासँग

काठमाडौँमा डेंगुको जोखिम उस्तै, परीक्षण गर्न स्रोत छैन महाशाखासँग

काठमाडौँ : सरकारले काठमाडौँको घट्टेकुलो–मैतीदेवी क्षेत्रमा डेंगु फैलिएको बल्लतल्ल थाहा त पायो तर, कुन प्रकारको डेंगु फैलिएको हो भन्ने अध्ययन अझैँ गरेको छैन। गर्ने तयारी पनि छैन।

विशेषज्ञ चिकित्सकहरूले डेंगु नियन्त्रणका लागि कुन प्रकारको डेंगु फैलिएको हो भन्ने अध्ययन गर्नुपर्ने सुझाव दिए पनि इमिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले अध्ययनको तयारी गरेको छैन।

टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका क्लिनिकल युनिट संयोजक डा. शेरबहादुर पुन डेंगु फैलिएको क्षेत्रमा कुन प्रकारको डेंगु फैलिएको हो भन्ने अध्ययन गर्न आवश्यक हुने बताउँछन्।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्व निर्देशक डा. बाबुराम मरासिनीको पनि डा. पुनको तर्कसँग सहमत देखिए। डा. मरासिनीले पूर्व तयारीका लागि डेंगु देखिएको क्षेत्रमा डेंगुको प्रकारको अध्ययन गर्नु जरुरी हुने बताउँछन्।

चिकित्सकको मत अनुसार डेंगु–१, डेंगु–२, डेंगु–३, डेंगु–४ गरी चार प्रकारका डेंगु हुन्छन्। डेंगुको प्रकारलाई चिकित्सकीय भाषामा ‘डेंगु सेरोटाइप’ भनिन्छ। डेंगुको प्रकारको अध्ययनलाई ‘सेरोटाइप’ अध्ययन भनिन्छ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका कीटजन्य रोग शाखा प्रमुख डा. गोकर्ण दाहाल घट्टेकुलो–मैतीदेवी क्षेत्रमा फैलिएको डेंगुको प्रकार (सेरोटाइप) को अध्ययन गर्नुपर्ने भए पनि नगरिएको स्विकार्छन्। उनले भने,‘घट्टेकुलो–मैतीदेवी क्षेत्रमा डेंगुको प्रकारको अध्ययन गरिएको छैन।’

त्यस क्षेत्रमा डेंगुको प्रकारको अध्ययन गर्न आवश्यक छ की छैन भन्ने जिज्ञासामा डा. कीटजन्य शाखा प्रमुख डा. दाहालको जवाफ छ,‘हामीसँग रिसोर्स हुने, सबै कुरा हुने हो भने त कुन सेरोटाइप प्रिभ्यालेन्स छ भनेर हेर्न असाध्य महत्त्वपूर्ण छ। आवश्यक छ।’

उनले कार्यक्रमको दृष्टिकोणले पनि सामान्य जनचेतना फैलाउने बाहेक डेंगु नियन्त्रणका लागि प्रभावकारी कार्यक्रम नभएको स्वीकार गरे। उनले अहिले परीक्षण नगरे पनि आगामी वर्षहरूमा डेंगुको प्रकारको बारेमा अध्ययन गर्ने योजना बनाउने बताए।

दाहालले ५-६ वर्षअघि एउटा सानो जनसङ्ख्यामा मात्रै केही व्यक्तिमा डेंगुको प्रकारको अध्ययन भएको बताए। जुन अध्ययन अनुसार डेंगु–१ धेरै देखिएको थियो। डा. दाहालले भने,‘अहिलेसम्म डेंगुको सेरो प्रिभ्यालेन्स गरेको छैन भने पनि हुन्छ।’

सामान्यतः एक ठाउँमा एक प्रकारको डेंगु फैलिने भए पनि कहिलेकाहीँ भने एकै ठाउँमा धेरै प्रकारका डेंगु देखिन सक्ने डा.  पुन बताउँछन्।

