कोशी : नयाँ सरकार गठन गर्न एमाले-माओवादीले दिएको अल्टिमेटम सकियो, प्रदेश प्रमुखले के गर्लान् !

कोशी : नयाँ सरकार गठन गर्न एमाले-माओवादीले दिएको अल्टिमेटम सकियो, प्रदेश प्रमुखले के गर्लान् !

काठमाडौं : एमाले र माओवादी केन्द्रले कोशी प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया सुरू गर्न प्रदेश प्रमुख परशुराम खापुङ्गसमक्ष दिएको अल्टिमेटम सकिएको छ।

मुख्यमन्त्री केदार कार्कीले विश्वासको मत नलिएका कारण पदमुक्त भइसकेको भन्दै अर्को सरकार गठनको आह्वान गर्न माग गर्दै नयाँ सरकार गठनको लागि यी दलले बुधबार ५ बजेसम्म दिएको अल्टिमेटम सकिएको हो। 

त्यसपछि एमाले-माओवादी केन्द्रको माग अनुसार नयाँ सरकार गठन आह्वान गर्ने कि नगर्ने भन्ने विषयमा प्रदेश प्रमुख खापुङले महान्यायाधिवक्तासँग राय माग गरेका छन्।

खापुङले यस विषयमा प्रधानमन्त्रीका कानुनी सल्लाहकार महान्यायाधिवक्ता दीनमणि पोखरेलसँग राय माग गरेका हुन्। 

सत्ता समीकरण फेरिएपछि २६ चैतमा एमाले र माओवादीले मुख्यमन्त्री कार्कीलाई दिएको समर्थन फिर्ता लिएका थिए। उनीहरुले ३० दिनभित्र अर्थात् २५ वैशाखभित्र विश्वासको मत नलिएका कारण मुख्यमन्त्री कार्की पदमुक्त भएको जिकिर गर्दै अर्को सरकार गठनको आह्वान गर्न माग गरेका हुन्।

त्यसको जवाफमा प्रदेश प्रमुख खापुङले संविधान, कानुन र विगतका अभ्यास हेरेर यस विषयमा निर्णय गर्ने बताएका छन्। 

२६ बैशाख, २०८१, १९:०४:०७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।