यी हुन् सेयरमा चलखेल भएको २० वटा जलविद्युत कम्पनी

यी हुन् सेयरमा चलखेल भएको २० वटा जलविद्युत कम्पनी

काठमाडौँ : धितो पत्र बोर्डले सेयरमा चलखेल भएको भन्दै छानबिन सुरु गरेको ५१ वटा कम्पनीमध्ये २० वटा कम्पनी जलविद्युत् उपसमूहका छन्। नेपाल स्टक एक्सचेन्जमा जलविद्युत् उपसमूहमा ४० कम्पनी सूचीकृत भएकोमा तीमध्ये २० वटाको सेयर कारोबार छानबिनमा परेको छ।

बोर्डले जारी गरेको विज्ञप्ति अनुसार माथिल्लो तामाकोसी, रसुवागढी र साञ्जेन जलविद्युत् कम्पनीको सेयर मूल्यमा चलखेल भएको छ। यसै गरी अरुण भ्याली हाइड्रोपावर, आँखु खोला जलविद्युत् कम्पनी,  वरुण हाइड्रोपावर, छ्याङदी हाइड्रोपावर, खानी खोला हाइड्रोपावर, लिवर्टी इनर्जी, माउन्टेन इनर्जी, माउन्टेन हाइड्रो, दिव्यश्वरी हाइड्रोपावर, हिमालयन ऊर्जा विकास कम्पनी,  पञ्चकन्या माई हाइड्रोपावर, राधी विद्युत् कम्पनी, रैराङ हाइड्रोपावर, रसुवागढी हाइड्रोपावर, रिडी हाइड्रोपावर, साञ्जेन जलविद्युत् कम्पनी, युनिभर्सल पावर कम्पनी, माथिल्लो तामाकोसी सिनर्जी पावर र युनियन हाइड्रोपावरको सेयरमा चलखेल भएको देखिएको हो।

विज्ञप्तिमा उल्लेख भए अनुसार २०७७ वैशाखमा माथिल्लो तामाकोसी सेयर २ सय २१ थियो। जेठ मसान्तमा ७ सय ८४ पुग्यो।

२०७७ वैशाख ३० गते नेप्से परिसूचक १२२१.३१ मा रहँदा आँखु खोला जलविद्युत् कम्पनीको सेयर मूल्य ५२ रुपैयाँ थियो। २०७८ जेठ ३१ मा कम्पनीको सेयर मूल्य ३ सय ३५ पुग्यो।

२०७३ साउनमा अरुण भ्याली हाइड्रोपावरको सेयर मूल्य ४ सय २७ रुपैयाँ थियो। २०७८ जेठ ३१ मा कम्पनीको सेयर मूल्य ५ सय ४७ रुपैयाँ पुगेको थियो।

२०७७ वैशाख ३० मा दिव्यश्वरी हाइड्रोपावरको सेयर मूल्य ५१ रुपैयाँ थियो। जेठ मसान्तमा कम्पनीको ३ सय २७ पुगेको थियो। हिमालयन ऊर्जा विकास कम्पनीको सेयर मूल्य जेठ मसान्तमा बढेर ४ सय ११ पुग्यो। वरुण हाइड्रोको सेयर मूल्य २०७७ वैशाखमा ८५ रुपैयाँ थिए। २०७८ जेठ ३१ गते ६ सय ४५ मा पुग्यो। छ्याङदीको  सेयर २०७७ वैशाखमा ८३ रुपैयाँ थियो। जेठ ३१ मा ५ सय ४८ पुग्यो।

खानी खोला हाइड्रोपावरको मूल्य २०७७ वैशाखमा ५४ रहको थियो । सो कम्पनीको सेयर गत जेठ मसान्तमा २७५ पुगेको छ ।

लिवर्टीको सेयर मूल्य ४ सय ५६ पुगेको छ। माउन्टेन इनर्जीको मूल्य ९ सय ५९ पुग्यो। जेठ मसान्तमा माउन्टेन इनर्जीको सेयर मूल्य ९ सय ५९ मा पुगेको थियो।

२०७७ वैशाखमा पञ्चकन्या माईको सेयर मूल्य ७६ रुपैयाँ थियो। गत जेठ मसान्तमा आइपुग्दा कम्पनीको सेयर मूल्य प्रतिकित्ता ३ सय ५६ पुग्यो।

राधी विद्युत् कम्पनीको सेयर १ सय ७५ रहेकोमा जेठ मसान्तमा बढेर १ हजार ८६ मा पुग्यो। २०७७ वैशाखमा रैराङ हाइड्रो पावरको सेयर मूल्य ९० रुपैयाँ थियो। सेयर मूल्य गत जेठ मसान्तमा ४ सय ६४ पुगेको थियो।

 २०७७ वैशाखमा रसुवागढी हाइड्रोपावर कम्पनीको सेयर मूल्य १ सय ५३ रुपैयाँ थियो। सो कम्पनीको सेयर मूल्य बढेर जेठ मसान्तमा ५ सय ७९ पुग्यो।

२०७३ मा रिडी हाइड्रोपावरको मूल्य ३ सय ९९ थियो। जेठ मसान्तमा आइपुग्दा मूल्य बढेर ६ सय ५७ पुगेको थियो। २०७७ वैशाखमा साञ्जेन जलविद्युत् कम्पनीको मूल्य १ सय ३७ रुपैयाँ रहेकोमा जेठ मसान्तमा ५ सय १६ पुग्यो।

युनियन हाइड्रोपावरको ५२, सिनर्जी पावरको ९१ रुपैयाँ र  युनिभर्सल पावरको ७३ रुपैयाँको सेयर बढेर ४ सय ७९,३ सय ६१ र ३ सय ६८ पुगेको छ। 

१ असार, २०७८, १७:५६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।