सेयर बजारमा चलखेल गरेको पुष्टि भए  चन्द्रागिरि सहितका ५१ कम्पनीलाई के हुन्छ कारबाही ?

सेयर बजारमा चलखेल गरेको पुष्टि भए  चन्द्रागिरि सहितका ५१ कम्पनीलाई के हुन्छ कारबाही ?

काठमाडौँ : सामान्य राजनीतिक घटनाक्रमले पनि नकारात्मक प्रभाव पार्ने नेपालको सेयर बजारमा पछिल्लो समय न सामाजिक न आर्थिक न राजनीतिक घटनाक्रमको नै प्रभाव परेको छ। देशमा जे सुकै होस् सेयर बजार बढेको बढ्यै। मङ्गलवार बजार ३०२२ मा झरेर बन्द भयो। उकालिएको नेप्सेबारे अनेक कोणबाट विश्लेषण भयो। कतिले यसलाई नेपालको सेयर बजार परिपक्व हुँदै गएको कोणबाट विश्लेषण गरे।

कतिले अनलाइनमार्फत सहजै सेयर कारोबार गर्न सक्ने सुविधाका कारण सामान्य लगानीकर्ताहरू समेत सेयर बजारसँग जोडिएको दाबी गरे त कतिले अनलाइनमार्फत सेयर कारोबार गर्न सकिने व्यवस्थाका कारण गैर आवासीय नेपालीहरूको लगानी सेयर बजारमा आएको दाबी गरे।

तर आशङ्का टन्नै थिए। कुनै नाफा नै नदिएको, वित्तीय विवरण पारदर्शी नभएको अनि आशालाग्दो कुनै कारणै नभएका कम्पनीहरूको सेयर समेत छक्क पर्ने गरी बढिरहे पनि सेयर बजारका जानकारहरूले चलखेलको आशङ्का गरेका थिए। तर उनीहरूको चलखेलले सेयर बजार उकालिने क्रममा ब्रेक लगाउन सकेन।

मङ्गलवार नेपाल धितो पत्र बोर्डले विज्ञप्ति जारी गरेर बजारमा चलखेल भएको भन्दै ५१ वटा कम्पनीको सूची सार्वजनिक गर्दै यी कम्पनीको सेयर किन्दा होस् गर्न सर्वसाधारणलाई सचेत गराएपछि सेयर बजार प्राकृतिक रूपमै नबढेको मत बलियो देखियो।

सेयर बजारमा कानुन विपरीत ‘भित्री कारोबार’,  तर छैन कारबाही

शङ्कास्पद कारोबारका सूचीमा पर्नेमा सेयर सूचीकृत भए लगत्तै छक्क पार्ने गरी मूल्य आकासिएको चन्द्रागिरि हिल्स समेत छ जसका लगानीकर्तामध्येका हुन् नेपाल उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकाल। उनी संलग्न बैङ्क भने चलखेलको सूचीमा छैन।

यसै गरी, महिला लघुवित्त, सिभम् सिमेन्ट, हिमालयन डिस्टिलरी लिमिटेड, राष्ट्रिय बिमा कम्पनी लिमिटेड लगायतका छन्। बोर्डले यी कम्पनीले सेयर मूल्यमा अस्वाभाविक रूपमा चलखेल हुने गरी इन्साइडर ट्रेडिङ, सर्कुलर कारोबार, कर्नरिङ लगायतका आपराधिक काम गरेको आशङ्का गरेको छ।

बोर्डले यस विषयमा अध्ययन गर्न समिति नै गठन गरेको थियो। त्यही समितिले ५१ कम्पनीको मूल्यमा अस्वाभाविक चलखेल गरी मूल्य घटबढ भएको प्रारम्भिक रिपोर्टमा निकालेको हो। मङ्गलवार बोर्डले सार्वजनिक गरेको यस विवरणमा देखिएका कम्पनीहरूले विभिन्न माध्यमबाट मूल्यमा अस्वाभाविक वृद्धि गराएको देखिने बोर्डको रिपोर्टमा उल्लेख छ। 

