सुन तस्करी समूहका ‘मियो’ जीवनलाई नियन्त्रणमा लिएर पनि फरार बनायो सीआईबीले, शंका पूर्व आईजीपीसम्म

सुन तस्करी समूहका ‘मियो’ जीवनलाई नियन्त्रणमा लिएर पनि फरार बनायो सीआईबीले, शंका पूर्व आईजीपीसम्म

काठमाडौं : ब्रेक शुको आवरणमा भित्रिएको ६० किलो बढी सुन तस्करीको अनुसन्धानको जिम्मा पाएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सीआईबी)को अनुसन्धानको प्रस्तावित राय सुझावअनुसार शुक्रबार जिल्ला अदालत काठमाडौंमा दर्ता भएको अभियोग पत्रको २८औं नम्बरमा रहेका फरार अभियुक्त जीवन चलाउने सीआईबीको नियन्त्रणमा आएर पनि उम्किए।

चलाउनेलाई ब्यूरोले नियन्त्रणमा लिएर सोधपुछ गरेको थियो। तर, उनीसँग सोधपुछ गरेको रेकर्ड न ब्यूरोले जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाएको प्रस्तावित रायमा खुल्छ न त अभियोग पत्रमै केही उल्लेख छ। प्रस्तावित राय अनि अभियोग पत्रमा उनी पनि सुन तस्करीमा संलग्न चिनियाँ समूहसँग संलग्न रहेको भन्दै सजायको मागदावी मात्र लिइएको छ।

पत्रकार भन्दै सुराकीको काम गर्दै उनले कुन तहका उच्च तहका प्रहरी अधिकारीहरूसँग निकट सम्बन्ध बनाएका थिए भन्ने तथ्य सुन तस्करीको अभियोग पत्रमा उल्लेख गरिएको विवरणले देखाउँछ नै। तर, त्यसबारे ब्यूरोको प्रस्तावित राय सुझावमा विस्तृत उल्लेख गरिएन।

फरार भनिएका चलाउनेसँग ब्यूरोले के विषयमा सोधपुछ गर्यो अनि के आधारमा उनलाई नियन्त्रणमुक्त गर्यो कतै खुल्दैन। उनी प्रहरीका तल्लो तहका कर्मचारीदेखि उच्च तहका बहालवाला र अवकास पाएका प्रहरीका लागि नयाँ व्यक्ति पनि हैनन्, परिचितै व्यक्ति हुन्।

अनुसन्धानको क्रममा दावा छिरिङसँग भएको उनको संवादका आधारमा नेपाल प्रहरीका अवकाशप्राप्त उच्च प्रहरी अधिकृतसम्म सुन तस्करीमा तानिने संकेत छ।यसले चलाउनेलाई नियन्त्रणमा लिएको ब्यूरोका अधिकारीले तत्काल प्रमाणको अभावमा सामान्य सोधपुछ गरेर छाडे या जानजान। शंका बढाएको छ।

चलाउने कुनै समय आफूलाई अपराध अनि सुरक्षा सम्बन्धी पत्रकार भनेर चिनाउँथे। उनीबारे जानकार स्रोतकाअनुसार उनले आफूलाई ‘क्राइम टुडे’ पत्रिकाको पत्रकार भन्दै परिचय दिन्थे। त्यही परिचयको आधारमा उनी प्रहरीसँग निकट भएका थिए।

चलाउनेबारे जानकार स्रोतकाअनुसार उनी केही प्रहरी अधिकृतका लागि सहयोगीको रूपमा काम गर्थे। पत्रकार भन्दै सुराकीको काम गर्दै उनले कुन तहका उच्च तहका प्रहरी अधिकारीहरूसँग निकट सम्बन्ध बनाएका थिए भन्ने तथ्य सुन तस्करीको अभियोग पत्रमा उल्लेख गरिएको विवरणले देखाउँछ नै। तर, त्यसबारे ब्यूरोको प्रस्तावित राय सुझावमा विस्तृत उल्लेख गरिएन। यसले समेत ब्यूरोको अनुसन्धानको नियत शंकास्पद देखिन्छ।

चलाउनेसँग सुन तस्करीबारे जानकारी लिने तर पक्राउ नगर्ने अनि प्रस्तावित राय सुझाव बुझाउँदासमेत केही उल्लेख नगर्ने सीआईबीका अधिकारीहरूको व्यवहारले चलाउने अनुसन्धानमा तानिँदा उच्च तहका प्रहरी अधिकारीहरू समेत प्रतिवादी बन्नसक्ने जोखिम देखेर उनलाई नियन्त्रणमुक्त गरेपछि फरार अभियुक्त बनाइएको त हैन भन्ने शंका गर्ने बलिया आधारहरू देखिन्छन्।

