रास्वपाको 'गैर कानुनी' ब्लु बसको रंग र रुट दुबै बदलियो

रास्वपाको 'गैर कानुनी' ब्लु बसको रंग र रुट दुबै बदलियो

भरतपुर : राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेको चितवनमा सुरु गरेको ब्लु बसको रङ्ग बदलिएको छ। चितवन क्षेत्र नम्बर २ का सांसद समेत रहेका उनले सुरु गरेको निःशुल्क बसको रङ्ग बिल बुक अनुसार कायम गरिएको हो।

लामिछानेले उप-निर्वाचनमा जितेको सय दिन पुगेको उपलक्ष्यमा साउन १७ गते ब्लु बस सञ्चालन लगायतको घोषणा गर्दै ना ५ ख ३१३८ नम्बरको बसलाई निलै बनाएर महिलाका लागि निशुल्क हुनेगरी शुरु गरेका थिए। 

ब्लु बुकमा बसको रङ्ग अगाडिको बर्नटमा सेतो, दुवैतर्फ साइडमा धर्सा बनाएर मोडलिङ गर्दै सेतो, पहेँलो, गुलाबी र सिल्भर रङ भए पनि पार्टीले प्रयोग गर्दै आएको निलो रङ्ग प्रयोग गरिएको थियो।

बिल बुक र जाँच पास प्रमाणपत्रमा उल्लेख भएको रङ बदल्न नपाइने र नयाँ रुटमा चलाउने हो भने रुट इजाजत पत्र लिनुपर्ने कानुनी प्रावधान भए पनि रास्वपाले कानुन मिचेर बसको रङ्ग पनि बदल्ने र नयाँ रुटमा बस चलाउन सुरु गरेको थियो।

बसको रुट अनुमति वीरगन्जदेखि नारायणगढ–पोखरा–बागलुङ रहे पनि चितवनभित्रै आफैँ नयाँ रुट कायम गरेका थिए।

बसको रङ्ग पुरानै कायम भएपछि यातायात व्यवस्था कार्यालय भरतपुरले रुट बदलेर कुरिनटार–नारायणगढ–भोजाड–पदमपुर–जुटपानी हुँदै शक्तिखोरमा बस चलाउने अनुमति दिएको कार्यालयले जानकारी दिएको छ।

रास्वपाले बसको रङ्ग निलो नै राखेर चलाउन यातायात व्यवस्था कार्यालयमा दबाब दिए पनि एकै कलरमा बस चलाउने अनुमति नदिने भन्दै कार्यालयले पुरानै रङ्ग कायम गराएको थियो।

रास्वपाले नारायणगढभन्दा पश्चिम शिवघाटसम्म बस चलाउँदै आएको थियो। अब शिवघाटसम्म बस चलाउन भने पाउने छैनन्।

२६ साउन, २०८०, ०७:०२:४३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।