टप फाइभ : एमालेले माग्यो प्रधानमन्त्रीको राजीनामादेखि यौनाङ्गको टीका लगाइदिने ‘गुरू’विरुद्ध २६ जनाको उजुरीसम्म

टप फाइभ : एमालेले माग्यो प्रधानमन्त्रीको राजीनामादेखि यौनाङ्गको टीका लगाइदिने ‘गुरू’विरुद्ध २६ जनाको उजुरीसम्म

काठमाडौं : बुधबार संघीय संसद्को दुवै बैठक बसेर स्थगित भयो। राष्ट्रिय सभा र प्रतिनिधि सभा बैठकमा प्रमुख प्रतिपक्षी एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामा माग गर्यो

प्रधानमन्त्रीले मंगलबार दिएको अभिव्यक्तिका कारण उनको राजीनामा माग भएको हो। मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहालले भारतीय लेखक प्रितम सिंहको पुस्तकको विमोचन कार्यक्रममा आफूलाई प्रधानमन्त्री बनाउने सिंहले दिल्ली धाएको बताएका थिए।

प्रधानमन्त्रीको भनाइको विषयलाई लिएर एमालेको संसदीय दलको बैठक आज बस्यो। बैठकले प्रधानमन्त्री दाहालको राजीनामा माग गर्दै संसदमा कडा रूपमा प्रस्तुत हुने निष्कर्ष निकाल्यो।

प्रदेशसभा बैठकमा बागमतीका मन्त्रीहरूले प्रतिपक्ष दलहरूले दिएका सुझावका आधारमा बजेट तथा कार्यक्रमहरू कार्यान्वयन गरेर अघि बढ्ने बताए। बुधबारको बैठकमा छ वटा मन्त्रालयमाथि उठेका प्रश्नको जवाफ सम्बन्धित मन्त्रीहरूले दिएका थिए।

यस्तै लुम्बिनी प्रदेश सभा बैठकमा आज जेनेरेटरमा आगलागी भएको समाचारले सबैतिर चर्चा पायो। प्रदेशसभाको बैठक चलिरहँदा बत्ती गएपछि सभामुखले जेटेरेटरमा आगलागी भएको बैठक १० मिनेटको लागि स्थगित गरेका थिए।

अब लागौं टप फाइभतर्फः
उकेराले बुधबार विहान अनुहारमा आउने ‘न्यूरो फाइब्रोमाटोसिस’ र ‘हेमान्जिओमा’ ट्युमरको उपचारका लागि आएका एक बिरामीको उपचार अनुभव डा. जसवन शाक्यकहाँ गएको विषयमा समाचार लेख्यो। समाचारमा ११ किलोको ट्युमर बोकेर आएका बिरामीको उपचारको प्रक्रियाबारे समेटिएको छ।
पूरा समाचारः जब ६० वर्षका बाजे ११ किलोको लत्रिएको ट्युमर झोलामा बोकेर मकहाँ आएँ

यस्तै दिउँसो उकेराले जुम्लाको तातोपानी गाउँपालिका–४ गिडीखोलाका २१ वर्षीय मुकेन्द्र नेपाली र उनले असार १२ गते भगाएकी सोही गाउँकी गिरी थरकी १४ वर्षीया किशोरी अझैसम्म सम्पर्कविहीन भएको समाचार लेख्यो। समाचारमा मुकेन्द्रको घरमा आगजनी गर्नेमध्ये दुई जना पनि फरार रहेको उल्लेख गरिएको छ।
पूरा समाचारः अन्तरजातीय विवाह गर्ने युवा र १४ वर्षीया किशोरी सम्पर्कविहीन, जाहेरी परेका दुई जना पनि फरार

उकेराले बुधबार दिउँसो नै देवरलाई श्रीमान् भनेर छोराछोरीको नागरिकता बनाएको घटनामा वडाध्यक्षको शंकास्पद भूमिकाको बारेमा समाचार लेख्यो। उकेराकर्मीसँगको कुराकानीमा बुटवल वडा नं. १ का वडाध्यक्ष नरेन्द्र बस्नेतले वडाध्यक्षले सबैलाई नचिनिने भन्दै साथीहरूले हो भनेको आधारमा सिफारिस दिएको गैरजिम्मेवार अभिव्यक्ति दिए।
पूरा समाचारः झुटो नागरिकता सिफारिस गरेका वडाध्यक्ष भन्छन्, ‘वडाका सबैलाई चिनिँदैन, साथीहरूले हो भनेपछि दिएँ’

सहकारीमार्फत गरेको ठगीधन्दाले २२ अर्बको सम्पत्ति जोडेका शिव शिखर सहकारीका सञ्चालक केदारनाथ शर्मा न्यौपानेको सिलसिलेदार ठगीको बारेमा उकेराले समाचार लेख्यो। हालसम्म उनीविरुद्ध सीआईबीमा ३ सय ५० बचतकर्ताले उजुरी दिएका छन्।
पूरा समाचारः शिव शिखर सहकारी सञ्चालक शर्माको ठगीधन्दाः ४ लाखमा किराना पसल, २९ वर्षमा २२ अर्ब

त्यसैगरी उकेराले धर्मको नाममा अफवाह फैलाएर महिलाहरू ठगी गरेको आरोप लागेका ओम आश्रमका प्रमुख शिव सुत गौरी उर्फ पुरुषोत्तम काफ्लेविरुद्ध केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीमा २६ जनाले उजुरी दिएको समाचार लेख्यो। उनले महिला भक्तलाई यौनाङ्गको टीका लगाइदिने गरेको पीडित महिलाले आरोप लगाएका छन्।
पूरा समाचारः महिला भक्तलाई यौनाङ्गको टीका लगाइदिने ‘गौरी गुरु’विरुद्ध २६ जनाको जाहेरी, लक्ष्मी नेउपाने पनि पक्राउ

२० असार, २०८०, २२:०९:५७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।