पहिला उकेराले सरकारी वकिलको कार्यालयमार्फत प्राप्त गरेको ब्यूरोको प्रस्तावित राय सुझावमा उल्लेख भएको चलाउनेबारे विवरणको विवेचना गरौँ।

प्रस्तावित राय सुझावमा दीपेश पुन लगायतका व्यक्तिहरू जोबारे घटनाको जानकारी लिइएको छ, त्यसबारे उल्लेख गरिएको छ। पुुनको बयान झारा टार्ने खालको छ। चलाउनेसँग पनि जानकारी लिएको थियो। त्यो लुकाइएको छ।
 
ब्यूरो स्रोतका अनुसार भदौ २३ गते उनलाई नियन्त्रणमा लिएर सुन तस्करीमा उनको संलग्नता र सुन तस्करीमा संलग्न देखिएका दावा छिरिङसँगको उनको सम्पर्कबारे जानकारी लिइएको थियो।

प्रस्तावित रायमा त्यसबारे केही उल्लेख नगरी उनको संलग्नताबारे मात्र उल्लेख गरिएको छ।

यति गम्भीर अपराधमा संलग्न रहेको पर्याप्त प्रमाण हुँदा-हुँदै नियन्त्रणमा आएका व्यक्तिसँग भएको सोधपुछ विवरण लुकाउनु अनि उनलाई नियन्त्रणमुक्त गरेकोबारे ब्यूरोको मौनताले अनुसन्धानको निष्पक्षतामाथि गम्भीर प्रश्न उठाउँछ नै।

प्रहरीको प्रस्तावित राय सुझाव अनि अदालतमा दायर भएको अभियोग पत्रमा उल्लेख भए अनुसार चलाउने दावा छिरीङसँग प्रत्यक्ष सम्पर्कमा रही चिनियाँ नागरिकहरूसँग मिलेमतो गरी अवैध रूपमा पैठारी भई आएको सुन र रकम व्यवस्थापन गर्न संलग्न देखिन्छन्।

यसको पुष्टिका लागि प्रहरीले छिरिङको मोबाइल परीक्षणको क्रममा भेटिएको 977981......नम्बरको ह्वाट्सएप र चलाउनेको  97798511.....नम्बरको ह्वाट्सएपमा भएको संवाद र केही अडियो रेकर्डलाई आधार बनाइएको छ।

ह्वाट्स एपमा ‘how much is the monthly Intrest of 50 million, the party Asked me, This one month 80 kg’ भनेर म्यासेज गरिएको छ।

यसमा चलाउनेले  ‘ok’  भनेर रिप्लाई गरेका छन्। अर्को मेसेजमा उनले दावालाई ‘Dai alikk gopya garnus. Aru sanga kura nagarnuhos’ भनेर मेसेज गरेका छन्। त्यसमा दावाले ‘only u and me business talk ok we meet’ भनेका छन्।

यसले उनीहरूबीचको तस्करीमा कुन हदसम्मको साझेदारी थियो भन्ने देखाउँछ नै।

अर्को मेसेजमा ‘hlo. I may hyatt. I will come to meet u tomorrow morning the Chinese party come office okey’ भनेर मेसेज पठाएको विवरणमा उल्लेख छ।

यता दावाको आइफोन १४ प्रोम्याक्सबाट चलाउने ह्वाट्सएपमा ‘Je Dai’ नाममा नम्बर सेभ गरिएको छ। ‘जी दाइ’ भनिएको जीवन चलाउने भएको अनुसन्धानमा पुष्टि भएको छ।

दावाले चलाउनेलाई ‘I will talk the gold Chinese party after support us do something business. I have some good idea can do business with the Chinese gold Paty’ भनेर पठाएका छन्।

चलाउनेले त्यसको प्रतिउत्तरमा ‘yes dai, mailey milako xu sab kaam dai’ भनेर पठाएका छन्।

सुबुको खातामा चलाउनेले किन रकम जम्मा गराए अनि त्यो रकम के को हो? उनी र खनालसहितका प्रहरी अधिकारीसँगको उनको सम्बन्ध र सम्पर्क लगायतबारे विस्तृत अनुसन्धानबाट खुल्न सक्थ्यो। तर उनी ब्यूरोको नियन्त्रणमा आएर पनि फरार भए।

