चन्द्रशमशेरले बसाएको त्यो मेलम्ची, विपत्तिले बनाएको यो मेलम्ची

चन्द्रशमशेरले बसाएको त्यो मेलम्ची, विपत्तिले बनाएको यो मेलम्ची

मेलम्ची : करिब दुई सय वर्ष पहिले धुलिखेलका हर्कलाल श्रेष्ठ, कृष्णलाल श्रेष्ठ र देवलाल श्रेष्ठ व्यापारको सिलसिलामा सिन्धुपाल्चोकको दोभानटार, बगैंचामा बसाइँ सरे। यी तीन भाइ त्यहाँ कपडा, भाँडाकुँडा र खाद्यान्नको व्यापार गर्न थाले।

वर्षामा उनीहरु काठमाडौंबाट साँखुको बाटो हुँदै मालसामान ल्याउँथे। हिउँदमा भने दोलालघाटबाट डुंगा चढाएर मालसामान ओसार्ने गर्थे। उनीहरु मालसामान बोकेर गाउँगाउँ पुग्थे र बेच्थे। त्यतिबेला भौगोलिक विकटताका कारण भोटसँग व्यापार गर्नसक्ने अवस्था थिएन।

भोटसँग व्यापार गर्ने नाकामध्ये छोटो नाका थियो, हालको मेलम्ची।

तत्कालीन राणा प्रधानमन्त्री चन्द्रशमशेर व्यापारिक नाकाहरु बढाउने सोचमा थिए। त्यसै अनुरुप उनले विसं. १९८२ मा  हेलम्बु, भोताङ, काभ्रे चौतारा, सिम्पाल काभ्रे र दोलालघाटबासीलाई समेत राजधानी जान सजिलो होस् र तिब्बतसँगको व्यापार पनि बढोस् भन्ने मनसायले सिन्धुपाल्चोकको जयटारमा झोलुङ्गे पुल बनाए।

झोलुङ्गे पुल बन्न थालेसँगै गाउँगाउँ डुलेर दिक्क बनेका हर्कलाल श्रेष्ठको दिमागमा एकै ठाउँबाट व्यापार गर्ने सोच आयो। त्यसपछि हर्कलालले भाइहरुसँग सल्लाह गरे। तीनै जनाको सहमतिले पुलकै आडमा घर बन्यो। त्यहीँबाट उनीहरुको व्यापार पनि सुरु भयो।

बाढीपछिको मेलम्ची

‘विसं. १९८२ मा चन्द्रशमशेरले पुलको जग हाले। 'हाम्रा पुर्खा व्यापारी थिए। पुल बनेपछि भोट तथा राजधानी जाने मुख्य नाका जस्तै बन्यो यो (हालको मेलम्ची) ठाउँ। त्यसपछि हाम्रा पुर्खा पुल नजिकै घर बनाएर बस्न थाले। त्यहीँबाट व्यापार चलाउन थाले,’ हर्कलाल श्रेष्ठका नाति तथा कुनै बेला मेलम्ची गाँउ विकास समितिका उपाध्यक्ष समेत रहेका गजेन्द्रप्रसाद श्रेष्ठ भन्छन्, ‘मेलम्चीको सबैभन्दा पहिलो बासिन्दा हाम्रा पुर्खा हुन्। हाम्रो पुर्खा बस्नुअघि जयटारमा फाँटमात्र थियो।’

तीन पुस्तादेखि मेलम्ची बस्दै आएका श्रेष्ठलाई असार १ गतेको भीषण बाढीले पुरानो बासिन्दा भनेर चिनेन। बाढीले उनका २ वटा ढलान घर, २१ रोपनी जग्गा र पाँच वटा साना टहरा पुरिदियो।

‘म २०१२ सालमा जन्मिएको। अहिलेसम्म मैले तीन ठूला बाढी देखें मेलम्ची खोलामा,’ श्रेष्ठ भन्छन्, ‘चन्द्रशमशेरले बनाएको पुल २०३३ सालमा नाघेर बाढी गयो। गुन्साको गाउँ नै सखाप भयो। २३ जना मान्छे मरे त्यतिबेला। खेतीमा सामान्य क्षति भयो। त्यसको ६ वर्षपछि २०३९ सालमा फेरि बाढी आयो। त्यसले मानवीय क्षति गरेन। तर खेतीलाई निकै नोक्सान गर्यो। हरेक बर्खामा बाढी आउँछ। तर यस्तो अनिष्ठ पहिलो पटक भएको हो।’

