स्वास्थ्य सचिवै सेटिङमा, भरतपुरको एमआरआईमा लक्ड स्पेशिफिकेशन बनाएर ३२ करोडको टेन्डर इष्ट वेष्टलाई

स्वास्थ्य सचिवै सेटिङमा, भरतपुरको एमआरआईमा लक्ड स्पेशिफिकेशन बनाएर ३२ करोडको टेन्डर इष्ट वेष्टलाई

काठमाडौँ : करिब ३२ करोड ४० लाख मूल्य बराबरको ‘थ्रि टेस्ला एमआरआई मेसिन’ किन्नका लागि खरिद प्रक्रिया अगाडि बढाएको भरतपुर अस्पतालले अन्ततः इष्ट वेस्ट कन्सर्न प्रालिलाई नै टेन्डर दिने भएको छ। अस्पतालले सिमेन्स उत्पादक कम्पनीको नेपालस्थित इष्टवेष्ट कन्सर्न सप्लायर्स कम्पनीलाई एमआरआईको टेन्डर दिनकै लागि प्राविधिक स्पेशिफिकेशन बनाएर टेन्डर गरेर खरिद प्रक्रिया अगाडि बढाएको थियो।

अस्पतालले सिमेन्स उत्पादक कम्पनीको नेपालस्थित इष्टवेष्ट कन्सर्न सप्लायर्स कम्पनीलाई एमआरआईको टेन्डर दिनकै लागि प्राविधिक स्पेशिफिकेशन बनाएर टेन्डर गरेर खरिद प्रक्रिया अगाडि बढाएको विषयको उकेराले सुरुवाती दिनदेखि नै समाचार सम्प्रेषण गरेको थियो।

अस्पतालले सिमेन्स कम्पनीकै मेसिन खरिद गर्ने गरी प्राविधिक मूल्याङ्कनमा इष्टवेष्ट कन्सर्नलाई छनोट गरी आर्थिक प्रस्ताव खोलिने सूचना जारी गरिसकेकाले उकेराले सम्प्रेषण गरेको समाचार पुष्टि भएको छ।

मेसिन खरिदका लागि बोलपत्र प्रस्तावकमध्ये प्राविधिक र आर्थिक मूल्याङ्कनको चरणमा छनोट भएपछि टेन्डर पाउँछन्। सिमेन्सको नेपालस्थित एजेन्ट तथा सप्लायर्स इष्ट वेस्ट कन्सर्न प्राली प्राविधिक मूल्याङ्कनको चरणमा छनोट गरेको छ।

अस्पतालले २२ गते बुधवार एमआरआई खरिदका लागि ‘आर्थिक प्रस्ताव खोल्ने सम्बन्धी सूचना’ प्रकाशित गर्दै भनिएको छ,‘आर्थिक प्रस्ताव खोलिने बोलपत्रदाता इष्ट वेस्ट कन्सर्न प्राली, बालुवाटार, काठमाडौँ।’

थ्रि टेस्ला एमआरआई मेसिनको खरिदको लागि अस्पतालले अर्को महिना वैशाख ६ गते आर्थिक प्रस्ताव खोल्ने निर्णय गरेको छ।

अस्पतालले आर्थिक प्रस्ताव खोल्ने सम्बन्धी सूचनामा भनिएको छ,‘...इ—बिडिङमार्फत दर्ता हुन आएका बोलपत्रहरूको प्राविधिक प्रस्ताव (टेक्निकल बिड) मिति २०७९÷११÷०४ मा खोली सार्वजनिक खरिद नियमावली २०६४ को नियम ३१ (ङ) (०४)  बमोजिम मूल्याङ्कन हुँदा तपसिलका बोलपत्रदाताहरूको प्राविधिक प्रस्ताव सारभूत रूपमा प्रभावग्राही देखिएकाले सोही नियमको उपनियम (५) बमोजिम मिति २०८०-०१-०६ गते दिनको १ बजे यस कार्यालयमा आर्थिक प्रस्ताव खोलिने हुँदा सफल बोलपत्रदातालाई आधिकारिक पत्र सहित उपस्थितिको लागि यो सूचना प्रकाशित गरिएको छ।’

प्राविधिक मूल्याङ्कनमा छनोट भएकाले आर्थिक चरणमा पनि सिमेन्स कम्पनीको  इष्ट वेस्ट कन्सर्न नै छनोट हुने करिब निश्चित छ। अब अस्पतालले तोकेको बजेटको सीमा भन्दा बढी रकममा एमआरआई मेसिन ल्याइदिने गरी बोलपत्र प्रस्ताव गरेको भए मात्रै उसलाई टेन्डर पर्दैन।  तर, टेन्डर आह्वान गर्दा नै सिमेन्सलाई मात्रै मिल्ने गरी प्राविधिक स्पेशिफिकेशन बनाएर टेन्डर गरेको देखिएकाले सिमेन्स कम्पनीको एजेन्ट इष्ट वेस्ट कन्सर्नले टेन्डर नपाउने सम्भावना अत्यन्तै न्यून छ।

त्यसमाथि पनि सिमेन्ससँग मात्रै मिल्ने प्राविधिक स्पेशिफिकेशन बनाएकाले अन्य कम्पनीका सप्लायर्सले एमआरआई खरिदका लागि बोलपत्र प्रस्ताव नै गरेनन्।

