डेंगुको चपेटामा काठमाडौँ : उपत्यकामा मङ्सिरसम्म जोखिम

डेंगुको चपेटामा काठमाडौँ : उपत्यकामा मङ्सिरसम्म जोखिम

अहिले सो क्रम घटिरहेको देखिए पनि जोखिम मङ्सिरसम्म रहने चिकित्सकको मत छ। मैतीदेवीस्थित एपोलो पोली क्लिनिकका फिजिसियन तथा नसा रोग विशेषज्ञ डा. दीपेश शाक्यका अनुसार घट्टेकुलो–मैतीदेवी क्षेत्रमा केही हप्ताको तुलनामा सङ्क्रमण कम देखिएको छ।

उनले भने,‘पहिला भन्दा अलिकति घट्ने ट्रेन्डमा देखिएको छ। तर, ढुक्क हुने अवस्था छैन।’ 

केही दिन अघि डेंगुका लक्षण लिएर स्वास्थ्य परीक्षण गराउन पुगेकामध्ये करिब ९० प्रतिशतमा डेंगु देखिएको डा. शाक्यले बताए। केही दिनयता सङ्क्रमण दर घटेको देखिए पनि पनि अझै करिब ४० प्रतिशत व्यक्तिमा सङ्क्रमण देखिरहेको उनी बताउँछन्। 

तिहार अघि डा. शाक्यले दैनिक ३०-४० जना नयाँ बिरामीको स्वास्थ्य जाँच गरेकामध्ये ९० देखि ९५ प्रतिशतमा डेंगु सङ्क्रमण देखिएको सुनाए। उनले भने,‘तिहार अघि त म पनि छक्क परेँ। दिनमा ३०-४० जना नयाँ बिरामी हेर्थेँ। ९५ प्रतिशत भन्दा बढीमा डेंगु पोजेटिभ थियो। डरलाग्दो थियो।’

तर, नयाँ डेंगु सङ्क्रमित बिरामी देखिरहेकाले अझै सजग हुनुपर्ने डा. शाक्यको सुझाव छ। उनले भने,‘नयाँ सङ्क्रमित देखिरहेका छन्।’ 

अहिले पनि एपोलो पोली क्लिनिकमा अन्य चिकित्सकबाहेक आफूले चेकजाँच गरेका बिरामीमा मात्रै दैनिक ३-४ जना भन्दा बढीमा सङ्क्रमण देखिने गरेको उनले सुनाए। 

काठमाडौंको घट्टेकुलो-मैतीदेवी क्षेत्रमा डेंगु फैलियो, परीक्षण गर्ने ९० प्रतिशतको रिपोर्ट पोजेटिभ

दसैँ–तिहारका कारण स्वास्थ्य संस्थामा स्वास्थ्य परीक्षण गर्न कम गएकाले डेंगु सङ्क्रमितको सङ्ख्या कम देखिएको हुनसक्ने डा. शाक्यको अनुमान छ। डेंगु सङ्क्रमित केही बिरामी अस्पताल भर्ना भए पनि अधिकांश बिरामी भने घरमा नै ठिक भएको पाइएको उनले सुनाए। 

उनले मैतीदेवी–घट्टेकुलो र पुरानो बानेश्वर क्षेत्रमा बसोबास गर्ने व्यक्तिहरूमा सङ्क्रमण देखिएको जानकारी दिए।

मङ्सिरसम्म सजग हुन सुझाव

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका क्लिनिकल रिसर्च युनिट संयोजक डा. शेरबहादुर पुन पनि काठमाडौँ उपत्यकामा मङ्सिरभरि डेंगुको सङ्क्रमण देखिन सक्ने बताउँछन्। डा. पुनले भने,‘मङ्सिरसम्म डेंगु सङ्क्रमण देखिन सक्ने सम्भावना छ।’ 

जाडोमा काठमाडौँ उपत्यकामा लामखुट्टे देखिने सम्भावना न्यून हुन्छ। त्यसैले मङ्सिरपछि भने सङ्क्रमण कम हुँदै जाने सम्भावना हुने चिकित्सक बताउँछन्।  

