उकेरा टप फाइभ : ईश्वर र योगेशको सम्बन्धदेखि पूर्वडिआइजीको संस्मरणसम्म 

उकेरा टप फाइभ : ईश्वर र योगेशको सम्बन्धदेखि पूर्वडिआइजीको संस्मरणसम्म 

आजै सरकार र नेत्रविक्रम चन्द ‘विप्लव’ समूहबीच पहिलो चरणको वार्ता सम्पन्न भयो। वार्तापछि गृहमन्त्री एवं सरकारी वार्ता टोलीका संयोजकले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै वार्ता सकारात्मक दिशातर्फ अघि बढेको बताए। 

यी हुन्, आजका मुख्य राजनीतिक घटना। यसबाहेक उकेराले अन्य विभिन्न विषयलाई पनि समेटेको थियो। 

उकेराका टप फाइभ 

उकेराले आज बिहानै ‘बस्ती बन्नेमा ढुक्क छैनन् सन्थाल’ शीर्षकको समाचार प्रकाशन गर्याे। 

मोरङको उर्लाबारी नगरपालिकाको रातोहोली किनारमा सन्थाल एकीकृत बस्ती शिलान्यास भएपछि स्थानीय मोतीलाल किस्कु खुसी त छन्। तर, बस्ती बन्नेमा ढुक्क छैनन्। 

कारण हो– उनले यसअघिका नेताहरूबाट पाएको झुटो आश्वासन। यसअघि नेताहरूले घर बनाउने वाचा गरे। तर, बनाएनन्। 
अहिले पनि पुरानै प्रवृत्ति दोहोरिने हो कि भन्ने उनलाई चिन्ता छ। तर, प्रधानमन्त्री केपी शर्मा ओलीबाटै एकीकृत बस्ती शिलान्यास भएपछि आशा पनि छ उनमा। 

अर्का स्थानीय रोमन किस्कु पनि बस्ती बन्नेमा ढुक्क हुन सकेका छैनन्। उनी यसबारे ढुक्क हुन नसक्नुको कारण पनि उस्तै उही नै हो, नेताको झुटो आश्वासन। 

घर बन्नेमा ढुक्क छैनन् सन्थाल

उकेरामा आज प्रकाशित अर्काे महत्त्वपूर्ण समाचार भने नेपाल कम्युनिस्ट पार्टी (ने क पा) विवादले नेताहरूबीच चर्किएको सम्बन्धबारेको थियो। 

कोरोनाविरुद्धको खोप लगाउने क्रममा काठमाडौं नयाँ बानेश्वरस्थित निजामती अस्पतालमा भेट भएपछि उपप्रधानमन्त्री ईश्वर पोखरेल र पूर्वपर्यटनमन्त्री योगेश भट्टराईले कुराकानीमा औपचारिकता मात्रै निभाए। 

सत्तारुढ नेकपामा चर्किएको विवादले नेताहरूको सम्बन्ध कुन तहसम्म पुगेको रहेछ भन्ने बुधवार खोप लगाउँदा जम्काभेट भएका नेताहरूको व्यवहारबाट देखियो। सरकारले संसद् अधिवेशन बोलाएसँगै सांसदहरूलाई खोप लगाउन निजामती अस्पतालमा खोप केन्द्र तोकिएको थियो।

खोप लगाउन जाँदा नेकपाका दाहाल–नेपाल समूह र ओली समूहका नेताहरूबिच जम्काभेट भएको थियो। केही नेताहरूबीच त कुराकानीसमेत भएन। केहीले भने औपचारिकता मात्र निभाए।

योगेशले सोधे हालखबर, पोखरेलले निभाए औपचारिकता

उकेराले आजै सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरको अन्तर्वार्ता पनि प्रकाशन गर्याे। अन्तर्वार्तामा उनले बालाजु सडक विस्तार विरोधी अभियन्ता नभएर माफिया भएको आरोप लगाए। 

सरकारी जग्गा कसैको पेवा त होइन नि। अहिले यिनीहरूको आन्दोलन माफियाहरूको आन्दोलन हो। अभियन्ता बनेर हिँडेकाहरूको अवस्था मलाई थाहा छैन र ? आमा–श्रीमतीले लफंगा भयो भनेर गाली गर्छन् उनीहरू नै अभियन्ता रे !

राज्यमन्त्री मानन्धरको दाबी : बालाजु सडक विस्तार विरोधी अभियन्ता होइनन्, माफिया हुन्

उकेरामा प्रकाशित अर्काे महत्त्वपूर्ण घटना थियो– रूपन्देहीको सीमा नाका बेलहिया घेराउबारेको। सीमावर्ति भारतीय बजार सुनौलीमा सामान किन्न गएकी नेपाली महिलाको भारतीय सुरक्षाकर्मीको चेकजाँचमा कपडा च्यातिएपछि स्थानीयले विरोध जनाए। 

भारतीय सुरक्षाकर्मीको चेकजाँचका क्रममा महिलाको कपडा च्यातिएपछि त्यसको विरोधमा नाका घेराउ गरिएको स्थानीय माधव शर्माले जानकारी दिए। घटनाको विरोधमा स्थानीय स्वतःस्फूर्तरूपमा नाका घेराउ गर्न आएको उनले बताए। 

भारतीय सुरक्षाकर्मीको चेकजाँचमा महिलाको कपडा च्यातिएपछि स्थानीयद्वारा बेलहिया नाका घेराउ

उकेरामा आज प्रकाशन भएको अर्काे महत्त्वपूर्ण सामग्री नेपाल प्रहरीका पूर्वडिआइजी हेमन्त मल्लको संस्मरण डायरी थियो। 

पढाइ पूरा भइसकेको थियो। अब जागिर पनि भइहाल्यो। उमेर पनि विवाहका लागि ठिक्क। तर, घरमा विवाहबारे कुरा चलिसकेको थिएन। विवाहका लागि कर गर्दैनथे परिवारले। 

भेट भएको बेलामा बहिनीहरू ‘सवितालाई चिठी पठाउनु न’ भनेर जिस्काउँथे। नाम थाहा थियो। तर देखेको हैन, भेटेको छैन। कता चिठी पठाउने? म झैँ उनी पनि सानैमा लखनउ पढ्न गएको। कहिल्यै भेट भएन हाम्रो। तर, घरमा बेलाबेला कुरा हुन्थ्यो उनको। फुपूको छोरीहरू कुरा गरिरहन्थे। 

ब्याच नम्बर ६९ : उनको त्यो तस्बिर
 

१९ फागुन, २०७७, ०२:३४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।