चिनियाँ ‘अपराधी’लाई नेपाली नागरिक बनाउने अखडा काभ्रे, फेला पर्‍यो अर्को राहदानी

चिनियाँ ‘अपराधी’लाई नेपाली नागरिक बनाउने अखडा काभ्रे, फेला पर्‍यो अर्को राहदानी

काठमाडौं : सय किलो सुन तस्करीको अनुसन्धानमा काभ्रेपलान्चोक जिल्ला प्रशासनबाट चिनियाँ नागरिकहरूले नागरिकता र राहदानी बनाएको खुलेको छ।

उकेराले प्राप्त गरेको प्रमाणमा आइतबार पक्राउ परेका बेल्जियमका नागरिक दावा छिरिङ मात्र हैन उनीनिकट चिनियाँ नागरिकले समेत काभ्रेबाट नेपाली नागरिक बनेर नागरिकता र राहदानी लिएको देखिन्छ।

तिब्बती मुलका दावाको साथमा बेल्जियमको राहदानी फेला परेको पहिल्यै हो। उनले २०७४ पुस २० गते काभ्रेको नमोबुद्ध-११ ठेगाना राखेर नागरिकता र राहदानी लिएका थिए।

उनले २०१८ अगष्ट १५ मा बेल्जियम राहदानी निकालेको देखिन्छ। सो राहदानीको म्याद २०२५ सम्म छ। उनको नाममा २०२३ मा बनाएको अर्को राहदानी हिमालले सार्वजनिक गरेको छ, जसको मिति २०३०सम्म छ।

दुवै राहदानी रहेको उनको हस्ताक्षर मिल्छ। उनले काभ्रेबाट बंशजको आधारमा नागरिकता र राहदानी बनाएको खुल्छ। जिल्ला प्रशासन कार्यालय काभ्रेले यसबारे जानकारी पाए पनि अनुसन्धान प्रक्रिया भने अगाडि बढाएन।

उनी मात्र हैन, उनले आफूनिकट चिनियाँलाई समेत काभ्रेपलान्चोकबाटै नेपाली राहदानी बनाइदिएका थिए। उकेराले प्राप्त गरेको प्रमाण अनुसार चिनियाँ नागरिक बिङचिङ देङले समेत काभ्रेबाटै नेपाली नागरिकता र राहदानी बनाएका छन्।

उनले नेपाली नाम तेन्जिङ गुरूङ राखेका छन्। राहदानीमा उनको नेपाली नागरिकताको नम्बर ११००४२५ देखिन्छ। उनको नाममा नेपाली राहदानी २०२० फेब्रुअरी २४ मा बनेको देखिन्छ, जसको म्याद २०३० सम्म छ।

उनको चिनियाँ राहदानी २०१० मा जारी भएको देखिन्छ। नेपाली राहदानीमा ठेगाना काभ्रे राखिएको छ भने चिनियाँ राहदानीमा ठेगाना फुजियान राखिएको छ।

दावाबारे जानकारस्रोतका अनुसार उनले एक जनाको नाममा मात्रै हैन, अन्य तीन जना चिनियाँको नाममा समेत काभ्रेबाटै नेपाली राहदानी र नागरिकता बनाइदिएका थिए। तर, अन्य तीन राहदानी र नागरिकताको विवरण भने फेला परेन।

दावा र उनको आपराधिक समूहबारे प्रहरीले पहिलो पटक जानकारी पाएको हैन। २०७६ मै दावा समूहबारे प्रहरीले जानकारी पाएको थियो।

नेपालमा विभिन्न आवरणमा आएका चिनियाँ नागरिकहरूले विभिन्न स्थानमा घर भाडामा लिएर आपराधिक गतिविधि गरेको सूचनाको आधारमा चीन सरकारसँगै मिलेर प्रहरी प्रधान कार्यालयले विशेष अप्रेशनको तयारी गरेको थियो।

त्यो बेलामा कार्यवाहक प्रहरी महानिरीक्षक थिए, पुष्कर कार्की। सर्वेन्द्र खनाल कार्यालय प्रयोजनका लागि नेपाल बाहिर थिए।

अपराध अनुसन्धान विभाग प्रमुख रहेका कार्कीले विशेष टोली परिचालन गरेर काठमाडौं उपत्यकाका तीन जिल्ला लगायतका क्षेत्रमा रहेका करिव दुई हजार चिनियाँ नागरिकको पहिचान गरेको थियो।

काठमाडौं उपत्यकाका तीन जिल्लाबाहेक पोखरा, बुटवल र चितवनमा समेत चिनियाँ टोली रहेको पहिचान भएको त्यो बेला अनुसन्धानमा संलग्न स्रोतले उकेरालाई जानकारी दियो।

