बाढी आयो भन्ने भान्जाको खबर नपत्याउँदा...

बाढी आयो भन्ने भान्जाको खबर नपत्याउँदा...

मेलम्ची : असार १ गते पाँच बजेतिर मेलम्चीटारमा ५९ वर्षीया नन्दकुमार श्रेष्ठको मोबाइल बजेको बज्यै गर्यो। उनी  घरबाट तीन मिनेटको दुरीमा रहेको गोठमा राँगो बाँध्दै थिए। गोजीबाट मोबाइल निकालेर नम्बर हेरे। हेलम्बुका भान्जाको रहेछ।

‘ए मामा खोलामा लेदोसहितको बाढी आएको छ। घरमा नबस्नु माथितिर भाग्नु।’

मेलम्चीमा जन्मिएदेखि उनले बाढी देख्दै आएका नै हुन्। उनको घर मेलम्ची पुलबाट ५० मिटर माथि नै छ। त्यहाँसम्म बाढी आएको उनलाई थाहा छैन।

उनी एक छिन अक्मक्किए। 

उनको मनमा लाग्यो भाग्नुको साटो बरु बाढीले ल्याएको माछा पो टिप्ने की। उनले भान्जाको चेतावनीको वास्ता गरेनन्। माछा टिप्ने तयारीतिर लागे।

पहिले–पहिले पनि बाढी आउँदा मेलम्चीवासी माछा टिप्न जान्थे। त्यो दिन पनि उनीसहितका माछा टिप्नैतिर लागे। एक जनाको भागमा ७–८ किलो भन्दा बेसी पर्ने माछा भेटियो। 

तर उनको मनमा भान्जाको कुराले चिसो भने पसेको थियो। राँगो सम्झिए। त्यसलाई अली माथि पाँच करोड लागतमा बन्न लागेको कर्व ड हलमा लगेर बाँध्नुपर्यो भन्दै घर पुगे। घरबाट यसो कवर्ड हल हेरेको त बाढीले हलै लगिसकेछ।

प्रहरीले बाढी आएकाले सुरक्षित स्थानमा बस्नुभन्दै माइकिङ गर्न थालेपछि भने भान्जाको कुरा सुनेर बेलैमा सामान नसारेकोमा उनलाई थकथक लाग्यो। भाग्नु बाहेकको विकल्प थिएन।

गोठमा हेरे। बाढी  पसिसकेको थियो। बेलुका तीन बजेसम्म बाढीमा डुबेका दुवै राँगोको आँखा बलिरहेको थियो। तर त्यसपछि बाढीमा छोपिए दुवै।

उनले घरका केही सामान मात्र झिक्न पाए। मेलम्चीको पुरानो बजार बाढीले पुर्यो। अलि माथि त्यत्ति बाढी आएन। उनले घरका केही सामान झिक्न भ्याए। अनि परिवार लिएर इन्द्रावती बहुमुखी क्याम्पसमा शरण लिन पुगे।

‘ओढ्ने–ओछ्याउने र केही भाँडाकुँडा झिक्न भ्याइयो। ज्यान जोगाउने नै ध्याउन्न भयो,’ उनी भन्छन्‘बाढी भन्दा पहिला कोरोना भनेर सब बन्द थियो। बाढी पछि एकै स्कुलमा ८–९ सय मान्छे जम्मा भए।’

नन्दकुमारलाई मनमा डर लाग्यो। बढीको क्षति त छदै छ। कोरोनाले मनवीय क्षति भोग्नुपर्यो भने साह्रो नजाती हुन्छ। श्रेष्ठ परिवारले स्कुलको आश्रय ५ गतेबाट छाड्यो।

‘भएको सम्पत्ति त्यही घर थियो। अब मसानघाट भइहाल्यो। कोरोनाको डर छ। भिडमा कसरी बस्नु ?,’उनी भन्छन्‘सम्पत्ति भनेको त हिजो नि थिएन। कमाइयो  भने भोलि भइहाल्छ।’

०००

श्रेष्ठको परिवारमा एकै घरमा रहे पनि एकै चुलो चल्न चाडपर्व आउनु पर्थ्यो कि विपत्ति। ९ जना सदस्यको घर एकै भए पनि भान्छा फरक थियो।

