उकेरा अर्थ

सेयर बजारमा कानुन विपरीत ‘भित्री कारोबार’,  तर छैन कारबाही

सुरेन्द्र बजगाईं


काठमाडौँ : सेयर बजारमा आफूलाई ‘बादशाह’ का रूपमा चिनाउने कतिपयले भित्री कारोबार(इन्साइडर ट्रेडिङ) गरिरहेका छन्। तर, सेयर बजारमा थोरै रकम लगानी गरिरहेकाहरू यसबारे जानकार छैनन्।

सूचनामा पहुँच भएकाहरूले त्यसको दुरुपयोग गर्दै सेयर बजारमा हालीमुहाली बढाएका छन्। आफन्तको नामदेखि सेयर बजारमा रहेको ब्रोकरसँगको सहकार्यमा भित्री कारोबार भइरहेको छ।

इन्साइडर ट्रेडिङबारे सार्वजनिक रूपमै सूचना चुहिँदा समेत नियामक निकायले चासो दिएको छैन। त्यसले अपराधमा संलग्नहरू कारबाहीको दायरामा आउन सकेका छैनन्।

पहिला सेयर बजारको भित्री कारोबार अर्थात् इन्साइड ट्रेडिङबारे केही बुझौँ। धितोपत्र सम्बन्धी ऐन नियमको व्यवस्था बमोजिम लगानीकर्ताहरू समक्ष सार्वजनिक गराउनुपर्ने जानकारी एवं सूचना सार्वजनिक नगरी उक्त जानकारी एवं सूचनाका आधारमा कम्पनीसँग सम्बन्धित व्यक्ति वा निजको नजिकको व्यक्तिले धितोपत्र कारोबार गरेमा यस प्रकारको कारोबारलाई बुझिन्छ।

सेयर बजारमा लामो समयदेखि संलग्न एक लगानीकर्ता, जो आफैँ सेयर बजारमा प्रवेश गर्नु पूर्व बैङ्कका कर्मचारी थिए, उनी भन्छन्, ‘हाम्रोमा भित्री कारोबारलाई लिएर ऐन छ। नियमन गर्न धितोपत्र बोर्ड छ। तर, धितोपत्र बोर्ड निष्क्रिय भएर बसेको छ। थाहा हुँदा हुँदै पनि कार्यान्वयन भएको छैन।’

मुख्य त यस्तो कारोबारमा विभिन्न बैङ्क तथा वित्तीय संस्थामा कार्यरत कर्मचारी सक्रिय रहेको जानकार स्रोतले बतायो। उनीहरूले सेयरबारे महत्त्वपूर्ण सूचना सार्वजनिक हुनअघि नै त्यस सूचनाको आधारमा त्यसको मूल्यदेखि गुणस्तरमा समेत प्रभाव पार्ने गरी कारोबार गर्ने गरेका छन्।

बैङ्क तथा वित्तीय संस्थाका कर्मचारीदेखि धितोपत्र बोर्डका पदाधिकारी समेतको संलग्नमा भित्री कारोबार भइरहेको ती लगानीकर्ता दाबी गर्छन्।

यस किसिमको कारोबारमा कतिपय सेयर व्यवस्थापनका कम्पनीका अध्यक्षसहित सञ्चालकहरू, प्रमुख कार्यकारी अधिकृत, प्रमुख लेखा अधिकृत तथा व्यवस्थापनको उच्च तहमा रहेका कर्मचारीहरू, लेखा परीक्षक लगायतको संलग्नता रहेको स्रोतले बतायो।

सार्वजनिक नभएका धितोपत्रको मूल्यमा असर पर्ने भित्री सूचनाको पहुँचमा बैङ्क तथा वित्तीय संस्थादेखि धितोपत्र बोर्ड नै कर्मचारी हुन्छन्। आफ्नो पहुँचमा भएको सूचनाको आधारमा धितोपत्र (सेयर) सार्वजनिक हुनुअघि नै उक्त कम्पनी मूल्यमा उतारचढाव गराउने सूचनाको पहुँचमा भएका व्यक्तिहरूले यसको खरिद तथा बिक्री मार्फत सेयर बजारमा एक किसिमका ‘स्क्याम’ गरिरहेका हुन्छन्।

सार्वजनिक नहुँदै सूचना पाएपछि त्यसको मूल्यमा असर गर्ने किसिमका कारोबार गराउने, सेयर बजारका ब्रोकरसँगको संलग्नतामा धितोपत्रको खरिद तथा बिक्री गर्ने किसिमका आर्थिक कारोबारलाई भित्री कारोबारले प्रोत्साहन गरिरहेको हुन्छ।

