मन्त्रालयसँगै सेटिङ पनि हस्तान्तरण : मोहनकालमा मिलेमतोमा खुलेका अर्बौको स्वास्थ्य टेन्डर उपेन्द्रको पालामा निरन्तर

मन्त्रालयसँगै सेटिङ पनि हस्तान्तरण : मोहनकालमा मिलेमतोमा खुलेका अर्बौको स्वास्थ्य टेन्डर उपेन्द्रको पालामा निरन्तर

काठमाडौँ : निवर्तमान स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतको १० महिने कार्यकालमा स्वास्थ्य सेवा विभागको व्यवस्थापन महाशाखाले करिब चार अर्ब ३६ करोड ७० लाख रकमको मेसिन, औजार तथा उपकरण र स्वास्थ्य सामग्रीको टेन्डर निकाल्यो। अधिकांश टेन्डर निश्चित आपूर्तिकर्ताको स्वार्थमा मिलेमतोमा निस्किएका थिए। 

माओवादी केन्द्रले गठबन्धनमा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीलाई भित्र्याएसँगै बस्नेत बर्खास्तमा परे। स्वास्थ्यमा आइपुगे उपेन्द्र यादव। यादवले स्वास्थ्य मन्त्रालय सम्हालेपछि विवादित खरिद प्रक्रियामाथि चासो दिएनन् नै उनी मन्त्री भएपछि निस्किएका टेन्डरमा बस्नेतलाई पनि माथ गर्नेगरि सेटिङ कसिलो बनाए।

बस्नेत २०८० साउन एक देखि फागुन २७ अगाडिसम्म करिब दश महिना मन्त्रिहुँदा सरकारी बजेट र विश्व बैंकले दिएको ऋणबाट सामान किन्न भएका अधिकांश टेन्डरमा यज्ञ भण्डारी समूह हाबी भएको थियो।

स्वास्थ्य सेवा विभाग अन्तर्गतको व्यवस्थापन महाशाखाका अधिकारीहरूको काम बजेटको सदुपयोग गर्दै खुल्ला प्रतिस्पर्धाको आधारमा स्वास्थ्य उपकरण र सामग्री खरिद गर्ने हैन निर्देशनानुसारको आपूर्तिकर्तालाई टेन्डर मिलाउन कागजपत्र मिलाउनमा बढी व्यस्त भए।

विभागको व्यवस्थापन महाशाखाले २०८० फागुन २८ (मार्च ११, २०२४) देखि २०८१ वैशाख चार (अप्रिल १६, २०२४) सम्म ३७ दिनको अवधिमा मात्रै एक अर्ब १८ करोड बराबरको मेसिन, औजार तथा उपकरण र स्वास्थ्य सामग्री लगायतको खरिदको लागि टेन्डर गरेको थियो।

विभागको व्यवस्थापन महाशाखाले चैत दुईदेखि प्रिबिड बैठक हुनेगरी तोकेको समयदेखि २०८१ वैशाख १० सम्मको गोरखापत्र दैनिक र दी राइजिङ नेपालमा सूचना हेर्दा यो अवधिमा एक अर्ब १८ करोड आठ लाख रकमको अधिकांश टेन्डरको नतिजा प्रकाशित भएको छैन।

यसको अर्थ विभागको व्यवस्थापन महाशाखाले ३७ दिनको अवधिमा गरेको टेन्डर मूल्याङ्कनको चरणमा देखिन्छ।  ११ गते मङ्गलवार केही टेन्डरको कुनै प्राविधिक त कुनै आर्थिक मूल्याङ्कनको चरण पार गरेको सूचना प्रकाशित भयो।

बस्नेतको पालामा सरकारी कोष र विश्व बैंकको ऋणमा लुट मच्चाइयो।अकस्मात् गठबन्धन बदलिएका कारण बस्नेतको पालामा निस्किएका अधिकांश टेन्डर खुले पनि प्राविधिक मूल्याङ्कन लगायतका चरणहरू बाँकी नै थिए।

बस्नेतको बिदाइसँगै फागुन २७ गते आइतबार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको जिम्मेवारीमा आइपुगे जनता समाज पार्टी (जसपा) का नेता उपेन्द्र यादव।

यादवले चाहेको भए विवादित टेन्डरमा हस्तक्षेप गर्न सक्ने स्थान टन्नै थिए। तर उनले बदमासीमा चासो दिएनन्। उल्टो प्रतिस्पर्धाको साटो मिलेमतोमा बाँकी ठेक्का आफू निकटका आपूर्तीकर्ताहरुलाई दिन उनले दबाब बढाए। खरिद मिलेमतो मिलाउन यादवका छोरा अमरेन्द्र यादव (दीपेश यादव) सक्रिय देखिए।

केही दिन अघि मन्त्रालयमा पत्रकारसँगको अन्तरक्रियामा खरिद मिलेमतोमा छोरा परिचालन गरेको विषय उठ्दा उनले'हैन, हैन' बाहेक जवाफ दिन सकेनन्। उता विभाग अन्तर्गतको व्यवस्थापन महाशाखाले भटाभट टेन्डर प्रक्रिया सकाउने काम तीव्र बनाएको छ।