२०७२  को भुईँचालोले चाडपर्वविना नै परिवारलाई एकै चुल्होमा ओराल्यो। भूकम्पको धक्काबाट बौरिएर उनीहरू पुन आ–आफ्नै भात भान्छामा फर्किएका थिए। त्यसको करिब ६ वर्ष पछि २०७८ असार २ गते श्रेष्ठ परिवार फेरि एकै चुल्होमा फर्किएका छन्। त्यसको कारण मेलम्चीको बाढी।

‘परिवार भनेकै दुखमा साथ हुनलाई त रहेछ नि। सोच्दै नसोचेको कुरा भयो। बढीले घरको जग नै देखिने गरी हान्यो। दुई तला लेदोले छोप्यो ,’नन्दकुमार भन्छन् ‘ सिरानको तलामा ट्रस हालेर बुढा–बुढी बस्थ्यौँ। बिचमा कान्छोको परिवार, तल्लो तलामा जेठोको परिवार बस्थ्यो। अहिले पाँच कोठा भाडामा लिएर तीन कोठामा कान्छो छोराको ४ जना र हामी बुढा बुढी छौँ। एउटामा जेठोको परिवार छ। भान्सा सबैको एकै।’

छोराहरू छुट्टिए पनि २ नातिको व्रतबन्ध र एक नातिनीको गुफा राख्न उनले करिब ९० हजार लागतमा २ राँगा किनेका थिए। त्यही राँगाको स्याहार सुसार गर्ने,होटेल कुर्ने। गाह्रोसाँघुरो परेर आएका ग्राहकको भोक मेट्ने, थकान मेटाउने। नन्दकुमारको दैनिकी यस्तै थियो। बाढीले बगाएको तीनै दुई राँगो हुन्।

श्रेष्ठको घर मेलम्चीको पुलबाट करिब ५० मिटर माथि छ। हेलम्बु राजमार्गमै आँगन जोडिएको घरको पछिल्लो भाग बाढीले पुरेको छ। साढे दुई तलाको घरको सिरान तलाबाहेक सबै सिमेन्टको घोल जस्तो लेदोमा पुरियो।

‘मेरो घरभन्दा तल पाउरोटी कारखाना थियो। त्यो भन्दा तल ग्रिल कारखाना। त्यहाँबाट खोला ३०–३५ मिटर हुँदो हो,’ उनी भन्छन्‘ २०६२ सालमा रगत–पसिना एक गरेर बनाएको घर घोलमा डुब्यो।’

०००

नन्दकुमारको पुर्खा धुलिखेलबाट व्यापारको सिलसिलामा सिन्धुपाल्चोक आएको निकै वर्ष भयो।, उनीहरू पनि पुराना मेलम्चीवासीमा पर्ने रहेछन् अहिले।

‘हजुरबा अलि सोझो हुनुहुन्थ्यो। त्यसैले भएको सम्पत्ति पनि उत्ति जोगाउन सकिएन,’उनी भन्छन्‘हाम्रो पालामा दुख जिलो गरेर खान पुग्ने हैसियत बनायौँ। मेरा तीन भाई छन्। म मेलम्चीमा छु। अरु पारी नै बस्छन्।’

उनीसँग ४ रोपनी पाखो बारी र २ रोपनी खेत छ अब। तीन रोपनी खेत २३ वर्ष देखी होटेल पेसाबाट कमाएको पैसाले बनाएको घर बाढीले बगर बनाइदियो।

‘मेलम्चीमा भात बेच्न सुरु गर्ने दोस्रो व्यक्ति मै हुँ। बाटो पिच हुन थाल्यो। मान्छेको चहलपहल धेरै हुने,’ उनले पुराना दिन सम्झिए‘ १० बजेबाट दुई बजेसम्म खुट्टा टेक्ने ठाउँ हुन्नथ्यो। धान जोख्ने, माल–सामान ल्याउने, लाने। तीर्थ जानेहरू पनि उत्तिकै हुन्थे।’

०५५ सालमा उनले सादा खाना ६ रुपैयाँबाट सुरु गरेका थिए। समय अनुसार खानाको मूल्य बढ्दै गयो। उनको व्यापार राम्रै चल्दै गयो। त्यही पैसाले घर खेत जोडे। तर बगर बनिदियो सबै मिहिनेत।