कारोबारको शैलीमा परिवर्तन तर, अवस्था उस्तै

सेयर बजारको आर्थिक कारोबार विद्युतीय हुनुअघि लगानीकर्ताले ब्रोकरसँगको सहकार्यमा धितोपत्रको खरिद तथा बिक्री गर्नुपर्ने व्यवस्था थियो। त्यस बेला पनि भित्री कारोबारले भने सेयर बजारमा स्थान पाइरहेको थियो।

विद्युतीय कारोबारमा अहिलेको जस्तो अवस्था नहुँदा लगानीकर्ता, जो आफैँ कुनै वित्तीय संस्था संलग्न हुन्थे, उनीहरूले ब्रोकरसँग भौतिक वा फोन सम्पर्कमार्फत सेयरको कारोबार गर्नुपर्ने अवस्था थियो। यो बेला स्वयं वित्तीय संस्थाको कर्मचारी रहेका व्यक्ति खरिद गरिरहेको सेयरलाई लिएर मार्केटका ब्रोकरले समेत भित्री कारोबारका सूचनाहरू पाउने गर्थे।

लगानीकर्ताले आफ्नो दुई पुस्ते (आफू, बुबा, आमा, श्रीमती, छोरा र छोरी) बाहेकका व्यक्तिको नामबाट सेयर खरिद गरिरहँदा त्यसैको आडमा ब्रोकरले सूचनाको आकलन गर्ने र त्यसमार्फत निश्चित कम्पनीको सेयर उतारचढाव ल्याउने अवस्था थियो।

हाल ब्रोकरलाई भौतिक रूपमा भेटेर वा फोन सम्पर्क मार्फत कारोबार गर्नुपर्ने बाध्यता त छैन। तर, अहिले पनि वित्तीय संस्थाका कर्मचारीले आफ्नो दुई पुस्ते सम्बन्धभन्दा बाहिरका मानिसको धितोपत्रको खातामार्फत सेयर खरिद तथा बिक्री गरिरहँदा त्यसले बजारमा भने असर गरिरहेको छ।

कुनै निश्चित कम्पनीको सेयरमा अचानक आएको उतारचढावले समग्र सेयर बजारलाई नै त्यसतर्फ आकर्षित गर्ने गर्दछ। यस्तो बेला भित्री सूचनाको पहुँच भएकाहरूले अन्य लगानीकर्तामार्फत सेयर खरिद गर्ने वा कम्पनीको रिपोर्ट नकारात्मक भएमा आफूसँग सेयर बिक्री गरेर धितोपत्रको कारोबारमा प्रभाव पारिरहेका छन्।

सँगै लगानीकर्ता, जो आफैँ सूचनाको पहुँचमा छन्, उनीहरूले ब्रोकरसँगै सहकार्य गरेर भित्री सूचनाको आधारमा आफू कार्यरत कम्पनीको आर्थिक प्रतिवेदन सार्वजनिक हुनु अगावै त्यसको धितोपत्र मूल्य उतारचढावदेखि त्यसको बिक्री वितरणमा असर गर्ने किसिमका कारोबार भइरहेका छन्।

पहुँचवालालाई फाइदा, अन्य लगानीकर्ता मारमा

भित्री कारोबारलाई तासको सामान्य उदाहरणबाट बुझ्न सकिन्छ । तासको ‘फलास’ खेलमा तास हेरेको व्यक्ति र डब्लाइन (तास नहेरेको व्यक्ति) बिचको खेलजस्तै हुन्छ भित्री कारोबारको प्रभावमा गरिएको सेयर बजारको कारोबार।

वित्तीय संस्थाको प्रतिवेदन सार्वजनिक हुनु अगावै सूचनाको पहुँचमा भएकाहरूले तास हेरेको सरह आगामी स्थितिको बारेमा थाहा पाएका हुन्छन्, जसको आधारमा उनीहरूले आफ्नो लगानी बढाउने वा घटाउने भन्ने निधो गर्छन् । तर, यसको प्रत्यक्ष मारमा तास नहरेका अर्थात् वित्तीय संस्थाको भित्री सूचनाको पहुँचमा नभएमा मानिसहरू हुन्छन् । यसमा सामान्य लगानीकर्तादेखि करोडौँको लगानी भएका लगानीकर्ता समेत पर्छन् ।

