खिलप्रसादको पिडा : रोपाइँ गर्न हात चिलाउँछ, तर खेतमा खोलो छ !

खिलप्रसादको पिडा : रोपाइँ गर्न हात चिलाउँछ, तर खेतमा खोलो छ !

हेलम्बु : असार महिना। मानो रोपेर मुरी फलाउने महिना। अधिकांश किसानलाई खेतबारीमा रोपाइँको हतारो छ। तर सिन्धुपाल्चोक हेलम्बु गाउँपालिका २ क्युलका खिलप्रसाद भण्डारीलाई अहिले रोपाइको चटारो छैन।

चटारो बनाउने उनको खेत मेलम्ची खोलाको बाढीमा पुरिएको छ। अब बगरमा कसरी खेती गर्नु।

‘निको समय भएको भए यति बेला मेला पर्ममा हुन्थेँ,’खिल प्रसाद भन्छन् ‘पुर्खौली २ रोपनी जग्गा थियो। खोलोले बगाइदियो। असार मास छ। काम गर्न हात चिलाउँछ। जम्मै खेत बगर भइगयो। मध्य असारमा बगर हेर्यो, मेरो खेत त्यहाँ थियो भन्यो। सम्झियो, बस्यो।’

मेलम्ची खोलामा आएको बाढीले खिल प्रसादको पुर्खौली सम्पत्ति मात्र बगाएन,जीवनको आड र भरोसा पनि बगायो। खिल प्रसाद यति बेला पुराना नाम्लाहरू सुमसुम्याउनै बसेका छन्। 

‘मेरो जीवन धानेकै त्यही खेतले थियो। तीन बाली लाग्थ्यो,’खिल प्रसाद भन्छन्‘८ वटी रोपारको मेलो वारी थियो। गाउँमा बाटो लाने भनेर खन्दिए। अब ३ वटी रोपारको मेलो मात्र बाँकी छ।’

उनको दिमागमा कुट्टो कोदाले, नाम्लो र डोको मात्र खेली रहन्छ। तर ती सबै घरको डिलमा थन्किएर बसेका छन्। यसो भारी बोकौँ भने पनि ज्यानमा पुरानो बल छैन। घरमा बसौँ सकसक हुन्छ।

पेसाले जन्मजात किसान खिलप्रसाद मेलम्चीको बगरले पुरेको आफ्नो खेत बिराउन  सकिन्छ कि भन्ने आसमा छन्। तर खै कसरी बिराउने हो खेत। खेत अहिले मेलम्चीको कब्जामा छ।

‘३३ सालमा पनि म बाढी पीडित भएँ। खोलाले खेत बगायो। अहिले जस्तो नामनिसान नै नहुने गरी त बगाएको थिएन,’खिल प्रसाद भन्छन्‘जसोतसो बिराउँला भनुँभने पनि खेत कता हो भन्नुपर्ने अवस्था छ। खेतमाथि खोलो बगेको छ। अब कहिले खोलो सुक्ला र खेत चिन्नु। 

दुई श्रीमती र छोराको जिम्मेवारी

खिलप्रसाद ५ बर्षकोहुँदा उनका बा बिते। भाइ दुई वर्षका थिए। आमाले घर चलाउनु पर्थ्यो। गरिबीका कारण खान–लाउन निकै समस्या थियो।

‘८ वर्षको उमेरबाट मेला हिँडेको। भोको पेट कति काम गरेँ हिसाबै छैन। खानलाई केही हुँदैनथ्यो। आमाले  बेलाबखत खोले दिनुहुन्थ्यो। त्यसैको आडमा दिनभर मेला गयो,भारी बोक्यो। त्यही भएर होला अहिले मुटु दुख्ने रोग लाग्यो,’खिलप्रसाद भन्छन्‘ बेसिमा शेर्पाको खेत निकै हुन्थ्यो उबेला। उनीहरू लेकमै बस्न मन पराउने। यहाँ धान कुटेर चामल बनाउँथे। त्यही चामल बोकेर हामीले घरचलाउथ्यौं। दुखले खाको मलाई। नत्र बुढो देखिने उमेरै भएको छैन नि मेरो। बल्ल त ५५ पुगेँ।’

