गण्डकीमा गठबन्धन गर्दा माओवादी फाइदामा, कांग्रेसले मुस्किलले साख जोगायो

गण्डकीमा गठबन्धन गर्दा माओवादी फाइदामा, कांग्रेसले मुस्किलले साख जोगायो

पोखरा : स्थानीय तह निर्वाचनमा गण्डकी प्रदेशमा नेपाली कांग्रेस सबै भन्दा धेरै पालिका प्रमुख जितेर पहिलो पार्टी बनेको छ। गण्डकीका ८५ पालिकामध्ये ८४ को नतिजा सार्वजनिक हुँदा कांग्रेसले ३६ पालिका जितेर पहिलो ठुलो पार्टी बनेको हो। प्रदेशमा मुख्य प्रतिस्पर्धी एमालेले ३५ पालिका जितेको छ।

कांग्रेसको केन्द्रीय राजनीतिमा राम्रो प्रभाव रहेका वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति धनराज गुरुङ,पूर्व उपसभापति गोपालमान श्रेष्ठ, केन्द्रीय सदस्यहरू प्रदीप पौडेल, शङ्कर भण्डारी, गोविन्द भट्टराई, अर्जुन जोशी लगायतको गृह प्रदेश भए पनि गण्डकीमा कांग्रेसले अपेक्षाकृत सफलता भने पाउन सकेन।

२०७४ को स्थानीय तह निर्वाचनमा कांग्रेसले गण्डकीका ८५ मध्ये ४४ पालिका प्रमुख जितेर ठुलो पार्टी बनेको थियो। त्यस बेला एक्लै निर्वाचन जितेको कांग्रेसले अहिले गठबन्धन हुँदा उसको अवस्था बलियो हुनुभन्दा कमजोरै भयो। धन्न एक सिटले पहिलो पार्टी भने बन्यो।

पाँच दलसँग मिलेर कांग्रेस चुनावी प्रतिस्पर्धामा सहभागी भए पनि प्रतिस्पर्धी पार्टी एमालेलाई त्यति धेरे धक्का दिन सकेन। एमालेले पोखरा महानगरपालिकामा नराम्रो धक्का पाए पनि अन्य स्थानीय तहमा भने आफ्नो बलियो उपस्थिति देखाउँदै काङ्ग्रेसभन्दा एक सिट मात्रै कम जित्यो।

तनहुँमा वरिष्ठ नेता पौडेलविरुद्ध काङ्ग्रेसकै शङ्कर भण्डारी, प्रदीप पौडेल, ध्रुव वाग्ले, गोविन्द भट्टराई लगायतको मोर्चाबन्दीका कारण कांग्रेसले महत्त्वपूर्ण पालिका गुमायो। जितेका पालिकामा समेत झिनो मतले कांग्रेसका उम्मेदवार विजयी भएका छन्।

जस्तो तनहुँको ब्यास नगरपालिका र बन्दीपुर गाउँपालिकाको परिणामलाई हेर्न सकिन्छ। जिल्लाकै सदरमुकाम रहेको ब्यास नगरपालिकामा रामचन्द्र निकट वैकुण्ठ न्यौपानेले जम्मा २ सय ६१ मत बढी ल्याएर जिते। त्यसै गरी बन्दीपुरमा पनि माओवादी उमेदवारसंग काङ्ग्रेस-एमालेको गठबन्धनका अध्यक्षमा ६३ र उपाध्यक्षमा २ मतले मात्र विजयी भए।

तनहुँ कांग्रेसका एक थरी नेताहरूले रामचन्द्रविरुद्ध मोर्चा बन्दी गर्दै उनलाई कमजोर बनाउन गोविन्दराज जोशीलाई भित्रीरुपमा सघाएका थिए। त्यसको प्रभाव निर्वाचनमा देखियो नै।

प्रदेशको एक मात्र महानगर पोखरामा मतगणना जारी छ। पोखरा महानगरको प्रमुखमा एकीकृत समाजवादीका धनराज आचार्यले जित्ने करिब निश्चित भइसकेको छ। प्रदेशका अन्य सबै पालिकाहरूको परिणाम सार्वजनिक भइसकेको छ।

कहाँ कसले जिते ?