श्रेष्ठलाई असार १ गते आएको बाढी सपनामा पनि देख्न नसकिने अकल्पनीय जस्तो लाग्छ। उनी हालको मेलम्ची बस्नका लागि सबैभन्दा योग्य स्थान रहेको तर्क गर्छन्।

‘सिन्धुपाल्चोकका अन्य ठाउँभन्दा बसोबासको लागि यो ठाउँ निकै नै सुरक्षित भएको देखिन्छ विभिन्न अध्ययनमा,’ उनी भन्छन्, ‘आजको मेलम्ची खोला बगरमा देखिए पनि पुर्खाहरुले खोलाबाट दूरी राखेर नै बस्ती बसालेका हुन्। उनीहरुलाई पनि डर त थियो होला नि? तर दुई सय वर्षदेखि बसिआउँदा त्यस्तो अनिष्ठ  परेन। अहिले मेलम्चीले रौद्र रुप देखायो। खोले छड्केको जसरी लेदो आयो। लेदोले खेत पुर्यो। घर पुर्यो। सम्पत्ति पुर्यो। बजार इलाकामा धन्न मानवीय क्षति भएन।’

हर्कलाल श्रेष्ठका तीन भाइका ७० परिवार हाल मेलम्चीमा बसोबास गरिरहेका छन्।

‘हामी हाल तीन बाजेका ७० परिवार छौं। सबैको उस्तै हाल छ,’ उनी भन्छन्, ‘खेत मासेर वस्ती बन्यो। खोलाले त्यही वस्तीलाई पनि बगर बनाइदियो।’

गजेन्द्रप्रसाद चन्द्रशमशेरले पुल बनाइदिएपछि बनेको वस्ती आज सहरमा परिणत भइसक्दा आफू हुर्किदाताकाको पुरानो जयटारलाई सम्झन्छन्।  

बाढीपछिको मेलम्ची

‘हामी सानो हुँदा यहाँ सबैमा खेत थियो। जम्म ९ घर थिए। त्यही ९ घर नै बजार थियो,’ उनी सम्झन्छन्, ‘चन्द्रशमशेरले पुल नबनाइदिएको भए मेलम्ची बन्ने नै थिएन। यो जयटारको जयटार नै हुन्थ्यो।’

चन्द्रशमशेरले बनाएको पुललाई १९९० र २०७२ सालको भूकम्पले कुनै असर गरेन। बेला–बखत आइरहने बाढीले पनि हल्लाउन सकेन। असार १ गतेको बाढीले भने असर गर्यो। पक्की पुल भत्काएको मेलम्चीको बाढीले ९६ वर्षअघि बनेको पुल बंग्यायो मात्र।

मेलम्ची स्थलगत

- १० वर्ष दुःख गरेर जोडेको सम्पत्ति निमेषभरमै स्वाहा

‘मेलम्चीले आफ्नो धर्म बिर्सिएन जस्तो छ,’ गजेन्द्र भन्छन्, ‘चन्द्रशमशेरको निसानी अझै मेलम्चीमाथि छ।’

बांगिएको झोलुङ्गे पुल अघिल्तिर उभिएको देखेर दुई व्यक्ति हाम्रा नजिक आए। एक स्थानीय बासिन्दा रामकाजी श्रेष्ठ रहेछन्। अर्का भने पूर्वउपप्रधानपञ्च रामबहादुर सापकोटा। उनै सापकोटाले हामीलाई जयटारलाई मेलम्ची नामकरण गरिएको कथा सुनाए।

जयटार यसरी बन्यो मेलम्ची
हालको मेलम्ची ५६ वर्षअघिसम्म जयटार नामले चिनिन्थ्यो। जयटारको पिँधमा फाँट थियो। फाँटको तल मेलम्ची खोला। जरायोहरु धेरै देखिने भएकाले जरायोटार नाम रहन गएको यो ठाउँ अपभ्रंश हुँदै जयटार बन्यो।

