सुर्खेतका मिटरब्याज पीडित भक्कानिँदै भन्छन्- बाँचौं साहु र कानूनको डर, मरौं बालबच्चाको पीर

सुर्खेतका मिटरब्याज पीडित भक्कानिँदै भन्छन्- बाँचौं साहु र कानूनको डर, मरौं बालबच्चाको पीर

सुर्खेत : वीरेन्द्रनगर नगरपालिका-१० की ४७ वर्षीया रामकुमारी भट्टराई केही दिनअघि तीन महिना कैद भुक्तान र ३० हजार जरिवाना तिरेर कारागारबाट रिहा भएर घर फर्किइन्।

गाउँकै गिता खत्रीबाट एक महिनाका लागि मिटरब्याजमा १५ लाख रूपैयाँ ऋण लिएकी उनले ६० लाख रुपैयाँ फिर्ता गरिन्। रामकुमारीलाई पैसा दिँदा गिताले व्यावहारिक प्रमाणका लागि भन्दै दुईवटा साइन गरेको खाली चेक मागेकी रहिछन्।

पैसा फिर्ता गरेर रामकुमारीले चेक माग्दा गिताले हराएको बताइन्। त्यहि कुरालाई रामकुमारीले विश्वास मानिन्। पछि फेरि गिताले रामकुमारीसँग ऋण मागिन्। उनीसँग रकम थिएन।

पहिला आफूलाई पर्दा दिएको गुन तिर्न रामकुमारीले आफ्नो घर धितो राखेर ६५ लाख र १० तोला सुन गितालाई दिइन्। मौखिक रूपमै पैसा दिएकी रामकुमारीसँग बलियो कुनै प्रमाण थिएन।

जब ऋण तिर्ने भाका आयो तब रामकुमारीले गितासँग पैसा माग्दा उनले अटेर गरिन्। त्यहि विषयमा उनीहरूबीच विवाद भयो।

पछि गिताले रामकुमारीले दिएको खाली दुई चेकमा चार करोड ५१ लाखको रकम थपेर चेक बाउन्स गरिन्। त्यहि कसुरमा उनी कारगारसम्म पुगिन्। आफ्नो दिएको पैसा पाउनु त परको कुरा उल्टै तीन महिना जेलमा बसेर फर्किएकी रामकुमारी बेला-बेला भक्कानिएर रुन्छिन्।

‘आवश्यक परेको बेला पैसा नभएपछि डबल तिरौँला भनेर खाली चेक दिएर पनि लिइयो। त्यहि अनुसार पैसा पनि तिरियो। तर, आफ्नो घर धरौटी राखी, नाक कानका खोलेर दिएका मान्छेले अहिले उल्टै जेलमा पठाए,’ रामकुमारीले भनिन्, ‘कानूनी रूपमा पनि कमजोर भएँ। चार करोड ५१ लाखको मुद्दा अहिले ममाथि परेको छ।’

एक छोरा, चार छोरी भएकी रामकुमारीले आत्महत्याको प्रयास पनि नगरेकी होइनन्। तर, बालबच्चाको मायाले कठोर भएर बाँच्ने निर्णयमा पुगिन्।

‘यो तनावले प्रेसर बढ्छ। नियमित औषधि खान्छु। बाँचेपछि साहु र कानूनको डर त्यो भन्दा त मर्छु भनेर प्रयास पनि गरेँ। तर, घरका छोराछोरीको अनुहारले बाँच्न बाध्य छु,’ उनले भनिन्, ‘अहिले पनि साहुले धम्की दिन्छन्। गुण्डा पठाउँछन्। यही कुराले गर्दा श्रीमान् पनि बिरामी छन्।’

वीरेन्द्रनगर-१० कै लक्ष्मीकुमारी शाही पनि मिटरब्याजको फन्दामा परेकी छन्। सुरुमा २० हजारबाट मिटरब्याजमा पैसा लिएकी उनको अहिले दुई करोड बढी पुगेको छ।

ब्याजमा ऋण लिने भनेर कागज बनाई पैसा बुझाए पनि खाली चेकमा साहुले आफूखुसी रकम हालेर चेक बाउन्स गर्दा अहिले मर्नु न बाँच्नुको दोधारमा रहेको शाहीले बताइन्।

‘मैले २० हजारबाट मिटर ब्याज लिन सुरु गरेको तिर्दा-तिर्दा चार पाँच जना साहु भए। अहिले दुई करोड बढी मैले तिर्नुपर्ने प्रमाण साहुले बनाएका छन्। कसैले कागज बनाए, कसैले खाली चेक लिए। त्यहि खाली चेक नै हामीलाई फसाउने मुख्य प्रमाण बन्यो,’लक्ष्मीले भनिन्, ‘माइतीको तीन कट्ठा जमिन पनि फालिसकेँ। आफ्नो घरबास समेतको धितोमा छ।’

वीरेन्द्रनगरकै झरना देवकोटाले पनि ९ लाख रूपैयाँ मिटरब्याज साहुबाट लिएर तीन महिनामा २२ लाख रूपैयाँ तिरिन्।

तर, ९ लाखको चेक र २२ लाखको कागज प्रमाण लिई झरनाले नतिरेको भन्दै साहुले मुद्दा दायर गरेपछि उनी तीन वर्षको छोरीसहित २१ दिन हिरासत बस्न बाध्य भइन्।

अहिले त्यहि समस्याका कारण मानसिक समस्यामा छिन् झरना। आर्थिक पाटोकै कारण श्रीमान्सँगको सम्बन्धसमेत राम्रो छैन।

‘लिएर तिरेको पैसा पनि तिरेको छैन भने। पहिला हामीले दिएका चेकलाई आफूखुसी रकम हालेर बाउन्स गरे। मलाई प्रहरीले पक्र्यो। तीन वर्षकी छोरीसहित २१ दिन हिरासत बसें,’ झरनाले भनिन्, ‘यहि पैसाकै कारण डिप्रेसनमा छु। घरमा श्रीमानसँग पनि राम्रो सम्बन्ध छैन।’

रामकुमारी, लक्ष्मी र झरना मात्रै होइन् उनीहरूजस्तै सयौंको संख्यामा मिटरब्याज पीडितहरू जिल्ला प्रशासन कार्यालयमा न्यायका लागि धाउने गरेका छन्। उनीहरूले छिटोभन्दा छिटो सरकारले यो समस्या समाधान गर्न अनुरोध समेत गरेका छन्।

हालसम्म जिल्ला प्रशासन कार्यालय सुर्खेतमा मिटरब्याज पीडितका १२३ वटा उजुरी परेका छन्। जसमध्ये ४१ वटा उजुरीहरू फर्स्यौट भएको मिटरब्याज सहायता कक्षमा कार्यरत गोमा सुवेदीले बताइन्। मिटरब्याजमा ठगी हुनेमा अधिकांश महिला रहेको सुवेदीले जानकारी दिइन्।

२८ असार, २०८०, २०:२४:४७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।