प्रचण्डले बस्नेतलाई त बर्खास्त गरे तर स्वास्थ्य मन्त्रालयको मिलेमतोलाई बर्खास्त गर्न सकेनन्। बस्नेतले मन्त्रालय मात्र हस्तान्त्रण गरेनन् यादवलाई, उनले १० महिने कार्यकालमा जमाएको सेटिङको समूह पनि हस्तान्तरण गरे।

साढे ६ महिनामा तीन अर्ब १७ करोडको टेन्डर

स्वास्थ्य सामाग्री र उपकरणसहितको खरिद आवश्यकताका आधारमा भन्दा पनि मिलेमतोका आधारमा हुनु नौलो हैन। कोरोनाकालमा यो क्रम थप बलियो बनेको थियो।

कोरोनाकालमा अत्यावश्यक भन्दै बढेको लुटकोक्रममा कोरोना सङ्क्रमण सामान्य हुँदा पनि रोकिएन बरु उल्टो बलियो बन्यो। मोहन बस्नेत मिलेमतो र कमिसनलाई थप कसिलो बनाएर मन्त्रालयको नेतृत्वबाट बिदा भए। 

२०८० साउन एकबाट फागुन ६ सम्मको साढे ६ महिना भित्रको अवधिमा विभाग अन्तर्गतको व्यवस्थापन महाशाखाले करिब तीन अर्ब १७ करोड ८२ लाखको मेसिन, औजार, उपकरण तथा स्वास्थ्य सामग्री लगायत खरिदका लागि टेन्डर आव्हान गरेको थियो।

मंसिर २७ (डिसेम्बर १३, २०२३) देखि  माघ १६ (जनवरी ३०, २०२४) सम्म ४९ दिनको बिचमा ४२ करोड ७५ लाखको टेन्डर गर्यो। महाशाखाले २०८० साउन एक (जुलाई १७, २०२३) देखि  कार्तिक २१ (नोभेम्बर ७, २०२३) सम्मको चार महिनाको अवधिमा दुई अर्ब ५० करोडको मेसिन, औजार तथा उपकरण र स्वास्थ्य सामग्री लगायत खरिदको टेन्डर आव्हान गरेको थियो।

नयाँ आर्थिक वर्ष २०८०–०८१ सुरु भएपछि २०८० साउन एक बाट माघ १६ सम्म ६ महिनाको अवधिमा महाशाखाले दुई अर्ब ९३ लाखको टेन्डर गरिसकेको थियो।

फागुन चार शुक्रवार र ६ आइतबार मात्रै महाशाखाले २४ करोड ४० लाखको मेसिन, औजार तथा उपकरण जस्ता स्वास्थ्य सामग्री खरिदका लागि टेन्डर आव्हान गर्यो।

२०८० साउन एक बाट फागुन ६ सम्मको साढे ६ महिनाको अवधिमा विभाग अन्तर्गतको व्यवस्थापन महाशाखाले तीन अर्ब १७ करोड ८२ लाख बराबरको मेसिन, औजार तथा उपकरण र स्वास्थ्य सामग्री लगायतको खरिदका लागि टेन्डर गरिसकेको छ।

अन्तर्राष्ट्रिय बोलपत्रलाई निषेध

यति ठुलो रकमको खरिद आव्हान गर्दा महाशाखाले अन्तर्राष्ट्रिय स्तरको बोलपत्र (इन्टरनेश्नल कम्पेटिटिभ बिडङ-आइसिबी) को साटो अधिकांश खरिदमा ‘राष्ट्रिय स्तरको बोलपत्र (नेश्नल कम्पिटेटिभ बिडिङ (एनसीबी) गर्यो।

व्यवस्थापन महाशाखाले २०८० फागुन २८ देखि २०८१ वैशाख चारसम्म ३७ दिनको अवधिमा एक अर्ब १८ करोडको टेन्डर गर्दा करिब दस करोड ९२ लाखको मात्रै ‘अन्तर्राष्ट्रिय स्तरको बोलपत्र (आइसिबी) आव्हान गर्यो।

एक अर्ब सात करोड बराबरको टेन्डर ‘राष्ट्रिय स्तरको बोलपत्र (एनसीबी) निकाले।

१२ करोड ८० लाखको ‘मनिटर, एनेस्थेसिया र ओटी सामग्री’ खरिद, पाँच सेट ‘थ्रिडी डिजिटल मेमोग्राफी मेसिन’ १२ करोडमा किन्नेगरि भएको टेन्डर, करिब २५ करोड २० लाखमा किन्नेगरी भएको ‘बायोकेमेस्ट्री एनालाइजर’ को टेन्डर र  करिब नौ करोड २० लाखमा खरिद गर्नेगरी भएको ‘हेमाटोलोजी एनालाइजर’ को टेन्डरमा ‘राष्ट्रिय स्तरको बोलपत्र (एनसीबी) को खरिद प्रक्रिया अपनाएको छ।

