भरतपुर अस्पतालको एमआरआई खरिद मिलेमतोबारे प्रश्न सोध्दा झोक्किँदै स्वास्थ्य सचिव पोखरेलले भने- ‘उकेराले सामानै किन्न नदिने भयो, बोल्न चाहनुभएन भनेर लेखे हुन्छ’

भरतपुर अस्पतालको एमआरआई खरिद मिलेमतोबारे प्रश्न सोध्दा झोक्किँदै स्वास्थ्य सचिव पोखरेलले भने- ‘उकेराले सामानै किन्न नदिने भयो, बोल्न चाहनुभएन भनेर लेखे हुन्छ’

काठमाडौँ : मिलेमतोमा निश्चित कम्पनीलाई टेन्डर दिने गरी भरतपुर अस्पतालले अगाडि बढाएको करिब ३२ करोड ४० लाख मूल्य बराबरको ‘थ्री टेस्ला एमआरआई मेसिन’ खरिद प्रक्रिया अहिले प्राविधिक मूल्याङ्कनको चरणमा छ।

अस्पतालले मिलेमतोमा सिमेन्स कम्पनीको एमआरआइसँग मात्र मिल्नेगरी प्राविधिक स्पेशिफिकेशन बनाएको पुष्टि भइसकेको छ। तर अस्पताल प्रशासन भने उसैलाई टेन्डर दिने अन्तिम तयारीमा छ।

यस्तै मेसिन सिमेन्सले नै नेपाल प्रहरी अस्पतालमा २९ करोड २० लाखमा दिन टेन्डर हालेको छ। एकै कम्पनीको उही उत्पादन भए पनि भरतपुरमा सिधै तीन करोड बढी मूल्यमा एमआरआई किन्न लागेको पुष्टि हुन्छ।

प्रस्ट तीन करोड बढी मूल्य तिरेर मिलेमतोमा हुन लागेको खरिदबारे स्वास्थ्य सचिव डा रोशन पोखरेलसँग उकेराले जिज्ञासा राख्दा उनले उकेराले टेन्डरहरूबारे प्रकाशित गरेको समाचारका कारण कुनै पनि सामान किन्न नसक्ने अवस्था आएको आरोप लगाउँदै भने' यसमा सचिवले केही बोल्न चाहनु भएन भनेर लेखे हुन्छ।'

भरतपुर अस्पतालमा एमआरआई खरिदका लागि सबै कम्पनीले प्रतिस्पर्धामा भाग लिन सक्ने प्रावधान नराखी केवल एक कम्पनीले मात्र भाग लिन सक्ने गरी मिलेमतोमा प्राविधिक स्पेशिफिकेशन बनाएको थियो।

भरतपुर अस्पतालले गरेको बदमासीबारे सोध्दा स्वास्थ्य सचिव पोखरेल भने उल्टो रिसाउँदै भरतपुर अस्पताललाई नै सोध्न भने।

‘त्यो कुरा मलाई नसोध्नुहोस्,’सचिव पोख्रेलले भने,‘त्यसको बारेमा सचिवले केही बोल्न चाहनु भएन भनेर भन्दिनु भए हुन्छ। सक्दिन म अब।’

सचिव पोख्रेलले ‘उतै सोध्नुहोस् कृपया, प्लिज’ भन्दै सामान आउनु नै ठूलो कुरा भएको दाबी गर्दै उकेराका कारण सिमेन्स कम्पनीको समेत सामान आउन नसक्ने भएको तर्क गरे।

उनले यो खरिद प्रकरणबारे आफूलाई नसोध्न भने पनि खरिद प्रक्रियामा उनी समेत संलग्न देखिन्छन्। किनकि सार्वजनिक खरिद नियमावली अनुसार २० करोड भन्दा बढी रकमको लागत अनुमान विभागीय प्रमुखबाट स्वीकृति लिनुपर्ने हुन्छ।

नियमावलीमा भनिएको छ,‘विभागीय प्रमुख भन्नाले कुनै मन्त्रालय अन्तर्गतको विभाग वा सो सरहको अन्य कार्यालयको प्रमुखको रुपमा काम गर्ने पदाधिकारी सम्झनुपर्ने हुन्छ।’

