३२ करोडको एमआरआई किन्न भरतपुर अस्पतालले खुलायाे टेण्डर, अस्पताल प्रमुखलाई पाँच प्रतिशत कमिसन दिनेगरी सेटिङ भएकाे दाबी

३२ करोडको एमआरआई किन्न भरतपुर अस्पतालले खुलायाे टेण्डर, अस्पताल प्रमुखलाई पाँच प्रतिशत कमिसन दिनेगरी सेटिङ भएकाे दाबी

काठमाडौं : चितवनको भरतपुर अस्पतालले ३२ करोड मूल्य बराबरको एमआरआई मेसिन खरिदका लागि टेण्डर आह्वान गरेको छ। अस्पतालले ‘थ्री टेस्ला एमआरआई मेसिन’ खरिदका लागि पुष १८ गते सोमबार टेण्डर आह्वान गरेको हो।

सरकार परिवर्तन भएको मौकामा हतारहतार स्वास्थ्यमन्त्रीसमेत नआउँदै मेसिन खरिदका लागि आफैं प्राविधिक स्पेशिफिकेशन बनाएर अस्पताल प्रशासनले टेण्डर आह्वान गरेको हो। कमिसनको सेटिङमा अस्पतालले सिमेन्स कम्पनीको थ्रि टेस्ला एमआरआई मेसिन खरिद गर्न लागेको स्रोतको दाबी छ।

सिमेन्सको नेपालमा सप्लायर्स इष्टवेष्ट कन्सर्न हो।टेण्डर सूचनाअनुसार टेण्डर भएको एमआरआई मेसिन खरिदका लागि बोलपत्र प्रस्तावक कम्पनी (बिडर)ले कम्तीमा ८१ लाख बोलपत्र जमानत रकम राख्नुपर्नेछ। जमानत रकमको आधारमा हेर्दा करिब ३२ करोड ४० लाख मूल्यको एमआरआई खरिदको लागि टेण्डर भएको देखिन्छ।

सार्वजनिक खरिद नियमावली, २०६४ को नियम ५३ मा बोलपत्र जमानतसम्बन्धी व्यवस्था रहेको छ। सो नियमको उपनियम ‘१’ मा भनिएको छ, ‘सार्वजनिक निकायले खरिदको प्रकृति अनुसार सबै बोलपत्रदातालाई समान रूपले लागू हुनेगरी स्वीकृत लागत अनुमान रकमको दुईदेखि तीन प्रतिशत रकमको सीमाभित्र रही निश्चित रकम तोकी बोलपत्र आह्वानको सूचनामा बोलपत्रदाताले बोलपत्रसाथ पेश गर्ने बोलपत्र जमानत रकम उल्लेख गर्नुपर्नेछ।’

नियमअनुसार औषतमा दुई दशमलव पाँच (२.५) प्रतिशत बोलपत्र जमानत रकम (बीड सेक्युरिटी अमाउण्ट)लाई आधार मान्दा करिब ३२ करोड ४० लाख मूल्यपर्ने एमआरआई खरिदका लागि टेण्डर आह्वान भएको देखिन्छ। 

अस्पतालले भने एमआरआई खरिदको लागि ३२ करोडभन्दा कमको सिलिङ तोकेको स्रोत बताउँछ। त्यही बजेटको सीमाभित्र रहेर एमआरआई खरिद गर्नुपर्ने हुन्छ।

‘करिब तीस करोड सम्थिङको स्टिमेट हो। आएको बजेट २५ करोड हो,’ स्रोतले भन्यो, ‘थप पाँच करोड मन्त्रालयले देला। मन्त्रालयले नदिए भरतपुर अस्पताल विकास समितिबाट हाल्ने भन्नेछ।’

टेण्डर आह्वानको सूचनामा माघ ६ गते शुक्रबार ‘प्रि–बिड मिटिङ’ हुने उल्लेख छ। 

त्यसो एमआरआई खरिदका लागि  ‘हिमालय टाइम्स (नेपाली)’ को भित्री पाँचौं पृष्ठमा सूचना प्रकाशित गरेको छ।

भरतपुर अस्पतालका सूचना अधिकारी गोपालप्रसाद पौडेलले किन ठूला राष्ट्रिय दैनिकमा नदिएर हिमालय टाइम्समा दिइयो भन्नेबारे पनि स्पष्ट खुलाउन चाहेनन्। 

