ओखलढुंगा पुगेर पहिचानवादीलाई लक्षित गर्दै ओलीले भने- ‘भावानामा बग्न हुँदैन’

ओखलढुंगा पुगेर पहिचानवादीलाई लक्षित गर्दै ओलीले भने- ‘भावानामा बग्न हुँदैन’

काठमाडौं : प्रमुख प्रतिपक्ष दल एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धनको सरकारले साम्प्रदायिक पक्षलाई भित्रभित्रै बढवा दिएको आरोप लगाएका छन्।

पार्टीको संकल्पयात्राअन्तर्गत मंगलबार ओखलढुुंगाको हर्कपुरमा आयोजित सभामा उनले एमालेले मात्र सामाजिक न्याय र समानता कायम गर्ने जिकिर गरे।

‘अहिलेको गठबन्धन सरकार साम्प्रदायिकताको जगमा उठेको हुनाले पनि साम्प्रदायिकताको पक्षलाई भित्रभित्र बढवा दिएर चलिरहेको अवस्था छ,’ उनले भने।

ओलीले पहिचानवादी पक्षधरको आन्दोलनप्रति लक्षित गर्दै भावनामा बगेर देश नबन्ने बताए। ‘भावनामा बग्न हुँदैन। हाम्रा दाजुभाइ, दिदीबहिनीहरू अनावश्यक भावनामा बगेका छन् भने त्यस्ता भावनाले देश बन्दैन। देश बनाउनका लागि बलियो राष्ट्रिय एकता, समझदारी चाहिन्छ,’ उनले भने, ‘जनताका बीचमा फाटो ल्याउने होइन । जनताका बीचमा राष्ट्रिय एकता बनाउने हो।’

राजनीतिक रूपमा मतभेद भए कानुनी प्रक्रियाबाट समाधान गर्नुपर्नेमा उनले जोड दिएका छन्।

‘राजनीतिक मतभेद हुनसक्छ। ती मतभेदको समाधन गर्ने वैधानिक प्रक्रिया छन्। कानुनी प्रक्रियाबाट, शान्तिपूर्ण बाटोबाट, आवेश–उत्तेजनामा होइन,’ कार्यक्रममा ओलीले भने, ‘सँगै बसेर छलफलबाट ती कुराहरूको औचित्य पुष्टि गर्नुपर्दछ। त्यस औचित्यको आधारमा समस्या समाधान गर्नुपर्दछ।’

२६ मंसिर, २०८०, १६:२१:१९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।