चन्द्रागिरि हिल्सको वित्तीय अवस्था कमजोर हुँदा पनि मूल्य अस्वाभाविक रूपमा बढ्नुको पछाडि आन्तरिक चलखेल भएको हुनसक्ने बोर्डको रिपोर्टमा देखिएको छ। वित्तीय अवस्थामा प्रतिसेयर आम्दानी ११ रुपैयाँ ७९ पैसा ऋणात्मक रहेको हिल्सको प्रति सेयर मूल्य १ सय ४३ रुपैयाँ ५७ पैसा ऋणात्मक छ। 

चन्द्रागिरि सहित ५१ कम्पनीको सेयर मूल्यमा चलखेल भएको धितो पत्र बोर्डको ठहर

महिला लघुवित्तको सन्दर्भमा पनि बोर्डले यस्तै अस्वाभाविक रूपमा मूल्यवृद्धि भएको रिपोर्टमा उल्लेख गरेको छ। यस कम्पनीको सेयरको मूल्य जेठ २१ गते ५ हजार ५० रुपैयाँसम्म पुगेको थियो। हाल कम्पनीको प्रतिसेयर आम्दानी ७५ रुपैयाँ ६६ पैसा र प्रतिसेयर नेटवर्क २ सय ९१ रुपैयाँ ८४ पैसा रहेको छ।

धितो पत्र बोर्डले आन्तरिक चलखेलका कारण मूल्य वृद्धि भएको सूचि सार्वजनिक गरेकै दिन पनि लघुवित्तको २ करोड ५३ लाख १२ हजार ६९७ रुपैयाँ बराबरको कारोबार भएको छ भने ४ हजार ९ सय ९४ कित्ता सेयर खरिद तथा बिक्री भएको छ। 

बोर्डबाट गरिएको अध्ययन र अनुगमनका क्रममा सूचिकृत कम्पनीहरूले समयमा सूचना जानकारी प्रवाह नगराएकोमा त्यस्ता कम्पनीहरूको कारोबार स्थगन हुने व्यवस्था रहेको समेत जनाएको छ। 

विगतको एक वर्ष अवधिमा सूचिकृत सङ्गठित संस्थाहरूको मूल्य वृद्धि ३०० प्रतिशत र सोभन्दा बढी प्रतिशतले वृद्धि भएका, मूल्य आम्दानी अनुपात एक सय र सोभन्दा बढी भएका, प्रति शेयर आम्दानी ऋणात्मक भएका, प्रति शेयर अङ्कित मूल्यभन्दा प्रति शेयर नेटवर्क कम भएका, कम्पनीको वर्तमान वित्तीय क्षमताको मूल्याङ्कन समेतका आधारमा हाल जोखिमयुक्त देखिएका ५१ वटा सूचिकृत सङ्गठित संस्थाहरू छनौट गरी बोर्डबाट प्रारम्भिक अध्ययन गरिएको हो। 

उक्त सूचिकृत सङ्गठित संस्थाहरूको कारोबारमा भित्री कारोबार, सर्कुलर कारोबार, कर्नरिङ लगायतका धितो पत्र सम्बन्धी कसुरका सम्बन्धमा समेत विस्तृत अध्ययन कार्य अगाडि बढाइएको बोर्डले विज्ञप्ति नै सार्वजनिक गरेर भनेको छ।

बोर्डका अनुसार उक्त कम्पनीहरूको कारोबारमा भित्री कारोबार, सर्कुलर कारोबार, कर्नरिङ लगायतका धितो पत्र सम्बन्धी कसुरका सम्बन्धमा अध्ययन सुरु भइसकेको छ।

आरोप पुष्टि भएमा यस्तो छ सजाय

स्थापनाकालदेखि हालसम्म चुपचाप बसेको बोर्डले पहिलो पटक सेयर मूल्यमा चलखेल भइरहेको बारे सार्वजनिक रूपमा अनुसन्धान सुरु गरेको छ। यसै क्रममा मङ्गलवार ५१ कम्पनीको नाम भित्री कारोबारदेखि सेयर कर्नरिङसम्मका विभिन्न आरोप सहित सार्वजनिक गरेको छ ।

यी हुन् सेयरमा चलखेल भएको २० वटा जलविद्युत कम्पनी

धितो पत्र बोर्डले सार्वजनिक गरेको सूचिमा रहेका कम्पनीहरूले समयमा नै सबै किसिमका सूचना उपलब्ध गराई बोर्डलाई थप अनुसन्धानका लागि सहज स्थिति सिर्जना गर्नुपर्ने हुन्छ।