उनको अर्को कथा पनि उस्तै। उनका दुई छोरी। छोरो भएन भनेर समाजले हेपिरह्यो उनलाई। हेपाई सहन नसकेर दोस्रो बिहे गरे। छोरो पनि भयो। अहिले ९ कक्षामा पढ्छन् उनको छोरा। 

छोरोले कमाउन सके पनि लौ त नि भन्नु। भुईँचालोले उठाएको बास अझैँ बनाउन सकेको छैन। छाप्रोमा बस्छु। अहिले सम्म त बाढीले छोएको छैन छाप्रोलाई। तर कुन बेला लान्छ के भर छ र?,’ उनी भन्छन्।

क्युल बगरमा भएको घर भूकम्पले भत्काएपछि खिल प्रसाद आफैले जस्ताको छाप्रो बनाए। घर बनाउन राज्यले दिएको पैसा २ लाख बुझे। तर उनलाई त्यही छाप्रो पनि कुनदिन बाढीले लान्छ र बास विहीन हुनु पर्छ भन्ने मनमा डर रहेछ।

‘छाप्रो भए पनि, दरबार भए पनि मान्छेलाई आफ्नो टाउको लुकाउने ठाउँ मन्दिर जस्तै माया लाग्छ,’खिल प्रसाद भन्छन्‘मेरो परिवारले भूकम्पमा आएको पैसाले घर बनाउन सकेन। बारीमा बनाउन भ्याकु(डोजर)ले घडेरी मिलाउँदैमा सरकारले दिएको पैसा सकिन्थ्यो। सुर्कै सुर्का छन्। त्यहाँ बस्न मिल्ने नै छैन। पुर्खौली थलोमा फेरी घर बनाउन पैसा थप्नु पर्ने भयो। थप्नला पैसा छैन। ऋणको भारी बोकेर मात्र पनि भएन। १५ मुरी धान फल्थ्यो।, मकै,गहुँ फल्थ्यो। यस्तै हो खेती हुने आफ्नो जग्गामा। ऋण लिएर पनि तिर्न सक्नुपर्यो ।तिर्न सकिएन भने इमान जाँदैन ?’

दुई छोरीको विवाह सक्काए पछि खिल प्रसाद जीवनले सही गति लिन्छ भन्नेमा रहेछन् उनी। छोरो पढ्दै छ। खान–लाउन त्यही २ रोपनी पुर्खौली खेतले धानेकै थियो। 

छोरो हुर्के पछि केही गरिहाल्छ भन्ने रहेछ उनलाई। तर आँगन मुन्तिर आइदियो मेलम्ची खोला। खेत बगर भइदियो।

‘उबेला बिहानै चामलका बेरा बकेर लेक पुगेर भारी बिसाएर पकाएर खाएर फर्केर आउँदा सँगै हिँडेका मान्छे जाँदै हुन्थे। त्यसरी जोगाएको सम्पत्ति,’खिल प्रसाद सम्झन्छन्‘ऋण गरेर घर खेत जोडौँला रे। तर भोलि त तिर्न पर्यो। ऋण बोकाउने बाउ महाशत्रु हो छोराको लागि भनेर शास्त्रमा पनि लेख्या छ। शास्त्रमा लेख्या कुरा त्यसै त लेखेनन्।’

खिलप्रसाद अहिले आफन्तकोमा बसिरहेका छन्। उनी घर फर्की हाल्ने आँट गर्न सकेका छैनन्।

सरकारले खोलामा बाँध बाँधिदिए घर फर्कन सजिलो हुन्थ्यो कि भन्नेमा छन् उनी। तर सरकारलाई बाँधको के चिन्ता छ र।

‘खोलोले न छोए पनि जोखिम छ त्यहाँ बस्न। सरकारले बाँध लगाइदिए आफ्नै कटेरोमा बस्न पाउँथे,’उनी भन्छन्‘त्यसै गएर बसौला भोलि ज्यान तलमाथि भयो भन के गर्नु। श्रीमती सोझा छन्। छोरो बालकै छ।’

उनी सरकारले खोलोको तालमेल मिलाए बगर बिराएर फेरि खेत बनाउने सुरमा छन्। तर उनको सुर मात्र चलेर भएन। सरकार अझै बेसुरै जो छ।

मेलम्ची स्थलगत

१८ असार, २०७८, १८:०१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।