चन्द्रागिरि हिल्स र सोल्टीको सेयरमा चलखेल, दोस्रो बजारमा किन्नु उच्च जोखिम

चन्द्रागिरि हिल्स र सोल्टीको सेयरमा चलखेल, दोस्रो बजारमा किन्नु उच्च जोखिम

काठमाडौँ :  नेपाल धितो पत्र बोर्डले चन्द्रागिरि हिल्स र सोल्टी होटेलको सेयरमा चलखेल गरेर मूल्य बढाएको भन्दै दोस्रो बजारमा यी दुवै कम्पनीको सेयर नकिन्न सचेत गराएको छ।

सेयर कर्नर्निङ गरेर कृत्रिम रूपमा मूल्य बढाएको भन्दै बोर्ड छानबिन अगाडि बढाएको छ। उसले ५१ कम्पनीको सेयरको मूल्यमा चलखेल भएको भन्दै दोस्रो बजारबाट ती कम्पनीको सेयरबारे सचेत गराउँदै विज्ञप्ति नै जारी गरेको छ।

ती ५१ कम्पनीमा होटेल समूहमा सर्वसाधारणका लागि सेयर सार्वजनिक गरे लगत्तै चर्चामा गिरागिरी हिल्स र सोल्टी होटेल समेत परेका छन्।

बोर्डका अनुसार जेठ ३१ गते चन्द्रागिरि हिल्सको सेयर एक हजार सात सय ३१ पुगेको छ। हिल्सले १५ करोड बराबरको सेयर सर्वसाधारणका लागि निष्कासन गरेको थियो। कम्पनीको सेयर नेपाल स्टक एक्सचेन्जमा सूचीकृत भएसँगै मूल्यमा उच्च वृद्धि भएपछि चलखेलको आशंका गरिएको थियो। 

असार १ मा नेपाल धितोपत्र बोर्डले चलखेल गरेर मुल्य बढाएको भन्दै सर्वसाधारणलाई दोस्रो बजारबाट सेयर किन्दा विचार गर्न सचेत गराएको छ।

चन्द्रागिरि हिल्समा नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालको लगानी छ। चन्द्रागिरि केबलकार लगायतका संरचना रहेको सो कम्पनी चन्द्रागिरिमा होटेल लगायतका संरचना बनाउँदा बदमासी गरेको भन्दै कारबाहीमा परेको थियो।

यसै गरी अर्को प्रतिष्ठित सोल्टी होटेलको सेयरमा समेत चलखेल भएको बोर्डको निष्कर्ष छ। २०७३ साउनमा सो कम्पनीको सेयर मूल्य ४ सय ३८ रहेकोमा २०७७ वैशाखमा घटेर एक सय ६६ पुगेको थियो। २०७७ जेठ ३१ मा बढेर २ सय ९२ पुगेको थियो।

१ असार, २०७८, १८:४७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।