बोर्डले सार्वजनिक गरेको सूचिमा रहेका कम्पनीहरूले आशङ्का अनुरूप सेयर मूल्यमा कुनै चलखेल गरी अस्वाभाविक रूपमा मूल्यवृद्धि गरेको पाइएमा धितो पत्र सम्बन्धी ऐन २०६३ अनुसार कारबाही हुने व्यवस्था छ। 

ऐनको परिच्छेद ९ मा रहेको भित्री कारोबार र धितो पत्र कारोबार सम्बन्धी कसुर तथा दण्ड सजाय अन्तर्गत रहेको सजाय व्यवस्था अनुसार कम्पनी तथा व्यक्तिmले सजाय भोग्नुपर्छ । 

उक्त ऐन अनुसार भित्री कारोबार (इन्साइडर ट्रेडिङ) गर्नेलाई भित्री कारोबार गरेको ठहरेमा बिगो बमोजिम जरिवाना वा एक वर्षसम्म कैद वा दुवै सजाय हुनेछ ।

झुटो कारोबार गरेमा, मूल्य उतार चढाव गरेमा र धितो पत्र बजारलाई प्रभाव पारेमा  ५० हजार रुपैयाँदेखि एक लाख पचास हजार रुपैयाँसम्म जरिवाना वा एक वर्षसम्म कैद वा दुवै सजाय हुनेछ। 

त्यस्तो काम कारबाहीबाट कसैलाई हानि नोक्सानी पर्न गएको रहेछ भने त्यस्तो हानि नोक्सानी समेत भराई दिनु पर्ने व्यवस्था ऐनमा छ।

चार फाइनान्सको सेयर किन्नु जोखिम

झुक्काउने विवरण दिने, जालसाजीयुक्त कारोबार गर्ने, र लिखत, विवरण वा अभिलेख नष्ट गरेमा वा लुकाएमा एक लाख रुपैयाँदेखि तीन लाख रुपैयाँसम्म जरिवाना वा दुई वर्षसम्म कैद वा दुवै सजाय हुनेछ र त्यस्तो कारोबारबाट कसैलाई हानि नोक्सानी भएको रहेछ भने त्यस्तो हानि नोक्सानी समेत भराई दिनु पर्ने व्यवस्था रहेको छ।

कसैले जानीजानी वा बदनियत साथ यो ऐन वा यस ऐन अन्तर्गत बनेका नियम वा विनियम बमोजिम राख्नु, बनाउनु, तयार गर्नु वा पेस गर्नु पर्ने हिसाब किताब, खाता, विवरण, प्रतिवेदन, सूचना, जानकारी वा यस्तै अन्य कुनै कागजात सो राख्नु, बनाउनु, तयार गर्नु वा पेस गर्नु पर्ने समयमा पेस नगरेमा, नराखेमा वा नबनाएमा वा तयार नगरेमा वा झुट्टा विवरण वा कागजात बनाएमा वा राखेमा, तयार गरेमा त्यस्तो गर्नेलाई बोर्डले पचास हजार रुपैयाँदेखि दुई लाख रुपैयाँसम्म जरिबाना गर्न सक्नेछ।

चन्द्रागिरि हिल्स र सोल्टीको सेयरमा चलखेल, दोस्रो बजारमा किन्नु उच्च जोखिम

कसैले जानीजानी यो ऐन वा यस ऐन अन्तर्गत बनेका नियम वा विनियम वा यस ऐन अन्तर्गत जारी गरिएको आदेश वा निर्देशनको विपरीत काम गरी कुनै सङ्गठित संस्था, धितो पत्र बजार, धितो पत्र व्यवसायी वा लगानीकर्तालाई हानि नोक्सानी गरे गराएमा बोर्डले त्यस्तो व्यक्तिलाई पचास हजार रुपैयाँदेखि एक लाख पचास हजार रुपैयाँसम्म जरिबाना गर्न सक्ने उल्लेख छ।

त्यस्तो काम कारबाहीबाट कसैलाई कुनै हानि नोक्सानी पुग्न गएको भए सो बापत बोर्डले वास्तविक हानि नोक्सानीको क्षतिपूर्ति समेत भर्पाईं गर्न लगाउन सक्छ। 

१ असार, २०७८, २०:२२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।