अन्तरजातीय विवाह गर्ने युवा र १४ वर्षीया किशोरी सम्पर्कविहीन, जाहेरी परेका दुई जना पनि फरार

अन्तरजातीय विवाह गर्ने युवा र १४ वर्षीया किशोरी सम्पर्कविहीन, जाहेरी परेका दुई जना पनि फरार

सर्खेत : जुम्लाको तातोपानी गाउँपालिका–४ गिडीखोलाका २१ वर्षीय मुकेन्द्र नेपालीले असार १२ गते सोही गाउँकी गिरी थरकी १४ वर्षीय किशोरीलाई भगाए। भगाएर कहाँ लगे अहिलेसम्म पत्ता लाग्न सकेको छैन।

हरेक प्रविधि र जनशक्तिको प्रयोग गर्दा पनि उनीहरूलाई प्रहरीले भेटाउन सकेको छैन। असार १३ गते नै माइती पक्षले आफ्नी छोरीलाई दलितले भगाएकोले खोजी पाऊँ भन्दै जिल्ला प्रहरी कार्यालयमा निवेदन दिएका थिए।

तर, असार १७ गते राति काठमाडौंबाट जुम्ला आएर ती किशोरीका दाइ हिक्मत गिरीले केटाको घरमा आगजनी गरेपछि घटनाले अर्कै रूप लियो। मुकेन्द्रका दाइ भरत नेपालीले आफ्नो घरमा आगजनी गरि धनमालको तहस नहस गरेको भन्दै ती किशोरीका दाइ हिक्मत, बुवा श्रीराम गिरी र काका नारायण गिरीविरुद्ध जाहेरी दिए।

त्यसको भोलिपल्टै प्रहरीले हिक्मतलाई पक्राउ गरि अदालतबाट म्याद थप परेर आवश्यक अनुसन्धान थालिसकेको छ। तर, जाहेरीमा नाम परेका किशोरीका बुवा र काका अझै पक्राउ परेका छैनन्। उनीहरू फरारकै सूचीमा छन्।

‘घरमा आगो लगाउने किशोरीका दाइलाई पक्राउ गरेर आवश्यक अनुसन्धान अगाडि बढाइरहेका छौँ। उनका बुवा र अंकलको पनि खोजतलास गरिरहेका छौँ,’ जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रमुख डिएसपी प्रल्हाद कार्कीले भने, ‘किशोरीको उमेर १४ वर्षको रहेको खुलेको छ। किशोरको भने खोज्दै छौँ। उनीहरू दुई जना पनि अहिलेसम्म भेटिएका छैनन्।’

डिएसपी कार्कीका अनुसार १४ वर्षीया ती किशोरीले एसईई दिएर बसेकी थिइन्। केटाको उमेर र पढाइको विषयमा समेत अनुसन्धान प्रहरीले गरिरहेको छ।

‘किशोरीको उमेर र पढाइको विषयमा अनुसन्धान गरिकेका छौँ। तर, उनीहरूको पहिलादेखि नै प्रेम हो या होइन भन्ने विषय बुझ्न सकिएको छैन,’ डिएसपी कार्कीले भने, ‘केटा कक्षा १२ पास गरेको र उमेर २१ वर्ष हो भन्ने कुरा अनौपचारिक आए पनि त्यसलाई ‘भेरीफाइ’ गर्ने आधारहरू भेटिएका छैनन्।’

पक्राउ परेका हिक्मतले बयानमा आफूले आगजनी गरेको स्वीकारेको कार्कीले बताए।

पाँच वर्षअघि ढुङ्गा र माटोले बनाइएको घर जल्दा ६५ लाख बराबरको क्षति भएको मुकेन्द्रका दाइ भरत नेपालीले बताए। दुई वर्षपहिले देखि नै उनीहरू प्रेम सम्बन्धमा रहेको र गाउँलेले थाहा पाए नस्वीकार्ने डरले भागेको हुनसक्ने भरतले बताए।

‘मेरो भाइ त २१ वर्षको भयो। ऊ १२ पास गरेर अब ब्याचलर भर्ना हुने प्लानमा थियो। म सदरमुकामतिरै बस्छु, उतै जागिर गर्छु। अहिले गाउँमा बुझ्दा दुई वर्ष पहिलेदेखि नै उनीहरू प्रेममा थिए र समाजले नस्वीकार्ने भन्दै भागेको कुरा आएको छ,’ भरतले भने।

२० असार, २०८०, १५:३२:५९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।