जहाँ तेस्रो हुने विद्यार्थी नै भेटिन्न

जहाँ तेस्रो हुने विद्यार्थी नै भेटिन्न

सुर्खेतको लेकबेसी नगरपालिका वडा नम्बर ५ नेटास्थित चन्द्रोदय प्राथमिक विद्यालयमा बाल शिक्षादेखि कक्षा पाँचसम्म पढाई हुन्छ । २०४६ सालमा स्थापना भएको यो विद्यालयमा त्यसबेला कोठाभरि विद्यार्थी हुन्थे । तर, आजभोलि सबै कोठा रित्तै छन् । बाल शिक्षामा ११ जना र कक्षा एकदेखि पाँचसम्म १३ जना विद्यार्थीले भर्ना गरेका छन् ।

कक्षा एकमा २, कक्षा दुईमा ३, कक्षा तीनमा २,कक्षा चारमा २ र  कक्षा पाँचमा चार जना विद्यार्थी छन् । ती मध्ये १० जना विद्यार्थी मात्रै विद्यालय नियमित आउँछन् । यही विद्यालयमा स्थायी दरबन्दीका दुई शिक्षक र कार्यालय सहयोगी गरेर तीन जना छन् । यसका लागि सरकारले वार्षिक १४ लाख रुपैयाँसम्म खर्च गरिरहेको छ ।

विद्यार्थी सङ्ख्या कम र विषयगत शिक्षक नभएपछि २८ वर्षीय शिक्षिका धनसरा लामिछाने सबै विद्यार्थीलाई एउटै ठाउँमा राखेर सामूहिक पढाउने गर्छिन् । उनी आफ्ना दुई वर्षीय छोरालाई समेत त्यही समूहमा राखेर पढाउँछिन् । प्रधानाध्यापक ललिता दर्लामी विभिन्न कार्यक्रम र प्रशासनिक काममा व्यस्त हुन्छिन् । धनसरा भने एकदेखि पाँचसम्म ७ वटै विषय पढाउँछिन् ।

पाँच वर्षदेखि शिक्षण पेसामा लागेकी लामिछाने एक वर्ष अगाडि मात्रै स्थायी भएकी हुन् । विद्यार्थी सङ्ख्या कम भएपछि पढाउनमा समेत जाँगर नलाग्ने गरेको उनले बताइन् ।

‘विद्यार्थी एकदम कम छन् । बाल शिक्षादेखि पाँचसम्म २४ जनाले भर्ना गरेका छन् । तर, १० जना मात्रै नियमित आउँछन्,’उनले भनिन्, ‘विद्यार्थी नहुँदा सँगै राखेर पढाउनुपर्ने बाध्यता छ । विद्यार्थी भएजस्तो नभएपछि पढाउने जाँगर पनि चल्दैन ।’

विद्यार्थीकै अभावमा गत वर्ष प्रदेश सरकारले ४३ लाख रुपैयाँमा बनाइदिएको पक्की नयाँ भवन ताला लगाएर बन्द गर्नु परेको धनसराले सुनाइन् । यही विद्यार्थी सङ्ख्या पनि खाजा कार्यक्रम भएका कारण आउने गरेको लामिछानेको भनाई छ ।

‘कक्षामा दुई जना विद्यार्थी भएपछि एउटा प्रथम आउँछ, अर्को द्धितिय अनि तेस्रो त कोही हुने मान्छे नै छैन,’शिक्षिका लामिछानेले भनिन्, ‘विद्यार्थीमा पनि कम्पिटिसन गर्नुपर्छ भन्ने धारणा नै छैन । पढे पनि नपढे पनि फस्ट, सेकेन्ड भइहालिन्छ ।’

अभिभावकको सामुदायिक विद्यालयभन्दा निजीतिर रुचि बढेकोले समस्या भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिलाल घर्तीले बताए ।

‘सामुदायिक विद्यालयमा शैक्षिक सुधार गर्नै सकिएको छैन । जसका कारण अभिभावकहरू बालबच्चालाई सहरका निजी विद्यालयमा भर्ना गर्न थाले,’अध्यक्ष घर्तीले भने, ‘अब सामुदायिक विद्यालयमा सुविधासहितको प्रविधिमैत्री शिक्षा नभएसम्म अभिभावकको मन जित्न गाह्रो छ ।’

