मध्यमधार : हिन्दुको ‘बुहारी’ बनेका समलिंगी पुरुष कबीर रहमान, ‘केटा-केटाको निकाह भएकाले कुबुल हे भनेपछि सक्किहाल्यो’

मध्यमधार : हिन्दुको ‘बुहारी’ बनेका समलिंगी पुरुष कबीर रहमान, ‘केटा-केटाको निकाह भएकाले कुबुल हे भनेपछि सक्किहाल्यो’
तस्बिर- विजयमान नापित

विवाह भएको आठ दिनपछि कबीर रहमान र उनका साथी कबीरको घर झापाबाट कास्की जाने भए। जहाँ उनको साथीको परिवार बस्थ्यो। झापाबाट चितवन ओर्ले उनीहरू। त्यहाँ कबीरको कार्यालयको काम सकेपछि पोखरा जाने बस चढे। रहमान मुसलमान। उनको साथी हिन्दु।

उनको साथीको बुबा आमा बाहेक कसैले स्वीकारेकै थिएनन्। दाजुभाउजुले त अहिलेसम्म पनि स्वीकारेकै छैनन्। उनका साथी गाडीमा निदाए पनि रहमान निदाउन सकेनन्।

उनले भने, ‘उता(कास्की) पुगेपछि के हुने हो?, को–को आउने हुन्?, कसले के भन्ने होला?, कसैले केही भने कसरी सम्हालिने होला! यस्तै–यस्तै कुरा मनभरी खेलिरह्यो।’

उनको जीवन साथीले सामाजिक सञ्जालमा ‘म्यारिड’ भनेर फेसबुकमा फोटो पोस्ट गरेसँगै परिवारका अन्य सदस्यहरू बाटोमै रोक्न आए। उनीहरू झरे। त्यही लफडा मच्चियो। हात हाल्नेसम्मको स्थिति आइपुग्यो। कबीर कत्ति पनि डगमगाएनन्।

‘मैले त्यसबेला हामीले माया गरेका हौँ। त्यसैले विवाह गरेका हौँ भनेँ,’ रहमानले त्यो घटना सम्झँदै भने, ‘प्रहरीमा नै जाउँ न त भनेपछि मेरो साथीका दाजुभाउजु अलि हच्किनुभो।’

कबीरको साथी कम बोल्ने स्वभावका। उनी चुप लागेर बसिरहेका थिए। तर कबीर भने एक रति डराएनन्। त्यसपछि दाइभाउजुले छाडिदिए। उनीहरू कास्की गए।

०००

‘टिकटक लाइभ’ मा भेटेको माया
झापाको मुसलमान परिवारमा जन्मेका हुन् कबीर। उनको बुवा र आमाको प्रेम विवाह। आमा हिन्दु, बुवा मुसलमान। उनलाई हिन्दु संस्कार पनि थाहा नभएको होइन। बेलाबखत उनी मामाघर गइनै रहन्थे। कक्षा ९ मा पढ्दा उनलाई आफू अरु केटा छैन जस्तो लाग्यो। उनलाई कति साथीले कस्तो केटी जस्तो पनि भन्थे।

परिवारको एक मात्र छोरा हुन् कबीर। उनले सानैदेखि आफू अरुभन्दा अलि फरक छु भन्ने थाहा पाए। पुरुष भए पनि आफूमा महिलाको गुण पनि छ, भन्ने थाहा पाए। केटाभन्दा धेरै केटी साथीहरू नै भए। अनि उमेर बढ्दै जाँदा विपरीत लिंगीप्रति आकर्षित नभएर सामान लिंगी प्रति आकर्षित हुन थाले। आफू ‘समलिंगी पुरुष’ हुँ भन्ने थाहा पाए।

स्कुल पढ्दा नै उनले काम गर्न थालिसकेका थिए। बच्चाहरूलाई ‘डान्स’ सिकाउँथे, त्यसमा पनि ‘आइटम डान्स’ अझ बढी। त्यसै क्रममा त्यहाँकै यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको लागि काम गर्ने संस्थाहरूमा जोडिने मौका पाए उनले। त्यहाँको ओरिन्टेशनले आफ्नो यौनिक पहिचानको बारेमा पनि स्पस्ट भए।