यस्ता मेसिन, औजार तथा उपकरण सम्बन्धित उत्पादन कम्पनीलाई अर्डर दिएर नेपाल ल्याउन  मात्रै पनि टेन्डर पारेको समयपछि तीन महिनासम्म लाग्ने देखिन्छ। एनसिबी गर्दा सामान उपलब्ध गराउन दिइएको छोटो समयले ती सामानहरू पहिल्यै ल्याएर स्टक राखेको देखिन्छ। यसले समेत टेन्डरको स्पेशिफिकेशन निर्माणको चरणबाटै टेन्डर पक्का गरेर आपूर्तिकर्ताले खरिद सम्झौता हुनु अगाडि नै सामग्री नेपाल भित्र्याएर स्टक राखेको देखिन्छ।

महाशाखाले करिब एक करोड ६० लाखमा खरिद गर्नेगरी  भएको एक लाख ५० हजार भायल ‘इन्जेक्सन डिएमपीए’को टेन्डर, चार करोड ८० लाखमा खरिद गर्नेगरी भएको ४५ हजार सेट ‘५ इयर इम्प्लान्ट’  टेन्डर र करिब चार करोड ५२ लाखमा खरिद गर्नेगरी भएको ‘एआरभी (इन्जेक्सन एन्टी रेबिज भ्याक्सिन)’ र ‘आरआइजी (एन्टी रेबिज इम्युनोग्लोबुलिन)’ टेन्डरमा भने ‘अन्तर्राष्ट्रिय स्तरको बोलपत्र (आइसिबी) खरिद प्रक्रिया अपनाएको छ।

सार्वजनिक खरिद नियमावली, २०६४ को नियम ४९ (क) मा ‘राष्ट्रिय वा अन्तर्राष्ट्रियस्तरको बोलपत्रको जानकारी’बारे बोलपत्र आह्वानको सूचनामा खुलाउनुपर्ने विषय उल्लेख गरिएको छ।

राष्ट्रिय बोलपत्रमा भन्दा अन्तर्राष्ट्रियस्तरको बोलपत्र हुँदा केही हदसम्म मिलेमतोको जोखिम कम हुनसक्छ। अन्तर्राष्ट्रिय स्तरको बोलपत्रमा अन्तर्राष्ट्रिय कम्पनीहरूले खरिदमा प्रतिस्पर्धा गर्न पाउँदा मूल्य लगायतमा पारदर्शीताको सम्भावना रहन्छ। तर, राष्ट्रिय बोलपत्र (एनसीबी) गर्दा अन्तर्राष्ट्रिय कम्पनी खरिदमा प्रतिस्पर्धा  गर्न नै पाउँदैनन्।

मिलेमतोको जालो मन्त्रालयदेखि विभागसम्म

खरिदमा स्वास्थ्य मन्त्री र स्वास्थ्य सचिव नजोडिने कुरै भएन। स्वास्थ्य मन्त्रालय मातहतका स्वास्थ्य संस्थामा हुने खरिद लगायतका विषयमा स्वास्थ्य मन्त्री र स्वास्थ्य सचिवको कुन नै कुनै किसिमको भूमिका हुन्छ नै। यस अगाडिको खरिदमा तत्कालीन मन्त्री बस्नेत र स्वास्थ्य सचिव डा रोशन पोखरेल जोडिएका थिए।

स्वास्थ्य सेवा विभाग अन्तर्गतको व्यवस्थापन महाशाखामा निर्देशक डा. श्रवण कुमार थापा, स्वास्थ्य सेवा विभागको महानिर्देशक छिन् डा. संगीता कौशल मिश्रा दुबैलाई बस्नेतले नै लगेका थिए।

बस्नेतले भदौ (१३) गते विभागका महानिर्देशक डा. दीपेन्द्र रमण सिंहलाई मन्त्रालयमा सरुवा गरेर मन्त्रालयकी अतिरिक्त सचिव मिश्रालाई विभागको महानिर्देशक बनाएका थिए।

खरिद शाखा प्रमुख डा. चौरासियाको भूमिका सामान आपूर्तिकर्ता र मन्त्रीसँगको समन्वय गरेर मिलेमतोको सहमति अनुसार सम्बन्धित कम्पनीको उत्पादनसँग मात्र मिल्नेगरि बायोमेडिकल इन्जिनियरलाई स्पेशिफिकेशन बनाउन लगाएर खरिद प्रक्रिया मिलाउँदै उच्च मूल्यमा सामान खरिद प्रक्रिया अगाडि बढाउने गरेको देखिएको थियो।

पुस तेस्रो साता (पुस २३ गते) व्यवस्थापन महाशाखाका निर्देशक डा. सर्वेश शर्मालाई हटाएर वीर अस्पतालमा रहेका डा. श्रवण कुमार थापालाई व्यवस्थापन महाशाखाको निर्देशकमा ल्याए।

