आफैं विपत्तिमा पर्दा पनि धर्म थामेको ‘रेडियो मेलम्ची’

आफैं विपत्तिमा पर्दा पनि धर्म थामेको ‘रेडियो मेलम्ची’

मेलम्ची : आजभोलि सबैका हात-हातमा स्मार्ट फोन छन्। अधिकांशका घरमा टेलिभिजन हुन्छन्। तर संकटका बेला जनतासम्म समाचार पुर्याउने मुख्य स्रोत भने रेडियो नै बन्ने गरेको छ।

भूकम्प, बाढी, पहिरो जस्ता प्राकृतिक विपत्तिको बेलामा विद्युत आपूर्ति बन्द हुने भएकोले टेलिफोन र टेलिभिजनको प्रसारण बन्द हुनसक्छ। रेडियोको हकमा भने त्यो कमै लागू हुन्छ।

साधारण ब्याट्रीबाट रेडियो बजाउन सकिने भएका कारण विपतका बेला रेडियो उपयोगी देखिन्छ।

गत असार १ गते मेलम्ची खोलामा आएको बाढीका कारण ‘रेडियो मेलम्ची’ को कार्यालय भवनमा नै क्षति पुग्यो। रेडियोको भवनमा भएका कुनै पनि सामग्री निकाल्न पाइएन।

केही समय अगाडिसम्म बाढी आउँदै गरेको सूचना दिइरहेको रेडियो मेलम्चीको कार्यालयसम्म नै बाढी आइपुग्छ र सबै संरचना बगरमा परिणत गर्छ भन्ने कसैले सोचेका पनि थिएनन्।

‘माथिबाट भिषण बाढी आउँदै छ भनेर हामीले रेडियोमार्फत सूचना दियौं,’ रेडियो मेलम्चीका अध्यक्ष डम्बर भारती भन्छन्, ‘खोला बढ्दै गएपछि जुत्ता समेत लगाउने समय पाएनौं, रेडियोको सामान जोगाउने त परको कुरा।’

उक्त रेडियोको नवनिर्मित भवन विधिवत रुपमा उद्घाटन नै नभई डुबानमा परेको हो। हुन त, रेडियो गत माघदेखि उक्त भवनबाट प्रसारण हुँदै आएको थियो। नयाँ भवनबाट प्रसारण सुरु भए तापनि उद्घाटन कार्यक्रम कोरोनाका कारण रोकिएपछि भवन उद्घाटन हुन पाएको थिएन।

बाढीले कार्यालयमा क्षति गरेपछि स्थानीयले चार दिनसम्म रेडियो मेलम्ची सुन्न पाएनन्।

स्थानीयको दैनिकी बनेको रेडियो आसार ४ गतेदेखि रेडियाको कार्यालय भएको स्थानबाट ८ किलोमिटर माथि टावर भएको स्थान दुवाचौर भन्ने ठाउँबाट रेडियो सञ्चालन भइरहेको छ।

असार १ गते बाढीको कारण रेडियोको भवन पुरिएपछि ४ गतेबाट दुवाचौरबाट रेडियो पुनः सञ्चालनमा आएको हो।

‘बाढीले रेडियोको कुनै पनि सामग्री बचेनन्। अहिले त हामीले ल्यापटप, रेकर्डर, मिक्स्चर अरुसँग मागेर चलाएका छौं,’ भारती भन्छन्, ‘बाढीको कारण विद्युत आपूर्तिमा समेत समस्या परेका कारण जेनेरेटरको व्यवस्था मिलाउनु परेको थियो।’

विद्युत आपूर्तिमा समस्या भएको र जेनेरेटरबाट काम गर्दा महँगो पर्ने भएकोले  रेडियो बिहान र बेलुका मात्रै सञ्चालन हुँदै आएको छ।

रेडियो मेलम्ची सिन्धुपाल्चोक जिल्लाको पस्चिमी भेगमा निकै नै रुचाइएको रेडियो हो। अझ भनौं ग्रामीण भेगका खेती-किसानी गर्ने मानिसको आवाज हो रेडियो मेलम्ची।

स्थानीयको सुख-दुःख सुनाउने थलो नै रेडियो भएकोले रेडियो मेलम्ची स्थानीयको घरघरको आवाज बन्न पुगेको थियो।