२०२२ सालमा जयटार गाउँ पञ्चायतले उत्तरमा न्वार खोला, दक्षिणमा डुढे खोला, पूर्वमा इन्द्रावती खोला र पश्चिममा सिन्धु धुसेनी चौरसम्म सिमाना रहेको जयटारको नाम मेलम्ची रहने घोषणा गर्यो।

‘२०२२ सालको कुरो। म गाउँ पञ्चायतको सदस्य थिएँ। हुतराज पाण्डे भन्ने प्रधानपञ्च हुनुहुन्थ्यो। उहाँले पञ्चभेला गर्नुभयो,’ सापकोटा भन्छन्, ‘पञ्च भेलाले बजार पनि, इन्द्रावती र मेलम्चीको संगम पनि, तिब्बत जानको लागि भरपर्दो नाका पनि भएकोले खोलाको नामबाटै गाउँको नाम राखौँ भन्नुभयो।’

सापकोटाका अनुसार त्यतिबेला अन्य गाउँ पञ्चायतले पनि आफ्नो गाउँको नाम मेलम्ची राख्ने तयारी गरिरहेका थिए।

‘हाम्रा प्रधानपञ्चले अरुले पनि त्यही नाम ताकिरहेका छन् भन्ने चाल पाएछन्। त्यसपछि सुटुक्क हामीले नाम घोषणा गर्यौं। त्यही नाम चल्न थाल्यो,’ सापकोटा भन्छन्, ‘वास्तवमा मेलम्ची त मेलम्ची घ्याङ भन्ने ठाउँ छ। नुवाकोटको सिमाना नजिक पर्छ। यो त पुरानो जरायोटार हो। तर अहिले सबैले मेलम्ची भनेर चिन्छन्।’

मेलम्ची र सहरीकरणको सिलसिला
‘चन्द्रशमशेरले जयटारमा पुल बनाएपछि गजेन्द्रप्रसादका पुर्खा बस्न थाले। २०२४ सालमा सडक पनि बन्यो,’ सापकोटा भन्छन्, ‘बाटो बनेपछि तिब्बतसँगको व्यापारको लागि चहलपहल हुन थाल्यो।’

सापकोटाका अनुसार हेलम्बु राजमार्गको निर्माण अहिलेको मेलम्चीका लागि चन्द्रशमशेरले बनाएको पुलपछिको दोस्रो कोशेढुंगा हुन पुग्यो।

‘बाटो भएपछि बजार विस्तारै बढ्न थाल्यो। भोटसँग व्यापार गर्ने व्यापारीहरुले थकाइ मार्ने ठाउँ बन्यो मेलम्ची बजार,’ सापकोटा भन्छन्, ‘२०३६ सालपछि टाठाबाठा मान्छेहरु फाट्टफुटट् मेलम्चीमा बस्न थाले।’

सापकोटाको कुरामा सर्मथन जनाउँदै स्थानयीबासी रामकाजी श्रेष्ठ भन्छन्, ‘बजार बढ्न थालेपछि व्यापार बढ्यो, मान्छे बढे, अवसर बढ्यो। गाउँमा भन्दा त केही बढी नै सुविधा हुने भयो यहाँ।’

२०४६ सालको राजनीतिक परिर्वतनको असर मेलम्चीमा पनि पर्यो। राजनीतिक परिर्वत पछाडि मेलम्चीमा ३०–३५ घरधुरीले बसोबास गर्न थालेको गजेन्द्रप्रसाद श्रेष्ठ बताउँछन्।

‘मेलम्ची सहर भएको त कति नै भयो र?,’ गजेन्द्र भन्छन्, ‘२०४६ पछिसम्म ३०–३५ घर थिए। ०५६ सालतिर जस्तो लाग्छ, हेलम्बु राजमार्ग पिच भयो। त्यसपछि घरहरु बढ्न थाले।’

गजेन्द्र २०४९ सालमा गाउँ विकास समितिको उपाध्यक्षमा निर्वाचित हुँदा मेलम्ची गाउँ विकास समितिमा करिब दुई हजार गाउँबासी रहेको उनी बताउँछन्।  

