बल्ल देख्यो सरकारले घट्टेकुलो–मैतिदेवी क्षेत्रमा डेंगु

बल्ल देख्यो सरकारले घट्टेकुलो–मैतिदेवी क्षेत्रमा डेंगु

काठमाडौंको घट्टेकुलो–मैतिदेवी क्षेत्रमा डेंगु फैलिएको करिब दुई महिना भयो। तर, सरकाले भने बल्ल चासो लिँदैछ। 

डेंगु संक्रमण फैलिएर अत्याएको बेला सरकारी निकायले थाहा नपाएको जस्तै गरेका थिए। वडाले केही दिन माइकिङ गर्ने तथा पर्चा बाँड्नेबाहेक डेंगु नियन्त्रणका लागि प्रभावकारी काम गरेको थिएन। 

तर, केहीदिनयता भने स्वास्थ्यका निकायहरू घट्टेकुलो–मैतिदेवी क्षेत्रमा फैलिएको डेंगुको अवस्थाबारे छलफल र तथ्यांक संकलनमा जुट्न थालेका छन्। 

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका कीटजन्यरोग शाखा प्रमुख डा. गोकर्ण दाहालले सरकारी प्रणालीमा घट्टेकुलो–मैतिदेवी क्षेत्रमा फैलिएको डेंगुको अवस्थाबारे रिपोर्ट नआइपुगेकाले संक्रमणको वास्तविक अवस्था थाहा पाउन नसकिएको स्वीकारे। 

घट्टेकुलो–मैतिदेवीमा डेंगु संक्रमण पुष्टि भए पनि सरकारी निकायमा संक्रमितको तथ्यांक रिपोर्टिङ नभएको शाखा प्रमुख दाहालले बताए।

उनले भने, ‘उहाँहरू (निजि ल्याब)ले रिपोर्ट नगरिदिएको केसहरू रहेछ। झण्डै एक सय ६८ वटा केस चाहिँ सिस्टममा नआइपुगेको भन्ने रहेछ।’ 

डेंगु फैलिएका घट्टेकुलो–मैतिदेवी क्षेत्र काठमाडौं महानगरपालिकाका २९ र ३० नम्बर वडामा पर्छन्।

२९ नम्बर वडाकी क्लिनिकल इन्चार्ज सुनिता बोहोराले ती क्षेत्रमा दुई सयभन्दा बढी व्यक्तिमा संक्रमण पुष्टि भएको जानकारी दिइन्। 

उनले मैतिदेवीमा रहेको 'एपोलो पोलिक्लिनिक'मा एक सय ९२ र डिल्लिबजारस्थित 'सिद्धि पोलि प्याथल्याब'मा स्वास्थ्य परीक्षण गरेकामध्ये ३८ जनामा डेंगु संक्रमण पुष्टि भएको रिपोर्ट प्राप्त भएको जानकारी दिइन्। 

घट्टेकुलो–मैतिदेवी क्षेत्रका अधिकांश व्यक्ति स्वास्थ्य परीक्षणका लागि एपोलो र सिद्धि नै पुगेको पाइएको उनको तर्क छ। 

उकेराले एक साताअघि यी दुई ल्याबमा घट्टेकुलो–मैतिदेवी क्षेत्रका व्यक्तिले डेंगु परीक्षण गराएको र परीक्षण गराएकामध्ये ९० प्रतिशत भन्दा बढीमा डेंगु संक्रमण पुष्टि भएको रिपोर्ट सम्प्रेषण गरेको थियो।

तर, हालसम्म पनि घट्टेकुलो–मैतिदेवी क्षेत्रमा कति संक्रमित भए भन्ने न संघीय सरकारसँग यकिन तथ्यांक छ न त स्थानीय सरकारसँग नै।

कति संक्रमित भए भन्ने सरकारसँग पनि यकिन तथ्यांक नभएको महानगरपालिकाको स्वास्थ्य विभाग प्रमुख हरि कुँवर स्वीकार्छन्। कुँवरले भने, 'एक्ज्याक्ट केही पनि छैन। हस्पिटलको रेकर्ड हामिलाई सबैले तुरुन्तै दिँदैनन्।' 

छलफल, समन्वय र जनचेतना सुरु
कीटजन्य रोग शाखा प्रमुख डा. दाहालले डेंगु फैलिएको थाहा पाएपछि संक्रमणको अवस्था तथा नियन्त्रणको उपायबारे तीन दिनअघि विभिन्न निकायसँग छलफल भएको बताए। 

उनले काठमाडौं महानगरपालिकाका २९ र ३० नम्बर वडाका जनप्रतिनिधिसँग डेंगु फैलिएको सन्दर्भमा छलफल भएको जानकारी दिए। 

त्यसैगरी महानगरपालिकाको स्वास्थ्य विभाग, घट्टेकुलो–मैतिदेवी क्षेत्र (वाड नं. २९ र ३०)का स्वास्थ्य स्वयंसेविका र विद्यालयका प्रधानाध्यापक तथा स्थानीयसँग छलफल भएको दाहालले जानकारी दिए। 

उनले मैतिदेवीमा रहेको 'एपोलो पोलिक्लिनिक' र डिल्लिबजारस्थित 'सिद्धि पोलि प्याथल्याब'का सञ्चालक तथा कर्मचारीलाई पनि छलफलमा बोलाएर डेंगुको अवस्थाका बारेमा परामर्श लिएको उनले बताए।

डेंगुको संक्रमणबाट बच्नका लागि घट्टेकुलो–मैतिदेवी क्षेत्रमा मंगलबारबाट ६ दिने जनचेतनामुलक कार्यक्रम गरिने पनि स्वास्थ्य विभाग प्रमुख कुँवरले बताए।