‘कुनै बेला स्थानीयको घर, खेती गर्दै गरेका किसानका बारी, गोठ र गोठालो लागेका मानिसको सुख-दुःखको साथी बनेको थियो रेडियो मेलम्ची,’ अध्यक्ष भारती भन्छन्, ‘थोरै जनशक्ति र साधन-स्रोतबाट सुरु भएको रेडियोले सिन्धुपाल्चोक जिल्लामा मात्रै होइन, काभ्रे, रामेछाप, ओखलढुंगा, नुवाकोटका स्रोतालाई समेत सूचनाको भोक मेट्ने काम गरेको छ।’

२०७२ सालमा गएको भूकम्पले रेडियो मेलम्चीलाई पनि ठूलै झड्का दियो। दुवाचौर डाँडोमा पक्की घरमा भएको रेडियोको कार्यालय चकनाचुर बनायो।

भूकम्पले आफ्नो कार्यालय नै भत्काउँदा पनि रेडियोले सूचना दिने धर्म छाडेन। रेडियोले आफ्नो प्रसारण मकैबारीबाटै जारी राख्यो। त्यसपछि रेडियो टेन्टमा सर्यो। टेन्टबाट नै ६/७ महिना सञ्चालन भएपछि रेडियो जस्ताको टहरामा सर्यो।

‘टेन्ट र जस्ताको स्टुडियोमा साउन्ड प्रुफ थिएन। सानो पानी पर्दा नै जस्ता बजेको आवाज आइहाल्थ्यो,’ रेडियो मेलम्चीका अध्यक्ष भारती भन्छन्, ‘त्यस्तो बेला कार्यक्रम पूरा प्रसारण गर्न नसक्दा गीत बजाएर छाड्नुपर्ने अवस्था थियो।’

रेडियोको सुरुवात
रेडियो मेलम्चीको सुरुवात २०६९ सालको माघ १० गते दुवाचौरबाट भएको हो। तर २०७२ सालमा आएको भूकम्पले रेडियोलाई सग्लो रहन दिएन। तर रेडियोले आफ्नो धर्म नछाडी मकैबारीबाट प्रसारण सुरु गर्यो।

रेडियो स्थापनाको बेलामा खट्ने सरोज ढुंगाना, देवराज सुवेदी लगायतका व्यक्तिलाई अध्यक्ष भारती अहिले पनि सम्झन्छन्। मेलम्ची बजार होचो ठाउँमा भएकोले दुवाचौरसम्म पुगेर रेडियो सञ्चालन गर्दाका दुःख भारतीले अहिले पनि बिर्सिएका छैनन्।

समुदायका स-साना सूचना दिएर मानिसलाई रेडियो सुन्ने बानी बसालेको रेडियो मेलम्चीको संस्थागत विकासका लागि स्थानीय र विभिन्न संस्थाको सहयोगमा रेडियोको आफ्नै घर बनाउने उद्देश्य लिएको भारती बताउँछन्।

रेडियो मेलम्चिी सार्वजनिक आह्वान गरेर जग्गाको खोजीमा थियो। ‘नगरले लगभग ५ आना जग्गा दिएपछि रेडियोको आफ्नै कार्यालयका लागि जग हाल्यौं,’ भारती भन्छन्, ‘स्रोत र निर्वाचन क्षेत्र विकास कोषको दस लाख रुपैयाँ सहयोगमा २०७७ जेठमा कार्यालयको लागि जग बसेको थियो।’

कोरोनाका कारण सामान ढुवानीमा समस्या परेपछि निर्माण कार्य पूरा नहुँदै रेडियो उक्त कार्यालयमा सरेको थियो।

रेडियोको भवन बनाउनका लागि ७० लाखभन्दा धेरै खर्च भएको अध्यक्ष भारती बताउँछन्। स्थानीय स्तरमा आर्थिक संकलन गरेर बनेको उक्त भवन उद्घाटनपूर्व नै बगरमा परिणत भएको हो।

रेडियोले भर्खरै मात्र निर्माण कार्य सम्पन्न गरेको आफ्नो कार्यालयमा सूचना केन्द्र र संग्रहालय स्थापना गरेर जिल्लामा भएका पुराना सामग्री राखेर नयाँ पुस्तालाई देखाउने काम समेत सुरु गरेको थियो।

बढीले ध्वस्त बनाएको रेडियो फेरि उठाउनका लागि दाताहरुले सहयोग गर्न सुरु गरिसकेको भारतीले बताएका छन्। साथीहरुले तत्काल प्रसारण गर्न ल्यापटप, रेकर्डर, मिक्स्चर दिएर सहयोग सुरु गरेका छन्। हामी एक्लो छैनौं, छिट्टै रेडियो मेलम्चीलाई उठाउँछौं,’ भारती भन्छन्।

मेलम्ची स्थलगत

२० असार, २०७८, १२:३९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।