‘०६२–६३ पछि मान्छे झन् बढे। अवसरको खोजीले पनि होला, व्यापार गर्ने मान्छेहरु बढे। चहलपहल थपियो,’ उनी भन्छन्, ‘भूकम्पपछि मेलम्चीको रुप निकै नै फेरियो। भूकम्प अघिसम्म मुस्किलले ९० घर थिए होला। मेलम्ची बजारमा बनेका ४५ प्रतिशतभन्दा बढी घर भूकम्पपछि बनेका हुन्। गाउँबाट मान्छेहरु बेसी झरे। ६ वर्ष पहिलेसम्म मेलम्चीमा फाँटहरु अस्तित्वमा थिए। अहिले अधिकांश फाँट घडेरीमा परिणत भएका थिए। अब बगर बन्यो।’

रामकाजी श्रेष्ठ

०००
गजेन्द्रले फाँट उचारण गर्ने वित्तिकै रामकाजी श्रेष्ठ बोल्न थाले।

‘मान्छे खोलाको तीरमा घर बनायो भन्छन्। खोलो गहिरो भएर हामीलाई खेतमा पानी ल्याउन गाह्रो थियो,’ रामकाजी भन्छन्, ‘मेलम्ची फाँटमा बसेको सहर हो, खोलाको तीरमा होइन।’

उनलाई खोला तीरमा घर बनायो भन्ने तर्कले मन दुख्दो रहेछ। उनी कृष्णलाल श्रेष्ठका नाति गजेन्द्रका भाइ रहेछन्।

‘पुर्खादेखि बसिआएको ठाउँ छाडेर हिँड्न त सकिँदैन नि। स्थानीय तह त भर्खर आयो। मापदण्ड तीन सालअघि बन्यो। हामी त दुई सय सालदेखि बसिआएका हौं। प्राकृतिक विपत्ति पर्यो। अब त्यसलाई रोकथाम कसरी गर्ने, वस्ती कसरी जोगाउने भन्नेतिर किन कसैले ध्यान दिँदैन? यो कुरा पनि लेखिदिनुहोला।’

मेलम्ची पुलको अवस्था

मेलम्ची नगरपालिकाको मापदण्ड अनुसार समथर स्थानमा १ सय मिटर र कान्लो वा डिल भए खोलाबाट ८० मिटर छाडेर घर बनाउन पाइन्छ।

‘नगरपालिकाले झोलुङ्गे पुलमुनि बर्सपार्क बनायो। खोलाबाट २० मिटर पनि थिएन दूरी,’ गजेन्द्रप्रसाद सुनाउँछन्, ‘त्यो बसपार्कले पनि बाढीलाई बजारमा आउन बल दियो।’

गजेन्द्रप्रसाद मेलम्चीमा लेदो आउनुको कारण अनुमान गर्दै भन्छन्, ‘असार १ गते मेलम्ची खानेपानी योजनाले सुरुङ र मुहान सफा गर्ने भएकाले सतर्क रहन भनेको थियो। २०५३ सालदेखि २५ वर्ष लगाएर खनेको चोकर सबै नदीले ल्याएर पो यस्तो भयो कि?’

उनी सोच मग्न छन्। ‘पहिले बाढी आउँदा ढुंगा, माटो, काठ आउँथ्यो। यसपालि लेदो र काठ मात्र आयो। यो कस्तो बाढी हो, बुझ्न सकिएन,’ गजेन्द्र भन्छन्, ‘ढुकु कुण्ड नजिकैको खर्क चिरिएको छ रे। त्यहीँबाट लेदो आएको हो पनि भन्छन्।’

गजेन्द्रप्रसाद, रामकाजी र रामबहादुरहरु चन्द्रशमशेरले बनाएको पुलको निसानी जस्तै मेलम्ची बजार पनि निसानीमा मात्र नरोहोस् भन्ने चाहन्छन्। उनीहरुको एकै आवाज छ, ‘नदीको धारलाई पूर्ववत् स्थानमा फर्काएर, हामीलाई हाम्रै ठाउँमा सुरक्षित तवरले बस्ने वातावरण राज्यले बनाइदेओेस् र मेलम्चीमा चाँडै पुरानै रौनकमा फर्कियोस्।’

१० असार, २०७८, ११:१०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।