३० करोडको एमआरआई खरीद विवादमा मुछिएका मरासिनी टेकु सरुवा, ट्रमा पुगे बद्री

३० करोडको एमआरआई खरीद विवादमा मुछिएका मरासिनी टेकु सरुवा, ट्रमा पुगे बद्री

काठमाडौंः स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेत पनि यसअघिका मन्त्रीझैँ कर्मचारी सरुवामै रमाएका छन्। ​​​​​​

खरिद विवादमा मुछिएका ११ औं तहका राष्ट्रिय ट्रमा सेन्टरका निर्देशक डा. रुद्रप्रसाद मरासिनीलाई टेकुस्थित इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको निर्देशकको जिम्मेवारी दिएका छन्। 

स्वास्थ्य सेवा विभागमा जिम्मेवारी दिइएको वा सो महाशाखाकै जिम्मेवारी दिएको भन्ने मन्त्रीको सचिवालयले खुलाएको छैन। त्यसैगरी ट्रमा सेन्टरको निर्देशकमा ११ औं तहका डा. बद्री रिजाललाई जिम्मेवारी दिएका छन्। महाशाखाका ११ औं तहका निर्देशक डा. चुमनलाल दास भने स्वास्थ्य मन्त्रालयमा सरुवा भएका छन्। 

डा. मरासिनी ट्रमा सेन्टरमा करिब ३० करोडको एमआरआई खरिद विवादमा मुछिएका चिकित्सक हुन्। उनले निश्चित कम्पनीसँगको सेटिङमा कमिसनको खेलमा प्राविधिक स्पेसिफिकेसन नै एउटा मात्रै कम्पनीसँग मिल्नेगरी बनाएर एमआरआई खरिद प्रक्रिया अगाडि बढाएका थिए।

सो एमआरआई खरिद प्रक्रिया अन्तिम चरणमा पुगेर अल्झिएको छ। डा. मरासिनी यसअघि व्यवस्थापन महाशाखा प्रमुखको जिम्मेवारीमा हुँदा समेत खरिद विवादमा मुछिएका चिकित्सक हुन्। 

डा. रिजाल नेपाल चिकित्सक संघका वरिष्ठ उपाध्यक्षसमेत हुन्। हालसम्म अस्पताल प्रमुखको जिम्मेवारी नपाएकाले अब उनको अस्पताल प्रमुखका रूपमा कार्यक्षमताको परीक्षण सुरु भएको छ। 

त्यसैगरी परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल (प्रसूति गृह)को निर्देशकमा भने ११ औं तहका डा. श्रीप्रसाद अधिकारी नियुक्त भएका छन्। यसअघि सोही अस्पतालको उपनिर्देशकको समेत जिम्मेवारी सम्हालेका डा. अधिकारी हालसम्म विवादमा मुछिएका भेटिएको छैन।  

प्रसूति गृहका ११ औं तहका निर्देशक डा. पवनजंग रायामाझीलाई हटाउँदै मन्त्री बस्नेतले अधिकारीलाई निर्देशकको जिम्मेवारी दिएका हुन्। 

त्यसैगरी ११ औं तहका नारायणप्रसाद ढकालले औषधि व्यवस्था विभागको महानिर्देशकको जिम्मेवारी पाएका छन्। मन्त्री बस्नेतले विभागका महानिर्देशक भरत भट्टराईलाई हटाउँदै ढकाललाई उक्त जिम्मेवारी दिएका हुन्।

भट्टराईलाई भने औषधि विभागअन्तर्गतकै राष्ट्रिय औषधि प्रयोगशालामा सरुवा गरिएको छ। ढकाल यसअघि पनि विभागको महानिर्देशक थिए। ढकाल र भट्टराईबीच चिसो सम्बन्ध रहेको बताइन्छ। 

मन्त्री बस्नेतले यसअघि जेठ ३ गते दशौं तहका जुनियर चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका निमित्त उपकुलपतिमा विवादमा मुछिएका डा. भूपेन्द्र कुमार बस्नेतलाई नियुक्त गरेका थिए।

त्यस्तै राष्ट्रिय तालिम केन्द्रको जिम्मेवारी डा अनुज भट्टचनले पाएका छन् भने केन्द्रमा रहेका यदुचन्द्र गौतमलाई मन्त्रालय सरुवा गरिएको छ। 

१७ जेठ, २०८०, १७:४७:४९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।