व्यवस्थापन महाशाखा अन्तर्गत रहेको खरिद शाखा प्रमुखमा 'खरिद मिलेमतोका विज्ञ' समान डा. सुरेन्द्र चौरासिया छँदै थिए।

विभागका स्थायी बायोमेडिकल इन्जिनियर आशिष् चौहान र करारमा रहेकी बायोमेडिकल इन्जिनियर पद्यमा मिश्रा खरिद गरिने सामग्रीको प्राविधिक स्पेशिफिकेशन बनाउन संलग्न देखिए।

उकेराले खरिद प्रक्रियाबारे गरेको निरन्तर अनुगमनमा स्वास्थ्य सामाग्री निर्माण गर्ने अन्तर्राष्ट्रिय कम्पनीका नेपाली प्रतिनिधिले मन्त्रीसँग मिलेर मिलेमतोको वातावरण बनाउने, सचिवले सजीकरण गर्ने, मन्त्रीले खरिद आफू अनुकूल बनाउन विभाग र महाशाखामा आफू निकट कर्मचारी पठाउने गरेको देखियो।

खरिद शाखा प्रमुख डा. चौरासियाको भूमिका सामान आपूर्तिकर्ता र मन्त्रीसँगको समन्वय गरेर मिलेमतोको सहमति अनुसार सम्बन्धित कम्पनीको उत्पादनसँग मात्र मिल्नेगरि बायोमेडिकल इन्जिनियरलाई स्पेशिफिकेशन बनाउन लगाएर खरिद प्रक्रिया मिलाउँदै उच्च मूल्यमा सामान खरिद प्रक्रिया अगाडि बढाउने गरेको देखिएको थियो।

प्रतिस्पर्धाको आधारमा खरिद प्रक्रिया अगाडि बढाउँदा निकासा भएको बजेटभन्दा कम मूल्यमा उपकरण लगायतका सामाग्री आउन सक्छ। तर मिलेमतोमा बजेट सिलिङ हाराहारीमा टेन्डर प्रस्ताव गराएर महँगोमा सामाग्री खरिद हुन्छ। यसरी खरिद हुँदा आपूर्तिकर्ताले पाउने उच्च नाफा सहजिकरण गर्ने कर्मचारीदेखि मन्त्रीसम्म पुग्छ।

विश्व बैंकको ऋणको दोहन

विश्व बैंकको आर्थिक ऋण सहयोगमा कोभिड–१९ इमर्जेन्सी रेस्पोन्स एन्ड हेल्थ सिस्टमका लागि दिएको ऋण रकम रकमान्तर गर्दै यो वर्ष धेरै स्वास्थ्य उपकरणहरू खरिद भए। त्यसमा सबैभन्दा धेरै मिलेमतो देखियो।

विभागको व्यवस्थापन महाशाखाले २०८० फागुन १६ (फेब्रुअरी २८, २०२४) मा ‘मनिटर, एनेस्थेसिया र ओटी सामग्री’ करिब १२ करोड ८० लाखमा खरिद गर्नेगरी टेन्डर आह्वान गर्यो।

प्याकेज–१ र प्याकेज–२ गरी ‘मनिटर, एनेस्थेसिया र ओटी सामग्री’को खरिद प्रक्रिया अगाडी बढेकोमा दुवै प्याकेजको खरिदमा निश्चित मेसिन उत्पादक कम्पनीसँग मात्रै मिल्नेगरी स्पेशिफिकेशन लक्ड गरियो।

महाशाखाले ‘एनेस्थेसिया वर्कस्टेशन वीथ ७ प्यारामिटर मनिटर पेशेन्ट मनिटर २० सेट, पेशेन्ट मनिटर ५ प्यारामिटर ८० सेट, डिफिब्ब्रिलेटर बाइफेसिक ३५ सेट (प्याकेज–१)’ र अप्रेसन थिएटरका (ओटी) सामग्री (इलेक्ट्रोसर्जिकल युनिट) २५ वटा, सिटीजी ५० वटा (प्याकेज–२)’ खरिदका लागि टेन्डर आह्वान गर्यो। यसमा पनि मिलेमतो देखियो।

महाशाखाले ‘मनिटर, एनेस्थेसिया र ओटी सामग्री’को प्याकेज– १ अन्तर्गतको ‘एनेस्थेसिया वर्कस्टेशन वीथ ७ प्यारामिटर मनिटर पेशेन्ट मनिटर २० सेट, पेशेन्ट मनिटर ५ प्यारामिटर ८० सेट, डिफिब्ब्रिलेटर बाइफेसिक ३५ सेट (प्याकेज–१)’ को टेन्डर सप्लायर्स कम्पनी ‘लुम्बिनी हेल्थ केयर प्रालि’लाई पर्ने गरी निकालेको थियो। यो लुम्बिनीलाई नै पर्ने करिब निश्चित छ।

प्याकेज–२ अन्तर्गतको अप्रेसन थिएटरका ‘ओटी सामग्री (इलेक्ट्रोसर्जिकल युनिट) २५ वटा र सिटीजी ५० वटा (प्याकेज–२)’ को टेन्डर सप्लायर्स कम्पनी ‘पर्सा साइन्स इम्पोरिउम’लाई पर्ने निश्चित भइसकेको छ।

