भारतीय सुरक्षाकर्मीको चेकजाँचमा महिलाको कपडा च्यातिएपछि स्थानीयद्वारा बेलहिया नाका घेराउ 

भारतीय सुरक्षाकर्मीको चेकजाँचमा महिलाको कपडा च्यातिएपछि स्थानीयद्वारा बेलहिया नाका घेराउ 

भारतीय सुरक्षाकर्मीको चेकजाँचका क्रममा महिलाको कपडा च्यातिएपछि त्यसकाे विरोधमा नाका घेराउ गरिएकाे स्थानीय माधव शर्माले जानकारी दिए। घटनाको विरोधमा स्थानीय स्वतःस्फूर्तरूपमा नाका घेराउ गर्न आएको उनले बताए। 

सुनौलीतर्फ जाँदै गरेकी नेपाली महिलाको भारतीय सुरक्षाकर्मीको चेकजाँचमा कपडा च्यातिएपछि बेलहियामा तनाव सिर्जना भएको रूपन्देही प्रहरी प्रमुख प्रवीण पोखरेलले जानकारी दिए।  

‘चेकजाँच गर्ने क्रममा कपडा च्यातिएको रहेछ। जानबुझमा च्यातियो कि अन्जानमा त्यो भने खुलेको छैन,’ रूपन्देहीका प्रहरी प्रमुख प्रवीण पोखरेलले भने। 

नाकामा तनाव सिर्जना भएपछि नेपाल र भारतले नाकामा सुरक्षाकर्मीको संख्या बढाएको बताइएको छ। 

नेपाल र भारतका सुरक्षाकर्मीबीच छलफल 

घटनाबारे दुवै देशका सुरक्षाकर्मीबीच सुनौलीमा छलफल भइरहेको रूपन्देही प्रहरीले जनाएको छ। 

छलफलमा नेपालको तर्फबाट जिल्ला प्रहरी कार्यालय, रूपन्देहीका डिएसपी र भारतीय सुरक्षाकर्मीको तर्फबाट डिएमको सहभागिता रहेको रूपन्देहीका प्रहरी प्रमुख पोखरेलले जानकारी दिए। 

भारतीय पक्षले यसअघि पनि नेपालीमाथि पटक–पटक दुर्व्यवहार गर्ने गरेको थियो। 

१९ फागुन, २०७७, २१:०४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।