मापसे गरेकोमा प्रहरी निरीक्षकले हवल्दारलाई मुक्का हान्दा नाकको डाँडी नै बाङ्गियो

मापसे गरेकोमा प्रहरी निरीक्षकले हवल्दारलाई मुक्का हान्दा नाकको डाँडी नै बाङ्गियो

सुर्खेत : शनिबार जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी निरीक्षक नवीन चपागाईंले डोल्पा कारागारमा कार्यरत ३७ वर्षीय प्रहरी हवल्दार हिराराम रेउलेलाई कुटपिट गरेका छन्। 

शनिबार बिहान ११ बजे रेउलेलाई जिल्ला कारागारबाट प्रहरी कार्यालयमा बेलाएर निरीक्षक चपागाईंले मापसे किन गरेको भन्दै कुटपिट गरेका हुन्।

‘शनिबार मेरो डिउटी थिएन। चिसो पनि असाध्यै बढेको थियो। थोरै रक्सी खाएर सुत्न खोजेको थिएँ। एकजना असईसापले प्रहरी निरीक्षकज्यूले तपाईंलाई बोलाउनुभएको छ भनेपछि म प्रहरी कार्यालयमा गएँ। मलाई कम्पाउण्डमा जाने बित्तिकै सिधै मापसे किन गरेको? भन्नुभयो,’ रेउलेले भने।

‘मैले माफी माग्दै घरायसी तनाव पनि थियो सर डिउटी थिएन त्यसैले खाएर सुत्न खोजेको थिएँ, भन्न नपाउँदै उहाँले एक मुक्का र दुई फाइट हान्नुभयो मलाई। नाकबाट रगत बढी बगेछ। कार्यालय परिसरमै म बेहोस भएछु। त्यति बेला अरु ८/१० जना साथीहरु पनि सँगै थिए,’ उनले थपे।

त्यही कुटपिटबाट बायाँ आँखाको नानीमा गहिरो चोट लागेको र नाकको डाँडी नै बाङ्गिएको रेउलेले बताए।

शनिबार डोल्पामा उपचारका लागि भर्ना भएका रेउलेलाई नाकको लागि भेरी अञ्चल अस्पताल र आँखाको लागि आँखा अस्पताल फुल्टेग्रामा रेफर गरिएको छ।

शनिबार आफूले सामाजिक सञ्जाल फेसबुकमा हाले पनि संगठनबाट त्यसलाई हटाउन आदेश आएपछि आफूले हटाएको उनले बताए।

जागिर खाएको १९ वर्षसम्म आफूले यस्तो यातना नखाएको भन्दै यस्तो अवस्थामा पुर्याउने पीडकलाई कानुनी कारबाही हुनुपर्ने हवल्दार रेउलेको माग छ ।

‘यस्तो सजाय त मैले अहिलेसम्म पनि पाइन। बिदाको दिनमा मापसे गरेर सुत्दा मैले के अपराध गरें? मैले होहल्ला पनि गरेको थिएन,’ रेउलेले भने, ‘यदि मैले गल्ती नै गरे पनि सांगठनिक कारबाही गर्न पनि सकिन्थ्यो नि।’

जिल्ला प्रहरी कार्यालय डोल्पा स्रोतका अनुसार जिप्रकाको ग्राउण्डमा प्रहरी निरीक्षक चपागाईंले अमानवीय तरिकाले कुटपिट गरेको र उक्त घटना लुकाउन समेत पीडक रेउलेलाई दबाव सिर्जना गरेका थिए।

स्रोतका अनुसार शनिबार बिहान ११ बजे भएको घटनाको सिसिटिभि फुटेज समेत चपागाईंले उडाइसकेका छन्। उनी त्यहाँको प्रवक्ता समेत हुन्।

यस विषयमा प्रहरी निरीक्षक चपागाईंलाई बुझ्न खोज्दा उनको मोबाइल अफ छ।

तर, जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रमुख, प्रहरी नायब उपरीक्षक शिव बहादुर बुढाथोकीले शनिबार आफू कार्यालयभन्दा बाहिर रहेकोले विस्तृत रुपमा यो विषय छानबिन गरिने बताए।

‘म हिजो बाहिर थिएँ। त्यसैले पछि मात्रै थाहा पाएँ। घटनाबारे विस्तृतमा अनुसन्धान भइरहेको छ। दोषीलाई विभागीय कारबाही हुन्छ,’ उनले भने।

१७ बैशाख, २०८०, १३:३४:३७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।