विभागको व्यवस्थापन महाशाखाले ‘मनिटर, एनेस्थेसिया र ओटी सामग्री’ ’ खरिदका लागि प्राविधिक मूल्याङ्कनको चरणमा ‘प्याकेज–१ को ‘लुम्बिनी हेल्थ केयर प्रालि’ र प्याकेज–२ को ‘पर्सा साइन्स इम्पोरिउम’लाई छनोट गर्दै आर्थिक प्रस्ताव खोल्ने सम्बन्धी वैशाख दस गते सोमबार सूचना प्रकाशित गरिसकेको छ।

दुई वटा प्याकेजको यो खरिदमा छुट्टाछुट्टै प्याकेजका लागि दुई वटा मात्रै टेन्डर प्रस्ताव प्राविधिक मूल्याङ्कनको चरणमा छनोट भएको थियो।

यी दुई कम्पनी मात्रै प्राविधिक छनोटको चरणमा छनोट गर्नुले अब आर्थिक मूल्याङ्कनको चरणमा यी दुई कम्पनी नै छनोट हुने करिब निश्चित देखिन्छ। यो खरिदमा दुई सप्लायर्सका प्रतिस्पर्धी नै छैनन्।

लुम्बिनी कोरोनाकालमा मिलेमतोमा महाशाखा अन्तर्गतको महाशाखाबाट सबैभन्दा धेरै खरिद टेन्डर पाउने कम्पनी हो।

महाशाखाले‘मनिटर, एनेस्थेसिया र ओटी सामग्री’ भारतीय मेसिन उत्पादक कम्पनी ‘बीपीएल ग्रुप(ब्रिटिस फिजिकल ल्याबोरेटोरिज इन्डिया प्रालि)’ र ‘कन्टेक मेडिकल सिस्टम कम्पनी’को मेसिनसँग मात्रै मिल्नेगरी लक्ड गरेर खरिद प्रक्रिया अगाडी बढाएको थियो।

वैशाख ११ मा प्रकाशित सूचनामा पर्साको वीरगन्जस्थित ‘पर्सा साइन्स इम्पोरियुम’ र काठमाडौँको कमलादीस्थित ‘खिलुङ कालिका सप्लायर्स एन्ड जेनेरल ट्रेडिङ प्रालिलाई आर्थिक चरणमा छनोट गरेको उल्लेख छ। मिलेमतोमा अघि बढेको यो टेन्डर पूर्व योजना अनुसार नै आर्थिक मूल्याङ्कनको चरणमा छनोट गरी एकले टेन्डर पर्ने करिब निश्चित छ।

भारतीय मेसिन उत्पादक कम्पनी ‘बीपीएल ग्रुप’को नेपाली एजेन्ट लुम्बिनी हेल्थ केयर प्रालि हो। लुम्बिनी हेल्थ केयरका प्रमुख पोस्टराज ज्ञवालीले बीपीएल ग्रुपको नेपाली एजेन्ट लुम्बिनी हेल्थ केयर भएको पुष्टि गरे। तर, ‘कन्टेक मेडिकल सिस्टम कम्पनी’को एजेन्ट लुम्बिनी नभएको ज्ञवालीले दाबी गरे।

वीपीएल ग्रुप र कन्टेकको नेपाली एजेन्ट तपाईँको कम्पनी हो? भन्ने जिज्ञासामा ज्ञवालीले भने‘हामी पनि छौँ अरू पनि छन्।...म पनि त्यसको डिलर चाहिँ हो। त्यसका डिलर अरू पनि छन्। कन्टेक मेडिकलको म डिलर हैन।’

उनले टेन्डर पार्न आफ्नो सेटिङ नरहेको दाबी गरे।

महाशाखाले यो खरिद विश्व बैंकको आर्थिक ऋण सहयोगमा कोभिड–१९ इमर्जेन्सी रेस्पोन्स एन्ड हेल्थ सिस्टम प्रिपेयरनेश प्रोजेक्टबाट गर्न लागेको हो।

विभागको व्यवस्थापन महाशाखाले २०८० फागुन १६ (फेब्रुअरी २८, २०२४) मा ‘हाइस्केल-वेट स्केल एन्ड एमयुएसी टेप’  आठ करोड ६४ लाखमा खरिद गर्नेगरी टेन्डर आह्वान गरेको थियो।

हाइ बोर्ड (हाइस्केल) एक हजार ३५ वटा, वेट स्केल एक हजार ३५ वटा र एमयुएसी टेप ८८ हजार वटा खरिदका लागि महाशाखाले टेन्डर आह्वान गर्यो।

यो पनि विश्व बैंकको आर्थिक ऋण सहयोगमा कोभिड–१९ इमर्जेन्सी रेस्पोन्स एन्ड हेल्थ सिस्टम प्रिपेयरनेश प्रोजेक्टबाट किन्न लागिएको हो।

