तीन तले घरसँगै खोलामा लम्पसार पर्‍यो गोपालको सपना

तीन तले घरसँगै खोलामा लम्पसार पर्‍यो गोपालको सपना

मेलम्ची : मेलम्ची नगरपालिका ११ का ५३ वर्षीय गोपाल(ङहेन्द्र) दुलाल असार १ गते रात २ बजेसम्म मेलम्ची खोलामा आएको बाढी घरको कौसीबाट हेर्दै थिए। 

मेलम्ची बजारमा उनको पुर्खौली २ रोपनी जग्गा थियो। त्यही जग्गामा करिब ६ आना जग्गामा १ वर्ष लगाएर बनाएको घरमा २ वर्ष मात्र बस्न पाए। असार १ को बाढीले घर जोखिममा पर्यो। अविरल वर्ष पछि १२ गते त्यही घर पनि गर्लम्मै ढल्यो।

‘रातको २ बजे सम्म मेरा तीन भाइ छोरा र म कौसीबाट बाढी हेरिरहेका थियौँ। खोलो घर देखी १० मिटरको दुरीमा आए पछि भौसी र बाख्रा फुकायौँ। सुरक्षित ठाउँमा सर्यौं,’गोपाल भन्छन्‘मेरो घरबाट  ५० मिटर सम्म त फाँट नै थियो। घर भन्दा फाँट एक बास तल। फाँट भन्दा खोला अर्को एक बास तल थियो। तर आज बिहान ८ बजे घर खोलामा पसारियो।’

बजारमा थियो उनको घर। २०७२ को भूकम्पले बजारमा रहेको तीन तले घर भत्कियो। अनि उनको डेरा यात्रा सुरु भयो। करिब तीन वर्ष डेरा जीवन बिताएका गोपालले ०७४  असार १ मा नयाँ घरको जग हाले। ०७५ मा घरको भित्री काम सकियो। बाहिरी काम बिस्तारै गर्ने सोचमा थिए उनी। 

घरलाई रंगरोगन गरेर चिटिक्क बनाउने  गोपालको सपना शनिवार खोलामा पसारियो। मेलम्ची बौलाएपछि फेरी गोपाल घरबेटीबाट डेरावाल भइसकेका छन्। उनी अहिले मेलम्ची बजारमा ६ कोठा भाडामा लिएर १४ जनाको परिवारसँगै बसिरहेका छन्।

‘छोराहरूको बिहे गर्ने बेला भइसकेको थियो। जेठोको माथि जरायोटारको पुरानो घरबाट बिहे भयो। छोराहरूको बिहे गर्ने धुनमा पुरा काम नसकी घर सरि हाल्यौँ,’ ०७५ जेठ २८ गते शुभमुर्हत पारेर गृह प्रवेश गरेका गोपाल भन्छन्‘यही नयाँ घरबाट दुई छोराको बिहे गरे। छोराहरू छुट्टिएर एकै घरमा बसे। जीवनभरको कमाई थियो त्यो घर। बढीले घर ढाल्छ भन्ने त कल्पनामा नै थिएन। दैव लागेपछि कसको के लाग्ने रहेछ र?’

बैकबाट ऋण लिएर बनाएको तीन तले घरमा चार चुल्हो थियो। तीन भाइ छोराको परिवार छुट्टिएर एकै घरमा बसेका थिए। गोपालसँग भने उनकी छोरी बस्थिन्। 

‘खेत किसानी गर्ने मान्छे हुँ। त्यही घर बनाएर बाँकी रहेको जग्गामा तरकारी खेती गर्थे। तीन भैँसी र ६ बाख्रा पालेको थिए,’ गोपाल भन्छन्‘दूध र तरकारीकै आडमा बैकबाट ऋण लिएको थिए। अब के कसो गर्ने अलमलमा छु।’

मेलम्ची बजारबाट करिब २० मिनेट माथि जरायोटारमा रहको पुर्खौली घरमा फर्की हाल्न  गोपाललाई बैकको ऋणले दिएन। बाढीले जग्गा कटान गरिरहे पनि घर जोगिने आस थियो उनमा। कोसिस पनि गरे। तर मेलम्ची खोलाको आँखा लागिसकेको रहेछ। जोगिएन।

‘असार १ गते बाढी आए पछि हामी २ बजे भौसी, बाख्रा फुकाएर घर भन्दा माथि छिमेकीकोमा बस्यौँ। त्यही अस्थायी गोठ हाल्यौ,’गोपाल भन्छन्‘ जहान ठुलो भएको घर, सबैले खाने भाँडाकुडा र ओढ्ने ओछ्याउने झिके। खेती ठुलो भएको भए धेरै हानी हुन्थ्यो घर भित्रको। त्यही खाट दराजहरू घरमै छाड्यौँ। बस्तुभाउको र आफ्नो ज्यान जोगायौँ।’

असार २ गते राती गोपालले घर छाडिसक्दा घरबाट खोलाको दुरी ८ मिटरको थियो। खोलाको बहाव बढ्दै गयो। नगरपालिकाले गोपाललाई घर जोगाउन ६ वटा जाली दियो। विद्ध्युत प्राधिकरणबाट गोपालले २२ वटा जाली पनि ल्याए।