लगत्तै उनले सबैभन्दा पहिला यो कुरा आमालाई सुनाए। उनले छोराको यौनिक पहिचानलाई सहजै स्वीकारिन्।

‘आमाले स्वीकार्नु भएपछि त बाबालाई उहाँले नै बुझाउनुभयो। आमा र बाबाले स्वीकारे पनि अन्य परिवारको अन्य सदस्यले भने स्वीकार्न सकेनन्,’ केहीबेरको मौनतापछि फेरि उनले भने, ‘अहिले मेरो आफ्नो परिवारले स्वीकार्छ। काका–काकीको परिवारले नस्वीकारे पनि खासै फरक त पर्दाे रहेनछ।’

आमाले अपनाएपछि अरुले केहि भन्ने आँट नगरेको उनी सम्झन्छन्। विद्यालय तह पढ्दा उनले ‘ह्युमिलेट’ महसुस गर्थे बेला बेलामा। स्वास्थ्य विषयमा प्रजनन् र यौनांग सम्बन्धि पढाइ हुँदा ‘रहमानको त के होला है’ भन्दै सबै साथीले उनीतर्फ नै हेर्ने गर्थे।

‘यसको त केटाको होला कि, केटीको! भनेर जिस्काउँथे साथीहरू,’ कबीरले थपे, ‘मलाई पढ्नै मन लाग्दैनथ्यो। साथीहरूले त जिस्काए जिस्काए, शिक्षकले पनि कहिलेकाहिँ अर्कै व्यवहार देखाउनुहुन्थ्यो।’

कबीर र उनको साथीले तीन वर्षअघि विवाह गरे। टिकटक चलाइरहने कबीर। एक दिन टिकटक लाइभमा बसेका थिए। त्यतिनै बेला कास्कीका ती साथीले ‘नोटिस’ गरेका रहेछन्। त्यसपछि त उनीहरूको लाइभमा होइन म्यासेजमा कुरा हुन थाल्यो।

एसएलसी सकेपछि भने उनले सामाजिक सञ्जालमा पनि यसबारे खुलेर बोल्न थाले। अनि एकदिन आफ्नो प्रेम सम्बन्धको बारेमा पनि उनले आमालाई नै पहिलोपटक कुरा गरे।

‘ममी हामी एक अर्कालाई माया गर्छौं। बिहे गर्न चाहन्छौं भनेँ। ममीले त केहि भन्नु भएन। बरु बिहेको तयारी पो गर्नु भयो,’ खुशी हुँदै उनले भने, ‘त्यसपछि त मलाईं संसार जितेजस्तै भयो।’

कास्कीका साथीलाई झापा बोलाए। झापामा कबीरको परिवारले सहजै मान्यो। त्यसपछि मुस्लिम परम्पराअनुसार उनीहरूले विवाह पनि गरे।

‘केटा-केटाको विवाह भएर कुबुल हे, भने पछि सक्किहाल्यो,’ उनी भन्छन्, ‘तर, त्यहाँ पनि मौलवी (मुस्लिम धर्म अनुसार विवाह गराउने व्यक्ति)ले केटा कुन? केटी कुन? भनेर चैँ सोध्नुभयो। दुवै जना केटा देखे पनि त्यसरी सोध्दा नराम्रो चैँ लागेको थियो।’

सिन्दुर लगाउँदा
धर्म फरक, जात फरक अनि भूगोल पनि। तर केही पनि बाधा भएन उनीहरूको मायामा। कबीरको घरमा सहजै त स्वीकारियो तर उनको साथीको परिवारले के भन्ने हुन् तनाब बाँकी नै थियो। कास्की पुग्नु अगावै लफडा भएकै थियो।

