टप फाइभ : पक्राउ परेका कांग्रेस सांसदका पक्षमा एमालेको वकालत, छुटेपछि भने- ‘आतंककारी गृहमन्त्री, पितासरह ओली’

टप फाइभ : पक्राउ परेका कांग्रेस सांसदका पक्षमा एमालेको वकालत, छुटेपछि भने- ‘आतंककारी गृहमन्त्री, पितासरह ओली’

काठमाडौं : शुक्रबार प्रतिनिधिसभा र राष्ट्रिय सभाको बैठक बस्न सकेन। एमाले सांसदहरुले विरोध जनाएपछि राष्ट्रिय सभाका अध्यक्ष र प्रतिनिधिसभा सभामुखले बैठक स्थगित गरे।

राष्ट्रिय सभामा सुन तस्करीको छानविनका लागि उच्चस्तरीय समितिको रटान लगाएका एमाले सांसदले प्रतिनिधिसभामा भने नक्कली प्रमाणपत्रको अनुसन्धानमा सीआईबीले पक्राउ गरेको कांग्रेस सांसद् सुनिल शर्माको पक्षमा वकालत गर्यो।

शुक्रबार नै काठमाडौं महानगरपालिका र बुढालीकण्ठ नगरपालिकाकाको सीमाना कपनमा महानगरपालिले त्यहाँको खहरे उत्खनन् थाल्यो। यसअघि पुरिएको खहरे खुलाउन बिहीबार महानगरको टोली त्यहाँ पुगे पनि बुढालीनलकण्ठका जनप्रतिनिधिले विरोध गरेपछि उत्तिकै फर्किएको थियो।

शुक्रबार दिनभर सांसद् सुनिल शर्मा प्रकरणले चर्चा पायो। सीआईबीले पक्राउ गरेका उनी अदालतको आदेशबाट साँझमै थुनामुक्त भए। उनलाई हिरासतमा राखेर अनुसन्धान गर्नुनपर्ने भन्दै जिल्ला अदालतले आदेश दियो। थुनामुक्त भएपछि उनले गृहमन्त्रीलाई आतंककारीको संज्ञा दिए भने एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पितासरह भूमिका निभाएको भन्दै धन्यवाद दिए।

अब लागौं टप फाइभतर्फः
शुक्रबार बिहानै उकेराले राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेको चितवनमा सुरु गरेको ब्लु बसको रङ्ग बदलिएको समाचार छाप्यो। लामिछानेले चितवन क्षेत्र नम्बर २ मा सुरु गरेको निःशुल्क बसको रङ्ग बिलबुक अनुसार कायम गरिएको हो।
पूरा समाचारः रास्वपाको ‘गैरकानूनी’ ब्लु बसको रङ र रुट दुवै बदलियो

बिहानै उकेराले द्वन्द्वपीडितहरूको समस्याको बारेमा समाचार लेख्यो। सुर्खेतबाट उकेराकर्मीले लेखेको समाचारमा पुर्ख्यौली घर डोल्पा भएर अहिले सुर्खेतको बराहताल–१ मा बसिरहेका ४६ वर्षीय गोरबहादुर विक २०५६ सालमा माओवादीको सशस्त्र युद्धमा होमिएर परिवार गुमाएको विषय उठायो।
पूरा समाचारः १७ वर्षमा नि भरिएन द्वन्द्वपीडितका घाउ, माओवादीकै सरकार हुँदा पनि पाएनन् न्याय

दिउँसो उकेराले नियमित स्तम्भ मध्यमधारमा कास्कीका समलिंगी आदित्य राईको अनुभव समेट्यो। अपाङ्गता भएका आदित्य समलिंगीसमेत भएको थाहा पाएपछि समाजमा उनले दोहोरो विभेद भोग्नुपर्यो।
पूरा समाचारः दुई वर्षको उमेरमा झाडीमा फालिएका आदित्य, जसले अपांग र समलिंगी भएकै कारण दोहोरो विभेद भोगे

शुक्रबारको अर्को स्तम्भ थियो किशोर नेपालको कान्तिपुर गाथा। कान्तिपुर गाथाको आजको अंकमा स्तम्भकार नेपालले पत्रकारिताको बारेमा लेखे। उनले स्तम्भमा पार्टीसम्बद्ध संगठनहरूको विवाद र सक्रियताका कारण निरन्तर घर झगडामा अल्झिएको पत्रकारहरूको मूल संस्था नेपाल पत्रकार महासंघले पत्रकारहरूको आचार विधिलाई तिलगंगामा बहाइदिएको उल्लेख गरे।
पूरा समाचारः भ्रम र सत्यको द्वन्द्वमा नेपाली पत्रकारिता

र आज राति उकेराले सय किलो सुन तस्करीमा संलग्न देखिएको भन्दै राजश्व अनुसन्धान विभागले कालोसूचीमा राख्न लगाएको विवादित व्यवसायी राकेश अडुकियाका छोरा रोहन अलपत्रमा परेको समाचार लेख्यो। दिल्लीबाट काठमाडौं आउनेक्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अध्यागमन विभागले नियन्त्रणमा लिएका उनलाई राजश्व अनुसन्धान विभाग र प्रहरीले जिम्मा लिन नमान्दा उनी अहिले अध्यागमनकै हिरासतमा छन्।
पूरा समाचारः सुन तस्करीमा राजश्वको अनुसन्धान पाराः आफैँ कालो सूचीमा राख्ने, पक्राउ परेपछि नबुझ्ने

२६ साउन, २०८०, २२:१७:१६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।