तीन करोडको डेन्टल सामग्री

व्यवस्थापन महाशाखाले २०८० फागुन १६ (फेब्रुअरी २८, २०२४) मा दाँत सम्बन्धी ‘डेन्टलका सामग्री’ करिब तीन करोडमा खरिद गर्नेगरी टेन्डर आह्वान गर्यो।

 ‘डेन्टल चियर २० सेट, ‘डेन्टल कम्प्रेशर २० सेट’, ‘डेन्टल एक्स–रे (आरभिजी डेण्टल एक्स–रे युनिट) २० सेट’, ‘डेन्टल इन्स्ट्रमेन्ट सय सेट’ खरिदका लागि टेन्डर आह्वान भएको थियो। यो पनि विश्व बैंकको ऋणमा हुन लागेको खरिद हो।

यसको प्रिबिड बैठक चैत चार (मार्च १७, २०२४)लाई तोकिएको थियो। चैत १६ (मार्च २९, २०२४) सम्ममा टेन्डर प्रस्ताव गरिसक्नुपर्ने मिति तोकिएको थियो।

यसको टेन्डर खुल्ने मितिमा त्रुटि देखिएको थियो। टेन्डर आह्वान गरेको मिति भन्दा टेन्डर खुल्ने मिति केही महिना नै अगाडी राखिएको थियो।

सार्वजनिक खरिद अनुगमन कार्यालय (पिपिएमओ)को वेबसाइटमा अद्यावधिक गरी खरिद प्रक्रिया अगाडी बढेको देखिँदैन। करिब तीन करोडको यो टेन्डर मेडिकल व्यवसायी उमेश अग्रवाललाई दिनेगरी अगाडि बढेको देखिन्छ।

'अग्रवाल समूहका ‘गर्ग डेण्टल प्रालि’ लगायत नेपाली फर्म भए पनि यो टेन्डरमा कुन फर्म प्रयोग गरे भन्ने एकिन देखिँदैन' एक जानकारले उकेरासँग भने ।

उनका अनुसार अग्रवाल समूहका गर्ग डेण्टल, दी मेडिकल सोलुसन, बायोमेड इन्टरनेश्नल, मेडिप्वाइन्ट इन्टरनेस्नल लगायतका फर्म छन्।

व्यवसायी अग्रवालले उकेरासँग यो वर्ष विभागमा कुनै टेन्डर नपरेको र टेण्टलको तीन करोडको टेन्डरमा पनि आफ्नो कम्पनीले टेन्डर प्रस्ताव नगरेको अग्रवालको दाबी गरे।

‘स्वास्थ्य सेवा विभागमा (मेरो) एक रुपैयाँको पनि काम छैन,’अग्रवालले उकेरासँगको कुराकानीमा भने।

१२ करोडमा पाँच वटा मेमोग्राफी

विभागको व्यवस्थापन महाशाखाले २०८० फागुन १६ (फेब्रुअरी २८, २०२४) मा पाँच सेट ‘थ्रिडी डिजिटल मेमोग्राफी मेसिन’ करिब १२ करोडमा खरिद गर्नेगरी टेन्डर आह्वान गरेको थियो।

यो पनि विश्व बैंकको आर्थिक ऋण सहयोगको खरिद हो। महाशाखाले मेसिन खरिदका लागि प्राविधिक मूल्याङ्कनको चरणमा ‘म्याक्सिम इन्कर्पोरेशन ट्रेडस प्रालि’लाई छनोट गर्दै आर्थिक प्रस्ताव खोल्ने सम्बन्धी वैशाख ११ मा सूचना प्रकाशित गरेको छ। यो सुन्दर भुसालको कम्पनी हो।

प्राविधिक मूल्याङ्कनको चरणमा ‘म्याक्सिम इन्कर्पोरेशन ट्रेडर्स प्राली’ मात्रै छनोटमा पर्नुले यो टेन्डरको प्रारम्भदेखि नै मिलेमतो भएको देखाउँछ नै। यस विषयमा जानकारीका लागि भुसालसँग सम्पर्क गर्ने प्रयास सफल भएन।

व्यवस्थापन महाशाखाले गत मंसिर अन्तिम साता १६ करोडमा आठ वटा मेमोग्राफी मेसिन किन्न निकालेको टेन्डर रद्द गरेको थियो। भुसालको कम्पनीका लागि निकालिएको टेन्डर आधिकारिक एजेन्टको समस्याका कारण अर्कैले पाउने जोखिम बढेपछि भुसालकै सक्रियतामा टेन्डर रद्द गरिएको थियो। अहिले पुन मेमोग्राफीको टेन्डर प्रक्रिया अगाडी बढेको छ।

महाशाखाले २०८० फागुन १६ (फेब्रुअरी २८, २०२४) मा ‘बायोकेमेस्ट्रि एनालाइजर’ २५ करोड २० लाखमा खरिद गर्नेगरी टेन्डर आह्वान गर्यो।

