दार्चुला भ्रमण : चुच्चे नक्साको कारण संसदीय टोली अचानक रोकियो, गृह सचिव र महानिरीक्षक पुगेर फर्किए

दार्चुला भ्रमण : चुच्चे नक्साको कारण संसदीय टोली अचानक रोकियो, गृह सचिव र महानिरीक्षक पुगेर फर्किए

काठमाडौं : दार्चुला जाने अन्तिम तयारी भइसकेको संसदीय टोली अचानक भ्रमण स्थगित भएपछि निकट भविष्यमा जाने भएको छ।

राज्य व्यवस्था तथा सुशासन समितिले उच्च तहको प्रतिनिधित्व हुनेगरी दार्चुला क्षेत्रको स्थलगत अध्ययन अवलोकन भ्रमणको तयारी गरेको थियो। त,र भ्रमणका लागि निर्धारित मिति पटक पटक गरी पाँच पटक सरेर अन्तिम समयमा स्थगित भएपछि बजेट अधिवेशनको अवधिमा जाने सहमति भएको समितिका एक सदस्यले जानकारी दिएका छन्। 

समितिको टोली सुरुमा वैशाख १४ मा जाने मिति तय भएको थियो। त्यसपछि वैशाख २३, २४ र २५ गते गर्दै विभिन्न कारण देखाउँदै सारिएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकै आग्रहमा पर्सि २८ गतेबाट सुरु हुने बजेट अधिवेशन चलेकै अवधिभित्र दार्चुला जाने सहमति भएको बुझिएको छ।

संसदीय समितिको भ्रमण स्थगित भएपछि गृह सचिव एकनारायण अर्याल र प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर हिजो मंगलबार दार्चुलाको टिंकर क्षेत्रको सीमा अवलोकन गरेर फर्किएका छन्। 

गृह मन्त्रालयका प्रवक्ता नारायण प्रसाद भट्टराईका अनुसार सचिव र महानिरीक्षक सुदूरपश्चिमको सीमा क्षेत्रको स्थलगत अवलोकन गरेर हिजै काठमाडौं फर्किएका छन्। प्रधानमन्त्री दाहालकै निर्देशन अनुसार उनीहरू गुप्त रुपमा भ्रमणमा निस्किएका थिए।

कारण बन्यो चुच्चे नक्सा 
संसदीय टोलीको दार्चुला भ्रमण स्थगित हुनको मुख्य कारण थियो, नेपालको चुच्चे नक्सा। नेपाल राष्ट्र बैंकले सय रुपैयाँको नोटमा नेपालको पछिल्लो चुच्चे नक्सा छाप्ने भनेर गरेको तयारी नै भ्रमण स्थगितको कारण हो। सयको नोटमा त्यो नक्सा छाप्ने तयारीको सूचना सार्वजनिक प्रचारमा आएपछि तत्कालै भारतले विदेशमन्त्री तहमा प्रतिक्रिया जनाएको थियो। विदेशमन्त्री एस जयशंकरले नेपालले एकतर्फी रुपमा चुच्चे नक्सा छाप्दैमा यथार्थ परिवर्तन हुन नसक्ने भनेर स्पष्ट प्रतिक्रिया जनाएका थिए। 

त्यसपछि यहाँ भारतको प्रतिक्रियाबारे प्रधानमन्त्रीले सम्बन्धित अधिकारीहरूसँग अनौपचारिक परामर्श गरेका थिए। त्यसपछि संसदीय समितिको टोली तत्काल दार्चुला जान हतार गर्न नहुने भन्ने निष्कर्ष निकालेपछि अरु नै कारण देखाएर भ्रमण स्थगित गरिएको छ।

रक्षामन्त्री हरि उप्रेतीले राज्य व्यवस्था समितिका सभापति रामहरि खतिवडालाई आफू भ्रमणमा जान असमर्थ भएको बताउँदै प्रधानसेनापतिलाई सँगै लिएर जान सुझाएका थिए। 

सभापति खतिवडाले भने बजेट अधिवेशन बस्न लागेको र प्रधानमन्त्री पनि जरुरी कार्यमा व्यस्त हुनु परेकाले भ्रमण पर सरेको बताए। तर, बजेट अधिवेशनकालमै भ्रमण हुने उनको भनाई छ।   

२६ बैशाख, २०८१, १८:३३:३८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।