डा. गोविन्द केसीद्वारा पुन: अनसन बस्ने चेतावनी

डा. गोविन्द केसीद्वारा पुन: अनसन बस्ने चेतावनी

काठमाडौं : चिकित्सा शिक्षा सुधार अभियन्ता भनेर चिनिएका डा. गोविन्द केसीले पुन: अनसन बस्ने चेतावनी दिएका छन्।

आफूसँग विगतमा भएको सहमति कार्यान्वयन गर्न सरकारलाई ३ हप्ताको अल्टिमेटम दिँदै उनले अनसन बस्ने चेतावनी दिएका हुन्।

नागरिक अधिकार, सशस्त्र द्वन्द्वकालका पीडितलाई न्याय र पीडकलाई सजाय दिनुपर्ने, गेटामा तुरुन्त स्वास्थ्य विज्ञान प्रतिष्ठान सञ्चालन गर्ने, गण्डकी र मधेश प्रदेशका साथै इलाम, उदयपुर र डडेल्धुरामा मेडिकल कलेज /प्रतिष्ठान तुरुन्त निर्माण गर्नुपर्ने माग सम्बोधन गर्न उनले तीन हप्ताको समय दिएका हुन्।

यस्तै पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको चिकित्सा शिक्षासम्बन्धी जाँचबुझ आयोगले कारबाही सिफारिस गरेका पदाधिकारीलाई कारबाही र सबै नेपालीलाई नि:शुल्क उपचार गर्नुपर्ने उनको माग छ।

६ वर्षअघि कार्की नेतृत्वको समितिले तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएको प्रतिवेदन गत २८ चैतमा सार्वजनिक भएको थियो।

केसीले उच्च शिक्षा र प्रतिष्ठान सम्बन्धी ऐन तुरुन्त पारित गर्नुपर्ने तथा रुसी सेनामा भर्ना भएका सबै नेपालीहरूलाई फिर्ता बोलाउन र थप जान रोक लगाउने व्यवस्था तत्काल लागू गर्न पनि माग गरेका छन्।

यसअघि पनि डाक्टर केसीले पटक-पटक अनसन बस्ने चेतावनी दिएका थिए। तर, अनसन बस्ने दिन नजिकिएसँगै विविध कारणले स्थगित गर्दै आएका छन्।

८ बैशाख, २०८१, १३:४५:२४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।