‘दुखले भात बेचेर कमाएको सम्पत्ति बाढीले कौडीको भाउमा पनि नबिक्ने बनायो। व्यापार हुन्छ भनेर भए जतिको कमाई हालियो,’ उनले भने‘ अब हाम्रा पालामा उस्तै व्यापार के देखिएला र। बाढीको डरले भएको सम्पत्ति पनि नबिक्ने पो भयो।’

०००

घर भाडा अचाक्ली बढेपछि उनले बजारमा किनेको जग्गाको सिस्नोघारी फाँडेर घर बनाउन थालेका थिए। आफ्नै घरका होटेल सारे। घर जोड्न बैङ्कबाट ऋण निकालेका थिए। 

उनले १० बर्से योजना अनुसार बैङ्कबाट ऋण निकालेका रहेछन्। कटाउँदै गए पनि अझै १० लाख बाँकी छ रे। बैकले भुईँचालोको बेलामा दिनुसम्म दुख दिएको अझै बिर्सिएका छैनन्। धन्न त्यो सङ्कट त टारे। तर अब पनि उस्तै ताकेता गरे के गर्ने टुङ्गो छैन रे।

‘भुईँचालोको बेला  घर लडिरा छ। खाने ठेगान छैन। बस्ने बास छैन। बैकले  पैसा ले भनेर तनाव दिएको थियो,’उनी सम्झन्छन्‘बजारमा मेरो त सानो क्षति हो। मान्छेको करोडौँको लगानी  पुरिएको छ।  कमाउँला, तिरौला भनेर बैकबाट ऋण निकालेका छन्। अब मेलम्ची कहिले उठ्ने हो र ऋण तिर्ने हो कुन्नि।’

अहिले उनको अवस्था न टेक्ने हाँगो , न समाउने भएको छ। ऋणको तनाव थपियो भने बहुलाउनु बाहेक विकल्प नभएको बताउँछन् उनी।

‘बहुलाउनै पर्यो भने त मत्ता क्या नही कर्ता हुन्छ’ उनले भने।

बैकले व्याज मात्र मिनाहा गरिदिए पनि पीडितलाई ठुलो राहत हुने बताउँछन्। तर पहल कसले गरिदिने पत्तो छैन।

केही सामान शद्धे भेटिन्छ कि भनेर ९ गते १० जना कामदार लगाएर घर पुरेको माटो हटाउन लगाए उनले। तर त्यो लेदो माटो हटाउनै सकेनन्। लेदो माटो जमेर चट्टान जस्तो भएको छ। दिनभरिमा कामदारले एक हात जति पनि फोर्न सकेनछन्।

अब व्यक्तिगत पहलमा केही गर्न सकिन्न भन्ने निष्कर्षमा पुगिसके उनी। राज्यसँग आस छ। तर राज्यको पारा केही गरिदिने खालको देखेका छैनन् अझैसम्म। अब डुबेको घर खेत उकास्न राज्यबाट सहयोग नपाए उनी मेलम्चीको सम्पत्ति माया मारेर पुर्खौली थलो फर्कने योजनामा देखिए।

‘दिनभरि काम गर्दा एक हात फोर्न सकिएन,’उनी भन्छन् ‘हामीले त केही गर्न सक्ने अवस्थै छैन। अब राज्यले केही गरिदियो भने मात्र हो। गरिदिएन भने अब जहाँबाट आएको त्यतै फर्कनुको विकल्प छैन।’

‘पाखो बारी छ उब्जनी हुन्न। अब यो खेत कसले किन्छ र? छुट्टिएर बसेका छोराहरूलाई ऋण तिर्दे भन्ने आँट गर्न सक्दिन ’उनी भन्छन्‘ आफ्नै पौरखले तिर्न सके तिरौला। नभए, पिता–पुर्खा कमाउन आए,मैले पनि कमाए, मेलम्चीले देखी सहेन। सबै गुमाएँ भन्छु। मन बुझाउँछु।’

मेलम्ची स्थलगत

१० वर्ष दुःख गरेर जोडेको सम्पत्ति निमेषभरमै स्वाहा

 - चन्द्रशमशेरले बसाएको त्यो मेलम्ची, विपत्तिले बनाएको यो मेलम्ची

११ असार, २०७८, १५:३९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।