एमआरआई खरिदका प्रक्रिया अगाडि बढाउन लागत अनुमान स्वीकृतिका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा अस्पतालले फाइल पठाएको थियो। मन्त्रालय स्रोतकाअनुसार करिब २५ दिनअघि एमआरआई खरिदको लागत अनुमान तथा स्पेशिफिकेशन स्वीकृति गरेर बोलपत्र प्रकाशनको स्वीकृतिका लागि स्वास्थ्य मन्त्रालयमा भरतपुर अस्पतालको फाइल पुगेको थियो। 

केही दिनअघि मात्रै स्वास्थ्य मन्त्रालयले फाइल स्वीकृति गरेपछि अस्पतालले हतार–हतार एमआरआई खरिदका लागि टेण्डर आह्वान गरेको हो।

‘मन्त्रालयबाट पुष १६ गते फाइल फर्किसकेको थियो,’ अस्पताल स्रोतले भन्यो।

सार्वजनिक खरिद नियमावली अनुसार २० करोड भन्दा बढि रकमको लागत अनुमान विभागीय प्रमुखबाट स्वीकृति लिनुपर्नेहुन्छ। यसअर्थ स्वास्थ्य सचिव डा. रोशन पोख्रेलले खरिदका लागि लागत अनुमान स्वीकृति दिएपछि टेण्डर आह्वान भएको देखिन्छ।

भरतपुर अस्पतालका मेडिकल सुपरिटेण्डेन्टलाई पाँच प्रतिशत कमिशन दिनेगरी एक निश्चित कम्पनीको एमआरआईसँग मिल्नेगरी प्राविधिक स्पेशिफिकेशन बनाएर एमआरआई खरिद गर्ने तयारी भएको स्रोतले यसअघि उकेरालाई जानकारी दिएको थियो।

स्रोतले भनेको थियो, ‘एउटा भेण्डरले अस्पताल प्रमुखलाई पाँच प्रतिशत कमिसन दिन्छु भनेको छ र उसैको एमआरआई ३० करोडमा किन्ने गरी लक्ड स्पेशिफिकेशन बनाइएको छ।’

भरतपुर अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट प्रा.डा. कृष्णप्रसाद पौडेलले भने लक्ड स्पेशिफिकेशनको विषयमा सत्यता नभएको दाबी गर्दै आएका छन्। नियमित कार्यक्रमअनुसार नै टेण्डर प्रक्रिया गरिएकाले हतार–हतार र सेटिङमा भएको भन्न नमिल्ने उनले बताए।

‘हतारमा (टेण्डर) गरेको हैन,’ डा. पौडेलले भने।

प्राविधिक समिति गठनदेखि सबै प्रक्रिया पूरा गरेर नै एमआरआईको स्पेशिफिकेशन तयार गरी खरिद प्रक्रिया अगाडि बढाएको डा. पौडेलको दाबी छ।

‘कुनै हालतमा प्राविधिक स्पेशिफिकेशन लक्ड छँदैछैन,’ उनले केही दिनअघि उकेरासँगको कुराकानीमा भनेका थिए्, ‘सबै अन्तर्राष्ट्रिय कम्पनीहरूले टेण्डर प्रस्ताव गर्न मिल्नेगरी र योग्य हुनेगरी नै स्पेशिफिकेशन बनाएका छौं।’

प्राविधिक रूपमा चलेका सबै (फिलिप्स, सिमेन्स जिइजस्ता) कम्पनीका मेसिन छनोट हुन सक्नेगरी स्पेशिफिकेशन बनाएको दाबी गर्दै डा. पौडेलले कम मूल्यमा एमआरआई ल्याइदिने कम्पनीले टेण्डर पाउने बताए।

यस्तो छ स्पेशिफिकेशन
भरतपुर अस्पतालले खरिद गर्न लागेको एमआरआई मेसिनको प्राविधिक स्पेशिफिकेशन लक्ड गरेर सिमेन्स कम्पनीसँग मिल्नेगरी बनाइएको स्रोतको दाबी छ। तर, अस्पतालले भने यसको खण्डन गर्दै आएको छ।

