शिव शिखर सहकारी सञ्चालक शर्माको ठगीधन्दा : ४ लाखमा किराना पसल, २९ वर्षमा २२ अर्ब

शिव शिखर सहकारी सञ्चालक शर्माको ठगीधन्दा : ४ लाखमा किराना पसल, २९ वर्षमा २२ अर्ब

काठमाडौँ : शिव शिखर बहुउद्देश्यीय सहकारीका सञ्चालक केदारनाथ शर्मा न्यौपाने सहकारीमार्फत ठगी गरेको आरोपमा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को हिरासतमा छन्।

उनीमाथि ब्यूरोले अनुसन्धान गरिरहेको छ। शर्माको सम्पत्ति नाटकीय ढंगले बढेको देखिएको भन्दै सीआईबीले छानबिनका लागि सम्पत्ति शुद्धीकरण विभागमा पत्र पठाएको छ।

‘शर्माको सम्पत्ति २९ वर्षमा नाटकीय ढंगले बढेको पाइयो,’ सीआईबी स्रोतले भन्यो,‘उनीमाथि सम्पत्ति शुद्धीकरणले पनि अनुसन्धान गर्छ। विभागमा पत्र पठाएका छौँ।’ 

हालसम्म उनीविरुद्ध सीआईबीमा ३ सय ५० बचतकर्ताले उजुरी दिएका छन्। ३ सय ५० जनाको रकम जोड्दा ३३ करोड हुन आउँछ। 

सीआईबीको अनुसन्धानले सहकारीमा बचत भएको रकम भने १० अर्ब ७७ करोड देखाएको छ। उक्त सहकारीमा एक लाख ६८ हजार बचतकर्ता देखिएका छन्। सीआईबीले ८ अर्ब रकम हिनामिना गरेको देखिन आएको बताएको छ। सहकारीमा भएको ६ अर्ब २५ करोड ७ लाख ९९ हजार १ सय ८६ रुपैयाँ कम्पनी र सञ्चालकहरूले लिई हिनामिना गरेको सीआईबीको ठहर छ। 

२०५१ सालमा ४ लाख, अहिले २२ अर्ब

४८ वर्षे शर्मा २०५१ सालमा  बाँकेको कोहलपुरमा ओम शिव स्टोर नामको किराना पसल चलाउँथे। उक्त किराना पसलमा उनले ४ लाख लगानी गरेका थिए। करिब ९ वर्ष बाँके नै बसेका शर्माले २०६० सालमा काठमाडौँको शान्तिनगरमा ४० लाख रुपैयाँ बराबरको किराना पसल सञ्चालनमा ल्याए।

०५१ सालम‌ै उनले उपकार बचत तथा ऋण सहकारी संस्थाको सञ्चालक समितिमा बसेर काम गरेका थिए। ६५ सालसम्म उक्त सहकारीको समितिमा बसेका उनले त्यही वर्ष गोर्खा टी एण्ड कफी कम्पनी पनि खोले। यति मात्रै होइन, ६५ सालमा नै शर्माले शिव शिखर कृषि तथा अनुसन्धान केन्द्र स्थपना पनि गरे। यसमार्फत उनले कृषि औजार कारोबार सुरु गरे।

३५ वटा जिल्लामा यही शिव शिखर अनुसन्धान केन्द्रको शाखा पनि विस्तार गरे। ०६७ सालमा शिखर दीप सहकारीको अध्यक्ष पनि भए। ४३ वटा अन्य कम्पनी पनि खोलका उनको व्यवसाय झाँगिँदै गयो।

र, २०७७ सालमा उनले शिखर दीप सहकारी र शिव शिखर कृषि अनुसन्धान केन्द्र मर्ज गरे। २०७७ सालबाटै एकीकृत कारोबार गर्न थाले, शिव शिखर बहुउद्देश्यीय सहकारीको नाउँमा। 

नेपालमा मात्रै उनको कारोबार सीमित भएन। भारतमा पनि थप व्यवसाय विस्तार गरे। भारतमा उनले गोदाम घर राखेको पनि खुल्न आएको छ। 

४३ वटा कम्पनीमार्फत विविध कारोबार गर्दै आइरहेका शर्माको सम्पत्ति २९ वर्षमा अथाह देखिएको छ। ४ अर्ब रुपैयाँ विभिन्न ६ वटा बैंकबाट उनले ऋण लिएको देखिन्छ।

सहकारीको नाममा उनले काठमाडौँ, भक्तपुर, ललितपुर चितवन र मकवानपुरलगायत ठाउँमा १ सय ७९ रोपनी जग्गा जोडे। त्यस्तै शर्माले अन्य कम्पनीका नाममा पनि १ सय ७१ रोपनी जग्गा किनेको देखिएको छ। तीन सय वटा सवारी साधनसमेत उनको कम्पनीको नाममा देखिएको छ। यी सबै सम्पत्तिको विद्यमान बजारमूल्य २२ अर्ब बराबर हुन आउने सीआईबीले मूल्यांकन गरेको छ। 

मोरङ प्रहरीले नै जारी गरेको थियो रेडकर्नर नोटिस

सहकारीले एकै व्यक्ति दुई सहकारीको अध्यक्ष हुन नपाइने नियम ल्याएपछि पनि तुलसी बहुउेश्यीय सहकारीका पनि अध्यक्ष थिए केदारनाथ शर्मा। तुलसीमा पनि एक अर्ब ४९ करोड बराबरको रकम हिनामिना गरेको भन्दै उनीविरुद्ध उजुरी परेको थियो। झापा, मोरङ, सुनसरी र उदयपुरमा शाखा कार्यालय रहेको सहकारीको रकम दुरुपयोग गरेको उनलाई आरोप लागेको थियो। 

१० हजारभन्दा बढी बचतकर्ताको रकम दुरुपयोग गरेको आरोप लागे पनि मोरङ प्रहरीले उनलाई पक्राउ गर्न सकेको थिएन। नेपालभन्दा धेरै भारत बस्दै आइरहेका शर्मालाई पक्राउ गर्न मोरङ प्रहरीले रेड कर्नर नोटिस जारी गरेको थियो।

शिवशिखर सहकारीसम्बन्धी थप सामग्री

२० असार, २०८०, १७:००:५२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।