वर्षपछि जमेको सफा पानीमा लामखुट्टेले फूल पारी डेंगु सङ्क्रमणको जोखिम हुने चिकित्सक बताउँछन्। सङ्क्रमित लामखुट्टेले अर्को व्यक्तिलाई टोकेको अवस्थामा अर्को व्यक्तिमा रगतमार्फत सरेर सङ्क्रमण हुन्छ।

सरकारी तथ्याङ्कमा न्यून सङ्क्रमण

घट्टेकुलो–मैतीदेवी क्षेत्रमा डेंगु सङ्क्रमणले मानिसलाई अत्ताइरहेको अवस्थामा सरकारी तथ्याङ्कमा भने डेंगु सङ्क्रमितको सङ्ख्या न्यून देखिन्छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको रिपोर्ट अनुसार साउनयता काठमाडौँ उपत्यकामा ४० जनामा मात्रै डेंगु सङ्क्रमण देखिएको छ। जसमध्ये काठमाडौँ जिल्लामा ३२ जना, भक्तपुरमा ५ र ललितपुरमा ३ जनामा सङ्क्रमण पुष्टि भएको छ।

महाशाखाका कीटजन्यरोग शाखाका प्रमुख डा. गोकर्ण दाहालले काठमाडौँको मैतीदेवी, घट्टेकुलो र तारकेश्वर क्षेत्रमा बढी डेंगु सङ्क्रमित देखिएको बताए।

उनले मैतीदेवी–घट्टेकुलो क्षेत्रमा डेंगु देखिए पनि भयावह स्थिति भने नभएको तर्क गरे। उनले रोग नियन्त्रण महाशाखाले महामारी भए रोग नियन्त्रणका लागि टेस्ट कीट उपलब्ध गराउने र जनचेतनामूलक कार्यक्रम गर्ने तथा सङ्क्रमितको व्यवस्थापन गर्ने तर्क गरे। 

डा. दाहालले भने,‘केस नियन्त्रण गर्न टेस्ट कीट दिन्छौँ। एड्भोकेसी गर्छौँ। महामारी भए केस म्यानेजमेन्ट गर्छौँ।’ 

लामखुट्टेको लार्भा नष्ट गर्ने तथा नियन्त्रणका लागि जनचेतना जगाउनु नै डेंगु नियन्त्रणको राम्रो उपाय भएको उनले सुनाए। डेंगु सङ्क्रमणले महामारीको रूप लिएर स्प्रे गर्न सकिने भए पनि स्प्रेले मानिसमा पर्नसक्ने दुष्प्रभावका बारेमा पनि बिचार पुर्याउनुपर्ने उनको तर्क छ।

उनले साउनयता कार्तिक १९ सम्ममा ४९ जिल्लामा  दुई सय ९० जनामा डेंगु सङ्क्रमण पुष्टि भएको जानकारी दिए।

सङ्क्रमणको कारण

तराई क्षेत्रमा देखिँदै आएको डेंगु हिमाली तथा पहाडी भेगमा पनि डेंगु देखिनुको विभिन्न कारण छन्। डेंगु सङ्क्रमण (रोग)को पहिचान गर्ने कीट सबै ठाउँमा पुगेकाले पनि परीक्षण गरी सङ्क्रमणको पहिचान हुँदा डेंगु सङ्क्रमण पुष्टि हुने गरेको शाखा प्रमुख डा.दाहालको तर्क छ। 

त्यसै गरी लामखुट्टेको वासस्थान परिवर्तन भएकाले पनि हिमाली तथा पहाडी जिल्लाहरूमा समेत डेंगु देखिएको चिकित्सकको मत छ। अर्कातर्फ जलवायु परिवर्तन र व्यक्ति एक ठाउँबाट सहजै अर्को ठाउँमा पुग्ने भएकाले पनि हिमाली तथा पहाडी क्षेत्रमा समेत डेंगु देखिएको चिकित्सकको मत छ। फोहोर मैला , प्रदूषण र बाक्लो बस्तीका कारण डेंगु फैलिएको उनको दाहालको तर्क छ।

२३ कात्तिक, २०७८, १९:५७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।