काठमाडौंको घट्टेकुलो-मैतीदेवी क्षेत्रमा डेंगु फैलियो, परीक्षण गर्ने ९० प्रतिशतको रिपोर्ट पोजेटिभ

काठमाडौंको घट्टेकुलो-मैतीदेवी क्षेत्रमा डेंगु फैलियो, परीक्षण गर्ने ९० प्रतिशतको रिपोर्ट पोजेटिभ

तर, काठमाडौँ महानगरपालिकासँग घट्टेकुलो–मैतीदेवी क्षेत्रका कति डेंगु सङ्क्रमित भए भन्ने एकिन तथ्याङ्क कतै भेटिएन। निजी क्लिनिकमा परिक्षण गर्नेहरुको संख्या ६ सय बढि देखियो। जसमा ९० प्रतिशतको रिपोर्ट पोजेटिभ आएको छ।

महानगरपालिकाले सङ्क्रमण फैलिएको वास्तविक ठाउँसमेत पहिचान गर्न सकेको देखिएन। सङ्क्रमित क्षेत्र पत्ता नलागेको महानगरका स्वास्थ्य विभाग प्रमुख हरि कुँवरले स्विकार्दै सङ्क्रमणबाट जोगिन व्यक्ति आफैँ सचेत हुनुपर्ने तर्क पो गरे। 

‘कि जो बिरामी भयो उसैले त्यो ठाउँमा यस्तो छ भनिदिनुपर्यो नभए आफू सचेत हुनपर्यो,’ महानगरका स्वास्थ्य प्रमुख कुँवरले उकेरासँगको कुराकानीमा उल्टो प्रश्न गरे,‘खोला नाला किनारमा बस्ने, अनि डेंगु लाग्यो भनेर हुन्छ?’ 

चेतनाथ र शान्तिलाको सकस

मैतीदेवी–घट्टेकुलो क्षेत्रमा उकेराकर्मी पुग्दा त्यहाँ डेंगुको सङ्क्रमण सुरु भएको १ महिना बढी भएको खुल्यो। सो क्षेत्रमा भदौबाटै डेंगुको सङ्क्रमण सुरु भएको थियो। तर न स्वास्थ्य मन्त्रालयले यसबारे चासो देखायो न स्वास्थ्य सेवा विभागै सक्रिय भयो। रोग नियन्त्रण महाशाखाका जिम्मेवार अधिकार पनि काठमाडौँमा डेंगु फैलिएकोबारे महानगरवासीले थाहा पाउलान् कि झैँ गरेर बसेका छन्।

आइतबार बेलुका उकेराकर्मी घट्टेकुलो पुग्दा डेंगु सङ्क्रमण भएर ४० वर्षीय चेतनाथ लुइँटेल र उनकी ३६ वर्षीय श्रीमती शान्तिला लुइँटेल घरमा आराम गरिरहेको अवस्थामा भेटिए। 

कार्तिक १० गते डेंगु सङ्क्रमण पुष्टि भएका उनीहरूको स्वास्थ्य सुधारोन्मुख छ। तर, अझै पूर्ण रूपमा ठिक भइसकेका छैनन् दुवै जना।

सुरुमा चेतनाथकी श्रीमती शान्तिलालाई ज्वरो आउने, शरीर दुख्ने, शरीर कर्करी खानेजस्ता लक्षण देखिएका थिए। चेतनाथले भने,‘श्रीमतीलाई बेलुका हनहनी ज्वरो आयो। १०३ सम्मको ज्वरो आएको थियो। लक्षण देखिएपछि शान्तिलाले सिटामोल खाइन्। तर उनलाई ठिक भएन।’ 

श्रीमतीलाई यस्तो लक्षण देखिएको करिब २४ घण्टामा (भोलिपल्ट) चेतनाथलाई पनि शान्तिलाकै  जस्तो लक्षण देखियो। उनले पनि सिटामोल खाएर बसे। उनीहरू दुवै जनाले कोरोना लागेको शङ्का गरेर परीक्षणका लागि स्वाब दिए। त्यो दिन बेलुकै रिपोर्ट आयो। रिपोर्टमा कोरोना भाइरस देखिएन।