‘कहिलेकाहीँ एउटा क्षेत्रमा फैलिएको डेंगु दुई वटा प्रकारको पनि हुन सक्छ,’उनले भने।

योजना भए धेरै गाह्रो छैन

कोभिड–१९ को परीक्षण गर्ने पिसिआर मेसिनले नै डेंगुको प्रकारको अध्ययन गर्न सकिने डा.पुन बताउँछन्। परीक्षण गर्ने रि–एजेन्ट भने फरक हुने उनले बताए।

डा. पुनले भने,‘पिसिआर मेसिनले डेंगुको प्रकार पत्ता लगाउन सकिन्छ।’

डेंगु देखिनासाथ डेंगुको प्रकारको अध्ययन गर्नुपर्ने चिकित्सक बताउँछन्। महाशाखाका कीटजन्यरोग शाखा प्रमुख डा. दाहाल पनि योजना भए डेंगुको प्रकारको अध्ययन गर्न त्यति अप्ठेरो काम नभएको बताउँछन्। उनले भने,‘त्यति साह्रै अप्ठेरो काम त हैन। तर, यसमा योजनाचाहिँ हुनुपर्यो।’

किन प्रकारको अध्ययन आवश्यक छ?

चिकित्सकको मतअनुसार एक प्रकारको डेंगु सङ्क्रमित भएको व्यक्तिलाई अर्को पटक अर्कै प्रकारको डेंगु सङ्क्रमित भएको खण्डमा त्यस्तो व्यक्तिलाई लक्षण कडा देखिने सम्भावना हुन्छ।

‘एक प्रकारको डेंगु सङ्क्रमित भएको व्यक्तिमा फेरी फरक किसिमको सेरोटाइपले आक्रमण गरे कडा हुन सक्छ,’डा. पुनले भने,‘मानौँ घट्टेकुलो–मैतीदेवी क्षेत्रमा यो वर्ष डेंगुको सेरोटाइप–१ सङ्क्रमित भएको व्यक्ति अर्को वर्ष सेरोटाइप–२,३,४ मध्ये कुनै प्रकार(सेरोटाइप)को डेंगु सङ्क्रमित भए त्यो व्यक्तिमा लक्षण कडा हुन सक्छ।’

नेपालमा यस अघि नै चारै प्रकारका डेंगु देखिएको चिकित्सक बताउँछन्।  डा. मरासिनीले पनि जति धेरै पटक फरक प्रकारको डेंगुको सङ्क्रमण भयो त्यति नै स्वास्थ्य जटिलता निम्तने जोखिम हुने बताए। उनले भने,‘अर्को प्रजातिको सङ्क्रमण भए कडा रूपमा प्रस्तुत हुन्छ।’

त्यसैले कुन प्रकारको डेंगु सङ्क्रमण फैलिएको हो भन्ने अध्ययन भएको खण्डमा डेंगु फैलिएको क्षेत्रको डेंगुको प्रकार पत्ता लाग्ने भएकाले उपचारमा समेत सहज हुने चिकित्सकको मत छ।

चिकित्सकको मत अनुसार डेंगु फैलिएको ठाउँको डेंगुको अध्ययनको प्रकारको अध्ययन भए नीति निर्माण तथा पूर्व तयारीका लागि समेत सहज हुन्छ। एकै क्षेत्रमा एक भन्दा बढी प्रकारको डेंगु फैलिए लक्षण कडा हुनसक्ने भएकाले अस्पताल लगायतको व्यवस्थापन गर्न सहजता हुने डा. मरासिनी बताउँछन्।

उदाहरणको रूपमा यो वर्ष घट्टेकुलो–मैतीदेवी क्षेत्रमा डेंगु–२ फैलिएको छ र अर्को वर्ष त्यो भन्दा फरक किसिमको डेंगु फैलिएको खण्डमा दुई पटक फरक प्रकारको डेंगु फैलिएको व्यक्तिका लागि फरक किसिमले नै उपचार विधि अपनाउन सकिने चिकित्सक बताउँछन्।

