भरतपुर अस्पतालले ३० करोडको एमआरआई खरिद गर्ने तयारी, स्वास्थ्य सचिवको भुमिका शंकामा

भरतपुर अस्पतालले ३० करोडको एमआरआई खरिद गर्ने तयारी, स्वास्थ्य  सचिवको भुमिका शंकामा

काठमाडौँ : चितवनको ‘भरतपुर अस्पताल’ले करिब ३० करोड मूल्य बराबरको एमआरआई खरिद गर्ने भएको छ। एमआरआई खरिदका प्रक्रिया अगाडि बढाउन लागत अनुमान स्वीकृतिकालागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा अस्पतालले फायल पठाएको छ।

भरतपुर अस्पतालका सूचना अधिकारी गोपाल प्रसाद पौडेलले एमआरआई खरिद गर्न लागत अनुमान स्वीकृतिका लागि स्वास्थ्य मन्त्रालयमा फाइल पठाइएको पुष्टि गरे। तर, स्वास्थ्य मन्त्रालयबाट लागत अनुमान स्वीकृति भएर सो फाइल अस्पतालमा फर्कि नसकेको उनले जानकारी दिए।

‘अस्पतालमा एमआरआई खरिदका लागि स्वास्थ्य मन्त्रालयमा लागत अनुमान स्वीकृतिका गर्न फाइल पठाइएको छ,’अस्पतालका सूचना अधिकारीले भने ,‘मन्त्रालयबाट आएको छैन।’

सार्वजनिक खरिद नियमावली अनुसार २० करोड भन्दा बढी रकमको लागत अनुमानको विभागीय प्रमुखबाट स्वीकृति लिनुपर्ने हुन्छ।

नियमावलीमा भनिएको छ,‘विभागीय प्रमुख भन्नाले कुनै मन्त्रालय अन्तर्गतको विभाग वा सो सरहको अन्य कार्यालयको प्रमुखको रूपमा काम गर्ने पदाधिकारी सम्झनुपर्ने हुन्छ।’
सो नियम अनुसार स्वास्थ्य सचिव डा. रोशन पोख्रेलले एमआरआई खरिदका लागि लागत अनुमान स्वीकृति दिनुपर्ने देखिन्छ।

यता स्वास्थ्य मन्त्रालयका एक कर्मचारीका अनुसार भरतपुर अस्पतालले एमआरआई खरिदका लागि लागत अनुमान स्वीकृत गर्न पठाएको फाइल मन्त्रालयमा नै रहेको छ। तर, फाइल स्वीकृति भइसकेको मन्त्रालय स्रोतले बतायो।

‘त्यो (लागत अनुमानको फाइल) सचिवज्यूले स्वीकृत गरिसक्नु भएको छ,’मन्त्रालय स्रोतले भन्यो,‘सदर भएर गइसकेको छ। सम्भवतः (अस्पताललाई) चिठी पनि गइसकेको होला।’

अस्पतालमा चिठी गएकाे भए पनि नगएकाे भए पनि फायल स्वीकृति भने भइसकेको मन्त्रालयका एक कर्मचारीले बताए।

‘अहिले गएको रहेनछ भने पनि चिठी गइहाल्छ,’ती कर्मचारीले भने,‘तर, सचिवज्यूले स्वीकृत गरिसक्नु भएको छ।’

मङ्गलवार वा बुधवार लागत अनुमान र प्राविधिक स्पेशिफिकेशन लगायत बोलपत्रका कागजात फाइल स्वीकृति भइसकेको ती कर्मचारीले बताए।

स्वास्थ्य मन्त्रालयकै अर्का कर्मचारीले पनि फाइल स्वीकृतिको चरणमा रहेको बताए। ‘फाइल सचिवज्यूकहाँ होला,’मन्त्रालयका अर्का कर्मचारीले भने,‘सचिवज्यूबाट निर्णय भइसकेको छ की छैन थाहा भएन। सचिवज्यूले तोक लगाएर पठाउने हो।’

स्वास्थ्य मन्त्रालयका अर्का तेस्रो एक उच्च तहका कर्मचारीसँग सम्पर्क गर्दा एमआरआई खरिदको लागत अनुमान तथा स्पेशिफिकेशन स्वीकृति गरेर बोलपत्र प्रकाशनको स्वीकृतिका लागि मन्त्रालयमा करिब २० दिन अघि भरतपुर अस्पतालको फायल पुगेको जानकारी दिए।

‘२० दिन अघि फायल पेस भएको छ। स्वीकृतिको प्रक्रियामा छ,’मन्त्रालयका उच्च तहका कर्मचारीले भने।

भरतपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट प्रा. डा. कृष्णप्रसाद पौडेलले एमआरआई खरिद प्रक्रियाका लागि लागत अनुमान स्वीकृति गर्न स्वास्थ्य मन्त्रालयमा फाइल पठाइएको तर फर्केर अस्पताल नपुगेको पुष्टि गरे।

‘एमआरआई खरिद प्रक्रिया अगाडि बढाएको हो,’उनले भने,‘मन्त्रालयमा लागत अनुमान स्वीकृतिका लागि पठाएको फाइल फर्केर आएको छैन।’

भरतपुर अस्पतालका मेडिकल सुपरिटेण्डेन्टलाई पाँच प्रतिशत कमिसन दिने गरी एक निश्चित कम्पनीको एमआरआइसँग मिल्नेगरी प्राविधिक स्पेशिफिकेशन बनाएर एमआरआई खरिद गर्ने तयारी भएको स्रोतको दाबी छ।

स्रोतले भन्यो,‘एउटा भेण्डरले अस्पताल प्रमुखलाई पाँच प्रतिशत कमिसन दिन्छु भनेको छ र उसैको एमआरआई ३० करोडमा किन्ने गरी लक्ड स्पेशिफिकेशन बनाइएको छ।’

सिमेन्स कम्पनीको थ्री टेस्ला एमआरआई खरिद गर्न लागिएको स्रोतको दाबी छ। सिमेन्सको नेपालमा सप्लायर्स इष्टवेष्ट कन्सर्न हो। सिमेन्स युरोपियन कम्पनी हो। यसमा युनाइटेड इमेजिङले समेत चासो राखेको स्रोतले बतायो। यी २ कम्पनीमध्ये एकलाई दिने गरी सेटिङ भएको स्रोतले बतायो।


तर, भरतपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट प्रा. डा. पौडेलले लक्ड स्पेशिफिकेशन बनाएर सेटिङमा निश्चित कम्पनीलाई मात्रै टेन्डर पर्ने गरी एमआरआई मेशिन खरिद गर्न लागेको भन्ने विषयमा सत्यता नभएको दाबी गरे।

‘प्राविधिक स्पेशिफिकेशन लक्ड छँदै छैन,’उनले दाबी गरे ,‘सबै अन्तर्राष्ट्रिय कम्पनीहरूले टेन्डर प्रस्ताव गर्न मिल्नेगरी र योग्य हुनेगरी नै स्पेशिफिकेशन बनाएका छौँ।’

प्राविधिक समिति गठनदेखि सबै प्रक्रिया पूरा गरेर नै एमआरआईको स्पेशिफिकेशन तयार गरी खरिद प्रक्रिया अगाडि बढाएको डा. पौडेलको दाबी छ।

प्राविधिक तथा विशेषज्ञ लगायतको सिफारिसमा चेकजाँच गरेर मात्रै एमआरआई खरिदका लागि प्राविधिक स्पेशिफिकेशन पास गरेको उनले दाबी गरे।

‘खरिद समितिले पनि पास गरेको छ,’डा. पौडेलले भने,‘खरिद समितिमा पनि डाक्टर नै प्रमुख हुनुहुन्छ। अरु पनि हुन्छन्। पाँच जनाको कमिटी छ।’

अस्पताल स्रोतका अनुसार कम्तीमा ७० सेन्टिमिटर बोर साइजको एमआरआई खरिदका लागि प्राविधिक स्पेशिफिकेशन तयार गरिएको छ। ‘७० नै  लेखिएको छ। जुन ग्लोबल्ली चलेको भनेको त सिमेन्स, फिलिप्स, जिइ हो,’अस्पताल स्रोतले भन्यो,‘यिनीहरू सबैको ७० सेन्टिमिटर बोर साइज छ। चाइनिज (युनाइटेड इमेजिङ) को मात्रै ७५ छ। अरू कसैको छैन।’

त्यसैगरी अस्पतालमा खरिदका लागि तयारी गरिएको एमआरआईको प्राविधिक स्पेशिफिकेशनमा ६५ वा सो भन्दा माथिको च्यानल हुनुपर्ने मापदण्ड राखिएको स्रोतले बताएको छ।

‘६५ च्यानल अर एभोव लेखेको छ। त्यो भनेको थ्री टेस्ला हाइ इण्ड हो किन्न खोजेको एमआरआई।’ जुन प्राविधिक स्पेशिफिकेशन सबै अन्तर्राष्ट्रिय (ग्लोबल) कम्पनीले बोलपत्र पेस गरी प्रतिस्पर्धात्मक रूपमा छनोट हुने किसिमको रहेको स्रोतले बतायो। 

१३ पुस, २०७९, ०१:२५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।