त्यसपछि कोरोनाको रिपोर्ट आएकै दिन मैतीदेवीमा रहेको ‘एपोलो पोली क्लिनिक’मा गएर दुवैले डा. दिपेश शाक्यसँग परामर्श लिए। डा. शाक्यले उनीहरूको डेंगु परीक्षण गराए। केही औषधि दिए। भोलिपल्ट स्वास्थ्य परीक्षणको रिपोर्ट आयो। चेतनाथ र शान्तिला दुवैमा डेंगु सङ्क्रमण पुष्टि भयो। 

उनले भने,‘भोलिपल्ट दुवै जनाको डेंगुको पोजेटिभ रिपोर्ट आयो।’ त्यसपछि डा. शाक्यले चेतनाथ र शान्तिलाका लागि थप केही औषधि लेखिदिए। 

हात खुट्टा गल्ने, दुख्ने, खान नरुच्ने, वाकवाकी लाग्ने, हिँड्नै नसक्ने जस्ता उनीहरूमा लक्षण देखिएका थिए। सङ्क्रमण पुष्टि भएको पाँच दिनपछि स्वास्थ्य परीक्षण गर्दा शान्तिलाको प्लेटिलेटको मात्रा बढ्दै गयो। स्वास्थ्यमा सुधार हुँदै गयो। चेतनाथको भने ज्वरो कम हुँदै गए पनि प्लेटिलेटको मात्रा झन् कम हुँदै गयो। 

चेतनाथको स्वास्थ्य अवस्था सुधार नभएपछि सङ्क्रमण पुष्टि भएको ६ दिनपछि चिकित्सकले अस्पताल भर्ना हुनु सुझाव दिएका थिए। त्यसपछि उनी टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल पुगे। 

अस्पतालका चिकित्सक डा.  शेर बहादुर पुनलाई भेटेर परामर्श लिए। त्यहाँ पनि उनले स्वास्थ्य परीक्षण गराए। प्लेटिलेटको मात्रा झन् कम भए पनि डा. पुनले अस्पताल भर्ना भइहाल्न नपर्ने सुझाव दिएका थिए। 

त्यसपछि उनी घर फर्किएर डा. पुनसँग परामर्श लिँदै सिटामोल खाँदै आराम गरेर बसे। आइतबार चेतनाथलाई भेट्दा स्वास्थ्य अवस्था सामान्य हुँदै गएको देखियो। तर, बोल्दा मुख सुक्ने र धेरै बोल्न असहज भइरहेको उनले सुनाए।

कुराकानीको क्रममा चेतनाथले सुनाए,‘अहिले पनि पूर्ण रूपमा ठिक भएको छैन। खान मन लाग्दैन। कमजोर भएको छु। बोल्न पनि गाह्रो छ। राति त मुख सुकेर श्वास नै फेर्न गाह्रो हुन्छ।’ शान्तिलालाई पनि आइतबार भने अलि गाह्रो भएको रहेछ।

घट्टेकुलो क्षेत्रमा चिने जानेका ८-१० जनालाई डेंगु सङ्क्रमण भएको उनले सुनाए। ‘मैले चिनेका ८-१० जनालाई डेंगु भयो। मेरा घरबेटीका छोरा, छिमेकी भाइलाई पनि डेंगु भयो,’चेतनाथले भने,‘अलिकति परतिर पसल गर्ने साथीहरूलाई त हस्पिटल नै राख्नुपर्यो। यो एरियामा प्रत्येक घरमा डेंगु भएको सुनिन्छ।’

विनोदको व्यथा

चेतनाथ बसेको घर भन्दा करिब सय मिटर पर घट्टेकुलो–धोबीखोला कोरिडोर छेउमा बस्ने ३६ वर्षीय विनोद भुर्तेल पनि डेंगु सङ्क्रमित भएर ठिक भएका रहेछन्। दसैँअघि उनी डेंगु सङ्क्रमित भएका रहेछन्।

हनहनी (१०२ भन्दा बढी) ज्वरो आउने, शरीर दुख्ने, टाउको दुख्ने, मुख सुक्ने, पखाला चल्ने, के बिर्सेँ के बिर्सेजस्ता लक्षण देखिएपछि मेडिकल पसलबाट फ्लेक्शन किनेर उनले खाए।

फ्लेक्सन खाएको केही समय ज्वरो कम भए पनि ठिक नभएपछि  भोलिपल्ट बेलुकी घट्टेकुलोमा नै रहेको कुन्तादेवी मेडिकलमा उनले स्वास्थ्य जाँच गराउन गए। तर, डेंगु परीक्षण भएन। चिकित्सकले केही औषधि दिए। 

