विराटनगर महानगरको पाँच वर्ष : घोषणामै सीमित घोषणापत्र 

विराटनगर महानगरको पाँच वर्ष : घोषणामै सीमित घोषणापत्र 

इटहरी : स्थानीय तह निर्वाचनको मिति घोषणा भएसँगै प्रदेश १ को राजधानी विराटनगर महानगरपालिकाका जनप्रतिनिधिको पाँच वर्षे कार्यकाल पनि पूरा भएको छ। जाँदाजाँदै महानगरका जनप्रतिनिधिको कार्यकालको समीक्षा समेत सुरु भएको छ।

१९ वडा रहेको विराटनगर महानगरमा नेपाली कांग्रेसले ७ वडा सहित मेयर र उपमेयर पदमा विजय हासिल गरेको थियो।  

कांग्रेसको तर्फबाट मेयरका उम्मेदवार भीम पराजुली र उपमेयरमा इन्दिरा थापा विजयी भएका थिए। मेयरमा पराजुलीले २३ हजार ३१ मत प्राप्त गर्दा एमालेका विनोद ढकालले १७ हजार ३ सय २१ र संघीय समाजवादी फोरमका उमेश यादवले १४ हजार ९ सय ५८ मत ल्याएका थिए।

उपमेयरमा कार्कीले २० हजार १ सय ४६ मत ल्याउँदा निकटतम प्रतिद्वन्द्वी नमिता न्यौपानेले ११ हजार ५ सय २४ र लोकतान्त्रिक फोरमकी सूची चौधरीले १० हजार ५ सय ३६ मत प्राप्त गरेका थिए। 

क्षेत्राधिकार बाहिरको घोषणापत्र 
‘कांग्रेसकै नेतृत्वमा शान्ति र संविधान कांग्रेसकै नेतृत्वमा समृद्धिको अभियान’ नारा लिएर चुनावमा होमिएका उनीहरुले ४० बुँदे घोषणापत्र सार्वजनिक गरेका थिए। आफ्नो कार्यक्षेत्र बाहिरका विषयलाई पनि घोषणापत्रमा समावेश गरिएको थियो। 

प्रदेश संसदको क्षेत्राधिकारभित्र रहेको प्रदेश राजधानी बनाउने मुद्दा पहिलो बुँदामा समावेश गरियो। विराटनगरलाई प्रादेशिक राजधानी बनाउन दृढ पहल गर्ने मेयर–उपमेयरको घोषणापत्रमा उल्लेख गरिएको थियो। क्षेत्राधिकार बाहिर गएर विराटनगर विमानस्थललाई अन्तर्राष्ट्रिय मापदण्डअनुसार स्तरोन्नति गर्ने बाचा समेत गरिएको थियो।

त्यसबाहेक नेपाल आयल निगम विराटनगरको भण्डारण क्षमता बढाउने कार्य यथाशीघ्र सुरु गर्ने घोषणा पनि क्षेत्राधिकार बाहिर नै थियो। विराटनगर जुट मिललाई पुनःसञ्चालनमा ल्याउने भनेका जनप्रतिनिधिले २५ वर्षदेखि तलब नपाएका कामदारका विषयमा आवाज समेत उठाउन सकेको छैन। 

अलपत्र घोषणापत्र
मेयर पराजुली र उपमेयर कार्कीले तयार पारेको घोषणापत्रका योजना अलपत्र अवस्थामा छन्। जोगवनी–किमाथाङ्का सडक निर्माणलाई युद्धस्तरमा लैजाने गरी पहल गर्ने भनिए पनि सडक विस्तारमा विराटनगर महानगरभित्र समस्या सिर्जना भएको थियो। रिङरोड निर्माण कार्यलाई प्राथमिकतामा राखेर दातृ निकायहरुसँग सम्झौता गरी विराटनगरलाई अत्याधुनिक समृद्ध सहर बनाउने कार्य अझै अलपत्र अवस्थामा छ। 

अन्तर्राष्ट्रिय महानगरहरुसँग भगिनी सम्बन्ध कायम गर्नेदेखि ‘ताररहित विराटनगर’ र ‘बन्द–हड्ताल रहित महानगर’ का प्रतिबद्धता अझै पूरा भएका छैनन्। 

औद्योगिक नगरीको रुपमा परिचित विराटनगरमा दुई वर्षभित्र सुविधा सम्पन्न प्रदर्शनीस्थल निर्माण गर्ने भनिए पनि काम हुन सकेन। सडक, बिजुली, पानी, ढल निकास आदिको व्यवस्थापन गरी धुलो, हिलो, डुवानमुक्त सुन्दर सहर बनाउने महत्वकांक्षा अझै पूरा हुन सकेको छैन।

