सुदूरपश्चिममा वर्षाको प्रकोप: १४ जनाको मृत्यु, एकै घरका १८ जना बेपत्ता 

सुदूरपश्चिममा वर्षाको प्रकोप: १४ जनाको मृत्यु, एकै घरका १८ जना बेपत्ता 

डोटी 
वर्षाका कारण डोटीमा घर भत्किँदा ९ जनाको मृत्यु भएको छ। सोमबार राति सायल गाउँपालिका–६ मेल्लेखका वीरबहादुर कुन्जेडाको घर भत्किँदा च्यापिएर २ जना मृत्यु भएको प्रहरीले जनाएको छ। मृत्यु हुनेहरूमा वीरबहादुर कुन्जेडाका १४ वर्षीय छोरा सागर र ११ वर्षीय आशिष कुन्जेडा रहेका छन्। 

यस्तै जोरायलमा पहिरो जाँदा ६ र शिखरमा एक जनाको मृत्यु भएको छ। घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ। 

बैतडी
बैतडीको शिवनाथ गाउँपालिकामा पहिराले घर बगाउँदा तीन जनाको मृत्यु भएको छ। प्रहरीका अनुसार वडा नम्बर ६ बसेडीका रामी पार्कीको घर पहिरोले बगाउँदा १८ वर्षीया पवित्रा पार्की, २४ वर्षीया भानु पार्की र ३ वर्षीय सोम पार्कीको ज्यान गएको छ। 

डडेलधुरा
डडेलधुरामा पनि घरमाथिबाट आएको पहिरोमा पुरिएर एक जनाको मृत्यु भएको छ। गन्यापधुरा गाउँपालिका–१ भात्काडाका ३२ वर्षीय विष्णु अवस्थीको ज्यान गएको हो। 

डडेलधुरामै खोलाले बगाउँदा गन्यापधुरा गाउँपालिका–३ बस्ने अन्दाजी ६५ वर्षीय नर्मदादेवी शाहीको मृत्यु भएको छ। घर नजिकै रहेको खोलाबाट पाइपमा खानेपानी फर्काउने बेलामा माथिबाट आएको पहिरोसहितको भेलले बगाउँदा उनको मृत्यु भएको प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक विक्रम चन्दले जानकारी दिए। 

बेपत्ता २६ जना अझै भेटिएनन्
प्रदेश प्रहरी कार्यालयका अनुसार बाढी पहिरोमा परी पछिल्लो २४ घण्टामा २६ जना बेपत्ता भएका छन्। मङ्गलबार बिहान ४ बजे बझाङको थलारा गाउँपालिका वडा नम्बर ४ डिख्लामा पहिरो जाँदा २३ जना बेपत्ता थिए। यता कैलालीमा पनि दिउँसो तीन जना बेपत्ता भएका थिए। 

प्रदेश प्रहरी कार्यालयका वरिष्ठ उपरीक्षक चन्दका अनुसार बझाङमा आएको पहिरोमा दुई घरका गरेर २३ जना बेपत्ता भएका हुन्। ‘एक घरका १८ जना र अर्को घरका ५ जना गरी अहिले सम्म २३ जना बेपत्ता भएको जानकारी प्राप्त भएको छ', प्रहरी वरिष्ठ उपरीक्षक चन्दले भने, ‘गाउँभन्दा माथि ढोगदिना भन्ने ठाउँबाट पहिरो आउँदा ७ घर पुरिएका छन्, अरूले भागेर ज्यान जोगाएछन्, पहिरोका कारण विस्थापितहरूलाई विद्यालयमा राखिएको छ।’

यता कर्णालीमा माछा मार्न गएका तीन जना बेपत्ता भएका छन्। माछा मार्ने क्रममा नदीको बहावले बगाउँदा लम्किचुहा नगरपालिका वडा नम्बर ३ का ६१ वर्षीय खडक बहादुर घर्तिमगर, ३५ वर्षीय विक्रम घर्तिमगर र २६ वर्षीय खडक रानामगर बेपत्ता भएका छन्। 
बेपत्ता सबैको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।