सो नियम अनुसार स्वास्थ्य सचिव डा. पोख्रेलले एमआरआई खरिदका लागि लागत अनुमान स्वीकृति दिने जिम्मेवारी पाएका अधिकारी हुन्। त्यसमाथि मन्त्रालय मातहतको अस्पतालमा हुने अनियमितता रोक्ने उनको पदीय दायित्व पनि हो। तर उनी यसबारे छानबिन गर्नुको साटो उल्टो अनियमितता सार्वजनिक गरेर मिडियाले सामानै आउन नदिने वातावरण बनाएको भन्दै झोक्किए।

यसरी गरियो मिलेमतो

अस्पतालको रेडियोलोजी विभागका प्रमुखको संयोजकत्वमा एमआरआईको प्राविधिक स्पेशिफिकेशन मूल्याङ्कनका लागि पाँच सदस्यीय समिति गठन भएको थियो।

रेडियोलोजी विभागका प्रमुखमा डा. केशव पौडेल छन्। समितिमा न्युरो सर्जन डा. गुणराज पौडेल, एक्स–रे विभागका प्रमुख रोशन पटेल, लेखा अधिकृत (प्रमोद पोखरेल), बायोमेडिकल इन्जिनियर तुलसी खनाल प्राविधिक मूल्याङ्कन समितिमा छन्।

अस्पतालले भरतपुरको बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका बायोमेडिकल इन्जिनियर रुपेश मिश्र र स्वास्थ्य सेवा विभागकी बायोमेडिकल इन्जिनियर पद्यमा मिश्रसँग पनि एमआरआईको प्राविधिक स्पेशिफिकेशनको विषयमा सुझाव मागेको थियो। मिश्र यस मिलेमतोमा प्राविधिक स्पेशिफिकेशन बनाएर यस अगाडि नै बदनाम भइसकेकी बायोमेडिकल इन्जिनियर हुन्।

खरिद प्रक्रिया र स्वास्थ्य सचिव पोखरेलको प्रतिक्रियाले यो खरिद प्रक्रिया सिमेन्स उत्पादक कम्पनीको नेपालस्थित इष्टवेष्ट कन्सर्न सप्लायर्स कम्पनीलाई दिने गरी मिलेमतो भएको प्रस्टै हुन्छ।

भरतपुर अस्पतालले मेसिन खरिदको अनियमितता बाहिरिएपछि खरिद विवादबाट बच्न क्यान्सर अस्पताल र विभागबाट समेत दुई जना बायोमेडिकल इन्जिनियरलाई मेसिनको प्राविधिक स्पेशिफिकेशन मूल्याङ्कन समितिमा सुझाव दिने गरी साक्षी राखेको देखियो।

प्राविधिक स्पेशिफिकेशन बनाउँदा नै लिनु पर्ने सुझाव  खरिद प्रक्रिया अगाडि बढेपछि लिइएको छ। सिमेन्सलाई मात्रै मिल्नेगरी प्राविधिक स्पेशिफिकेशन बनाएर टेन्डर प्रक्रिया जबरजस्ती अगाडि बढाएको र प्राविधिक मूल्याङ्कनको चरणमा समेत पुगिसकेकाले अस्पताल बाहिरबाट बायोमेडिकल इन्जिनियरको सुझावको महत्त्व देखिन्न।

भरतपुर अस्पतालले एमआरआई खरिदका लागि टेन्डर प्रक्रियामा पेस भएको प्राविधिक मूल्याङ्कनका लागि बायोमेडिकल इन्जिनियरसँग राय लिन भन्दै पत्र लेख्यो। त्यसपछि क्यान्सर अस्पतालले बायोमेडिकल इन्जिनियर रुपेश मिश्रलाई भरतपुर अस्पतालमा खरिद हुन लागेको एमआरआईको प्राविधिक स्पेशिफिकेशनको सुझावका लागि तोक्यो। विभागबाट पद्यमा मिश्र तोकियो।