कोरोना भाइरस सङ्क्रमणजस्तो डेंगुको रूप परिवर्तन हुने नभई डेंगुका चार प्रकार हुने र जुनसुकै प्रकारको डेंगु देखिन सक्ने चिकित्सक बताउँछन्। सामान्यतः डेंगुको एउटा मौसम सकिएपछि अर्को मौसममा त्यही ठाउँमा अर्को प्रकारको डेंगु फैलन सक्ने डा. पुनको मत छ।

कुनै ठाउँमा डेंगु–१ फैलिएको छ भने त्यस  ठाउँको डेंगु सङ्क्रमित व्यक्ति अर्को ठाउँमा पुग्दा डेंगु–१ पनि व्यक्तिसँगै पुगेर फैलन सक्छ।

‘मौसमैपिच्छे  फरक–फरक किसिमको डेंगु देखिन सक्छ,’डा. पुनले भने,‘उदाहरणको रूपमा भारतको केरालामा डेंगु–४ देखिएको छ। त्यहाँको सङ्क्रमित व्यक्ति यहाँ आएको खण्डमा डेंगु–४ पनि आउन सक्छ।’ नेपाल र भारत खुल्ला सिमानाका कारण सङ्क्रामक रोग भित्रिने सम्भावना मजबुत हुन्छ।

तर, एक प्रकारको डेंगु सङ्क्रमण भएको व्यक्तिमा अर्को पटक त्यही प्रकारको डेंगु सङ्क्रमण भएको खण्डमा भने सामान्यतः लक्षण कडा नहुने डा. पुन बताउँछन्। उनले भने ,‘जुन प्रकारको डेंगु सङ्क्रमण भयो त्यस प्रकारको डेंगु विरुद्ध एन्टिबडी बन्छ। त्यस्तो व्यक्तिलाई  लक्षण कडा देखिने सम्भावना कम हुन्छ।’

डेंगुका चार प्रकार हुने भएकाले डेंगु विरुद्धको खोप निमार्ण हुने सवालमा पनि समस्या देखिएको चिकित्सकको मत छ।। कुनै एक प्रकारको डेंगु विरुद्ध खोप बनाउँदा अरू तीन प्रकारको डेंगु छुट्ने समस्या देखिएको डा.पुन बताउँछन्।

डेंगु विरुद्धको खोप निर्माणकै चरणमा रहेको उनले सुनाए। उनले भने,‘डेंगु विरुद्धको खोप विकासकै क्रममा छन्।’ डा. मरासिनी पनि चौथो प्रकारको डेंगु पनि देखिएपछि खोप त्यति प्रयोगमा आउन नसकेको बताउँछन्।

राजधानी जस्तो सहरमा सहरमा डेंगु फैलिनुलाई डा. मरासिनी महानगरकै असफलताका रूपमा लिन्छन्।

राजधानीमा डेंगु फैलिएर विभिन्न दूतावास, कूटनीतिक नियोग लगायतमा समेत प्रभाव पर्न सक्ने भएकाले यसतर्फ सरकारको ध्यान जानुपर्ने डा. मरासिनीको सुझाव छ। उनले भने,‘काठमाडौँमा डेंगु फैलिएर राजदूतावासका कर्मचारी हिँडिदिए भने देशको ठुलो बेइज्जत हुन्छ।’

घट्टेकुलो–मैतीदेवी क्षेत्रमा डेंगु सङ्क्रमण नियन्त्रण भन्दा बाहिर नगएको डा. दाहालको दाबी छ। ‘काठमाडौँ जिल्लाले काम गरिरहेको भन्ने छ,’उनले भने,‘चेनचाहिँ खासै बढेको छैन हाम्रो सिस्टममा। कन्ट्रोलमा नै छ। नियन्त्रण भन्दा बाहिर गएको र अझै बढेको भन्ने छैन।’

उकेराले डेंगुसम्बन्धी गरेकाे यसअघिका खाेजहरू

८ मंसिर, २०७८, २०:३०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।