खोलाको बहाव मत्थर हुँदै गए पछि जाली लगाउन थालियो। जाली हाल्यो खोलोले बगाइहाल्ने। फेरि हाल्यो फेरी बगाउँछ। उनकै घर जोगाउन लाग्दा हो धर्म दुलाल बितेको करेन्ट लागेर।

सुरुमा तीनै धर्म र उनका छोराहरूले जाली लगाउन खोजेका थिए। खोलाले टेरेन। नबगाउने गरी जाली लगाउन समान जोह गदै गर्दा उनी बितेका थिए। पछि सशस्त्र प्रहरीसँग मिलेर १० वटा जाली लगाए। अब चैँ घर जोगिने आसमा थिए उनी। तर के जोगिन्थ्यो र ।

१० वटा जाली लगाए पछि गोपाललाई बाढी शान्त भएपछि बाँध बाँधेर बस्न मिल्छ भन्ने आस थियो। असार १० गतेसम्म नगपालिका, स्थानीय र सशस्त्रको सहकार्यमा  २० वटा भन्दा बढी जाली हाल्ने काम  पनि सकियो। 

हेर्दा खोलाले बढी क्षति पुर्याएको देखिएन। तर ११ दिन देखी निरन्तर खोलाको बहावले भित्री जमिन खोतलेको कारण घर खोलामा पसारियो। 

‘अब त्यति असर नगर्ला भन्नेमा थिएँ। सबैले लागे सकेको सहयोग गरेको हो। तर त्यो घरको दिन नै त्यति रहेछ। खोलोले ११ दिन सम्म हान्यो। भित्रभित्र जग खाइसकेछ,’ गोपाल भन्छन्‘टाइफाइड, ज्वरो जस्तो भित्र भित्रै गली सकेछ। बाहिर देख्दा सद्दे देखेर के गर्नु? अब त खोलामा पसारो परि गयो।’

गोपालको २ रोपनी जग्गा मध्ये आँखाले देखिने करिब तीन आना जग्गा मात्र बाँकी छ अब।  त्यसलाई पनि खोलाले कटान गरिरहेको देख्दा भने मन सम्हाल्न गाह्रो परिरहेको छ उनलाई।

‘अब मसँग  बासको कुनै आधार नै भएन। छोराहरू एकै घरमा हुँदा त पोहोर मङ्सिरबाट छुटिएर बसे। अब यसै कोठामा नै बस्न पर्ने भए पछि जतातता बसे नि उही हो,’उनी भन्छन्‘ गाउँमा गाएर बसौँ भने ५ रोपनी बारी मात्र छ। भैसीलाई घाँस पुर्याउन पनि सक्दिन। आधा करोड बढी ऋण कसरी तिर्नु?’

धन्न उनले घरको बिमा गरेका रहेछन्। त्यसले केही राहत होला की भन्ने आसमा छन्। तर ढुक्क छैनन्। नेपालको कानुन न हो। केही बहाना पो गरिदिने हो कि भन्ने चिन्ता त भइहाल्छ नि।

‘बैकले पैसा लिने तर बर्सेनि गर्नुपर्ने काम(नवीकरण) नगर्दिएर मान्छेहरूले  बिमाको पैसा नपाउने भए भन्ने सुनेको छु,’उनी भन्छन्‘ आज मुचुल्का उठाउन जान्छु। भोलि गएर बुझ्छु बैकमा। त्यो पैसा आएन भने त बित्यास पर्छ मलाई।’

आफ्नो ऋण आफैले तिर्नु पर्छ। दुनियाँलाई सुनाएर के गर्नु। बिचरा मात्र के बन्नु जस्तो लाग्छ  गोपाललाई । खोलाले घर र जग्गामा क्षति गरेपछि सान्त्वना दिनेहरू त छन्। तर सान्त्वनाले बास जुराइदिने हैन क्यार।

‘घरसँगै गोठ थियो। त्यो पनि लग्यो। जमिनै नभएपछि तरकारीको के कुरा भयो र? भौसी बाख्रा छन्।  बाउ छोरी मात्र छौ,’ गोपाल भन्छन्‘ नाडीमा बल पनि घटिगयो। नगरपालिकाले केही हेर्देला की!’

गोपालले नगरपालिकाको नाम लिने बित्तिकै अर्का एक स्थानीयले‘ नगरले जग्गा बच्नेको त्यही जग्गामा बनाइदिने, नभए जग्गा जता छ त्यतै बनाइदिन्छ रे,’ भन्ने कुरा गोपाललाई सुनाए। गोपाल एकटकले खोलामा लम्पसार परेको घरलाई हेरिरहे। 

‘बस्नलाई आधार हुन पर्दैन? मसानघाट भइसक्यो, २ रोपनीमा तीन आना पनि जग्गा बचेको छैन। अझै बाढी माथिमाथि आइरहेको छ। गाउँमा  बसेर गुजारा चल्दैन। नगरपालिकाले त्यही घर बनाइदियो भने उ आफैँ बसोस्। म त बस्न सक्दिन।'

मेलम्ची स्थलगत

 

१२ असार, २०७८, २०:४०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।