गुर्भाकोट नगरपालिका–१४ गुमीस्थित अर्को चन्द्रज्योति प्राथमिक विद्यालयको हालत पनि उस्तै छ । कक्षा तीनसम्म पढाई हुने यस विद्यालयमा ९ जना विद्यार्थीले भर्ना गरेका छन् । जसमध्ये सात जना मात्रै नियमित आउँछन् । कक्षा एक मा ५ जना, कक्षा दुईमा २ जना र कक्षा तीनमा पनि २ जना विद्यार्थीले भर्ना गरेका छन् ।

विद्यार्थी सङ्ख्या न्यून भएपछि तीन कक्षाका विद्यार्थीलाई एकै ठाउँमा राखेर सामूहिक पढाई गराउनुपर्ने बाध्यता रहेको विद्यालयकी प्रधानाध्यापक शशिकला घर्तीले बताइन् । यस विद्यालयमा उनी एक जना मात्रै शिक्षिका हुन् । उनी आफै प्रधानाध्यापक पनि । त्यो बाहेक विद्यालयको रेखदेख गर्न एक जना कार्यालय सहयोगी छन् । एक्लैले तीन कक्षालाई सामूहिक पढाउँदा प्रभावकारी हुन नसकेको उनी बताउँछिन् ।

लेकबेसी र गुर्भाकोटका यी दुई विद्यालयको हालत जे छ  कर्णालीका अधिकांश प्राथमिक विद्यालयमाको अवस्था त्यो भन्दा भिन्न छैन । अधिकांश विद्यालयको कक्षामा तेस्रो हुने विद्यार्थी छैनन् ।

सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेशको तथ्याङ्क अनुसार सुर्खेतका नौ वटै पालिकामा एक दर्जनभन्दा कम विद्यार्थी हुने बाल विकास केन्द्र र प्राथमिक विद्यालयहरू २ सय ४५ वटा छन् । त्यस्तै अन्य ९ जिल्लामा १ सय ५७ विद्यालयमा १० जनाभन्दा कम विद्यार्थी अध्ययनरत छन् ।

सल्यान, डोल्पा, दैलेख, कालिकोट, मुगु र हुम्लामा यस्ता कम विद्यार्थीहरू रहेका विद्यालयहरू रहेको सामाजिक विकास मन्त्रालयको शिक्षा  शाखा अधिकृत बलवीर सुनारले बताए ।

घट्दै परीक्षार्थी

चैत १५ गतेबाट राष्ट्रिय परीक्षा बोर्डले सञ्चालन गरिएको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा कर्णाली प्रदेशबाट ३५ हजार ८०८ जना परीक्षार्थीहरु सहभागी भएका थिए । जसमध्ये छात्रतर्फ १७ हजार ६२३ र छात्रातर्फ १८ हजार १५८ जना थिए । शिक्षा विकास निर्देशनालय कर्णाली प्रदेश सुर्खेतका अनुसार रुकुम पश्चिममा  ३ हजार ५९३ जना, सल्यानमा ४ हजार ५८२ जना, डोल्पामा ७३३ जना, हुम्लामा एक हजार १९५, मुगुमा एक हजार ११३,  कालिकोटमा ३ हजार ७३६, जुम्लामा दुई हजार ५५७, जाजरकोटमा चार हजार ६९४, दैलेखमा  पाँच हजार २५७,  र सुर्खेतमा आठ हजार ३४८ परीक्षार्थीहरू सहभागी भए ।

कर्णालीमा हरेक वर्ष एसइई दिने परीक्षार्थीहरूको सङ्ख्या वृद्धि हुनाको साटो घट्दै गइरहेको तथ्याङ्कले देखाउँछ । गत वर्ष प्रदेशका ३८ हजार ९७० जना विद्यार्थीहरू एसइईमा सहभागी बनेका थिए । यो वर्ष तीन हजार १६२ जना विद्यार्थीहरू घटेको देखिन्छ ।

राजधानी समेत रहेको सुर्खेतमा पनि विद्यार्थीको सङ्ख्या घटेको देखिन्छ । गत वर्षभन्दा एक हजार बढी विद्यार्थीहरू घटेको देखिन्छ । गत वर्ष सुर्खेतबाट ९ हजार १३९ विद्यार्थीले एसइई दिएका थिए । प्रायः सबैजसो जिल्लाहरूमा विद्यार्थी सङ्ख्या घटेको देखिन्छ ।