तर, औषधि सेवनपछि विनोदलाई एलर्जी भयो। उनलाई श्वास फेर्न नै कठिन भएपछि बेलुका वीर अस्पताल पुगेर भर्ना भए। वीर पुगेपछि पनि तेस्रो दिन मात्र उनको डेंगुको परीक्षण भयो। त्यो पनि अस्पतालमा हैन एउटा निजी ल्याब (डिकोड) मा।

विनोदले सुनाए,‘दसैँको छुट्टिले गर्दा वीरको ल्याब बन्द भएको रहेछ। अस्पताल भर्ना भएको तेस्रो दिन रत्नपार्कयता डिकोट भन्नेमा गएर अष्टमीको दिन टेस्ट गराइयो। त्यही दिन साँझ रिपोर्ट आयो। रिपोर्टमा डेंगु देखियो।’ 

डेंगु पुष्टि भएको रिपोर्ट आउँदासम्म उनको स्वास्थ्य अवस्था सुधार भइसकेको थियो। उनले सुनाए,‘डेंगु देखिएपछि पहिला भन्दा अलि सुधार भइसकेको थियो।’

उनी चार दिन अस्पताल बसेर उपचारपछि दसैँको नवमीको दिन डिस्चार्ज भए। उनले भने,‘दसैँको नवमीको दिन डिस्चार्ज भएको, त्यसको चार दिन अघि वीर अस्पताल भर्ना भएको।’ 

अहिले स्वास्थ्य सामान्य अवस्थामा रहेको विनोदले सुनाए। विनोदसँगको कुराकानीपछि सामुदायिक सेवा केन्द्रका सदस्य ध्रुव प्रसाईँले  घट्टेकुलो क्षेत्रमा डेंगु फैलिएको जानकारी दिए। 

उनले आफूले चिने जानेका १०-१२ जनामा डेंगु सङ्क्रमण भएको बताए। तर, वडाले भने २-३ पटक माइकिङ गरे पनि कुनै औषधि भने छर्केको थाहा नपाएको उनले सुनाए। प्रसाईँले भने,‘वडा कार्यालयबाट २-३ पटक माइकिङ पनि भएको छ। पाउडर त छरेको छैन।’

एउटा क्लिनिकमा ५ सय बढीको डेंगु परीक्षण

चेतनाथ, विनोद र ध्रुवसँगको कुराकानीपछि उकेराकर्मी  मैतीदेवीमा रहेको ‘एपोलो पोली क्लिनिक’ पुग्यो।  पोली क्लिनिकका सञ्चालक लालिकुमार श्रेष्ठले दसैँ अघिदेखि हालसम्म पोली क्लिनिकमा करिब ६ सय व्यक्तिले डेंगु परीक्षण गराएको जानकारी दिए। 

परीक्षण गरेकामध्ये ९० प्रतिशत व्यक्तिमा सङ्क्रमण देखिएको उनले बताए। श्रेष्ठले भने,‘५-६ सयको टेस्ट भयो। करिब ९० प्रतिशत जतिमा पोजेटिभ देखियो।’

एक हप्ताअघि दैनिक २५-३० जनाको डेंगु परीक्षण भएको तर केही दिन यता भने यो सङ्ख्या घटेर ८-१० जनामा झरेको उनले सुनाए। जसमध्ये ५-६ जनामा डेंगु देखिने गरेको श्रेष्ठले जानकारी दिए।

श्रेष्ठले भने,‘अहिले पनि ८-१० जना परीक्षण गर्न आउनुहुन्छ।’ त्यही क्लिनिकमा काम गर्ने एक कर्मचारीले आफूलाई केही हप्ता अघि डेंगु भएको सुनाए। त्यति मात्रै हैन एपोलो पोली क्लिनिकमा काम गर्ने कर्मचारीका आफन्तलाई पनि डेंगु भएको श्रेष्ठले सुनाए।

अर्कोमा ७० जनाको परीक्षण

एपोलोपछि  उकेराकर्मी डिल्लीबजारस्थित ‘सिद्धि पोली प्याथल्याब पुग्यो। प्याथल्याब’को सेप्टेम्बर ५ देखि नोभेम्बर ७ सम्मको रेकर्ड अनुसार ७० जनाले डेंगु परीक्षण गराएका थिए। 

