हिरासतबाट निस्केपछि सुनिल शर्माको आक्रोश– ‘यस्तो आतंककारी गृहमन्त्री एक सेकण्ड पनि सत्तामा बसिरहन मिल्दैन’

हिरासतबाट निस्केपछि सुनिल शर्माको आक्रोश– ‘यस्तो आतंककारी गृहमन्त्री एक सेकण्ड पनि सत्तामा बसिरहन मिल्दैन’

काठमाडौं : नेपाली कांग्रेसका सांसद डा. सुनिल शर्माले गृहमन्त्री नारायणकाजी श्रेष्ठ एक मिनेट पनि सत्तामा बसिरहन नमिल्ने बताएका छन्।

अदालतको आदेशपछि सीआईबीबाट रिहा हुने क्रममा पत्रकारसँग कुरा गर्दै डा. शर्माले गृहमन्त्री श्रेष्ठलाई आतंककारीको संज्ञा दिँदै एक मिनेट पनि सत्ता बस्न नमिल्ने टिप्पणी गरेका हुन्।

‘यस्तो आतंककारी गृहमन्त्रीले एक मिनेट, एक सेकेण्ड पनि यो सत्तामा बसिरहन मिल्दैन,’ उनले भने, ‘उहाँ हट्नुपर्छ, तुरुन्त प्रचण्डजीले उहाँलाई हटाउनुपर्छ। उहाँ (प्रचण्ड) गृहमन्त्री टिकाउनतिर लाग्नुभयो भने उहाँको सरकार ढल्छ।’

डा. शर्माले माओवादीसँगको सत्ता सहकार्य यथावत राखिए कांग्रेस समाप्त हुने टिप्पणी गरे। प्रधानमन्त्री प्रचण्ड र गृहमन्त्रीले स्टन्टबाजी गरेर कांग्रेसका एकएक नेतालाई धूलोपीठो बनाउने योजना बनाएको उनको दाबी छ।

‘यिनीहरूले नेतालाई एक–एक गरेर धूलोपीठो पार्दैछन्। प्रचण्डलाई यो ठाउँमा पुर्याएको गुन मलाई हतकडी लगाएर तिर्नुभयो। तर, यो आतंककारीहरूसँग गठबन्धन कायमै राख्ने हो भने कांग्रेस सकिन्छ, म यो कुरा मेरा नेताहरुलाई भन्छु।’

उनले गृहमन्त्री र अर्थमन्त्रीले राजीनामा नदिए आफ्नो पूर्वनिर्धारित अनसन अघि बढ्ने बताए।

‘सुन तस्करका संरक्षकहरू विशेषतः अहिलेको गृहमन्त्री र अर्थमन्त्री उहाँहरूले राजनीनामा दिनुपर्छ। मैले यो मागसहित अनशनको घोषणा गरेको थिएँ। राज्यसत्तामा टिकिरहनका लागि मलाई समातिएको हो। यो ३० वर्ष पुरानो फाइल  मलाई तेस्रोपटक गिरफ्तार गरिएको हो।’

२६ साउन, २०८०, २१:१३:१६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।