सार्वजनिक भएको नतिजा अनुसार कांग्रेसले २१ अध्यक्ष र १५ मेयरमा जित हासिल गरेको छ। यसै गरी २० उपाध्यक्ष र १२ उपमेयर जितेको छ। त्यसै गरी अघिल्लो निर्वाचनमा पाँच पालिका मात्र जितेको माओवादी केन्द्रले अहिलेको निर्वाचनमा झन्डै दोहोरो स्थानमा निर्वाचन जित्न सफल भएको छ। माओवादीले गोरखामा नौ, तनहुँमा १ र  बागलुङको ताराखोला गाउँपालिकासहित ११ पालिकामा जित हासिल गरेको छ। जसमा ९ अध्यक्ष र २ मेयर रहेको छ । प्रदेशमा पार्टीले १२ उपाध्यक्ष र ७ उपमेयरमा जित हासिल गरेको छ।

बागलुङको जैमिनी नगरपालिका र बरेङ गाउँपालिकाको प्रमुख राष्ट्रिय जनमोर्चा (राजमो) ले जितेको छ। एमालेले ३५ पालिका जितेको छ। जसमा २७ अध्यक्ष र ८ मेयर रहेका छन्। त्यस्तै २५ उपाध्यक्ष र ८ उपमेयर समेत एमालेले जितेको छ। प्रदेशमा एक महानगर, २६ नगरपालिका र ५८ गाउँपालिका रहेका छन्।

एमालेले अन्नपूर्ण गाउँपालिका, रूपा गाउँपालिकाको प्रमुख, उपप्रमुखमा जित हासिल गरेको छ। त्यस्तै मादी गाउँपालिकाको उपप्रमुख पदमा एमाले उम्मेदवारले जिते।

कांग्रेसले कास्कीको माछापुच्छ्रे गाउँपालिकाको प्रमुख, उपप्रमुख र मादी गाउँपालिकाको प्रमुख पदमा विजयी हासिल गरेको छ। आठ स्थानीय तह रहेको तनहुँमा एमाले ४ स्थानीय तहमा विजयी भएको छ। घिरिङ गाउँपालिका र भीमाद नगरपालिका प्रमुख उपप्रमुख दुवै पदमा एमालेका उम्मेदवार विजयी भए।

बन्दीपुर गाउँपालिका र म्याग्दे गाउँपालिकाको प्रमुख पदमा मात्र एमालेका उम्मेदवार विजयी भएका छन्। कांग्रेसले ब्यास नगरपालिका, भानु नगरपालिका, ऋषिङ गाउँपालिकाको प्रमुख, उपप्रमुख दुवै पद जितेको छ। देवघाट गाउँपालिका र शुक्लागण्डकी नगरपालिकाको प्रमुख पदमा मात्र कांग्रेसले जित हासिल गरेको छ।

म्याग्दे गाउँपालिका र बन्दीपुर गाउँपालिकाको उपप्रमुखमा कांग्रेसका उम्मेदवार विजयी भएका छन्। माओवादी केन्द्रले आँबुखैरेनी गाउँपालिकाको प्रमुख र शुक्लागण्डकी नगरपालिका, देवघाट गाउँपालिकाको उपप्रमुख पद जित्न सफल भएको छ।

स्याङ्जाका ११ स्थानीय तहमध्ये ६ वटामा एमाले र ५ मा कांग्रेसका उम्मेदवार विजयी भएका छन्। आँधीखोला, कालीगण्डकी, फेदीखोला, बिरुवा, हरिनास गाउँपालिकाको प्रमुख, उपप्रमुख र वालिङ नगरपालिकाको प्रमुखमा एमालेका उम्मेदवार विजयी भएका छन्।