लक्ड गर्ने उदेश्य नै नरहेकाले साना–साना प्राविधिक विषय लक्ड रहेछन् भने समेत संशोधन गर्न सकिने अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट प्रा.डा. पौडेलले बताए।

‘हाम्रो लक्ड गर्ने उदेश्य नै हैन। सानो–सानो कुरामा लक्ड भए प्रि बिडमा खोल्न सकिन्छ,’ डा. पौडेलले भने।

भरतपुर अस्पतालले खरिद गर्न लागेको थ्री टेस्ला एमआरआई मेसिनको प्राविधिक स्पेशिफिकेशनमा कम्तिमा ७० सेन्टिमिटर बोरसाइजको हुनुपर्ने मापदण्ड राखिएकाले नेपालमा सप्लाइ गर्दै आएका चलेको सिमेन्स, फिलिप्स, जिइ जस्ता कम्पनीहरूले टेण्डर हाल्नबाट बन्चित हुनुनपर्ने अस्पतालको दाबी छ।

टेण्डर भएको थ्री टेस्ला एमआरआई मेसिन हाइ इण्डको हुनुपर्ने प्राविधिक स्पेशिफिकेशनमा उल्लेख छ। 

टेण्डर सूचनाका अनुसार खरिद गर्न लागिएको प्राविधिक स्पेशिफिकेशनमा कम्तिमा ७० सेन्टिमिटरको वाइड बोरसाइजको एमआरआई मेसिन हुनुपर्ने उल्लेख छ। प्राविधिक स्पेशिफिकेशनको बुँदा नं. ३ (बी) मा भनिएको छ, ‘म्याग्नेटिक जेन्ट्रि मस्ट बी वाइड बोर ओपनिङ एट लिष्ट ७० सेन्टिमिटर अक्रोश दी टनेल एण्ड सर्ट म्याग्नेट लेन्थ लेस द्यान १८० सेन्टिमिटर।’

त्यसैगरी बुँदा नं. ३ (डी) मा भनिएको छ, ‘दी क्रायोजेन भेषल टु बी अफ हिलियम ओन्ली वीथ एप्रोप्रियट सुपर थर्मल सेल्डिङ एण्ड रेफ्रिजेरेशन फ्यासिलिटी फर मिनिमम हिलियम बोइल्स अफ नट एक्सिडिङ ०.०५ लिटरर्स÷आवर अर सुड ह्याभ जेरो बोइल अफ टेक्नोलोजी।’

मेसिन खरिदका लागि तयार गरेको प्राविधिक स्पेशिफिकेशनमा ५० सेन्टिमिटर×५० सेन्टिमिटर×५० सेन्टिमिटर वा त्यो भन्दा बढि फिल्ड अफ भिउ (एफओभी) हुनुपर्ने उल्लेख छ। प्राविधिक स्पेशिफिकेशनको बुँदा नं. ५ (जी) मा भनिएको छ, ‘दी एफओभी इन एक्स, वाई, एण्ड जेट एक्सिस सुड बी ५०×५०×५० सेन्टिमिटर अर मोर।’

त्यसैगरी अस्पतालमा खरिदका लागि तयारी गरिएको एमआरआईको प्राविधिक स्पेशिफिकेशनमा ६४ वा सो भन्दा माथिको च्यानल हुनुपर्ने मापदण्ड राखिएको छ। प्राविधिक स्पेशिफिकेशनको बुँदा नं. ६ (सी) मा भनिएको छ, ‘इट सुड ह्याभ ६४ अर मोर इन्डिपेन्डेन्ट आरएफ रिसिभर च्यानेल्स सिस्टम।’

प्राविधिक स्पेशिफिकेशनको बुदा नं. ७ को (सी) मा भनिएको छ, ‘डेडिकेटेड सिंगल हेड÷नेक कोइल एटलिष्ट ४८ च्यानेल अर मोर फर हाई रिशोलुशन ब्रेन, ब्राचियल पिक्शल, नर्भ इम्याजिङ, इपिआई÷डिटीआई एप्लिकेशन्स।’

प्राविधिक स्पेशिफिकेशनको बुदा नं. ७ को (एच) मा ‘डेडिकेटेड १६ च्यानल अर मोर ब्रेष्ट बायोप्सि कोइल,’ हुनुपर्ने उल्लेख छ।

२१ पुस, २०७९, १०:५४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।