प्रहरीको प्रतिवेदनमा रहेको यही विवरण दावासँग मिलेर चलाउनेले सुन तस्करीको काम गर्ने गरेको प्रष्ट हुन्छ। यति गम्भीर अपराधमा संलग्न रहेको पर्याप्त प्रमाण हुँदा-हुँदै नियन्त्रणमा आएका व्यक्तिसँग भएको सोधपुछ विवरण लुकाउनु अनि उनलाई नियन्त्रणमुक्त गरेकोबारे ब्यूरोको मौनताले अनुसन्धानको निष्पक्षतामाथि गम्भीर प्रश्न उठाउँछ नै।

यो त भयो चलाउनेको सुन तस्करीमा संलग्न बेल्जियमका नागरिक दावासँगको सम्बन्धबारेका प्रमाण।

त्यही विवरणमा अर्को गम्भीर विवरण समेत संलग्न छ, जसले सुन तस्करीमा अमेरिकामा रहेका एक नेपाली र उनीसँग निकट सम्बन्धमा रहेका नेपाल प्रहरीका पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालसम्म अनुसन्धानको दायरामा आउन सक्छन्।

यता सुन तस्करीको अनुसन्धान जारी रहेकै बेलामा खनाल अमेरिका गएका थिए। सुन तस्करीमा तानिने भएपछि खनाल भागेर अमेरिका गएको शंका समेत गरियो। तर, उनले नियमित प्रयोजनका लागि अमेरिका आएको र आफू नभागेको प्रतिक्रिया दिएका थिए।

चलाउनेबारे जानकार स्रोतका अनुसार खनाल काटमाडौं जिल्लाको एसपी हुँदादेखि नै चलाउनेसँग निकट सम्बन्ध थियो। चलाउनेले खनालका लागि समेत सुराकीको काम गर्ने गरेका थिए।

खनालको वृत्तीविकास हुँदै गयो अनि यी दुवैको सम्बन्ध पनि घनिष्ट हुँदै गयो। यी दुवैबीचको सम्बन्ध देखाउनसक्ने संवाद प्रहरीले दावाको ह्वाट्सएपबाट बरामद गरेको कुराकानीले नै पुष्टि गर्छ।

दावा र चलाउनेबीच भएको कुराकानीमा तेस्रो व्यक्तिको नामसमेत जोडिएको छ, सुबु प्रताप केसी। उनी अमेरिकामा बस्दै आएका छन्। नेपाल प्रहरीका अवकास प्राप्त हुन् या बहालवाला उच्च प्रहरी अधिकृत अनि उच्च तहका व्यक्तिहरूसँग उठबसमा रमाउने अमेरिकामा रहेका नेपालीमाझ सुबु र खनालको सम्बन्ध गोप्य विषय हैन। यी दुवै घनिष्ठ मित्र हुन्।

केही स्रोतहरूले खनालले सुबुमार्फत अमेरिकामा लगानी गरेको समेत दाबी गरेका छन्। तर, दाबी प्रमाणित हुने प्रमाण भने फेला परेन।

प्रहरीले प्रतिवेदनमा उल्लेख गरेको विवरणमा ‘30k$ sent to subu pratap kc in wells fargo bank’ भन्ने सन्देश सँगै पैसा जम्मा भएको विवरणको तस्बिरसमेत फेला परेको छ।

प्रहरीले जानजान मुख्य व्यक्तिहरू उम्काएको भनेर आलोचना बढिरहेकै बेलामा गिरोहका मुख्य व्यक्ति भनिएका चेनसहितको समूहले प्रहरी महानिरीक्षकको सचिवालयमा गएर खनालसँग खिचेको तस्बिर सार्वजनिक भएको थियो।

यति मात्रै हैन, तस्करीको सुन नेपाली बजारमा बिक्री गर्न सक्रिय देखिएका सुमन खरेलको विवरणमा समेत यस्तै प्रसङ्ग फेला परेको छ। खरेलको ओप्पो मोबाइलको परीक्षणका क्रममा ‘Cash Out  To wells Fargo Bank’ भनेर विभिन्न मितिमा रकम डिपोजिट गरेको विवरण उल्लेख छ।

प्रहरीले फेला पारेको स्क्रिन सटहरूमा $6,417, $1,465 र $3,116 अमेरकी डलर सो बैंकमा डिपोजिट गरेको देखिन्छ।