साझँतिर उनी उनको जोडीको घर पुगे। दलित बस्ती। गाउँ सानै। तर खतरा उकालो ओरालो गर्नुपर्ने। तराईमा जन्मिएका उनलाई पहाड हिड्ने बानी छैन। त्यहाँ पुग्ने बित्तिकै गाउँलेहरू ‘बुहारी’ हेर्न आए। कबिर नजिकै भए पनि बुहारी खोइ त? भन्ने प्रश्न आए।

‘उहाँहरूलाई थाहा थियो म सँग नै बिहे भएको भनेर। तर, पनि होच्याउनको लागि सबैले घरि–घरि एउटै प्रश्न सोधिरहनुभएको थियो’, मधुरो आवाजमा उनले सुनाए।

पछि हिन्दुसंस्कार अनुसार दुवैको फेरि विवाह गरियो। उनको सिउँदो रंगियो। घरमा भित्रँदा पाइलाको छाप छोड्नपर्यो। हातको छाप पनि भित्तामा राख्न पर्यो।

त्यति मात्र नभएर भोलि बिहान सबेरै उठेर पँधेरोमा पानी लिन जाने, पूजाआजा गर्ने सबै काम गर्नुपर्यो। ठ्याक्कै भन्दा कबीर त्यस घरको ‘बुहारी’ हुनपर्यो। उनी तेस्रोलिंगी महिला थिएनन्। उनी त समलिंगी पुरुष थिए। उनलाई आफूलाई महिला बनाएको फिटिक्कै मनपरेको थिएन।

उनले थपे, ‘मलाई त महिला पो बनाए। म त महिला होइन। गे पो हुँ त। पछि मैले उहाँहरूलाई सम्झाएँ। महिलाको भूमिका त्यसपछि कम भयो।’

तराईको समतल ठाउँमा हिडेका उनलाई पहाडमा हिड्न गाह्रो भयो। पछि उनी काठमाडौं आए।

झापामा सम्बन्ध स्वीकार भए पनि पोखरामा भने स्वीकार्य भएन।

‘कसरि लभ पर्यो? यस्तो पनि हुन्छ? केटा–केटाले शारीरिक सम्बन्ध कसरी राख्छ? बिहे कसरी भयो? यस्तो त हामीले सुनेकै छैन!’ लगायतका थुप्रै प्रश्नको सामना गर्नुपर्यो। तर, कबीरले नडगमगाई आफ्नो कुरा अगाडी राखे।

परिवारलाई बुझाए पनि समाजलाई बुझाउन कम चुनौती थिएन। हरेक दिनजसो आफ्नो बारेमा बुझाउँदै बस्न पर्यो। पछि केहिले त बुझ्न नचाहेको हो कि भन्ने लगेर बुझाउन पनि छोडेको उनी बताउँछन्।

अन्य समाजमा जस्तै मुस्लिम समाजमा पनि यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको भनेपछि ‘अप्राकृतिक’ नै मानिन्छ। अझ मुस्लिम धर्ममा यसलाई ठूलो गल्ती मानिने पनि उनले सुनाए। यस्तो अवस्थामा पनि अन्तर्जातीय विवाह गरेको पनि तीन वर्ष लागिसक्यो।

अब कानूनी मान्यता दिन आतुर
धार्मिक र संस्कृतिक परम्पराअनुसार उनीहरूको विवाह भए पनि ‘बैवाहिक समानता’को कानून नबनेको कारण उनीहरूको विवाहले कानूनी रूप भने पाउन सकेको छैन। त्यसले गर्दा कानूनी मान्यता पनि चाडो भन्दा चाडो पाओस् भन्ने उनीहरूको चाहना छ।

विवाह भएको तीन वर्ष हुन लाग्दा पनि दर्ता नभएको कारण अझै पनि ‘यिनीहरुको ल्याङ्गफ्यांग बिहे हो, दर्ता त भएको छैन नि!’ भन्ने कुरा उत्तिकै सुन्न परिरहेका छन्।

‘यहि कानूनी मान्यता नपाएको कारण धेरै जना हाम्रो समुदायकाहरू लिभिङ्ग टुगेदरमै बस्ने गरेको त हो नि! यसले गर्दा बिहे गर्न चाहनेहरू पनि बिहे गर्न सकिरहेका छैनन्’, उनले सुनाए।