परीक्षण गराएकामध्ये ५० प्रतिशतभन्दा बढिलाई सङ्क्रमण देखिएको ल्याबका एक जना कर्मचारीले जानकारी दिए। उनले पनि केही दिनको तुलनामा अहिले डेंगु परीक्षण गर्न पुग्नेको सङ्ख्या घटेको सुनाए। ल्याबका ती कर्मचारीले भने,‘अहिले ३-४ जना आउनुहुन्छ। २-३ जनामा पोजेटिभ देखिन्छ।’

घट्टेकुलो क्षेत्रमा बस्ने केही व्यक्तिसँग डेंगुको विषयमा कुरा गर्दा परिवारका सदस्यमा डेंगु भएको खुलाए। घट्टेकुलो पिपलबोट क्षेत्रमा भाँडाकुँडा व्यापार गर्ने एक जना पसलेले आफन्त पनि डेंगु सङ्क्रमित भएको जानकारी दिए। 

वडा कार्यालयलाई थाहा छैन

घट्टेकुलो क्षेत्रमा डेंगु सङ्क्रमणको वास्तविक अवस्थाका बारेमा जानकारी लिन काठमाडौँ महानगरपालिका वडा नम्बर २९ मा सम्पर्क गर्दा कति डेंगु सङ्क्रमित भए भन्ने तथ्याङ्क नै पाइएन। वडा नम्बर २९ की क्लिनिकल इन्चार्ज सुनिता बोहोराले तिहार अघिसम्मको रिपोर्ट अनुसार  २९ नम्बर वडामा करिब २१ जना व्यक्तिमा डेंगु सङ्क्रमण पुष्टि भएको खबर पाएको जानकारी दिइन्। 

उनले भनिन्,‘तिहार अघिसम्म २०-२१ जना हुनुहुन्थ्यो। यति नै भन्ने छैन। २० भन्दा माथि नै हुनुहुन्छ।’ 

तर, डेंगु सङ्क्रमणका कारण मृत्यु भएको खबर भने नसुनेको उनको भनाई छ। घट्टेकुलो क्षेत्रमा दसैँ अघि नै डेंगु फैलिएको उनले पुष्टि गरिन्। कतिपयले भने परीक्षण गर्न नमानेको उनले सुनाइन्। 

स्थानीयले डेंगु नियन्त्रणका लागि माइकिङ गरेको र पर्चा मात्रै बाँडेको बताएका छन्। क्लिनिकल इन्चार्ज बोहोराले पनि घट्टेकुलो क्षेत्रमा जनचेतनामूलक कार्यक्रम मात्रै गरेको स्विकारिन्। 

‘हामीले गर्ने भनेको जनचेतनामूलक कार्यक्रम मात्रै हो,’ उनले भनिन्,‘पर्चा बाँड्ने, चेतनामूलक काम मात्रै गर्न सक्छौँ हामीले। घरहरू भएको भएर कुनै पनि किटनाशक औषधिहरू छर्नै मिल्दैन।’

बोहोराका अनुसार महानगरपालिकाको स्वास्थ्य विभागमार्फत पनि इपिडिमियोलाजी तथा रोग नियन्त्रण महाशाखामा घट्टेकुलो–मैतीदेवी क्षेत्रमा डेंगु फैलिएको विषयमा जानकारी गराइएको छ। 

उनले दसैँ–तिहारको बिचको तुलनामा अहिले डेंगु सङ्क्रमण कम हुँदै गएको दाबी गरिन्। बोहोराले भनिन्,‘अहिले कम हुँदै गएको छ। अस्ति दसैँ तिहारको बिचमा ह्वात्तै बढेको थियो। कालिन्चोक मार्गमा अलि बेसिनै भएको थियो।’ 

२९ नम्बर वडाका वडाध्यक्ष कुश ढकालले त आफ्नो वडामा अहिले डेंगुनै नभएको तर्क गरे। २९ नम्बर वडा (घट्टेकुलो मैतीदेवी) क्षेत्रमा डेंगु फैलिएको रहेछ अहिले अवस्था कस्तो छ? भन्ने जिज्ञासामा वडाध्यक्ष ढकालले भने,‘अहिले छैन। प्रायः सबै निको भइसकेको छ।’ 

डेंगु नियन्त्रणका लागि यो रोग फैलाउने लामखुट्टेबाट बच्न झुल लगाउने, गमलामा पानी जम्न नदिने, खाल्टाखुल्टी पुर्ने जस्ता काम गर्नुपर्ने हुन्छ। 

स्वास्थ्य प्रमुखको प्रश्न,‘ फोहोरमा बस्ने अनि डेंगु लाग्यो भन्ने?’

