कर्णालीका मुख्यमन्त्री कँडेलले आज विश्वासको मत लिने

कर्णालीका मुख्यमन्त्री कँडेलले आज विश्वासको मत लिने

सुर्खेत : कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले आज विश्वासको मत लिँदैछन्। मुख्यमन्त्रीले विश्वासको मत लिने प्रयोजनका लागि अपरान्ह ३ बजे प्रदेश सभाको बैठक बोलाइएको छ।

२७ चैतमा मुख्यमन्त्री नियुक्त भएका कँडेलले दुई सातापछि गठबन्धनमा मन्त्रालयको भागबण्डा मिलाएर विश्वासको मत लिन लागेका हुन्।

भागबण्डा मिलेपछि बुधबारमात्रै मुख्यमन्त्री कँडेलले माओवादी केन्द्रका रणसिंह परियारलाई विना विभागीय मन्त्री नियुक्त गरे। माओवादी केन्द्रले मुख्यमन्त्री कँडेललाई विश्वासको मत दिने निर्णय गरिसकेको छ।

४० सदस्यीय कर्णाली प्रदेशसभामा माओवादी केन्द्रका १३, एमालेका १० र एकीकृत समाजवादीका १ सांसद छन् । त्यस्तै, नेपाली कांग्रेसका १४, राप्रपाको १ र एकजना स्वतन्त्र सांसद छन्।

मुख्यमन्त्री कँडेललाई विश्वासको मत लिन २१ सांसदको समर्थन आवश्यक पर्छ। माओवादी केन्द्रले समर्थन गरेपछि कँडेलले विश्वासको मत पाउने लगभग निश्चित भइसकेको छ।

तर, यसअघि भने प्रदेश सामाजिक मन्त्रालय कसले लिने भन्ने विषयमा भागबण्डा नमिल्दा मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भएको थियो।

नेताहरूका अनुसार माओवादी केन्द्रले आर्थिक मामिला तथा योजना मन्त्रालय, सामाजिक विकास मन्त्रालय, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र जलस्रोत तथा ऊर्जा विकास मन्त्रालय लिने सहमति भएको छ।

एमालेले भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालय, आन्तरिक मामिला तथा योजना मन्त्रालय र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय लिने सहमति भएको छ। मन्त्रालय भागबन्डा टुंगिए पनि मन्त्री भने टुंगिसकेको छैन।

विना विभागीय मन्त्रीको जिम्मेवारी पाएका माओवादी केन्द्रका परियारले बुधबार नै शपथ ग्रहण गरिसकेका छन्।

१३ बैशाख, २०८१, ०९:२७:०४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।