भरतपुर अस्पताल र ट्रमा सेन्टरको एमआरआई खरिद प्रक्रिया रोक्न स्वास्थ्यमन्त्रीको निर्देशन

भरतपुर अस्पताल र ट्रमा सेन्टरको एमआरआई खरिद प्रक्रिया रोक्न स्वास्थ्यमन्त्रीको निर्देशन

काठमाडौं : स्वास्थ तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले चिवतनको भरतपुर अस्पताल र काठमाडौंको ट्रमा सेन्टरको एमआरआई मेसिन खरिद प्रक्रिया रोक्न निर्देशन दिएको बताएका छन्।

शुक्रबार मन्त्रालयमा भएको कर्मचारी र पत्रकारसँगको अन्तरक्रिया कार्यक्रममा उनले भरतपुर र ट्रमा सेन्टरका गर्न लागिएको मेसिन खरिदमा अनियमितता भएको सूचनाका आधारमा खरिद प्रक्रिया नै रोक्न निर्देशन दिएको बताएका हुन्।

उकेराले यसअघि भरतपुर अस्पतालको एमआरआई खरिदमा मिलेमतो भएको समाचार प्रकाशन गर्दै आएको थियो। अस्पतालले मिलेमतोमा सिमेन्स कम्पनीको एमआरआइसँग मात्र मिल्नेगरी प्राविधिक स्पेशिफिकेशन बनाएको पुष्टि भइसकेको थियो।

भरतपुर अस्पतालले अन्ततः इष्ट वेस्ट कन्सर्न प्रालिलाई नै टेन्डर दिने तयारी गरेको थियो। अस्पतालले सिमेन्स उत्पादक कम्पनीको नेपालस्थित इष्टवेष्ट कन्सर्न सप्लायर्स कम्पनीलाई एमआरआईको टेन्डर दिनकै लागि प्राविधिक स्पेशिफिकेशन बनाएर टेन्डर गरेर खरिद प्रक्रिया अगाडि बढाएकोबारे उकेराले निरन्तर समाचार प्रकाशित गरेको थियो।

सिमेन्स (इष्ट वेस्ट कन्सर्न)लाई नै टेन्डर दिलाउने भूमिकामा भरतपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. कृष्णप्रसाद पौडेल सँगेै स्वास्थ्य मन्त्रालयका सचिव डा. रोशन पोख्रेल समेतको भूमिका शङ्कास्पद थियो।

स्वास्थ्य सचिव डा. पोख्रेल भरतपुर अस्पतालमा सिमेन्सलाई नै एमआरआईको टेन्डर दिने गरी खरिद प्रक्रिया अगाडि बढाउँदा समेत मौन बसेनन् मात्रै। यस विषयमा जिज्ञासा लिँदा समेत यस विषयमा नसोध्न अनुरोध गर्दै पन्छिँदै आएका थिए।

राष्ट्रिय ट्रमा सेन्टरमा चुनावको मौका पारेर ३० करोडको एमआरआई मेसिन खरिदको टेन्डर खुलेको थियो। सेन्टरले लक्डस्पेश बनाएर एमआरआई मेसिन किन्न कात्तिक २८ मा टेन्डर आह्वान गरेको हो।

खरिदमा विवादित बनेेका रुद्र मराासिनीको हालै सरूवा भएको थियो। ट्रमाको खरिदबारे पनि उकेरालेे निरन्तर फलोअप गरेको थियो।

सम्बन्धित समाचार: 

१९ जेठ, २०८०, १७:५४:२२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।