यस्तो अवस्थामा भित्री सूचनाको पहुँचमा भएकाहरूको हालीमुहाली सेयर बजारमा चलिरहन्छ भने अन्य लगानीकर्ताहरूले भाग्यको भरमा कहिलेकाहीँ मात्रै आफ्नो सेयर वा धितोपत्रमा फाइदा पाइरहेका हुन्छन् । सँगै घाटा हुने अवस्था पनि भित्री कारोबारका कारण सेयरको मूल्यमा अचानक उच्च ह्रास आउँदा अत्यधिक नोक्सान हुने अवस्था हुन्छ ।

सेयर बजार बुल भएको बेला साना लगानी कर्ताले पैसा लगानी गर्दा कमाएको जस्तो देखिन्छ । तर यस्तो सधैँ हुँदैन। सेयर बजारको यात्रा भनेको आजको भोलिलाई हुँदैन ।

आइपिओ बाहेकका लगानीमा ९० प्रतिशत लगानीकर्तालाई घाटा भएको देखिन्छ । दीर्घकालीन रूपमा सेयर बजारमा प्रवेश गरेकाहरूलाई भित्री कारोबारका कारण सतही रूपमा आफ्नो लगानी सुरक्षित भएको देखिएतापनि दीर्घकालमा भने निरन्तरको घाटा बेहोर्नु पर्ने अवस्था सिर्जना भएको छ । 

नियमन निकाय ‘कानमा तेल हाल्दै’

इन्साइडर ट्रेडिङ (भित्री कारोबार)ले पहुँचवालाहरूलाई मात्र फाइदा हुने नेपाल इन्भेस्टर्स फोरमका अध्यक्ष छोटेलाल रौनियार बताउँछन्।

धितोपत्र बोर्डका अनुसार हालसम्म भित्री कारोबारको आरोपमा न कसैमाथि मुद्दा चलेको छ न कसैलाई कारबाही नै भएको छ। जबकि सामाजिक सञ्जालमा रहेका सेयर बजार केन्द्रित फेसबुक ग्रुपदेखि पेजसम्ममा यसका पर्याप्त घट्नाहरु बाहिरिइरहेका हुन्छन्।

धितोपत्र बोर्डमा सेयर बजारका केही लगानीकर्ताहरूले भित्री कारोबारलाई लिएर कारबाहीको माग गर्दै उजुरी दिन समेत पुगेका थिए। लगानीकर्तामाझमा चर्चित रहेका अर्का लगानीकर्ता केशव कोइराला ‘काका’ले सार्वजनिक रूपमै अर्थ सरोकार नामक सञ्चारमाध्यमसँग अन्तर्वार्तामा आफूले भित्री कारोबारबारे उजुरी दिन गएको बताएका छन्। त्यस्तै, अर्का लगानीकर्ता प्रकाश तिवारीले समेत धितोपत्र बोर्डमा पटक पटक भित्री कारोबारलाई रोक्नुपर्ने माग राख्दै आएका छन्।

तर, हालसम्म धितोपत्र बोर्डको अभिलेखमा कसैमाथि पनि कारबाही वा छानबिन भएको देखिदैंन्। धितोपत्र बोर्डकै एक अधिकारी भन्छन्, ‘हामी कहाँ उजुरी आउँछन्। तर, छानबिन गर्ने पदमा रहेका व्यक्तिले नै भोलि सरकारी जागिरबाट छुटेपछि प्राइभेटमा जानुपर्ने र आफैँ भित्री कारोबारकै सूचनाको आधारमा लगानी गर्ने भएकाले यसमा कुनै छानबिन र कारबाही भएको छैन।’

यता इन्भेस्टर्स फोरमका अध्यक्ष रौनियार कुनै खास कानुन नभएको कारण इन्साइडर ट्रेडिङ भएको थाहा भए पनि कारबाहीको दायरामा नआएको बताउँछन्।

उनी भन्छन्, ‘इन्साइडर ट्रेडिङले सेयरमा लगानी गर्ने लगानीकर्तालाई ठुलो नोक्सानी हुन्छ। त्यसैले यसलाई आर्थिक अपराधको रूपमा कारबाही गरिनु पर्छ।’

धितोपत्रको भित्री कारोबारलाई नियमन गर्न सन् २०६३ मै ऐन बनेको छ। तर, धितोपत्र बोर्डको स्थापना भएको २९ वर्ष र भित्री कारोबारलाई नियमन गर्न ऐन बनेको २५ वर्षसम्म पनि भित्री कारोबारको मुद्दा एक जनामाथि पनि छानबिन भएको छैन।