५ जनाको सकुशल उद्धार, ६० जना पर्खाइमा 
सुदूरपश्चिमका विभिन्न नदीमा आएको बाढी पहिरोका कारण अप्ठ्यारोमा परेका मध्ये ५ जनाको सकुशल उद्धार गरिएको छ। 
कञ्चनपुरको महाकाली नदीमा फसेका पाँच जनाको हेलिकप्टर मार्फत उद्धार गरिएको हो। 

भीमदत्त नगरपालिका–९ खल्ला मसेट्टीमा महाकालीको बाढीमा सोमबार रातिदेखि फसेका मसेट्टीका ४५ बर्सिया दीर्घमती खड्का, ३५ वर्षीय पुष्कर नायक, ३२ वर्षीया शान्ति नायक, ९ वर्षीय अशोक नायक र पाँच वर्षीय अजय नायक टापुबाट रुखमा चढेको अवस्थामा सकुशल उद्धार गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) सिद्धराज न्यौपानेले जानकारी दिए।

कुखुराको फार्म कुर्न गएका बेला उनीहरू महाकालीको बाढीमा फसेका थिए।

तर सेती नदीको बाढीमा फसेका ६० जनाको भने अझै उद्धार हुन सकेका छैन। बैतडीको सिगास गाउँपालिका वडा नम्बर ५ को ढुङ्गाडमा सेती नदीको छेउकै बस्तीमा बस्दै आएका १० परिवारका ६० जना फसेको छन्। 

हेलिकोप्टरबाट उद्धारको प्रयास भए पनि सफल हुन सकेको छैन। ढुङ्गाडस्थित सेती नदीको किनारमा करिब एक सय २० परिवार बस्दै आएका छन्। 

उनीहरूमध्ये अधिकांश बाढीको जोखिम हुने भन्दै सोमबार राति नै सुरक्षित स्थानमा सरेका थिए। ‘नदीमा फसेकाहरूको उद्धार हुन सकेको छैन, प्रभावित क्षेत्रमा नेटवर्कले काम नगर्दा उनीहरूको अवस्था बुझ्न गाह्रो भएको छ', गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख घनश्याम बोहराले भने, ‘म काम विशेषले कञ्चनपुरमा छु, अहिलेसम्म उद्धार हुन सकेको छैन भन्ने सुनेको थिएँ, अहिलेसम्म कसैलाई फोन लागेका छैन।’

उकेराले उद्धारको पर्खाइमा रहेकाहरूको अवस्था बुझ्ने प्रयास गरे पनि प्रहरी तथा जनप्रतिनिधीहरूसँग फोन सम्पर्क हुन सकेको छैन।

तराईमा बाढी, जनजीवन कष्टकर 
निरन्तरको वर्षाले महाकाली र कर्णाली नदीमा पानीको बहाव बढे पछि कैलाली र कञ्चनपुरमा बाढी आएको छ। 

कर्णाली नदीको बाढी गाउँ पसेपछि दर्जनौँ घर डुबानमा परेका छन्। कर्णाली नदीमा आएको बाढीले जानकी गाउँपालिका-९ पूर्वी खैरीफाँटास्थित रानीजमरा कुलरिया सिँचाई आयोजनाले निर्माण गरेको नहरमाथिको स्ल्याब भत्काएपछि बाढी बस्तीमा पसेको हो। 
पुलको पूर्वतिरको स्ल्याब भत्किएर नदी बस्तीमा पसेको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए। 

नदीको पानी नजिकै रहेको बस्तीमा पसेर ५० बढी घर डुबाएको उनले बताए। 

यता महाकाली नदीको जलस्तर अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको छ। महाकालीको जलस्तर ५ लाख ४७ हजार २ सय ३७ क्युसेक पुगेको हो। 

कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा नौ सयभन्दा बढी घर डुबानमा परेका छन्। डोटीको सेती नदीमाथिको पक्की पुल पनि जोखिममा परेको छ।

३ कात्तिक, २०७८, ०७:४९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।