यसले सुन तस्करीमा अमेरिकामा रहेका सुबुको सम्बन्ध समेत देखिन्छ। सुबुको खातामा चलाउनेले किन रकम जम्मा गराए अनि त्यो रकम के को हो? उनी र खनालसहितका प्रहरी अधिकारीसँगको उनको सम्बन्ध र सम्पर्क लगायतबारे विस्तृत अनुसन्धानबाट खुल्न सक्थ्यो। तर उनी ब्यूरोको नियन्त्रणमा आएर पनि फरार भए। यसले उनी पक्राउ पर्ने सम्भावना कम भएको त छ नै प्रमाणहरु नष्ट हुनसक्ने जोखिम समेत बढेको छ।

दावासँग पूर्व आइजिपी धिरजप्रताप सिंह समेत जोडिएका थिए। सिंहले दावासँग चिनजान रहेको स्विकार्दै उकेरासँग उनले प्रहरीलाई चिनिया अपराधीहरूबारे जानकारी दिने गरेको र आफू सिआइबी प्रमुख भएको बेलामा दावासँग भेट भएको दाबी गर्दै अन्य कुनै सम्बन्ध नरहेको बताएका थिए। दावाको सामान्य सम्बन्ध र सम्पर्क देखिएकाको पनि सोधपुछ गरेको सिआइबीले सिंह र दावाको सम्बन्ध उनले दाबी गरेजस्तै सुराकी र प्रहरीको हो या अन्य भन्ने उल्लेख गरेको देखिएन। न त दावासँग नै यसबारे बयान लिएको देखियो।  

पहिल्यैदेखि शंकामा थिए खनाल
नेपालमा विभिन्न आवरणमा बसेर अपराधमा संलग्न चिनियाँ समूहका सदस्यसँग खनालको सम्बन्ध देखिएको यो पहिलो घटना हैन। उनी प्रहरी प्रमुख हुँदा नै गम्भीर विवादमा तानिएका थिए। अवकासपछि त उनी नेता अपहरणजस्तो गम्भीर अपराधमा तानिएका थिए। पछि एमाले प्रवेश गर्दै काठमाडौं र तनहुँबाट प्रतिनिधि सभाको उम्मेदवार बनेर दुवै पटक पराजित भए।

पहिलो पटक नेपालमा बसेका साइबर अपराधमा संलग्न चिनियाँ नागरिकविरुद्धको एकीकृत प्रहरी कारबाहीको शंकास्पद नतिजापछि जोडिएका थिए।

चीनसमेतको सहकार्यमा नेपालमा बसेर लोनएप लगायतकाबाट आर्थिक अपराधमा संलग्न चिनियाँहरूबारे प्रहरीले ठूलो कारबाहीको तयारी गरेको थियो। त्यो बेलामा उनी इन्टरपोलको महासभामा भाग लिन अमेरिकामा थिए। कार्यवाहक प्रहरी महानिरीक्षकको रूपमा पुष्कर कार्कीले प्रहरी कारबाहीको तयारी गरेका थिए। उनी नेपाल फर्किएर प्रहरी कारबाहीको नेतृत्व लिए।

आफ्नो देशबाहिर बसेर साइबरक्राइममा संलग्न चिनियाँ नागरिकको सक्रियता बढेपछि चीनले सन् २०१६ मा थाइल्यान्ड, मलेसिया, लाओस, भियतनाम, कम्बोडियालगायतका देशसँग मिलेर संयुक्त अप्रेशन चलाएको थियो।

हिजो जसरी माथिल्लो तहसम्म पुग्नसक्ने चेनसहितका चिनियाँ नागरिक जोगिएका थिए, त्यसैगरि सुन तस्करीको अनुसन्धानमा उच्च तहका राजनीतिक व्यक्ति र प्रहरी अधिकारीसम्म पुग्नसक्ने मुख्य व्यक्ति चलाउनेलाई फरार बनाइएको छ।

प्राय आर्थिक अपराधमा संलग्नहरू केन्द्रीत अप्रेशनमा फेला परेकाहरूलाई चीनले आफ्नै देशमा लग्यो। जोगिएकाहरू विभिन्न आवरणमा नेपाल छिरे।

त्यहीमध्येका थिए चेन सितियान अनि दावा छिरिङ। चेनसहितको समूह नेपाल प्रवेश गरेर सफ्टवेयर निर्माण गर्ने बहानामा ठूलो मात्रामा कम्युटर लगायतका उपकरण नेपालमा भित्र्याएर लोनएप, अनलाइन ग्याम्बलिङ लगायतबाट अवैध रकम असुलीमा सक्रिय भएका थिए।