उद्योग, यातायात तथा अन्य जोखिमपूर्ण क्षेत्रमा काम गर्ने श्रमजीवीहरुलाई लक्षित गरी जीवन बिमा कार्यक्रम ल्याउने कांग्रेसले घोषणापत्रमा सार्वजनिक गरेको थियो। 

दुई वर्षभित्र विपत व्यवस्थापन केन्द्र, हाटखोला र परोपकार घाटमा विद्युतीय शवदाह गृह निर्माण, घर-घरमा रोजगारी पुर्याउनेदेखि विपन्न वर्ग तथा शैक्षिक बेरोजगारको लागि स्वरोजगार कार्यक्रम ल्याउने घोषणापत्रमा उल्लेख गरिएको छ। रिक्सा, ठेला, इ-रिक्सा तथा टेम्पो चालकहरुका लागि सहुलियतपूर्ण ऋण र बिमाको व्यवस्था गर्ने घोषणा कागजमै सीमित रहेको छ। 

पर्यटन हबको रुपमा विकास गर्ने र महानगरको प्राकृतिक सौन्दर्य बढाउने विषय ओझेलमा परेको छ। सुविधा सम्पन्न पशु वधशाला निर्माण गर्नेदेखि प्रविधिमैत्री फोहोर-मैला व्यवस्थापन केन्द्र बनाउने घोषणा अझै कार्यान्यन भएको छैन।

महानगरले गर्नै नसक्ने ‘जेष्ठ नागरिक तथा एकल महिलाले पाउँदै आएको सामाजिक सुरक्षा भत्ता समयानुकुल वृद्धि गर्ने’ कुरा घोषणापत्रमा उल्लेख गरिएको छ। दोहोरो करको विषयमा अझै मौन रहेको छ महानगरपालिका। 

धेरै काम भएको मेयरको दावी
विराटनगर महानगरपालिकाका मेयर पराजुली भने पाँच वर्षमा धेरै काम भएको दावी गर्छन्। यस अवधिमा आधुनिक तथा सुविधासम्पन्न वडा कार्यालयहरु निर्माण गरिएको उनको भनाइ छ। मदरसा, गुरुकुल तथा सामुदायिक विद्यालयहरुको भौतिक, प्राविधिक तथा शैक्षिक स्तरोन्नति गरिएको पराजुलीले बताए।

अंग्रेजी माध्यमबाट कक्षा सञ्चालन गर्ने वातावरण निर्माण गरिएको, पोखरिया माध्यमिक र आदर्श माध्यमिक विद्यालयमा अपाङ्गमैत्री भवनसहित समावेशी शिक्षा कक्षा सञ्चालन गरिएको उनको दावी छ। महानगर बहुप्राविधिक शिक्षा सञ्चालन गरिएको उनको भनाइ छ।

नेपालमा सर्वप्रथम रेडियो (प्रजातान्त्रिक रेडियो) सञ्चालनमा ल्याउन तारणिप्रसाद कोइराला स्मृतिमा सञ्चारग्राम निर्माण भएको छ। त्यस्तै साहित्यिक क्षेत्रमा योगदान पुग्ने गरी आरोहण गुरुकुल थिएटरको निर्माण गरिएको मेयर पराजुलीले बताए।

महानगर आवास कार्यक्रमअन्तर्गत ३२ सुकुम्बासीहरुका लागि आवास निर्माण सम्पन्न भई हस्तान्तरण भइसकेको उनको भनाइ छ। घरदैलोमै कोभिडको स्वाब संकलन, अक्सिजन सिलिण्डरको उपलब्धता तथा राहत कार्यक्रमलाई उनले उपलब्धिको रुपमा राखेका छन्।

पराजित उम्मेदवार असन्तुष्ट
विराटनगर महानगरपालिकाका मेयरका पराजित उम्मेदवार विनोद ढकाल भने जनता ढाँट्ने काम मात्र भएको आरोप लगाउँछन्। पाँच वर्षभित्र स्वतः भएका विकासलाई महानगरको उपलब्धिको रुपमा हेर्न नहुने उनको भनाइ छ। 

महानगरपालिकाले चाहेको खण्डमा धेरै काम गर्न सकिने तर जनप्रतिनिधि व्यक्तिगत स्वार्थमा लिप्त भएको कारण खास उपलब्धि नभएको उनको गुनासो छ। पाँच वर्षमा जागिर खाने काममात्र भएको उनले सुनाए। 

‘म मेयर भएको भए नगरभित्र जनताले महसुस गर्नसक्ने रोजगारी वृद्धि र स्वच्छ र सुन्दर महानगर बनाउने अभियानमा लाग्ने थिएँ,’ उनले भने।

८ चैत, २०७८, ०७:१५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।