अब कानूनी रूपमा आफ्नो बिहेलाई मान्यता दिन पनि उनीहरू आतुर छन्। उनी त घरको एक्लो छोरा भएको कारण ‘वंश’ धान्न पर्ने बाध्यता पनि छ। तर, उनले यो कुरामा पनि आफ्नो आमालाई सबै कुरा भनिसके। आवश्यक नै परे धर्मपुत्र÷धर्मपुत्री राख्ने पनि कुरा भइसकेको रहेछ घरमा।

कबीर कोशी प्रदेशको युवा समूहको अध्यक्ष पनि हुन्। उनी निलहिरा समाज अन्तर्गत भक्तपुर जिल्लाको अफिसमा काम गर्छन्। अनि राति आठ बजेदेखि एघार बजेसम्म भने ‘भिजे’ काम पनि गर्छन्।

निलहिरा समाजमा उनी यो समुदायमा पनि विशेषगरी एचआइभी÷एड्स संक्रमितहरूको हितको लागि काम गर्छन्। यसप्रति अझै पनि धेरै जनचेतना आवश्यक रहेको उनले अनुभव गरेका छन्।

भक्तपुरमा घरबेटीको त्यो ब्यहोरा
तुलनात्मक रुपमा भक्तपुर जिल्ला लैंगिक तथा यौनिक अल्पसंख्यकको सवालमा अलि बढी परम्परागत देखिएको उनको अनुभव छ। धेरै जनाले आफ्नो अनुभव बाँड्न खोजे पनि खुलेर अगाडि आउन नचाहेको उनले देखेका छन्। कामको लागि पहिलो पटक उनी यहाँ आउँदा घरबेटीबाट पनि यस समुदायको भएकै कारण विभेद भोगेका रहेछन्।

‘पोखराबाट भर्खर यता आएको। ठाउँ नयाँ। कोठा लिएको केहि दिनपछि मेरो एकजना तेश्रोलिंगी महिला साथी आउनु भएको थियो। घरबेटीले देख्नुभएछ। अनि मलाई साथीकै अगाडी तपाईंको कोठामा त छक्का आउने रहेछ। तपाईं निस्केर जानुस् भन्नुभयो,’ उनले भने, ‘हामी दुवै जनालाई नराम्रो लाग्यो। ऊ त्यहाँबाट गइहाल्यो। अनि मैले पनि भोलिपल्टै त्यो कोठा छोडे। पछि अर्कोमा सरे। त्यहाँ पनि एचआईभी संक्रमितको लागि काम गर्छु भन्दा राम्रो मान्नुभएन।’

यो एक वर्षमा धेरै फरक नपाए पनि त्यहाँको स्थानीय निकायले भने समन्वय गर्न थालेकोमा उनी खुशी छन्। अहिले होस्टेलमा बसेको भएर धेरै विभेद पनि भोग्न नपरेकोले गर्दा पनि उनले काम गर्न सहज भएको ठानेका छन्। आफ्नो कामकै कारण पनि उनलाई धेरैले हेयको भावले हेर्ने गरेको उनले महसुस गरेका छन्।

‘म डान्स सिकाउने ठाउँमा स्टुडेन्टहरूको अभिभावकले त्यो सरलाई एचआइभी लागेको छ, नछुनु भन्नुभएछ। अनि बच्चाहरूले त सर मेरो ममीले तपाईंलाई नछुनु भन्नुभएको छ भन्थे। मैले किन भन्दा तपाईलाई एचआईभी छ रे भन्थे’, उनी हाँसे।

एचआइभी एड्सको क्षेत्रमा काम गर्ने भएर उनलाई यस्तो आरोप लागेको थियो। उनी अहिले जे काम गरिरहेका छन्, त्यसैमा अघि बढ्न चाहन्छन्। आफ्नो समुदायको लागि लड्न चाहन्छन्।

मध्यमधारका अन्य सामग्री

२९ भदौ, २०८०, १६:५९:३२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।