उक्त ऐनमा भित्री कारोबार (इन्साइडर ट्रेडिङ) गर्नेलाई भित्री कारोबार गरेको ठहरेमा बिगो बमोजिम जरिबाना वा एक वर्षसम्म कैद वा दुवै सजाय हुन व्यवस्था गरिएको छ।

झुटो कारोबार गरेमा, मूल्य उतार चढाव गरेमा र धितोपत्र बजारलाई प्रभाव पारेमा पचास हजार रुपैयाँदेखि एक लाख पचास हजार रुपैयाँसम्म जरिबाना वा एक वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था ऐनमा छ। सँगै यस्तो कारोबारबाट कुनै व्यक्तिलाई भएको हानी नोक्सानीको भरपाई समेत दोषीले दिनुपर्ने व्यवस्था ऐनमा छ।

तर, ऐनमा भएको व्यवस्थालाई न धितोपत्र बोर्डले कार्यान्वयन गरेको छ न लगानीकर्ताको सहकार्यमा बनेका सङ्घसंस्थाले नै यो विषयलाई उठान गरेका छन् । धितोपत्र क्षेत्रमा निर्माण गरिएका ठुला निकायहरूले सेयर बजारमा यो समस्या भएको देखेतापनि यो विषयमा भने उनीहरू मौन छन् ।

उकेरासँगको कुराकानीमा ऐनअनुसार कारबाही हुनुपर्ने विचार राख्ने इन्भेस्टर्स फोरमका अध्यक्षसहित अन्य विभिन्न सङ्घसंस्थामा अध्यक्ष रहेका रौनियार नै संलग्न संस्थाले समेत यो विषयमा बोलेको छैन। कतिसम्म सेयर बजारका अन्य सामान्य विषयलाई उठान गरी अनसन बस्ने लगानीकर्ताहरूले भित्री कारोबारको विषयलाई भने देखेरै पनि नदेखेजस्तै गरेका छन्।

‘समस्या हामीमा मात्रै होइन, सेयर बजारमा लगानी कर्ताहरूको समूहमा पनि छ,’ धितोपत्र बोर्डका ती अधिकारी भन्छन्, ‘बोराका बोरा नागरिकता जम्मा गरेर आइपिओ भरेका छन्। एक दिन बजार घट्यो भने उहाँहरू नै बजार घट्नु हुँदैन भनेर निवेदन बोकेर अनसन बस्नुहुन्छ। तर, उहाँहरूले अनसन बसेर पेस गरेका ५२ मुद्दामा एक ठाउँ पनि भित्री कारोबारको विषय समेटिएको छैन।’

उता रौनियार भने यो समस्याको निदान हुन नसक्नुको कारण धितोपत्र बोर्डलाई देखाउँछन्। उनी भन्छन्, ‘नियामक निकाय भनेको त नेपाल धितो पत्र बोर्ड (सेबोन) हो नि। सेबोनले विज्ञप्ति मात्र निकालेर दुई चार जनालाई मात्रै कारबाही गरिदियो भने इन्साइडर ट्रेडिङ कम हुन्थ्यो।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

नेप्से परिसूचक हालसम्मकै उच्च विन्दुमा 

यस दिन २ सय २३ कम्पनीका ४ करोड ३९ लाख ३९ हजार २ सय १२ कित्ता सेयर १ लाख ३९ हजार ३ सय ४० पटक....

नेप्से ३ हजारमाथि पुग्दा कारोबार ११ अर्ब नाघ्यो

यस दिन ५ करोड ५९ लाख ६४ हजार ६२ कित्ता सेयर किनबेच भएको छ। आज ११ अर्ब ११ करोड ४१ लाख २१ हजार ६१६ रूपैयाँमा....

नेप्सेमा ९ अंकको करेक्सन

आज कुल २ सय १९ वटा कम्पनीको ३ करोड १६ लाख ८ हजार एक सय ९३ कित्ता सेयर खरिदबिक्री हुँदा ७ अर्ब ८९ करोड ७५....

ग्रेट वाल मोटर्सका तीन नयाँ मोडेलका गाडी बजारमा 

नेपालको अटोमोटिभ डिलर सिप क्षेत्रमा विविध अनुभव बोकेको विशाल ग्रुपको सहायक संस्था भी. जी. इम्पेक्स प्रा. लि. नेपालमा ग्रेट वाल मोटर्सका लागि आधिकारिक विक्रेता हो। ....

सुन तोलाको ९३ हजार २ सय रुपैयाँ

छापावाल सुन तोलामा ४ सय रुपैयाँले बढेर ९३ हजार २ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। सोमबार छापावाल सुन तोलाको ९२....