‘बायोकेमेस्ट्रि एनालाइजर इन्टेग्रेटेड बायो केमेस्ट्री र इम्युनोसरी एनालाईजर दुई हजार थ्रोपुट’ एक सेट (प्याकेज–१), ‘इन्टेग्रेटेड बायो केमेस्ट्री र इम्युनोसरी एनालाईजर एक हजार पाँच सय थ्रोपुट’ चार सेट (प्याकेज–२), र ‘फुल्लि अटोमेटिक बायोकेमेस्ट्रि एनालाईजर’ २० सेट, ‘अटोमेटिक युरिन एनालाईजर’ २० सेट (प्याकेज–३) खरिदका लागि यो टेन्डर  आह्वान भएको थियो।

यो पनि विश्व बैंकको आर्थिक ऋण सहयोगमा किन्न लागिएको हो। यसको प्रिबिड बैठक चैत ६ (मार्च १९, २०२४)लाई तोकिएको थियो। चैत १८ (मार्च ३१, २०२४)सम्ममा टेन्डर प्रस्ताव गरिसक्नुपर्ने मिति तोकिएको थियो भने सोही दिनलाई टेन्डर खुल्ने मिति तोकिएको थियो।यो पनि निश्चित कम्पनीलाई नै टेन्डर पर्ने गरी खरिद प्रक्रिया अगाडि बढेको देखिन्छ।

नौ करोडको हेमाटोलोजी एनालाईजर

२०८० फागुन १७ (फेब्रुअरी २९, २०२४) मा महाशाखाले ‘हेमाटोलोजी एनालाइजर’ करिब नौ करोड २० लाखमा खरिद गर्नेगरी टेन्डर आह्वान गर्यो।

‘हेमाटोलोजी एनालाईजर (पार्ट ३)’ ५० सेट, ‘हेमाटोलोजी एनालाईजर (पार्ट ५)’ २० सेट, ‘एबीजी मेसिन’ १५ सेट खरिदका लागि टेन्डर आह्वान भएको थियो।

विश्व बैंकको आर्थिक ऋण सहयोगमा हुन लागेको खरिदको प्रिबिड बैठक चैत ६ (मार्च १९, २०२४)लाई तोकिएको थियो। चैत १८ (मार्च ३१, २०२४)सम्ममा टेन्डर प्रस्ताव गरिसक्नुपर्ने मिति तोकिएको थियो। सोही दिनलाई टेन्डर खुल्ने मिति तोकिएको थियो।

व्यवस्थापन महाशाखाले ‘हेमाटोलोजी एनालाइजर’ खरिदका लागि प्राविधिक मूल्याङ्कनका चरणमा दुई वटा फर्मलाई छनोट गर्दै आर्थिक प्रस्ताव खोल्ने सम्बन्धी सूचना प्रकाशित गरेको छ।

वैशाख ११ मा प्रकाशित सूचनामा पर्साको वीरगन्जस्थित ‘पर्सा साइन्स इम्पोरियुम’ र काठमाडौँको कमलादीस्थित ‘खिलुङ कालिका सप्लायर्स एन्ड जेनेरल ट्रेडिङ प्रालिलाई आर्थिक चरणमा छनोट गरेको उल्लेख छ।

मिलेमतोमा अघि बढेको यो टेन्डर पूर्व योजना अनुसार नै आर्थिक मूल्याङ्कनको चरणमा छनोट गरी एकले टेन्डर पर्ने करिब निश्चित छ।

१८ करोडको औषधी खरिद

व्यवस्थापन महाशाखाले २०८० फागुन १७ (फेब्रुअरी २९, २०२४) मा करिब १८ करोडमा विभिन्न किसिमका ‘औषधि’ खरिद गर्नेगरी टेन्डर आह्वान गर्यो।

विश्व बैंकको आर्थिक ऋण सहयोगमा हुन लागेको खरिदको प्राविधिक र आर्थिक दुवै मूल्याङ्कनको चरणमा ‘जी एच मेडिहेल्थ कन्सर्न प्रालि’लाई छनोट गर्दै १९ करोड ५५ लाख ३४ हजारमा औषधी खरिद गर्ने निर्णय भएको छ।

मङ्गलवार (वैशाख ११ मा) सूचना जारी गर्दै न्यूनतम मूल्यमा औषधी ल्याइदिने गरी टेन्डर प्रस्ताव गर्ने कम्पनीलाई बोलपत्र स्वीकृत गर्ने सम्बन्धी आशयको सूचना प्रकाशित गरेको हो।

महाशाखाले २०८० फागुन १७ मा करिब ११ करोडमा ‘एचपीभी डिएनए पिसिआर किट्स’ र ‘ल्याब रिएजेन्ट’ खरिद गर्नेगरी टेन्डर आह्वान गरेको थियो।

प्याकेज–१ मा ‘एचपीभी डिएनए पिसिआर किट्स’ ८० हजार (पिस) र प्याकेज–२ मा ‘ल्याब रिएजेन्ट’ ६ सय ६० सेट खरिदका लागि टेन्डर आह्वान भएको थियो। यो पनि  विश्व बैंकको आर्थिक ऋण सहयोगको रकमबाट हुन लागेको खरिद हो।

