रवि संसदमा बोलिरहँदा खुइया गर्दै एक्लै बडबडाए प्रधानमन्त्री प्रचण्ड

रवि संसदमा बोलिरहँदा खुइया गर्दै एक्लै बडबडाए प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ : उपप्रधान तथा गृहमन्त्री  रवि लामिछानेले प्रतिनिधि सभामा बोलेपछि प्रमुख प्रतिपक्षीको रूपमा आफ्नो धारणा राख्ने तयारीमा थियो नेपाली कांग्रेस। कांग्रेस महामन्त्री गगन थापाले आफूलाई प्रमाण नदिएको भन्दै रविले छेडखानी गर्दा तल प्रमुख प्रतिपक्षीको रोहमा बसेका थापा आफूसँग भएका कागजपत्र पल्टाइरहेका थिए।

लामिछानेलाई संसद्मा बोल्न दिन प्रतिपक्षी दलहरू सहमत भएपछि सभामुख देवराज घिमिरेले गृहमन्त्रीलाई रोष्टममा बोलाउँदा कांग्रेसले संसद अवरोध गरेन। सभा सुरु भए लगत्तै कांग्रेस सांसदहरू उठेर विरोध गरेका थिए।

सभामुख घिमिरेले संसद्मा उठेका विषयहरूमा आफ्ना धारणा राख्न भन्दै लामिछानेलाई बोल्न बोलाउँदै कांग्रेस सांसदहरूलाई आसन ग्रहण गर्न आग्रह गरे। कांग्रेसका सांसदहरू बसे पनि। अनि गृहमन्त्री रोस्टममा गएर बोल्न थाले।

उनले ३७ मिनेट बोल्दा संसद्मा उठेका विषयमा भन्दा पनि आफूमाथि प्रश्न उठाउने प्रतिपक्षी दलका सांसद अनि नेताहरूमाथि केन्द्रित भएका थिए। उनले सम्बोधनमा बारम्बार आफूमाथि मिडिया ट्रायल भएको भन्दै समाचारकै आधारमा संसदीय छानबिन समिति गठन गर्ने हो भने गरौँ भन्दै प्रतिपक्षी दलका सांसदहरूबारे आएका समाचारका हेडलाइन र विषयहरू भन्दै गए।

उनले गगन थापाको कृषि र बाख्रा फार्म, उपसभापति धनराज गुरुङको रातो पासपोर्टकान्ड, सांसद रामहरि खतिवडाको घडी काण्ड, आरजु देउवा र मञ्जु खाँणको नक्कली शरणार्थी काण्डबारे आएका समाचार पढ्दै ती बारे पनि संसदीय छानबिन समिति गठन गर्ने हो भनेर प्रश्न गरेका थिए।

उनले जनमोर्चा नेपालका अध्यक्ष चित्रबहादुर केसीले नातिहरूलाई जापान पठाउनकै लागि जेठोको छोराहरूलाई कान्छोको छोरा बनाएको प्रसङ्ग समेत निकालेका थिए। उनले सम्बोधनमा गिरिबन्धु टी स्टेटमा देखिएको नीतिगत भ्रष्टाचार, कुकुल्याण्ड पुस्तकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डमाथि लागेको गम्भीर आरोप, लडाकुको रकममा भएको भ्रष्टाचार, सुनकाण्ड लगायतका विषयमा भने प्रवेश गरेनन्।

उनले मिडियामा आएकै भरमा व्यक्ति केन्द्रित छानविन समिति गठन गर्न चाहेकोमा असहमत रहेको तर सहकारीमा रहेको समस्याबारे छानबिनका लागि समिति गठनमा सहमत रहेको दाबी गरेका थिए।

उनी बोलिरहँदा रास्वपाका सांसदहरू टेबल ठोकेर समर्थन गरिरहेका थिए। रविको सम्बोधनले प्रमुख प्रतिपक्षी दल सहमतीमा आउनुको साटो उल्टो विच्किने शैली र शब्दहरु थिए। उनले खेलमा सिटी बज्नु नै खेल सकिनु नभएको भन्दै फुटबलमा खेल शुरुहुँदा, मध्यान्हमा र खेल सकिँदा तीन पटक सिठी बज्ने भन्दै अहिले बजेको सिठी खेल शुरु भएको सिठी मात्रै भएको बताए।

अनि संसद लाइभको क्यामरा प्रधानमन्त्री प्रचण्ड बसेको संसद्को रोहतिर सोझियो। संयोग उनी खुइयाको शैलीमा लामो सास तान्दै एक्लै बडबडाइरहेका थिए। क्लोजसटको भिडियोमा उनी बोल्दै ‘खै’ को शैलीमा टाउको हल्लाएका थिए।

सहकारी ठगीमा आफ्नो संलग्नताबारे प्रमुख प्रतिपक्षी दलले संसद्मा गरिरहेको दाबी केन्द्रित हुनुको साटो उनी पनि व्यक्ति केन्द्रित भएका थिए। जब उनको सम्बोधन सकियो कांग्रेसका सांसदहरू आ-आफ्नो ठाउँमा उभिए। सभामुख घिमिरेले कार्यसूचीबाट शून्य समय र विशेष समय हटिसकेको भन्दै संसद बैठक स्थगित भएको घोषणा गरेर हिँडे।

यता तल गृहमन्त्री रवि प्रसन्न मुद्रामा थिए। एमालेका विष्णु पौडेल लगायतका नेताहरू हात मिलाउँदै बधाई दिइरहेका थिए।

जेठ ६, २०८१ आइतबार १९:३६:१९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।