बहिनीलाई दलितले भगाएको भन्दै घर जलाएर खरानी बनाइदिए

बहिनीलाई दलितले भगाएको भन्दै घर जलाएर खरानी बनाइदिए

सर्खेत : असार १२ गते तातोपानी गाउँपालिका-४ गिडीखोलाका २१ वर्षीय मुकेन्द्र नेपाली र सोही गाउँकी बसन्ती गिरी विवाह गर्ने भन्दै गाउँबाट भागे।

तीन वर्षदेखि प्रेम सम्बन्धमा रहेका उनीहरू समाजले अन्तरजातीय विवाह नस्विकार्ने डरले गाउँबाटै भागेका थिए। त्यसको भोलिपल्ट असार १३ गते बसन्तीका माइतीले मुकेन्द्रले आफ्नी छोरीलाई बेपत्ता बनाएको भन्दै प्रहरीमा उजुरी हाले। 

प्रहरीले खोजी कार्य चलाइरहेका बेला काठमाडौँमा बस्दै आएका बसन्तीका दाई हिक्मत गिरी असार १६ गते गाउँ फर्किए। अनि आफ्नी बहिनीलाई दलितले भगाएको भन्दै मुकुन्द्रको घर गई आगो लगाइदिए। 

‘१२ गते मेरो भाइले बसन्तीलाई भगाएको रहेछ। म संस्थामा काम गर्ने भएकाले जुम्ला सदरमुकाममै भाडामा बस्छु। केटीका दाइ काठमाडौँबाट त्यो डुमको घरमा आगो लगाउँछु भन्दै आगो लगाएछन्, त्यो दिन संयोगले घरमा केही थिएन।' मुकुन्द्रका दाइ भरतले भने, 'पल्लो घरकी अन्टीले बिहान तीन बजे थाहा पाएपछि गाउँलेलाई बोलाइछन्। त्यतिबेलासम्म त घर खरानी भएछ।’

श्रीमती नेपालगञ्ज र अर्का भाइ दिदीको घर गएकाले मात्र मानवीय क्षति हुन नपाएको भरतले बताए। 

मुकुन्द्रले भर्खरै १२ कक्षा पास गरेका हुनु भने बसन्ती १२ मा पढ्दै छिन्। तर उनीहरू अहिलेसम्म कहाँ छन् कसैलाई पत्तो छैन। स्थानीयका अनुसार मुकन्द्रे २१ वर्षीय हुन् भने बसन्ती १७/१८ वर्षकी छिन्। 

‘गाउँमा बुझ्दा तीन वर्षदेखि उनीहरू प्रेम सम्बन्धमा रहेको भन्ने कुरा आएको छ। म सदरमुकामतिर हुने हुँदा मैले धेरै कुरा बुझ्न पाइन,' मुकुन्द्रका दाइ भरतले भने, 'माइती पक्षले थाहा पाएपछि नस्विकार्ने डरले भागेको कुरा सुन्नमा आएको छ', भरतले भने, ‘केटीले केही दिन अगाडि आफ्नी अन्टीलाई आफू भागेर विवाह गरेको र नेपालगञ्जमा रहेको बताएकी रहिछिन्। त्यही कुरा सुनेको हामीसँग त सम्पर्क पनि भएको छैन। खोजी दिनका लागि प्रहरीलाई हारगुहार गरेका छौं।’

भरतका अनुसार मुकुन्द्र चार भाइमध्येको सबैभन्दा कान्छा हुन्। भाइलाई केही गरिदिने हुन् कि भन्ने चिन्ता लाग्ने गरेको भरत बताउँछन्। गिडीखोला गाउँ जुम्ला सदरमुकामदेखि करिब १५ किलो मिटर दक्षिणतर्फ छ। यहाँ करिब २८ घरधुरी दलित समुदायका छन्। 

भरतका अनुसार पाँच वर्षअघि बनाएको घर र पूरै सामग्री जलेर नष्ट भएका छन्। जसबाट करिब ६५ लाखको क्षति भएको प्रहरी मुचुल्कामा उनले उल्लेख गरेका छन्। 

उक्त घटनापछि केटाका दाइ भरतले घरमा आगो लगाउने केटीका दाइ हिक्मत, बुवा श्रीराम र काका नारायण गिरीका नाममा जातीय विभेद तथा उपद्रव व्यवहारमा जिल्ला प्रहरी कार्यालय जुम्लामा किटानी जाहेरी दिएका छन्। 

जाहेरीपछि प्रहरीले आइतबार दिउँसो एक बजे भागेर नेपालगञ्ज जान लागेका हिक्मतलाई जुम्ला एअरपोर्टबाट पक्राउ गरेको छ। 

किशोरीका दाइलाई पक्राउ गरेर सोमबार म्याद थप गरिएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायव उपरीक्षक प्रह्लाद कार्कीले जानकारी दिए। 

‘केटीका दाई हिक्मतलाई हामीले हिजो नै पक्राउ गरेर (आज) सोमबार म्याद थप गरिसकेका छौं, किटानी जाहेरी परेका अन्य दुई जनालाई पनि खोजिरहेका छौं’, प्रहरी नायव उपरीक्षक कार्कीले भने, ‘पक्राउ परेका हिक्मतले प्रारम्भिक बयानमा आफूले आगजनी गरेको स्वीकारेका छन्। बाँकी कुरा कानुनबमोजिम प्रक्रिया अगाडि बढ्नेछ।’ 

उनका अनुसार केटाकेटीको खोजीका लागि पनि प्रहरी सबै ठाउँमा आवश्यक समन्वय गरेर खोजी कार्य जारी राखेको छ।

१८ असार, २०८०, १३:३३:४४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।