चार करोड ८० मा इम्प्लान्ट किन्न

२०८० फागुन १७ मा टेन्डर भयो। यो चार करोड ८० लाखको हो।  विश्व बैंकको आर्थिक ऋण सहयोगमा हुन लागेको खरिदमा अन्तर्राष्ट्रिय स्तरको बोलपत्र (इन्टरनेश्नल कम्पेटिटिभ बिडङ-आइसिबी) गरिएको छ।

२०८० फागुन १७ मा ‘एआरभी (इन्जेक्सन एन्टी रेबिज भ्याक्सिन)’ र ‘आरआइजी (एन्टी रेबिज इम्युनोग्लोबुलिन)’ करिब चार करोड ५२ लाखमा खरिद गर्नेगरी टेन्डर आह्वान भएको थियो।

विश्व बैंकको आर्थिक ऋण सहयोगमा हुन लागेको यो खरिद पनि अन्तर्राष्ट्रिय स्तरको बोलपत्र गरिएको छ। ५६ लाखमा ल्याबका सामग्री खरिद गर्न २०८१ वैशाख चार मा टेन्डर आह्वान भएको थियो। यो ‘राष्ट्रिय स्तरको बोलपत्र हो।

दुई करोड ५२ लाखको टेन्डर ‘वेब ट्रेडिङ कन्सर्नलाई

व्यवस्थापन महाशाखाले करिब दुई करोड ५२ लाखमा खरिद गर्नेगरी अघि बढाएको ’इन्फर्टिलिटी केयर र आइसीएसआई’को टेन्डर ‘वेब ट्रेडिङ कन्सर्न प्रालि’ ले पाउने निश्चित छ।

’इन्फर्टिलिटी केयर र आइसीएसआई’ खरिदका लागि प्राविधिक मूल्याङ्कनका चरणमा ‘वेब ट्रेडिङ कन्सर्न प्रालि’ छनोट गर्दै आर्थिक प्रस्ताव खोल्ने सम्बन्धी सूचना प्रकाशित गरेको छ।

महाशाखाले वैशाख ११ गते मङ्गलवार सूचना जारी गर्दै त्रिपुरेश्वरको ‘वेब ट्रेडिङ कन्सर्न प्रालि’ लाई प्राविधिक चरणमा छनोट गर्दै आर्थिक चरणमा छनोटका लागि आर्थिक प्रस्ताव खोल्ने सम्बन्धी सूचना जारी गरेको छ।  यो खरिदको वैशाख ३० गते आर्थिक प्रस्ताव खुल्ने छ।

व्यवस्थापन महाशाखाले ६ करोड ८० लाखमा ‘इन्डोस्कोपिक अल्ट्रासाउन्ड’ खरिद गर्नेगरी प्राविधिक मूल्याङ्कनको चरणमा ‘नेश्नल इलेक्ट्रो–टेक प्रालि’लाई छनोट गर्दै आर्थिक प्रस्ताव खोल्ने सम्बन्धी सूचना जारी गरेको छ।

महाशाखाले २०८० माघ १६ (जनवरी ३०, २०२४) मा ‘इन्फर्टिलिटी केयर र आइसीएसआई’ सामग्री करिब दुई करोड ५२ लाखमा खरिद गर्ने गरी टेन्डर आह्वान गरेको थियो।

व्यवस्थापन महाशाखाले ६ करोड ८० लाखमा ‘इन्डोस्कोपिक अल्ट्रासाउन्ड’ खरिद गर्नेगरी  प्राविधिक मूल्याङ्कनको चरणमा ‘नेश्नल इलेक्ट्रो–टेक प्रालि’लाई छनोट गर्दै आर्थिक प्रस्ताव खोल्ने सम्बन्धी सूचना जारी गरेको छ।

वैशाख १० मा सूचना जारी गर्दै काठमाडौँको नयाँ बानेस्वर स्थित ‘नेश्नल इलेक्ट्रो–टेक प्रालि’ लाई प्राविधिक चरणमा छनोट गर्दै आर्थिक चरणमा छनोटका लागि आर्थिक प्रस्ताव खोल्ने सम्बन्धी सूचना जारी गरेको हो।  यो खरिदको वैशाख ३० गते आर्थिक प्रस्ताव खुल्ने छ। नेश्नल इलेक्ट्रो–टेक प्रालिले टेन्डर पाउने करिब निश्चित छ।

व्यवस्थापन महाशाखाले २०८० फागुन ६ (फेब्रुअरी  १८, २०२४) मा दुई वटा ‘इन्डोस्कोपिक अल्ट्रासाउन्ड’ ६ करोड ८० लाखमा खरिद गर्ने गरी टेन्डर आह्वान गरेको थियो। ‘इन्डोस्कोपिक अल्ट्रासाउन्ड’ विश्व वैंकको आर्थिक ऋण सहयोगमा किन्न लागेको हो।

११ बैशाख, २०८१, २२:५८:२१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।