त्यसैले टेन्डर प्रस्ताव गर्ने सिमेन्स मात्रै हो। सिमेन्ससँगमात्रै मिल्ने गरी प्राविधिक स्पेशिफिकेशन बनाएर अन्य कम्पनीका सप्लायर्सलाई अस्पतालले खरिद प्रक्रियाको प्रतिस्पर्धामा नै आउन नदिएकाले सिमेन्सलाई टेन्डर पाउन सहज वातावरण भएको छ।

आर्थिक चरणमा यो कम्पनीको मेसिन छनोटमा नपरे टेन्डर नै रद्द गर्नुपर्ने अवस्था आउँछ। तर, अस्पताल टेन्डर रद्द नगरी जसरी पनि सिमेन्सलाई नै टेन्डर पारिदिने रणनीति देखिएकाले उसैलाई टेन्डर पर्ने करिब निश्चित नै छ।

अस्पतालले थ्रि टेस्ला एमआरआई मेसिन हाई इण्डको हुनुपर्ने मापदण्ड राख्दै पुस १८ गते सोमबार एमआरआई खरिदका लागि टेन्डर (बोलपत्र) आह्वान गरेको थियो। त्यसपछि सिमेन्सलाई मात्रै मिल्ने गरी अस्पतालले प्राविधिक स्पेशिफिकेशन बनाएर टेन्डर प्रक्रिया अगाडि बढाएकाले अन्य कम्पनीले भने एमआरआई खरिदका लागि टेन्डर नै हालेका थिएनन्।

अस्पतालले थ्रि टेस्ला एमआरआरआइको प्राविधिक स्पेशिफिकेशनमा कम्तीमा ७० सेन्टिमिटरको वाइड बोर साइजको एमआरआई मेसिन हुनुपर्ने मापदण्ड राखेको छ।

सचिव पोख्रेल भने कुरा गर्दिन तपाईँसँग'

यसरी सिमेन्स (सप्लायर्स इष्ट वेस्ट कन्सर्न)लाई नै टेन्डर दिलाउने भूमिकामा भरतपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. कृष्णप्रसाद पौडेल मात्रै होइन स्वास्थ्य मन्त्रालयका सचिव डा. रोशन पोख्रेल समेतको भूमिका शङ्कामा रहेको छ।

स्वास्थ्य सचिव डा. पोख्रेल भरतपुर अस्पतालमा सिमेन्सलाई नै एमआरआईको टेन्डर दिने गरी खरिद प्रक्रिया अगाडि बढाउँदा समेत मौन बसेनन् मात्रै। यस विषयमा जिज्ञासा लिँदा समेत यस विषयमा नसोध्न अनुरोध गर्दै पन्छिँदै आएका छन्।

बुधबार साँझमा समेत सचिव डा. पोख्रेलसँग भरतपुर अस्पतालमा एमआरआई खरिद प्रक्रियामा देखिएको अनियमितताको विषयमा जिज्ञासाका लागि सम्पर्क गर्दा उकेरासँग कुरा नगर्ने भन्दै फोन नगर्न अनुरोध गरे।

‘पछि कुरा गर्नुहोस् न है म कार्यक्रममा छु एउटा,’ सचिव पोख्रेलले भने,‘मलाई फोन नगर्नु भएको भए हुन्थ्यो। म कुरा गर्दिन तपाईँसँग।’

भरतपुरमा भएको एमआरआई खरिद प्रक्रियाको पारदर्शीताको विषयमा केही दिन अघि उकेराले जिज्ञासा लिँदा उल्टै स्वास्थ्य सचिव डा. पोख्रेलले ‘त्यसको बारेमा सचिवले केही बोल्न चाहनु भएन भनेर भन्दिनु भए हुन्छ। सक्दिन हजुर म अब’ भन्दै गैह्र जिम्मेवार जवाफ दिएका थिए।

तर, सार्वजनिक खरिद नियमावली अनुसार २० करोड भन्दा बढी रकमको लागत अनुमानको विभागीय प्रमुखबाट स्वीकृति लिनुपर्ने हुन्छ। सो नियम अनुसार स्वास्थ्य सचिव डा. रोशन पोख्रेलले एमआरआई खरिदका लागि लागत अनुमान स्वीकृति दिनुपर्ने हुन्छ।

त्यसमाथि मन्त्रालय मातहतका अस्पतालमा हुने गतिविधिका विषयमा स्वास्थ्य सचिवको जिम्मेवार भूमिका हुने भएकाले अस्पतालमा भएको टेन्डरको विषयमा उनको जिम्मेवार तह हो।

यस विषयमा जानकारीका लागि बुधवार साँझ भरतपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. पौडेललाई सम्पर्क गर्दा उनीसँग सम्पर्क हुन सकेन। न त अस्पतालका प्रवक्तासँग नै सम्पर्क भयो।

एमआरआई खरिदमा डा. पौडेलले अनियमितता नभएको दाबी गर्दै आएका छन्।

अस्पताल स्रोतका अनुसार रेडियोलोजी विभागका प्रमुख डा. केशव पौडेल, न्युरो सर्जन डा. गुणराज पौडेल, एक्स–रे विभागका प्रमुख रोशन पटेल, लेखा अधिकृत (प्रमोद पोखरेल), बायोमेडिकल इन्जिनियर तुलसी खनाल प्राविधिक मूल्याङ्कन समितिमा छन्। 

२२ चैत, २०७९, ००:०६:०१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।