विद्यालय जान आउन दैनिक ४ घण्टा हिंड्नेहरू सोध्छन् : स्कुल बस चढेर कहिले पढ्न जान पाइएला?

विद्यालय जान आउन दैनिक ४ घण्टा हिंड्नेहरू सोध्छन् : स्कुल बस चढेर कहिले पढ्न जान पाइएला?

सुर्खेत : बराहताल गाउँपालिका-६ बिउरेनीकी १२ वर्षीय कुसुम बीसी कक्षा ६ मा पढ्छिन्। कुसुम सधैं बिहान घरका अरू मान्छे नउठ्दै सबेरै उठ्छिन् र खाना पकाइ खाएर विद्यालय जान तयार हुन्छिन्।

गाउँमा कक्षा ५ सम्म मात्रै पढाइ हुन्छ। त्यसैले कक्षा ६ मा पढ्न उनी अर्को नगरपालिका जानुपर्ने वाध्यता छ। उनी विद्यालय जानका लागि घरबाट ८ बजे नै हिंड्छिन्।

दुई घण्टाको पैदल यात्रापछि मात्रै उनी सूर्यप्रकाश माध्यमिक विद्यालय पञ्चपुरी नगरपालिका-२ सालकोट पलैंटे पुग्छिन्।विद्यालय जान दुई घण्टा लागे पनि घरबाट ढिलो हिंडेको दिन त उनी कक्षामा सरले आधा पढाइसके पछि मात्रै पुग्छिन्।

दिनभर विद्यालयमा पढेर फेरि दुई घण्टा पैदलै घर आउँछिन् कुसुम। विदाका दिन बाहेक यसरी नै कुसुमको दैनिकी बित्छ। बिहान र साँझ दुई दुई घण्टा हिंड्दा जिउ थाकेर पढ्न मन नलाग्ने गरेको उनी बताउँछिन्।

‘बिहान र साँझ स्कुल जानका लागि हिंड्न नै ठिक्क हुन्छ। हिंडाइले जिउ थाकेर राति पढ्न मन नै लाग्दैन,’ कुसुमले भनिन्, ‘गाडी त जान्छन्। तर एक सय रुपैयाँ भाडा लिन्छन्। त्यो पनि बिहान त गाडी भेट्नै मुस्किल। घरबाटै स्कुल बसमा कहिले जान पाइएला?’

घरबाट स्कुल टाढा भएकोले ढुक्कसँग पढ्न नपाएको गुनासो गर्छिन् बिउरेनीकै कक्षा १० मा अध्ययनरत १५ वर्षीय नविना बीक। 

‘टिउसन पढ्नका लागि बिहान ७ बजे नै घरबाट निस्कनुपर्छ। त्यसका लागि ४ बजे उठेर तयारी हुनपर्यो अनि साँझ पढ्न थाकेको ज्यानले मान्दैन,’ नविनाले भनिन्, ‘बाटोमा हिंड्दा एक्लै भइन्छ। जंगली जनावरसँगै नकरात्मक सोच भएका मान्छेहरुको पनि डर लाग्छ। ढुक्कले त पढ्नै सकिएको छैन।’

बाटोमा हिंड्दा बिहान लगाएका लुगा साँझ चिनिन नसक्नेगरी फोहोर हुने गरेको कक्षा १० मै पढ्ने अर्का विद्यार्थी फारम बुढाले बताए।

‘धुलो धुवाँले बिहान लगाएका लुगा साँझ चिन्न सकिंदैन। दुई घण्टाको हिंडाइले कक्षामा समेत निन्द्रा लाग्छ। अहिले त हामी वाध्यताले पढेका छौं, बसमा दैनिक सय रुपैयाँ पनि तिर्न सकिंदैन,’ उनले भने, ‘नजिक स्कुल भए त घरमा खाजा खान्थ्यौं, पढ्ने समय तालिका हुन्थ्यो। के गर्ने, यो वर्ष एसईई कसरी पास गर्ने होला?’

बर्खामा पानी, गर्मीमा घामले सताउँदा स्कुल जान दिक्क लाग्ने गरेको कक्षा ७ मा अध्ययनरत यसोधा गिरीले बताइन्।
शनिबार र बिदाको दिनमा आफूलाई चाडपर्व आए जस्तो लाग्ने गरेको उनको भनाइ छ। 

‘लामो बाटो कहिले साथीहरुसँग त कहिले एक्लै हिंड्नुपर्छ। मिन्स भएको बेला समेत समस्या हुन्छ। बाटोमा पिउने पानी समेत भेटिंदैन,’ उनले भनिन्, ‘पहिला त सरले ढिलो पुगे फर्काउनुहुन्थ्यो। अहिले सरले हाम्रो वाध्यता बुझ्नुभएको छ।’

नजिकका साथीहरुले खाजा खाँदा आफूहरु टुलुटुलु हेरेर बस्ने गरेको अनुभव यसोधाले सुनाइन्। 

उनीहरु मात्रै होइन, बिउरेनी गाउँमा कक्षा ५ भन्दामाथि पढाइ नहुँदा यहाँका १ सय ५८ जना विद्यार्थी दुई घण्टा हिंडेर पढ्न आउने गरेको सूर्यप्रकाश माध्यमिक विद्यालयका प्रधानाध्यापक गणेशकुमार ढकालले जानकारी दिए।

टाढाबाट आउने विद्यार्थीलाई निकै समस्या भएकोले नेपालका लागि भारतीय दूतावासको सहयोगमा १९ सिटे स्कुल बस सञ्चालनमा ल्याउने तयारी गरिएको प्रधानाध्यापक ढकालले बताए। 

‘बराहताल गाउँपालिका र पञ्चपुरीकै कतिपय टोलहरुबाट दुई/तीन घण्टा हिंडेर पढ्न आउने विद्यार्थीलाई समस्या छ। त्यही समस्या समाधान गर्न भारतीय दूतावासको सहयोगमा सानो स्कुल बस ल्याइएको छ, यो मात्रै त पर्याप्त छैन, तर जहाँ अप्ठ्यारो छ त्यहाँ यसको प्रयोग गरिनेछ,’ ढकालले भने, ‘सबै ठाउँमा बाटोको अवस्था सुधार भएपछि सञ्चालनमा ल्याइने छ।’

साँझ बिहान हिंड्नुपर्दा विद्यार्थीको पढाइ समेत प्रभावित भएको प्रधानाध्यापक ढकालको भनाइ छ। उनका अनुसार विद्यालय स्थापना भएदेखि नै बराहताल गाउँपालिका वडा नम्बर ६ को बिउरेनी, ठाडिबास, लाम्कने, बुटी, इखेनी र पञ्चपुरी नगरपालिकाकै जंगला, चनाली, बराइँचे, लामीदमार, तोक्मा, ढाब, भावरबाट घण्टौं हिंडेर पढ्न आउने गरेका छन्।

२ साउन, २०८०, १४:०१:३७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।