नेपाल राष्ट्र बैंकले कर्णालीमा गरेको सर्वेक्षण अनुसार गत आर्थिक वर्ष वर्ष २०७९-८० मा सरकारी तथा सामुदायिक विद्यालयमा ४.०१ प्रतिशतले विद्यार्थी सङ्ख्या घटेको छ । तर, निजी विद्यालयमा भने २२.२३ प्रतिशतले वृद्धि भएको देखाएको छ ।

खस्किँदै गुणस्तर

कर्णाली प्रदेशमा शिक्षण सिकाइ उपलब्धि अन्य प्रदेशको तुलनामा कमजोर देखिएको छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको शैक्षिक गुणस्तर परीक्षण केन्द्रको तथ्याङ्क अनुसार कर्णालीमा १३ प्रतिशत विद्यार्थीको मात्रै सिकाई उपलब्धि राम्रो रहेको छ ।

केन्द्रले सार्वजनिक गरेको ‘शिक्षण सिकाई उपलब्धि प्रतिवेदन २०८०’ अनुसार कक्षा ३, ५ र ८ विद्यार्थीमा गरिएको अध्ययनमा समग्र कर्णाली प्रदेशका ८७ प्रतिशत विद्यार्थीको सिकाइ उपलब्धि कमजोर देखिएको छ । अङ्ग्रेजी, गणित र विज्ञानमा सिकाइ उपलब्धि खस्कँदो रहेको उल्लेख गरिएको छ ।

त्यस्तै राष्ट्रिय परीक्षा बोर्डले ०७८ मा प्रदेशगत रूपमा सार्वजनिक गरेको एसइई नतिजा अनुसार कर्णालीमा ११४ परीक्षार्थीले मात्र ३.६ देखि ४ जिपिए अङ्क ल्याएका थिए, जुन निकै कमजोर हो । एसइईमा प्रदेशबाट सहभागी परीक्षार्थी ३७ हजार तीन सय ६२ मध्ये ९५१ ले मात्र ‘ए’ ग्रेड ल्याएका थिए । गत वर्ष झन् नतिजा कमजोर भयो । गत वर्ष जम्मा २४० विद्यार्थीले ३.६० देखि ४ जिपिए ल्याए ।

त्यस्तै १ हजार ३३२ विद्यार्थीले ३.२० देखि ३.६० जिपिए, ३ हजार ६८८ विद्यार्थीले २.८० देखि ३.२० जिपिए, ८ हजार ११२ विद्यार्थीले २.४० देखि २.८० जिपिए, ११ हजार २३९ विद्यार्थीले २ देखि २.४० जिपिए ल्याए । उक्त तथ्याङ्क हेर्दा पनि विद्यार्थीको शैक्षिक गुणस्तरमा कमी भएको प्रस्ट देख्न सकिन्छ ।

अपर्याप्त दरबन्दी

कर्णालीमा तीन हजार ३४ सामुदायिक विद्यालयमा पाँच लाख ६७ हजार ७ सय ४८ विद्यार्थी रहेको तथ्याङ्क सामाजिक विकास मन्त्रालयसँग छ । त्यसमा १२ सय सरकारी विद्यालयमा शिक्षकको एउटा पनि दरबन्दी छैन । यी विद्यालयमा राहत, स्थानीय र निजी स्रोतमा चलेका छन् । 

राष्ट्रिय जनगणना २०७८ अनुसार कर्णालीको जनसङ्ख्या १६ लाख ८८ हजार ७ सय १२ छ । विद्यालयतर्फ आधारभूत तहमा चार लाख ९ हजार ३ सय १५ र माविमा एक लाख ३७ हजार ९ सय १६ विद्यार्थी छन् ।

यीमध्ये वर्ष नदोहोर्याई कक्षा १ देखि ५ सम्म जाने बालबालिकाको सङ्ख्या ५९ प्रतिशत मात्र छ भने ८ कक्षासम्म पुग्ने ४९ प्रतिशत छन् । विभिन्न कारणले आधारभूत तहका २० प्रतिशत बालबालिकाले पढाई छोड्ने गरेको सामाजिक विकास मन्त्रालयका शाखा अधिकृत बलवीर सुनारले बताए ।