अर्जुनचौपारी गाउँपालिका, भीरकोट नगरपालिका, गल्याङ नगरपालिका, चापाकोट नगरपालिका, पुतलीबजार नगरपालिकाको प्रमुख उपप्रमुख र वालिङ नगरपालिकाको उपप्रमुख जित्न कांग्रेस सफल भएको छ।

पर्वतका सात वटा स्थानीय तहमध्ये एमालेले २ वटा प्रमुखसहित ५ उपप्रमुखमा विजयी हासिल गरेको छ। जसमा महाशिला र मोदी गाउँपालिकाको प्रमुख, उपप्रमुखमा जितेको छ। एमालेले विहादी गाउँपालिका, पैयुँ गाउँपालिका, कुश्मा नगरपालिकाको उपप्रमुख जितेको छ।

त्यसै गरी कांग्रेसले विहादी, जलजला, पैयुँ गाउँपालिका, कुश्मा र फलेवास नगरपालिकाको प्रमुखमा जित हासिल गरेको छ। फलेवास नगरपालिका र जलजला गाउँपालिका उपप्रमुखमा माओवादीका उम्मेदवार विजयी भएका छन्।

दस स्थानीय तह रहेको बागलुङमा कांग्रेसले ६ वटामा प्रमुख उपप्रमुख जितेको छ। तमानखोला, बडिगाडको प्रमुख र उपप्रमुख दुवै जित्न कांग्रेस सफल भएको छ। त्यसै गरी बागलुङ नगरपालिका, गलकोट नगरपालिका, काठेखोला र निसीखोला गाउँपालिकाको प्रमुख पदमात्र जितेको छ।

जैमिनी नगरपालिका, ढोरपाटन नगरपालिका, बरेङ र ताराखोला गाउँपालिकामा उपप्रमुख पदमा कांग्रेसका उम्मेदवार विजयी भएका छन्। बागलुङमा एमालेले ढोरपाटन नगरपालिकाको प्रमुख मात्र जितेको छ। त्यस्तै माओवादी केन्द्रले ताराखोला गाउँपालिकाको प्रमुख सहित, निसीखोला गाउँपालिका, गलकोट नगरपालिका, बागलुङ नगरपालिकाको उपप्रमुख जित्न सफल भएको छ।

राष्ट्रिय जनमोर्चाले जैमिनी नगरपालिका र बरेङ गाउँपालिकाको प्रमुख जितेको छ। त्यस्तै काठेखोला गाउँपालिकाको उपप्रमुख पाएको छ।

म्याग्दीका ६ वटा स्थानीय तहमध्ये एमालेले ४ प्रमुख र ३ उपप्रमुखमा जित हासिल गरेको छ। अन्नपूर्ण, मंगला, मालिका गाउँपालिकाको प्रमुख उपप्रमुख दुवै पद एमालेले जितेको छ। बेनी नगरपालिकाको प्रमुख पदमा एमालेका उम्मेदवार विजयी भएका छन्।

कांग्रेसले रघुगंगा गाउँपालिकाको प्रमुख, उपप्रमुखमा विजयी भएका छ भने धवलागिरि गाउँपालिकाको प्रमुख पद मात्र जितेको छ। माओवादीले धवलागिरि गाउँपालिका र बेनी नगरपालिकाको उपप्रमुख जित्न सफल भएको छ।

अघिल्लो निर्वाचनमा म्याग्दीमा पहिलो पार्टी बनेको कांग्रेस अहिले दोस्रो दल बन्न बाध्य भएको छ। ०७४ को चुनावमा अन्नपूर्ण गाउँपालिका, बेनी नगरपालिका, मालिका र रघुगंगा गाउँपालिका कांग्रेसले जितेको थियो। तर, अहिले कांग्रेसले बेनी नगरपालिका, अन्नपूर्ण र मालिका गाउँपालिका पनि गुमाएको छ।