‘नेपालमा बसेर चीनमा अनलाइन जुवा खेलाउने, ह्याक गर्ने लगायतका गतिविधिमा रहेकाहरूको पहिचान गरेको थियो। अधिकांश चिनियाँहरू कम्प्युटरको व्यवसायमा संलग्नको आवरणमा नेपाल बसेका थिए’, तत्कालीन अनुसन्धानमा संलग्न स्रोतले उकेरालाई बतायो।

इन्टरपोलको कार्यक्रममा सहभागी भएर खनाल फर्किएपछि विभागले गरिरहेको काम प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले पायो। ब्यूरोले छापा मारेर जम्मा १ सय २२ जना चिनियाँलाई अनलाइनका विभिन्न अपराधमा संलग्न रहेको आरोपमा नियन्त्रणमा लिएर डिपोर्ट गरेर चीन पठायो।

परराष्ट्र मन्त्रालय हुँदै गृहबाट प्रहरी प्रधान कार्यालयमा आएको निर्देशनअनुसार भएको अप्रेशनमा रिपोर्टिङ गरिएको भन्दा कम चिनियाँ नागरिक पक्राउ परेपछि त्यो बेलासमेत विवाद भएको थियो।

चिनियाँ पक्षले चेत सितियान नामक चिनिया नागरिकलाई लक्षित गरेको थियो। उनी नेपालमा सक्रिय गिरोहको सञ्चालक रहेको उनीहरूको दाबी थियो। तर, उनी पक्राउ परेनन्। जे-जति पक्राउ परे ती सामान्य सहयोगी मात्र रहेको खुल्यो।

सितियानलाई नेपाली सुरक्षा संगठनका सदस्यले पूर्व जानकारी गराएर भगाएको भन्दै चिनियाँ पक्षले नेपाल सरकारसँग अनौपचारिक रूपमा गुनासो गरेको जानकार स्रोतको दाबी छ।

त्यसको केही दिनमै तत्कालीन प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल र सितियानको तस्बिर बाहिरियो। तस्बिर प्रहरी प्रधान कार्यालयको प्रहरी महानिरीक्षकको भेटघाट कक्षमा खिचिएको थियो।

दावाको श्रीमती अमला रोकाको शंकास्पद गतिविधिबारे समेत प्रहरीले पर्याप्त सूचना संकलन गरेको देखियो। अन्तर्देशीय अपराध सम्बन्धी अनुसन्धान गर्ने प्रहरीको विशेष ब्यूरोले अमलाबारे विशेष रिपोर्ट नै बनाएर चिनियाँ नागरिकहरूसँग उनको शंकास्पद सम्बन्धबारे उल्लेख गरेको थियो।

तर, २०७६ को अनुसन्धानमा समेत अमलालाई जोगाइयो। नेपालबाट लोन एपबाट भारतीय नागरिकहरूलाई फसाएर ठगी भइरहेको सूचनाको आधारमा नेपालमा अप्रेशन चलाउँदा पनि चिनियाँहरू नै फेला परेका थिए।

चिनियाँहरूले विभिन्न स्थानमा भाडामा लिएर कल सेन्टरको बहानामा चलाएका अड्डाहरूमा प्रहरीले छापा मारेर ठूलो मात्रा कम्प्युटर अनि ल्यापटपहरू बरामद गरेको थियो नै। अमला र दावासंलग्न होटल भियनाबाट समेत शंकास्पद गतिविधिमा संलग्न रहेको आरोपमा चिनियाँ नागरिकहरू पक्राउ परेका थिए।

यसरी पक्राउ परेका अधिकांश चिनियाँ नागरिकहरूलाई नेपाली कानूनअनुसार मुद्दा प्रक्रियामा लगिएन। अधिकांशलाई अध्यागमन कानून उल्लंघन गरेको भन्दै चीनमै डिपोर्ट गरिएको थियो।

सय किलो सुन तस्करीमा दावा कनेक्सन
आइतबार राजश्व अनुसन्धान विभागले सय किलो सुन तस्करीमा संलग्न रहेको आशंकामा होटलमा छापा मारेर दावालाई पक्राउ गरेर लगेको छ।

विभागले दावाको पक्राउबारे औपचारिक रूपमा केही विवरण सार्वजनिक गरेको छैन। तर, आइतबारै अदालतबाट १५ दिनको म्याद भने थपिसकेको छ।

‘ब्रेक शु’ ल्याउन कम्पनी दर्ता गराउने र सुन तस्करी गरेर तेस्रो देश पुर्या उने योजनामा उनी माथिल्लो तहका व्यक्ति भएको विभागका अधिकारी दाबी गर्छन् तर अनौपचारिक रूपमा।

उनको भूमिका र संलग्नता खुल्ने थप विवरण भने सार्वजनिक भएको छैन।

सम्बन्धित समाचार:

१५ साउन, २०८०, २०:३०:१४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।