‘आधारभूत तहमा नै २० प्रतिशत विद्याथी पढाइ छोडेर बालविवाह गर्ने, कोही ज्याला मजदुरीमा लाग्ने खालको अवस्था,’उनले भने ।

कर्णालीका १० जिल्लाका दुई हजार आठ सय ३२ बाल विकास केन्द्रमा ६२ हजार दुई सय २९ बालबालिका छन् । तर, एउटै पनि शिक्षक दरबन्दी नभएका विद्यालयको सङ्ख्या ४० प्रतिशत रहेको शाखा अधिकृत सुनार बताउँछन् ।

सामुदायिक विद्यालयमा एक शिक्षकले निर्धारित अनुपातभन्दा दोब्बर विद्यार्थी पढाउनुपर्ने बाध्यता छ । आधारभूत तहमा एक शिक्षकले ७० जनासम्म पढाइरहेका छन् । नियमावलीअनुसार एक शिक्षकले ४५ विद्यार्थी पढाउनुपर्ने व्यवस्था छ ।

शैक्षिक कार्यक्रम अलपत्र

प्रदेश सरकार गठन भएदेखि शिक्षातर्फका विभिन्न योजना अघि सारिएको थियो । जसमध्ये अधिकांश योजना नीति तथा कार्यक्रममा मात्र सीमित छन् । कर्णाली साक्षर अभियान अलपत्र छ ।

पर्वतीय विज्ञान तथा प्रविधि विश्वविद्यालय स्थापनाका लागि कुनै पहल भएको छैन । प्रदेश सरकारको छोरी बुहारी प्राविधिक शिक्षा छात्रवृत्ति कार्यक्रम कार्यान्वयन भएको छ भने हिमाली जिल्लामा आवासीय विद्यालय स्थापना गर्ने योजना अधुरै छ । विशेष विद्यालय र दलित छात्रावासका लागि २८ करोड १० लाख बजेट विनियोजन गरेको प्रदेश सरकारको यो योजना सम्पन्न हुन सकेको छैन ।

बहु प्राविधिक शिक्षालयका लागि ११ करोड रुपैयाँ छुट्टाइए पनि थप पहल देखिन्न । गत वर्ष विद्यालयलाई मर्ज गर्दै कम्तीमा एक विद्यालयलाई स्रोतसाधन र प्रविधियुक्त नमुना विद्यालयका रूपमा विकास गर्न ३९ करोड ५० लाख रुपैयाँ बजेट छुट्टाइएको थियो । तर, त्यसको थप प्रक्रिया अघि बढेन ।

विद्यालयमा बालबालिकाका नाममा जाने दिवा खाजा, छात्रवृत्ति, पाठ्यपुस्तक, मसलन्दबापतको रकममा पनि अनियमितता हुने गरेको समेत गुनासो आइरहन्छ ।

कर्णालीमा ७६ प्रतिशत नागरिक साक्षर छन् । जसमध्ये पुरुष ८३.३ प्रतिशत साक्षर भए पनि महिला ६९.४ प्रतिशत साक्षर रहेको जनगणना २०७८ को तथ्याङ्क उल्लेख गरिएको छ ।

अन्य प्रदेशको तुलनामा भौगोलिक रूपमा विकट हुनु, राज्यले शिक्षामा पर्याप्त लगानी नगरिदिनु, गरिबीजस्ता कारणले कर्णाली शिक्षामा पछि परेको विद्यालय व्यवस्थापन समिति महासङ्घ कर्णाली प्रदेशका अध्यक्ष गोविन्द कोइराला बताउँछन् ।

‘खासगरी यहाँ चेतनाको कमी, गरिबी, भौगोलिक विकटता र पूर्वाधारको अभावले कर्णालीले गुणस्तरीय शिक्षामा फड्को मार्न सकेको छैन,’अध्यक्ष कोइरालाले भने, ‘सरकारले ल्याएका नीति तथा कार्यक्रम पनि प्रभावकारी रूपमा कार्यान्वयन हुन नसक्नु अर्को बाधक हो ।’

४ जेठ, २०८१, १५:२२:३७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।