कांग्रेसले गत निर्वाचनमा एमालेले जितेका धवलागिरिमा चुनाव जितेको छ। नवलपुरका आठ स्थानीय तहमध्ये एमालेले ६ स्थानमा जितेको छ। एमाले कावासोती नगरपालिका, देवचुली नगरपालिका, मध्यविन्दु नगरपालिका, बौदीकाली गाउँपालिका, विनयी गाउँपालिकाको प्रमुख, उपप्रमुख र बुलिङटार गाउँपालिकाको प्रमुखमा जित निकाल्न सफल भएको छ।

कांग्रेसले नवलपुरमा २ प्रमुख र ३ उपप्रमुख पदमा जित हासिल गरेको छ। हुप्सेकोट गाउँपालिका, गैंडाकोट नगरपालिकाको प्रमुख उपप्रमुख दुवै र बुलिङटार गाउँपालिकाको उपप्रमुख पद जित्न सफल भएको छ।

आठ वटा स्थानीय तह रहेको लमजुङमा कांग्रेसले ४ र एमालेले ४ स्थानमा जित हासिल गरेका छन्। कांग्रेसले राइनास नगरपालिका, मध्य नेपाल नगरपालिका, दूधपोखरी गाउँपालिका र सुन्दरबजार नगरपालिकाको प्रमुख र दोर्दी गाउँपालिकाको उपप्रमुखमा जित हासिल गरेको छ।

त्यसै गरी एमालेले बेसीसहर नगरपालिका, क्व्होंलासोथार गाउँपालिका, मस्र्याङदी गाउँपालिकाका प्रमुख उपप्रमुख र दोर्दी गाउँपालिकाको प्रमुख पदमा जित हासिल गरेको छ।

सुन्दरबजार नगरपालिका र मध्य नेपाल नगरपालिकाको उपप्रमुखमा एमालेका उम्मेदवार विजयी भएका छन्।  पाँच वटा स्थानीय तह रहेको मुस्ताङमा एमालेले ४ वटामा जित हासिल गरेको छ। लो–घेकर दामोदरकुण्ड, लोमन्थाङ, वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको प्रमुख, उपप्रमुखमा एमालेका उम्मेदवार विजयी भएका छन्। थासाङ गाउँपालिकामा भने प्रमुखमा एमालेले जितेको छ।

कांग्रेसले घरपझोङ गाउँपालिकाको प्रमुख, उपप्रमुख र थासाङ गाउँपालिकाको उपप्रमुख जित्न सफल भएको छ। कांग्रेस मुस्ताङमा अघिल्लो निर्वाचनमा तीन वटा पालिकामा जित्न सफल भएको थियो।

गत निर्वाचनमा जितेका लोमानथाङ गाउँपालिका, बारागुङ मुक्तिक्षेत्र र थासाङ गाउँपालिका अहिले भने कांग्रेसले गुमाएको छ। गत निर्वाचनमा एमालेले जितेको घरपझोङ गाउँपालिका जितेर कांग्रेसले मुस्ताङमा साख जोगाएको छ ।

मनाङका ४ स्थानीय तह मध्ये एमाले र कांग्रेसले २-२ वटामा जितेका छन्। चामे र मनाङ ङिस्याङ गाउँपालिकाको प्रमुख एमालेले जितेको छ। त्यस्तै नार्पाभूमिको उपप्रमुखमा पनि एमालेले जितेको छ। कांग्रेसले नासोँ गाउँपालिका र नार्पाभूमि गाउँपालिकाको प्रमुख जितेको छ। चामे गाउँपालिकाको उपप्रमुखमा कांग्रेसका उम्मेदवार विजयी भएका छन्।

नासोँ गाउँपालिका उपप्रमुख माओवादी र मनाङ डिस्याङ गाउँपालिका उपप्रमुखमा स्वतन्त्र उम्मेदवार विजयी भएका छन्।

९ जेठ, २०७९, १८:२६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।