विरोध र  नाराबाजीका बीच मुख्यमन्त्रीमा सोडारीले पाए विश्वासको मत

विरोध र  नाराबाजीका बीच मुख्यमन्त्रीमा सोडारीले पाए विश्वासको मत

काठमाडौं : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विश्वासको मत पाएका छन्।

बिहीबार प्रदेशसभाबाट उनले २८ मत पाएको प्रदेश सभामुख सभामुख भीमबहादुर भण्डारीले जानकारी दिए।

५३ सदस्यीय प्रदेशसभामा उपस्थित २८ सांसदहरूमध्ये उनको पक्षमा २८ जनाकै मत पर्दा विपक्ष र तटस्थमा शून्य मत परेको थियो।

बहुमतका लागि २७ मत आवश्यक पर्नेमा प्रतिपक्षले निर्वाचन प्रकृयामा भाग नलिएपछि एमाले, माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टीका दुई र स्वतन्त्र सांसद डा. तारा जोशीको समर्थनमा सोडारी प्रदेशको मुख्यमन्त्री नियुक्त भएका हुन्।

प्रदेश सभाको बिहीबार बसेको बैठकमा नेपाली कांग्रेससँगै नागरिक उन्मुक्ति पार्टीको रेशम चौधरी समूहका सांसदहरूको नाराबाजी र बहिष्कारका बीच सोडारीले विश्वासको मत लिने प्रस्ताव पेस गरेका थिए।

कांग्रेस र नाउपा सांसदहरूको नाराबाजीका बीच सभामुखले मुख्यमन्त्री सोडारीलाई विश्वासको मत दिने प्रस्ताव टेबल गर्न अनुमति दिए लगत्तै सभामुख भण्डारीले मत विभाजन प्रक्रिया सुरु गरेका थिए।

त्यसपछि कांग्रेस र नाउपा रेशम पक्षका प्रदेश सांसदहरू बैठकबाट बाहिरिएर मतदान प्रक्रियामा सहभागी भएनन्।

जेठ ३, २०८१ बिहीबार १३:२३:१६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।