विभागकी बायोमेडिकल इन्जिनियर मिश्रले एमआरआईको प्राविधिक मूल्याङ्कनको लिखित प्रतिवेदन नै दिइसकेको तर, क्यान्सर अस्पतालका बायोमेडिकल इन्जिनियर रुपेश मिश्रबाट भने सुझाव नआइपुगेको अस्पताल स्रोतले बतायो।

दुवै बायोमेडिकल इन्जिनियरलाई नै मूल्याङ्कन तथा रायका लागि प्राविधिक स्पेशिफिकेशन पठाइएको अस्पताल स्रोतको दाबी छ।

‘पद्यमा मिश्रले लिखित प्रतिवेदन दिनुभयो,’भरतपुर अस्पतालका एक कर्मचारीले भने,‘क्यान्सर अस्पतालको बायोमेडिकल इन्जिनियरबाट भने सुझाव आइपुगेको छैन।’

यस विषयमा बुझ्नका लागि सम्पर्क गर्दा कार्य व्यस्तताका कारण एमआरआईको प्राविधिक स्पेशिफिकेशनको बारेमा सुझाव दिन नभ्याएको भरतपुर क्यान्सर अस्पतालका एक कर्मचारीले बताए।

स्थायी बायो मेडिकल छाडेर करारलाई काम

स्वास्थ्य सेवा विभाग अन्तर्गत व्यवस्थापन महाशाखाका एक कर्मचारीका अनुसार पद्मा मिश्र केही दिन अघिसम्म विभागकी करारको कर्मचारी थिइन्। केही दिन यता भने उनी एनएचएसपी नामक संस्थाको जागिरे भएकी छन्। तर, त्यो संस्थाको जागिरे भए पनि विभागलाई नै सहयोग गर्ने भएकाले मिश्रले विभागमा नै रहेर काम गरिरहेको स्रोतले जानकारी दियो।

‘एनएचएसएसपीबाट विभागमा प्रकुमेन्टमा सहयोग गर्नका लागि भनेर हायर भएको कर्मचारी हो,’व्यवस्थापन महाशाखाका एक कर्मचारीले भने,‘उहाँ विभागमा नै बसेर काम गर्नु हुन्छ।’

विभागमा दुई जना स्थायी बायोमेडिकल इन्जिनियर समेत छन्। ‘विभागमा दुई जना स्थायी हुनुहुन्छ,’ स्रोतले भन्यो। तर, विभागकै स्थायी बायोमेडिकल इन्जिनियर हुँदाहुँदै भरतपुर अस्पतालको एमआरआईको प्राविधिक स्पेशिफिकेशनको मूल्याङ्कनका लागि विवादित पद्यमा मिश्रलाई तोकियो।

प्रहरी अस्पतालमा पनि उस्तै

नेपाल प्रहरी अस्पतालले अगाडि बढाएको थ्री टेस्ला एमआरआई खरिद प्रक्रिया पनि विवादमा आइरहेको छ। प्रहरी अस्पतालको प्राविधिक स्पेशिफिकेशन र भरतपुर अस्पतालको प्राविधिक स्पेशिफिकेशन लगभग उस्तै छ।

भरतपुरको स्पेशिफिकेशनमा जहाँ-जहाँ लक्ड गरियो यता प्रहरी अस्पतालमा पनि उस्तै गरी मुख्य बुँदाहरू सिमेन्सलाई मिल्ने गरी बनाएको उकेराले यस अगाडि नै सार्वजनिक गरिसकेको छ। यता प्रहरी अस्पतालमा भने अस्पताल प्रमुख डा आशा सिंह आफैँ सक्रिय छिन्।

प्रहरी अस्पतालको सि-आर्म मेसिन खरिदमा पनि सिंहले लक्ड स्पेशिफिकेशन बनाएर निश्चित कम्पनीलाई मात्र प्रतिस्पर्धा गराएर टेण्डर दिने प्रक्रिया अगाडि बढाइसकेकी छिन्।

भरतपुर खरिद प्रकरणबारे उकेरामा प्रकाशित समाचार

१६ चैत, २०७९, १८:१६:४२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।