त्यसैगरी २९ नम्बर वडाकी क्लिनिकल इनचार्ज बोहोराले डेंगुबाट बच्नका लागि १६ जना स्वास्थ्य स्वयंसेविकाले घरदैलो कार्यक्रम गर्ने जानकारी दिइन्। बोहोराले पाँच दिनसम्म सो कार्यक्रम चल्ने बताइन्। 

३० नम्बर वडामा पनि १८ जना स्वयंसेविका परिचालित गरिने बताइएको छ। 

२९ र ३० नम्बर वडाका महिला स्वयंसेविकालाई डेंगु संक्रमणबाट बच्नका लागि जनचेतनामुलक कार्यक्रम गर्नका लागि अभिमुखिकरण तालिम दिइएको दाहालले जानकारी दिए। 

महानगरपालिकाको स्वास्थ्य विभाग प्रमुख कुँवरले डेंगु संक्रमणबाट बच्नका लागि नियमित जनचेतनामुलक कार्यक्रमहरू चलाइरहेको जानकारी दिए। उनले भने, 'रेगुलर कार्यक्रमहरू लञ्च गरिरहेका छौं। रेडियो टेलिभिजनबाट सूचना प्रशारण गरेका छौं।' 

यसको उपचार नभएकाले रोकथामलाई नै जोड दिइने उनको भनाइ छ।

डेंगु संक्रमण नियन्त्रणका लागि स्रोतको कमी नहुने र आवश्यक परे सहयोग गर्ने इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ। 

संक्रमणको अझै जोखिम
घट्टेकुलो–मैतिदेवी क्षेत्रका ल्याबहरूले दिएको रिपोर्टअनुसार केही साताअघिको तुलनामा अहिले डेंगु परीक्षण गर्न ल्याबमा पुग्नेको संख्या घटेको र संक्रमित पनि घटेको रोग नियन्त्रण मशाखाका शाखा प्रमुख डा. दाहाल बताउँछन्। 

वडाकी क्लिनिकल इन्चार्ज बोहोराले पनि पछिल्लो समय वडामा डेंगु संक्रमित नबढेको दावी गरिन्। उनले संक्रमितमध्ये अधिकांश निको भइसकेको र १÷२ जना निको हुने क्रममा रहेको बताइन्। 

तर, मैतिदेवीस्थित एपोलो पोली क्लिनिकका फिजिसियन तथा नसा रोग विशेषज्ञ डा. दीपेश शाक्य केही हप्ताअघिको तुलनामा संक्रमितको संख्या कम भए पनि जोखिम भने कायम नै रहेको बताउँछन्। 


डा दीपेश शाक्य

उनले आइतबार उकेराकर्मीसँग कुरा गर्दै भने, 'पहिलेको तुलनामा अहिले कम भएको हो। पहिला सय जना ज्वरो आएकामध्ये करिब ९० प्रतिशतमा डेंगु थियो। अहिले घटेर २०÷२५ प्रतिशतमा झरेको छ।'

उनले अहिले पनि दैनिक २०÷२५ जना ज्वरोका बिरामीको स्वास्थ्य जाँच गराएकामध्ये ५÷६ जनामा डेंगु संक्रमण देखिने गरेको सुनाए। 

उनी अझै कम्तिमा एक महिना डेंगु संक्रमणको जोखिम हुन सक्ने बताउँछन्। डा. शाक्यले केही बिरामी स्वास्थ्य जटिलता निम्तिएर अस्पताल समेत भर्ना हुनुपरेको सुनाए। 

सिद्धि प्याथल्याबमा आइतबारसम्म स्वास्थ्य परीक्षण गराउनेमध्ये ४० जनामा डेंगु संक्रमण पुष्टि भएको छ। पछिल्लो हप्तामा १३ जनाले स्वास्थ्य परीक्षण गराएकामध्ये ३ जनामा डेंगु संक्रमण भएको सिद्धि प्याथ ल्याबले जानकारी दिएको छ। 

एपोलो पोलि क्लिनिकले पनि केही दिन अघिको तुलनामा भने संक्रमितको संख्या घटेको जनाएको छ। त्यसो त ज्ञानेश्वरस्थित हिमाल अस्पतालमा पनि स्वास्थ्य परीक्षण गराउनेमध्ये दशैंअघि एक जनामा र दशैंपछि दुई जनामा डेंगु संक्रमण देखिएको अस्पतालले जनाएको छ।

२९ नम्बर वडाका वडाध्यक्ष कुश ढकालले भने घट्टेकुलो–मैतिदेवी क्षेत्रमा देखिएको डेंगुको विषयमा आफूले बुझ्नै नसकेको तर्क गरे। 

'हिजो दन्तकाली मार्गमा झ्याप्प देखियो भन्दै थिए', वडाध्यक्ष ढकालले भने, 'खै अलिअलि कसैलाई देखापर्यो भनेको छ। धेरै निको भइसकेको छ। के हो के हो?' 

डेंगु संक्रमणबाट बच्नका लागि जनचेतनामुलक कार्यक्रम गर्न, फोहोरमैलाको व्यवस्थापन गर्न तथा सरसफाइमा ध्यान दिन, झुल लगाएर सुत्न, पूरा बाउला भएका कपडा लगाएर हिँड्न चिकित्सकको सुझाव छ।

उकेराले डेंगुसम्बन्धी गरेकाे यसअघिका खाेजहरू

३० कात्तिक, २०७८, १४:१४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।