इन्स्पेक्टरबाट कुटिएका प्रहरी हवल्दारको बयान : प्रहरी परिसरमै घोप्टो पारेर मुक्का र कुर्कुच्चाले हिर्काए, म बेहोस भएँ

इन्स्पेक्टरबाट कुटिएका प्रहरी हवल्दारको बयान : प्रहरी परिसरमै घोप्टो पारेर मुक्का र कुर्कुच्चाले हिर्काए, म बेहोस भएँ

सुर्खेत : शुक्रबार डिउटी सकेर सुतेका डोल्पा कारगारमा कार्यरत प्रहरी हवल्दार ३७ वर्षीय हिराराम रेउले शनिबार बिहान ८ बजे उठे। बिहान छोरालाई फोन गरेर कुरा गरे। जेठो छोरा जेठी श्रीमतीतिरका सन्तान हुन्।

डिभोर्स भएको लामो समय हुँदा पनि १३ वर्षीय छोरालाई रेउलेले घरमा राख्न पाएका छैनन्। कान्छी श्रीमतीबाट दुई छोरा छन्। 

जेठो छोराको विषयमा कुरा गर्न कान्छी श्रीमतीलाई फोन गरे। घरायसी छलफलमा कुरा मिलेन। ९ बजे नजिकैको पसलमा गएर मदिरा पिए। उनी साढे १० बजेतिर कारागारमा सुत्ने तरखरमा थिए। कार्यालयमा कार्यरत असईले ‘जिल्ला प्रहरी कार्यालयमा इन्स्पेक्टर सापले बोलाउनुभएको छ’ भनेर खबर गरेपछि उनी सरासर कार्यालय गए।

करिब ११ बजेको समयमा गेटभित्र छिर्नासाथ इन्स्पेक्टर नवीन चापागाईंले किन रक्सी खाएको भन्दै उनलाई ‘ब्याण्ड पोजिसन’ (घोप्टो पारेर) राखे। उनको दाबी अनुसार बोल्नु अगाडि नै  बक्सिङ र कुर्कुच्चाले हाने।

कार्यालय परिसरमा आठ/दस जना हवल्दार, मेजरदेखि प्रहरी जवान पनि थिए। हाकिमका अगाडि उनीहरुको केही चलेन।

त्यसपछि हवल्दार रेउले बेहोस् भए। उनलाई मापसे चेकसँगै उपचार गराउ भन्दै इन्स्पेक्टर चापागाईंले अन्य प्रहरीसँगै गाडीमा पठाए।

प्रहरीले जिल्ला अस्पताल डोल्पामा हवल्दार रेयलेको उपचार गरायो। उनको नाक र आँखामा गहिरो चोट लागेकोले उनलाई नेपालगञ्जका लागि रेफर गरियो। 

उनलाई नाकको लागि भेरी अञ्चल अस्पताल र आँखाको लागि फुल्टेग्रा आँखा अस्पताल नेपालगञ्जमा रेफर गरियो।

‘शनिबार मेरो डिउटी थिएन। मलाई घरायसी समस्या थियो। त्यही कारण थोरै रक्सी खाएर सुत्छु भनेर बेडमा पल्टिएको थिए। मलाई एक्कासि बोलाएर प्रहरी कार्यालयको ग्राउण्डमा ‘ब्याण्ड पोजिसनमा राखेर ८/१० जना साथीहरुको अगाडि कुटपिट गर्नुभयो,’ रेउलेले भने, ‘मैले रक्सी खाएको थिएँ। त्यो कुरा त मैले उहाँलाई भनिरहेको थिएँ। रक्सी खाएकै विषयमा अन्य कारबाही गर्दा मलाई स्वीकार्य थियो। तर, मलाई कुटेर नाक बङ्गाइ, आँखा नै फुटालेपछि न्यायको पर्खाइमा छु।’

कुटपीटबाट रेउलेको बायाँ आँखा र नाकको डाँडी नै बाङ्गिएर गहिरो चोट लागेको छ। शनिबार रेउलेले आफ्नो पीडा सामाजिक सञ्जाल फेसबुकमा फोटोसहित पोखेका थिए। पछि उनलाई माथिल्लो स्तरका हाकिमले फेसबुक स्टास डिलिट गर भनेपछि डिलिट गरेका थिए।

सल्यानको सिद्धकुमा गाउँपालिका–३ स्थायी घर भएका रेउले २०६२ बैशाष १६ गते नेपाल प्रहरीमा भर्ना भएका थिए। उनका आमाबुबा सल्यानमै छन् भने जेठो छोरा पहिलाकै श्रीमतीसँग छन्। दुई छोरा र श्रीमती दाङमा बस्दै आएका छन्।

इन्स्पेक्टर चापागाईं दुई वर्ष अगाडि प्रहरी संगठनमा आएका हुन्। चापागाईं डोल्पा गएको एक वर्ष भयो।  यस विषयमा चपागाईंसँग बुझ्न खोज्दा उनको मोबाइल अफ थियो।

आफूभन्दा जुनियर प्रहरीलाई शारीरिक यातना दिएको भन्दै उनीबारे जिल्ला प्रहरी कार्यालय डोल्पाले छानबिन थालेको छ।

डोल्पा प्रमुख (डिएसपी) शिवबहादुर बुढाथोकीले घटनाबारे छानबिन भइरहेको बताए।

‘शनिबार म मिटिङमा गएको थिएँ। नहुनुपर्ने घटना भयो, हामीले प्रारम्भिक रुपमा बुझ्दा आकस्मिक घटना भएछ। दोषीलाई सांगठनीक प्रक्रिया अनुसार कारबाहीका लागि प्रक्रिया अगाडि बढाएका छौं,’ डिएसपी बुढाथोकीले भने, ‘पीडितलाई थप उपचारका लागि नेपालगञ्ज पठाउँदै छौं। पीडित पनि हाम्रै परिवारको मान्छे हो। उसलाई न्याय दिलाउन हामीबाट कुनै कसर बाँकी रहने छैन।’

यो पनि

मापसे गरेकोमा प्रहरी निरीक्षकले हवल्दारलाई मुक्का हान्दा नाकको डाँडी नै बाङ्गियो

१८ बैशाख, २०८०, ११:४६:४५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।