प्रधानमन्त्रीको राजीनामा चाहियो, उहाँबाट साह्रै भयो : केपी ओली

प्रधानमन्त्रीको राजीनामा चाहियो, उहाँबाट साह्रै भयो : केपी ओली

काठमाडौं : एमाले अध्यक्ष केपी शर्मा ओलीले सदनमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको जवाफ नभई राजीनामा चाहिएको बताएका छन्।

बुधबार संसद बैठक अवरुद्ध भएपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले प्रधानमन्त्रीले स्वाभिमान र स्वाधीनताविपरीतको अभिव्यक्ति दिएको भन्दै राजीनामा चाहिएको बताए।

‘प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रिय स्वाभिमान र स्वाधीनता गिराउने खालको अस्वभनीय र आपत्तिजनक रह्यो,’ उनले भने, ‘हामीलाई प्रधानामन्त्रीको जवाफ होइन राजीनामा चाहियो, उहाँबाट साह्रै भयो।’

‘एमालेले सरकार ढलाउने खेल खेलिरहेको थियो त्यसलाई पुष्टि गर्न खोज्नुभएको हो?’ भन्ने सञ्चारकर्मीको अर्को प्रश्नमा उनले भने, ‘हो।’

मंगलबार काठमाडौंमा भएको एक कार्यक्रममा प्रधानमन्त्री दाहालले आफूलाई प्रधानमन्त्री बनाउन प्रितम सिंहले पटक–पटक दिल्ली धाएको बताएका थिए।

प्रधानमन्त्रीको सोही अभिव्यक्तिपछि बुधबारको प्रतिनिधिसभा बैठक अवरुद्ध छ। एमाले लगायत राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका नेताले बुधबारको प्रतिनिधिसभा बैठक अवरुद्ध गरे भने राष्ट्रियसभाको बैठक बस्दै नबसी स्थगित भयो।

२० असार, २०८०, १७:४२:३९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।