उनीहरूले अन्य देशसँगै चीनमा समेत ठगीको जालो फैलाएपछि चीनकै चासोमा नेपाल प्रहरीले विशेष कारबाहीको तयारी गरेको थियो। कारबाहीको तयारीको क्रममै चेनसँगै दावासहितको समूह बस्ने स्थान र करिब २ हजार चिनियाँ नागरिकहरू काठमाडौं, ललितपुरसहित काठमाडौंबाहिर समेत रहेको खुल्यो।

नेपाल प्रहरीले ठूलै संख्यामा चिनियाँ नागरिक पक्राउ गर्ने तयारी गरेपछि चीनले उनीहरूलाई स्वदेश लैजान विशेष विमान पठाउने तयारी गरेको थियो। खनाल स्वदेश फर्किएर भएको अप्रेशनमा जम्मा एक सय २२ जना चिनियाँ पक्राउ परे। मुख्य व्यक्तिहरू सहजै उम्किए।

प्रहरीले जानजान मुख्य व्यक्तिहरू उम्काएको भनेर आलोचना बढिरहेकै बेलामा गिरोहका मुख्य व्यक्ति भनिएका चेनसहितको समूहले प्रहरी महानिरीक्षकको सचिवालयमा गएर खनालसँग खिचेको तस्बिर सार्वजनिक भएको थियो।

सुबु केसी र चिनिया समुहसँग खनाल।

त्यही अप्रेशनमै दावा छिरिङसँगै उनको श्रीमती अमला रोका र मञ्जिल श्रेष्ठले होटल व्यवसायको आवरणमा चिनियाँ आपराधिक समूहसँग मिलेर गरेको धन्दा सार्वजनिक भएको थियो। चेन भूमिगत भए। दावा र अमला राजनीतिक र उच्च तहको प्रहरी संरक्षणमा जोगिँदै आए। अहिले दावा र मञ्जिल अनुसन्धानको दायरामा आएका छन्। अमला फरार प्रतिवादी बनेकी छन्।

हिजो जसरी माथिल्लो तहसम्म पुग्नसक्ने चेनसहितका चिनियाँ नागरिक जोगिएका थिए, त्यसैगरि सुन तस्करीको अनुसन्धानमा उच्च तहका राजनीतिक व्यक्ति र प्रहरी अधिकारीसम्म पुग्नसक्ने मुख्य व्यक्ति चलाउनेलाई फरार बनाइएको छ।

मेरो कतै संलग्नता देखिए अनुसन्धान  गर्दा हुन्छ, अनुसन्धान गर्न रोकेको छैन : खनाल *

अमेरिकामा रहेका पूर्व आइजिपी खनालले चिनिया नागरिकसँगको संलग्नतादेखि अहिलेको प्रकरणमा आफू कतै संलग्न नरहेको भन्दै आरोप निराधार रहेको दाबी गरे। फेसबुक मेसेन्जरमा कुरा गर्दै उनले भने' जसले आफ्नो प्रहरी जीवनै तस्करहरुविरुद्ध लडेर बितायो उसैमाथि यस्तो आरोप सुहाउने विषय हैन। मेरा बारेमा केही प्रमाण भए अनुसन्धान गरे हुन्छ। दुई दिनपछि नेपाल आउँदै छु।'

उनले छोरीको पढाइकोक्रममा अमेरिका आउँदा भागेको भनेर प्रचार गराइएको भन्दै सुबुसँग अस्कल क्याम्पस पढ्दा चिनजान भएको र आफू मात्र नभई अन्य प्रहरीहरू पनि उनको साथी भएको बताए।

'त्यो सुबु होस् या चलाउने होस् जो संलग्न हो उसलाई पाता कसेर ल्याए हुन्छ। मेरो संलग्नता देखिए अनुसन्धान गरे हुन्छ। मैले कसैलाई रोकेको छैन। अवकाश पाएको चार वर्ष भयो। यो बिचमा न कुनै गलत काममा संलग्न छु न हुनेछु।'

उनले चलाउने को हो भन्ने थाहा नभएको र अपराधमा संलग्न चिनियाहरुसँगको तस्बिर फोटोसप गरिएको तर्क गरे।

*अपडेट गरिएको।

सम्बन्धित समाचार

१ असोज, २०८०, १८:१५:४४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।