काठमाडौँ महानगरपालिकाको स्वास्थ्य विभागमा घट्टेकुलो–मैतीदेवी क्षेत्रमा डेंगुको अवस्थाका बारेमा बुझ्दा विभागका प्रमुख कुँवरले ३ जनामा डेंगु पुष्टि भएको जानकारी पाएको जवाफ दिए। 

उनले भने,‘तीन जनामा डेंगु भएको भन्ने आयो। अहिले निको भइसक्यो।’ अहिले डेंगु देखिएको जानकारी नभए पनि दसैँ र तिहारको बिचमा देखिएको उनले दाबी गरे।

२९ र ३० नम्बर वडा (घट्टेकुलो–मैतीदेवी क्षेत्र) का सीमा क्षेत्रमा सङ्क्रमण फैलिएको भए पनि कुन क्षेत्रमा फैलिएको हो भन्ने पहिचान गर्न नसकिएको उनले बताए। 

‘बिरामीको क्षेत्रमा गएर सम्भावित क्षेत्र पहिचान गर्ने त्यसपछि नष्ट गर्ने हाम्रो कार्यक्रम हुन्छ,’स्वास्थ्य प्रमुख कुँवरले,‘तर, त्यता सम्भावित सङ्क्रमण क्षेत्र पत्ता लागेन।’

उनले थप तर्क गरे,‘कि सङ्क्रमितले यहाँ छ भने भन्दिएदेखि हामी नष्ट गर्छौँ। खोज्न कहाँ जानु भनेको? सम्भावित क्षेत्रमा जान्छौँ त्यहाँ पत्ता लाग्दैन। त्यो भन्दा जाने ठाउँ कहाँ छ?’ 

कुँवरले त खोलानाला किनारमा बसेर डेंगुलाग्यो भन्नु भन्दा आफैँ सचेत हुनुपर्ने तर्क गरे। डेंगु सङ्क्रमण हुन नदिन व्यक्ति स्वयं सजग हुनुपर्ने उनको तर्क थियो।

घट्टेकुलो–मैतीदेवी क्षेत्रका २९ र ३० नम्बर वडामा फैलिएको डेंगुको पहिचान गर्ने र नष्ट गर्ने कार्यक्रम तथा सचेतनाका कार्यक्रम चार दिन गरेको महानगरका स्वास्थ्य प्रमुख कुँवरले दाबी गरे।

घरको आसपासमा पानी जम्न नदिने, खाल्टाखुल्टी पुर्न लगाउने, झाडी सफा गर्ने, टायरमा पानी जम्न नदिने लगायतका सङ्क्रमित ठाउँ पहिचान गरेर स्वास्थ्यकर्मी तथा जनप्रतिनिधिलगायतको समन्वयमा खोजतलास तथा नष्ट गर्ने काम गरेको उनको दाबी छ। उनले ठाउँ ठाउँमा चुना पनि छरेको दाबी गरे। तर, स्थानीयले भने केही पनि छरेको नदेखेको बताएका छन्।

ग्याँस (धुवाँ) लगाएर रोकथाम गर्ने उपाय भए पनि व्यक्तिमा असर हुने भएकाले प्रयोग नगरिएको उनले सुनाए। उनले घट्टेकुलो–मैतीदेवी क्षेत्रमा डेंगु देखिएको विषयका बारेमा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखालाई पनि जानकारी गराएको बताए। 

काठमाडौँमा चिसो बढेकाले डेंगुले महामारीको रूप नलिने उनको अनुमान छ। समस्या भए तुरुन्तै र्यापिड रेस्पोन्स टिम (आरआरटी)ले काम गरिहाल्ने उनको दाबी छ। 

उता टेकु अस्पतालमा भने दैनिक औसत ३-४ जना डेंगु सङ्क्रमित व्यक्ति पुग्ने गरेको अस्पतालका चिकित्सक डा. पुन बताउँछन्। डा. पुनका अनुसार यसको विशेष औषधि हुँदैन। लक्षणका आधारमा उपचार गर्नुपर्ने हुन्छ। डेंगु सङ्क्रमण भएको अवस्थामा सङ्क्रमितमध्ये एक प्रतिशत व्यक्तिको मृत्युको जोखिम हुने डा. पुनले बताए। समयमै पहिचान भए मृत्युबाट बच्न सकिन्छ।

२२ कात्तिक, २०७८, २०:१६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।